Edukhabar
विहीबार, १७ माघ २०८१
विचार / विमर्श

ओझेलमा परेको कक्षा अवलोकन

सामुदायिक विद्यालयमा कक्षा अवलोकनको शून्यता, सुस्तता र रिक्तताको कारण सिकाइमा प्रत्यक्ष असर परिरहेको विभिन्न नतिजाहरूले समेत देखाएको छ ।

मंगलबार, १५ माघ २०८१

कक्षा अवलोकन, शिक्षक र शिक्षा शास्त्रको गुणस्तरमा स्थायी सुधार ल्याउने एक शक्तिशाली माध्यम हो ।  कक्षा अवलोकनले शिक्षकलाई आत्म विश्लेषण प्रक्रियामा संलग्न गर्न सक्षम बनाउँछ । आफ्ना निर्देशनात्मक विधिहरूको आलोचनात्मक जाँच गरेर शिक्षकले आफ्नो शैक्षिक ज्ञानलाई परिष्कृत गर्न सक्छन् । (Shulman, 1986)

नेपालमा कक्षा अवलोकनको गुरुत्व अभिवृद्धि हुनु पर्नेमा हाल सीमितताको पराकाष्ट रहेको पाइन्छ । सामुदायिक विद्यालयमा कक्षा अवलोकनको शून्यता, सुस्तता र रिक्तताको कारण सिकाइमा प्रत्यक्ष असर परिरहेको विभिन्न नतिजाहरूले समेत देखाएको छ । गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न कक्षा अवलोकनको क्षेत्र तथा आयतनलाई विस्तार गर्न संघीय र स्थानीय सरकारका निकाय तथा सरोकारवालाहरूले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

कक्षा अवलोकनको सन्दर्भमा विश्वका विभिन्न देशहरूले आफ्नै माटोको सुगन्ध झल्किने तौर तरिका र पद्दतिहरू अपनाएका छन् ।  फिनल्यान्ड, सिङ्गापुर, र अष्ट्रेलिया जस्ता देशहरूले कक्षा अवलोकनलाई शिक्षण प्रक्रियाको गुणस्तर सुधार गर्ने मुख्य विधिको रूपमा उपयोग गरेका छन् । यी देशहरूले परम्परागत निरीक्षणभन्दा अगाडि बढेर कक्षा अवलोकनलाई शिक्षणमा सुधारात्मक दृष्टिकोण र शिक्षकहरूको व्यावसायिक विकासको केन्द्र बनाएका छन् ।  नेपालमा कक्षाकोठा भित्र प्रत्यक्ष शिक्षण प्रक्रिया, विद्यार्थीको सहभागिता र शिक्षकको प्रस्तुतीकरणको गहन विश्लेषण गर्ने अभ्यास प्रायः शून्य रहेको छ भन्दा फरक नपर्ला । कक्षा अवलोकन तथा सुपरिवेक्षण गर्ने स्थानीय तहको पदाधिकारी, कर्मचारी र स्रोत विज्ञहरू बिरलै मात्रामा विद्यालय पुग्ने गरेका छन् भने कक्षा कोठामा विज्ञको पहुँच न्यून रहेको छ । 

कक्षा अवलोकनमा विभिन्न देशको अभ्यास 

फिनल्याण्डले कक्षा अवलोकनमा सह अवलोकन (collaborative observation) लाई उच्च प्राथमिकता दिएको छ । यस अभ्यासमा शिक्षकहरूले एक अर्काका कक्षाकोठा अवलोकन गर्छन् र सुधारात्मक सुझाव आदानप्रदान गर्छन् । यसले शिक्षकहरूलाई सहकार्य र आत्मप्रेरणाको वातावरणमा काम गर्न प्रोत्साहन गर्दछ । फिनल्याण्डले सूचकमा आधारित अवलोकनलाई पनि प्राथमिकता दिएको छ, जहाँ विद्यार्थीको सहभागिता, शिक्षकको समय व्यवस्थापन र पाठ योजनाको कार्यान्वयन जस्ता पक्षहरूको गहिरो विश्लेषण गरिन्छ । फिन्ल्याण्डको शिक्षा नीतिले नै शिक्षकहरूलाई शैक्षिक स्वतन्त्रता र नवप्रवर्तनशीलतामा जोड दिँदै शिक्षण प्रक्रियालाई सुधार गर्न प्रेरित गरेको छ ।

सिङ्गापुरमा प्रविधिको उच्चतम उपयोग गरिन्छ । त्यहाँ School Quality Assurance Platform (SQAP) जस्ता अनलाइन उपकरणहरूको प्रयोगले वास्तविक समयमा कक्षा अवलोकन सम्भव बनाएको छ । अनलाइन प्लेटफर्म मार्फत शिक्षकहरूको कार्यसम्पादन ट्र्याक गर्न र सुधारात्मक सुझाव दिन सकिने व्यवस्था गरिएको छ । राष्ट्रियस्तरका सूचकहरू विकास गरी विद्यार्थीको सिकाइ उपलब्धि र शिक्षकहरूको कार्यसम्पादनलाई मापन गरिन्छ । Master Teacher Framework प्रयोग गरी वरिष्ठ शिक्षकहरूलाई कक्षा अवलोकनमा सहभागी गराउने अभ्यास छ । 

अष्ट्रेलियामा "Clinical Supervision" अवधारणाले शिक्षकहरूको व्यावसायिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ । यो अवधारणामा शिक्षकहरूको कक्षाकोठामा प्रत्यक्ष अवलोकन गरिन्छ । तिनको शिक्षण शैलीको विश्लेषण गर्दै व्यक्तिगत सुधारात्मक सुझाव दिइन्छ । शिक्षकहरूको क्षमतामा वृद्धिका लागि सार्वजनिक र निजी साझेदारी मार्फत विशेष तालिम कार्यक्रमहरू सञ्चालन गरिन्छ । समावेशी शिक्षणलाई प्रवद्र्धन गर्दै विशेष आवश्यकता भएका विद्यार्थीका लागि पनि कक्षा अवलोकनलाई प्राथमिकतामा राखिएको छ । अमेरिकामा "Performance Evaluation Model" प्रयोग गरिन्छ ।

शिक्षकको पाठ योजनाको तयारी, विद्यार्थीको सहभागिता र शिक्षण विधिको प्रभावकारितालाई मापन गर्ने अभ्यास प्रचलनमा छ । जापानले Lesson Studyअवधारणामा आधारित कक्षा अवलोकनलाई अपनाएको छ । यसमा शिक्षकहरूले सामूहिक रूपमा पाठ योजना तयार गर्छन्, एक अर्काको कक्षामा अवलोकन गर्छन् र सुधारका लागि छलफल गर्छन् । विकसित देशका यस्ता लोभलाग्दा क्रियाकलापहरूबाट नेपालले राम्रा पक्ष अनुशरण गर्न जरुरी छ । 

कक्षा अवलोकनले शिक्षकहरूको व्यावसायिक विकास र शैक्षिक गुणस्तर सुधार्न महत्त्वपूर्ण भूमिका खेल्छ । नेपालले आफ्नो सांस्कृतिक र भौगोलिक आवश्यकतालाई ध्यानमा राखी यी अभ्यासहरूलाई सान्दर्भिक रूपमा लागू गर्न सकेमा शिक्षाको स्तर वृद्धिमा उल्लेखनीय सफलता हासिल गर्न सकिन्छ ।

कक्षा अवलोकनमा प्रयोग गर्न सकिने सरल तौर तरिका

कक्षा अवलोकनका विविध नामहरूले यसको उद्देश्य, विधि, र कार्यान्वयनका विभिन्न दृष्टिकोणहरूको परिकल्पना प्रस्तुत गर्दछ । यस्ता विधिहरू विभिन्न देशहरूले अपनाएका छन् । हरेक कक्षा अवलोकनको विधि शिक्षाशास्त्रमा विशेष उद्देश्य पूरा गर्नका लागि डिजाइन गरिएको हुन्छ । जसमध्ये विभिन्न विधिहरू जुन हाम्रो जस्तो देशको लागि आवश्यक छ त्यस्ता सरल तौर तरिकाहरु बारे संक्षिप्तमा उल्लेख गरिएको छ :

- साधारण कक्षा अवलोकन Classroom Observation

यो सबैभन्दा सामान्य र प्रचलित नाम हो, जसलाई धेरै देशहरूले शिक्षण, शिक्षण प्रक्रियाको प्रत्यक्ष अवलोकन र मूल्याङ्कनका लागि प्रयोग गर्छन् । यो विधिले शिक्षकको कक्षामा प्रत्यक्ष सहभागिता मार्फत मूल्याङ्कन गर्न र शिक्षकको सुधारात्मक पक्षलाई पहिचान गर्न मद्दत गर्दछ ।  

विद्यालय अनुगमनकर्ता तथा सुपरिवेक्षकहरू विद्यालयमा पुगिहाले पनि प्रायः बाहिरी निरीक्षणमा मात्र केन्द्रित हुने गरेको भनी समय समयमा गुनासो समेत व्यक्त हुने गरेको पाइन्छ । नेपालमा कक्षा अवलोकन प्रायः विद्यालय अनुगमनकर्ताहरू र सुपरिवेक्षकहरूको उपस्थिति ज्यादै न्यून हुन्छ । यद्यपि, आजको आवश्यकता भनेको कक्षामा प्रत्यक्ष सहभागिता मार्फत शिक्षण विधिहरूको मूल्याङ्कन गर्नु हो । उदाहरणका रूपमा, नेपालका ग्रामीण क्षेत्रका विद्यालयहरूमा जहाँ शिक्षकहरू प्रायः परम्परागत शिक्षण विधिहरूमा सीमित छन्, त्यहाँ कक्षा अवलोकनको माध्यमबाट शिक्षकलाई नयाँ विधिहरूको प्रयोग र विद्यार्थी सहभागिता बढाई गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत पुग्दछ ।

- क्लिनिकल सुपरिवेक्षण Clinical Supervision

यो विधि शिक्षकको व्यक्तिगत मार्गदर्शन र सुधारका लागि डिजाइन गरिएको हुन्छ । यसमा शिक्षकलाई प्रत्यक्ष कक्षामा अवलोकन गरी सुधारका लागि सुझाव दिइन्छ । यो विधि अष्ट्रेलिया, अमेरिका र युरोपका धेरै देशहरूमा प्रचलित छ, जहाँ शिक्षकलाई सशक्त र प्रभावकारी बनाउनका लागि प्रत्यक्ष पर्यवेक्षण गरिन्छ । नेपालमा, यदि कक्षा अवलोकनको क्रममा शिक्षकलाई प्रत्यक्ष प्रतिक्रिया र परामर्श दिने प्रक्रिया अपनाइन्छ भने, यसले शिक्षकको व्यावसायिक विकास र शिक्षक शिक्षाशास्त्रमा सुधार ल्याउन मद्दत पुर्याउन सक्छ । उदाहरणका रूपमा, यदि शिक्षक विद्यार्थीको ध्यान आकर्षित गर्न कठिनाइमा छन् भने, व्यक्तिगत रूपमा सुधार र समाधानका उपायहरू सुझाव दिन सकिन्छ ।

नेपालमा शिक्षण प्रक्रियामा सहकार्यको अभाव छ । शिक्षकहरू प्रायः एकअर्कासँग सुझाव वा प्रतिक्रिया साटासाट गर्दैनन् । फिनल्याण्ड र जापानमा यो विधि लोकप्रिय छ । जसमा शिक्षकहरू एकअर्काका कक्षामा जाँदै सुधारात्मक प्रतिक्रिया दिन्छन् । नेपालमा, शिक्षकहरूले एकअर्काको कक्षा अवलोकन गर्नका लागि नियमित सेमिनारहरू र कार्यशालाहरू आयोजना गर्न सकिन्छ । उदाहरणका लागि, स्थानीय तहहरुले केही विद्यालयमा "Teacher learning communities" (TLCs) को अवधारणा अपनाइएको छ, जसमा शिक्षकहरूले एकअर्काका कक्षामा जान्छन् र विभिन्न शिक्षण विधिहरूको बारेमा छलफल गर्छन् । जसले शिक्षकको आपसी सहयोग र सन्देश आदानप्रदानलाई प्रवद्र्धन गर्छ ।

- शैक्षणिक पर्यवेक्षण Instructional Supervision

नेपालमा धेरै विद्यालयमा शिक्षकहरूको निर्देशनात्मक क्षमता मूल्याङ्कन गर्न कम ध्यान दिइन्छ । जहाँ शिक्षकको कार्यशैली र पठन क्षमता सुधार गर्ने उद्देश्यले मूल्याङ्कन गरिन्छ । नेपालमा, यदि विद्यालय अनुगमनकर्ताहरूले शिक्षकको निर्देशनात्मक क्षमतामा मूल्याङ्कन गरेर सुधारात्मक प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्छन् भने, यसले शिक्षाशास्त्रको स्तरमा वृद्धि ल्याउन सक्छ । उदाहरणका रूपमा, यदि एक शिक्षकले पाठ्यक्रम पूरा गर्न ढिला गर्दछन् भने, निर्देशनात्मक पर्यवेक्षणको माध्यमबाट उनीलाई पाठ योजनामा सुधार र समय व्यवस्थापनका उपायहरू सिकाउन सकिन्छ । अमेरिकी शिक्षा प्रणालीमा प्रचलित यो विधिले शिक्षकको निर्देशनात्मक क्षमतालाई मूल्याङ्कन र सुधार गर्ने उद्देश्य राख्दछ । यसले शिक्षकको कार्यशैलीमा सुधार ल्याउन र उच्च गुणवत्ता शिक्षणको लक्ष्य हासिल गर्न मद्दत पुर्याउँछ।

- पाठ अध्ययन अवलोकन Lesson Study Observation

यो विधि शिक्षकको सामूहिक प्रयासलाई बढावा दिन सहयोगी हुन सक्छ । उदाहरणका रूपमा, लिम्चुङवुङ गाउँपालिकाको एक विद्यालयमा शिक्षकहरूले समूहमै मिलेर एक पाठ योजना तयार गरेका छन् र त्यसको कार्यान्वयन पछि समूहमा समीक्षा समेत गरिएको छ । यसरी कक्षा अवलोकनका लागि सहकार्य र अनुभव साटासाट गर्ने प्रक्रियाले सुधारमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । जापानले विकास गरेको यो विधि पाठ योजना निर्माण, कार्यान्वयन र समीक्षा प्रक्रियाको एक अविभाज्य हिस्सा हो । यसमा शिक्षकहरूले मिलेर पाठ योजना तयार गर्छन् र कक्षा सञ्चालन पछि यसको समीक्षा गर्छन् । जसले समूहका शिक्षक माझ साझा अनुभव र विधिका बारेमा सिक्ने अवसर दिन्छ ।

- कार्यसम्पादन अनुगमन Performance Monitoring

नेपालमा शिक्षकहरूको कार्यसम्पादन प्रायः केवल बाह्य निरीक्षणमा आधारित हुन्छ । शिक्षकको कार्यसम्पादनलाई नियमित मूल्याङ्कन गरेर र विशेष सूचकांक (जस्तै विद्यार्थीको सिकाइ स्तर) मार्फत अनुगमन गरेर शिक्षणको गुणस्तर सुधार गर्न सकिन्छ । उदाहरणका रूपमा, यदि कुनै शिक्षक विद्यार्थीको प्रतिक्रिया लिनमा असमर्थ छन् भने, कार्यसम्पादन अनुगमनद्वारा यस समस्याको पहिचान र सुधार गर्न सकिन्छ । यस विधिलाई मुख्यतया अमेरिका र सिङ्गापुरका शैक्षिक प्रणालीहरूमा शिक्षकको कार्यसम्पादन मापन गर्न प्रयोग गर्ने गरिन्छ । यसमा शिक्षकको कार्य सम्पादनलाई सूचकांक मार्फत मूल्याङ्कन गरिन्छ जसले शिक्षकको दक्षतामा सुधार ल्याउने काम गर्छ ।

- शिक्षाशास्त्र पर्यवेक्षण Pedagogical Supervision

शिक्षाशास्त्रको गुणस्तर सुधार गर्नका लागि Pedagogical Supervision विधि अत्यन्त प्रभावकारी हुन सक्छ । यस विधिमा शिक्षकको शिक्षण विधि र विधिको प्रभावकारिता मूल्याङ्कन गर्न गहिरो निरीक्षण प्रक्रिया अपनाइन्छ । नेपालका विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधारको आवश्यकता विशेष गरी प्रायः सरकारी र ग्रामीण विद्यालयहरूमा आवश्यक छ । यी विद्यालयहरूमा शिक्षकहरूले परम्परागत विधिहरूको पालन गरेका हुन्छन् । नयाँ पद्धतिहरूको प्रयोगमा असहज महसुस गर्छन् । यदि कुनै विद्यालयमा शिक्षकले विद्यार्थीको सक्रिय सहभागिता बढाउने उद्देश्यले कक्षाको सञ्चालन गर्न चाहन्छन् भने, Pedagogical Supervision को माध्यमबाट शिक्षण विधिको गहिरो निरीक्षण गरेर, शिक्षकलाई नयाँ विधिहरू र रणनीतिहरूको प्रयोगमा सुझाव दिन सकिन्छ । यसले शिक्षकलाई नयाँ शैक्षिक रूपान्तरणीय अभ्यासमा प्रेरित गर्नेछ । शिक्षाशास्त्रमा गुणस्तरीय सुधार ल्याउन सघाउ पुर्याउँदछ । युरोपका देशहरूमा प्रचलित यो विधि शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्नका लागि प्रयोग गरिन्छ । यसले शिक्षकको शिक्षण विधिको प्रभावकारिता मूल्याङ्कन गर्नको लागि एक गहिरो निरीक्षण प्रक्रिया प्रस्तुत गर्ने गर्दछ ।

- मूल्याङ्कन अवलोकन Appraisal Observation

नेपालका विद्यालयहरूमा शिक्षकहरूको वार्षिक मूल्याङ्कन प्रक्रिया प्रायः असंरचित र औपचारिक जाँचका आधारमा हुन्छ । Appraisal Observation विधि जस्तै ब्रिटेन र अन्य देशहरूमा शिक्षकको वार्षिक कार्यसम्पादन मूल्याङ्कनको क्रममा कक्षा अवलोकन र शिक्षकको समग्र कार्यको मूल्याङ्कन एकै साथ गर्ने गर्दछन् । नेपालमा यस विधिको अनुकूलन गर्दा, शिक्षकको वार्षिक कार्यसम्पादनको समग्र मूल्याङ्कन, कक्षाको गुणस्तर, विद्यार्थीको सहभागिता, पाठ्यक्रमको प्रभावकारिता र शिक्षकको पेशागत विकासका पहलहरूलाई समावेश गर्न सकिन्छ । उदाहरणका रूपमा, एक विद्यालयमा शिक्षकको वार्षिक मूल्याङ्कन गर्दा, विद्यालय अनुगमनकर्ताले कक्षामा प्रत्यक्ष अवलोकन गरी शिक्षकको कार्यसम्पादनको मूल्याङ्कन गर्न सक्छन् । यसबाट शिक्षकलाई सुधारका लागि विभिन्न अवसरहरू पहिचान गर्न मद्दत पुर्याउन सक्छ । यसले शिक्षकको कक्षामा कार्यसम्पादनको समग्र मूल्याङ्कन गर्छ र विकासको अवसरहरू पहिचान गर्न मद्दत गर्दछ ।

- विकासात्मक पर्यवेक्षण Developmental Supervision

यस विधिले दीर्घकालीन सुधार ल्याउनका लागि शिक्षकलाई आवश्यक प्रशिक्षण र मार्गदर्शन प्रदान गर्दछ । यस विधिको प्रमुख उद्देश्य भनेको शिक्षकको आत्मविकासमा मद्दत पुर्याउने हो । नेपालमा, शिक्षकहरूको पेशागत विकास र क्षमता निर्माणको प्रक्रिया प्रायः सीमित छ । विशेष गरी ग्रामीण र दूरदराजका विद्यालयहरूको अवस्था चिन्ताजनक छ । नेपालका शिक्षकलाई यो विधि अनुकूलन गरेर नियमित प्रशिक्षण कार्यक्रम र परामर्श प्रदान गर्न सकिन्छ । यदि कुनै शिक्षकलाई कक्षा सञ्चालनमा समस्या आइरहेको छ भने, विकासात्मक पर्यवेक्षण मार्फत समस्याको सम्बोधन गरिन्छ । जसले शिक्षकको दीर्घकालीन सुधार र व्यक्तिगत विकासमा मद्दत पुर्याउँछ । यो विधि दीर्घकालीन सुधारको लागि प्रयोग गरिन्छ । यसले शिक्षकलाई आवश्यक प्रशिक्षण र मार्गदर्शन प्रदान गर्छ । एक सकारात्मक शिक्षाशास्त्रको प्रवृत्तिलाई उत्पन्न गर्दछ ।

- सहकार्य आधारित अवलोकन Collaborative Observation

यो विधि अपनाएर शिक्षक र पर्यवेक्षक मिलेर कक्षा अवलोकन गर्ने प्रक्रिया अत्यन्त प्रभावकारी हुन सक्छ । यस विधिमा शिक्षक र पर्यवेक्षक मिलेर कक्षा सञ्चालनको अवलोकन गर्छन् र सुधारात्मक कदम चाल्नका लागि प्रतिक्रिया र सुझाव दिने कार्य गरिन्छ । यसबाट शिक्षकलाई सुधारका लागि सकारात्मक वातावरण सिर्जना गरिन्छ । नेपालका विद्यालयहरूमा सहकार्य र शिक्षकहरूको आपसी सहयोग प्रायः कम हुन्छ । यो विधि प्रयोग गरेर, विद्यालयका शिक्षकहरू आपसमा कक्षा अवलोकन गरी एकअर्कालाई सुधारका उपाय र सुझाव दिन सकिन्छ । उदाहरणका रूपमा, लिम्चुङबुङका कुनै विद्यालयमा, शिक्षकहरूले आपसमा कक्षा अवलोकन गर्दै एकअर्कालाई नयाँ शिक्षण विधिहरूमा सल्लाह दिन सक्छन्, जसले शिक्षामा सुधार ल्याउने छ । यो विधि शिक्षक र पर्यवेक्षकहरु मिलेर कक्षा अवलोकन गर्ने प्रक्रिया भन्ने बुझ्नु पर्दछ । यसमा शिक्षक र पर्यवेक्षक मिलेर सुधारात्मक कदम चाल्नका लागि कक्षा सञ्चालनको अवलोकन गर्दै प्रतिक्रिया र सुझाव दिने कार्य समेत प्रभावकारी मानिन्छ ।

- आत्म विश्लेषणात्मक पर्यवेक्षण Self-Reflective Supervision

शिक्षकलाई आफ्ना शिक्षण विधिको आत्मविश्लेषण गर्न प्रोत्साहित गर्ने विधिमा यो निहित छ । यसले शिक्षकलाई आफ्ना शिक्षण विधिहरूको मूल्याङ्कन गर्ने र सुधारका उपायहरू पहिचान गर्ने अवसर दिन्छ । नेपालमा धेरै शिक्षिकाले आत्म विश्लेषण गर्ने अवसर कम पाउँछन् । यस विधिको प्रयोग गर्दा, शिक्षकहरूले आफ्नो कक्षाको अनुभवलाई समीक्षा गरेर आगामी कक्षामा सुधार गर्न सक्नेछन् । उदाहरणका रूपमा, एक शिक्षकले आफूले गरेका कुनै विशेष शिक्षण पद्धतिहरूको प्रभावकारिता आत्मविश्लेषण गरेर मूल्याङ्कन गर्न सक्छन् । यसबाट शिक्षकलाई आफ्ना विधिहरूमा सुधार ल्याउन सहयोग पुग्नेछ । यसले शिक्षकलाई आफ्नो अभ्यासलाई पुनः मूल्याङ्कन गर्न र सुधारका उपायहरू पहिचान गर्न मद्दत समेत गर्दछ, जसले शिक्षणको गुणस्तरमा सुधार ल्याउँछ ।

नेपालमा कक्षा अवलोकनलाई प्रभावकारी बनाउन यी विधिहरूको अनुकूलन गर्न अत्यन्त अपरिहार्य आवश्यकता रहेको छ । यसबाट शिक्षकहरूको व्यावसायिक विकास, शिक्षा प्रणालीको गुणस्तरमा सुधार र विद्यार्थीको समग्र सिकाइ अनुभवमा वृद्धि हुन सक्छ । Pedagogical Supervision र Developmental Supervision  जस्ता विधिहरूले शिक्षकलाई सुधारका लागि आवश्यक मार्गदर्शन र प्रशिक्षण दिनेछन् । Collaborative Observation र Reflective Supervision जस्ता विधिहरूले शिक्षकहरूको आपसी सहकार्य र आत्मविश्लेषणलाई प्रवद्र्धन गर्नेछन् ।  यसले शैक्षिक गुणस्तरमा स्थायी सुधार ल्याउन मद्दत गर्दछ ।  शिक्षकहरूको व्यक्तिगत र सामूहिक विकासमा समेत मद्दत पुर्याउँदछ । 

कक्षा अवलोकन नेपालमा अझ प्रभावकारी बनाउनका लागि स्थानीय शैक्षिक चुनौतीहरूको सामना गर्दै ती विधिहरूलाई समायोजन गर्न र शिक्षा मन्त्रालयका स्तरमा जागरूकता अभिवृद्धि गर्न आवश्यक छ । 

कक्षा अवलोकनको नमुना ढाँचा 

संघीयताको कार्यान्वयन सँगसँगै माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह को अधिकार क्षेत्रभित्र रहेको छ । यस अवस्थामा विद्यालय अनुगमन सुपरिवेक्षण तथा कक्षा अवलोकन जस्ता विषयहरू ओझेलमा पर्दै आएका छन् ।  राष्ट्रिय तथा स्थानीय रूपमा कक्षा अवलोकन सम्बन्धी स्पष्ट फारम तथा नमुना ढाँचा पनि सहजै प्राप्त हुन्नन् । यसकारण विद्यालय अनुगमन तथा सुपरिवेक्षण र कक्षा अवलोकन कर्मकाण्डी रुपमा सिमित हुन पुगेको छ । खस्कदोँ सिकाइलाई सुधार गरी शिक्षकको पेशागत क्षमता वृद्धि र नतिजामा आधारित कक्षा अवलोकन गर्नको लागि उदयपुर जिल्लाको रौतामाई गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकामा परीक्षण गरी तयार पारिएको यस नमुना ढाँचा अवलोकनकर्ता र सुपरिवेक्षकलाई सन्दर्भको रूपमा सहयोगी साधन हुन सक्दछ । 

प्रयोग तरिका

यस फारमबाट साधारणतया शिक्षकको समग्र कक्षा अवलोकनको अवस्था पत्ता लगाई विषय शिक्षकहरुलाई ट्रिगररिङ्ग र आत्ममूल्यांकन समेत गराउन सकिन्छ । शिक्षकले शिक्षण गरेको विषयवस्तुमा कस्तो  शिक्षण अवस्था रहेको छ भनी महशुस गराउन यस फारम महत्वपूर्ण साधन हुन सक्छ । शिक्षकले शिक्षण गरेको समयमा अवलोकनकर्ताले अवलोकन गर्ने र सूचक अनुरुप भए नभएको कुरामा उत्तम, मध्यम, निम्न अथवा छैन भन्ने महलमा भए गरेको अवस्थालाई रेजा लगाउँदै जानुपर्दछ । यस फारमलाई भर्न आफ्नै सहपाठी तथा सहजकर्ता वा बाह्य स्रोत व्यक्तिबाट समेत जो कोहीले भर्न सकिनेछ ।  

मूल्याङ्कन तथा अवलोकन गर्दा अत्यन्त धैर्यपूर्वक र ध्यानपूर्वक गर्नुपर्दछ । अन्तिममा रेजा गणना गरी तल कुन स्तरको नतिजा आयो भनी शिक्षकलाई जानकारी दिनुपर्दछ । प्रधानाध्यापकलाई समेत जानकारी गराई हस्ताक्षर गराउनुपर्ने हुन्छ । कुन कुन विषय क्षेत्रमा राम्रो अवस्था रहेको छ र कुन कुन विषय क्षेत्रमा निम्न अवस्था रहेको वा नगरिएको कार्यलाई समीक्षा छलफल गरी विशेष शिक्षाको लागि आवश्यक सुधार तथा सुझावहरू समेत प्रदान गर्नुपर्दछ ।

पुनः दोस्रोपटक अवलोकन गरी अपेक्षा गरेअनुसार सुधार भए नभएको यकिन समेत गर्न सकिन्छ । यसरी नियमित रुपमा कक्षा अवलोकन गरे पक्कै पनि शैक्षिक सुधारको स्तर अभिवृद्धि हुन  सक्दछ ।

कार्की, उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका शिक्षा अधिकृत हुन् । 

प्रतिक्रिया