Edukhabar
शनिबार, २७ पुस २०८१
विचार / विमर्श

माफ गर ! ब्लुम, फ्रे र मण्टेसरी

गन्तव्य मिलेर के गर्नु हिँड्न एक पाइला पनि सारेको छैन भने । बोध होस् पाठ्यक्रमविद्लाई । बोध होस् शिक्षाविद्हरुलाई । अब चाँडै पाइला सरोस् ।

शनिबार, २७ पुस २०८१

स्मरण होस्  हामी सप्नदर्शी थिएनौँ । कर्मवीर थियौँ । हामी योजना प्रधान थिएनौँ । कर्म प्रधान थियौँ । हामी सिद्धान्तवादी थिएनौँ । व्यवहारवादी थियौँ । यति मात्र होइन हामी रासायनिक थिएनौँ । अर्गानिक थियौँ । हामी कृतिम थिएनौँ । प्रकृतिवादी थियौँ । तर यो सब यति छिटो कसरी भयौँ ? 

बेञ्जामिन ब्लुम (Benjamin Bloom) तिमीले उद्देश्यको वर्गीकरण दियौ । कार्य हासिल गर्ने उद्देश्यको क्रम दियौ । तिमीले ज्ञान, धारणा र सीप ( KAP) को क्रमबाट  सिक्नु भन्यौ । हाम्रा पाठ्यक्रमविद्हरुले शिक्षण विधि (Pedagogy) त्यही स्वीकार गरे । सरकारले स्वीकृत गर्यो । विद्यालयले अवलम्बन गरे । हामीले त्यसरी नै सिकाउने कोशिस गर्‍यौँ । अरुले त्यसैबाट सफलता पाए होलान् तर हामी बारम्बार असफल रह्यौँ ।  अर्थात ज्ञान सिकाउँदा सिकाउँदै हामी हरायौँ ।   धारणा र सीप छुट्यो । ज्ञान हस्तान्तरणमा लाग्यौँ तर त्यो त स्वयं बालक आफैँले हासिल गर्नुपर्ने रहेछ जसरी बिरुवा हामीले बढाउदैनौँ आफै बढ्छ त्यसरी नै । 

पूर्वीय दर्शनले हजारौं वर्ष पहिला भन्यो ज्ञान त साधना, तपस्या, प्रयोग, अनुभव र अनुभूतिबाट मात्र हुन्छ । शिक्षकले प्रेरणा र सहयोग मात्र गर्न सकिने रहेछ त्यो पनि गर्नुपर्ने थियो काममा तर गर्‍यौँ ज्ञानमा । तसर्थ नराम्ररी अल्मलियौँ । ज्ञान भनेको अर्थ बताउनु, परिभाषा भन्नु, महत्व स्पष्ट पार्नु, पानीको स्रोतको प्रकार भन्नू... होइन रहेछ ब्लुम !

खासमा हामी प्राचीन, ऐतिहासिक, पौराणिक काल देखि नै हाम्रो अर्गानिक सिकाइ सिप, धारणा र ज्ञान ( PAK) को क्रममा थियौँ । अर्थात अनुभव (अनुभूति, धारणा र ज्ञान) को क्रममा थियौँ ।  हाम्रा अग्रजहरुले पिट्दा पिट्दै फलामलाई धेरै खाले औजारमा बदले । मैले पनि सुरुमा खेतमा हलो जोतेर धारणा बलियो बनाँए र पछि ज्ञान हासिल गरेको थिएँ । कृषि एउटा यस्तो क्षेत्र हो त्यहाँ अनुभवले ज्ञानको भन्दा ज्यादा काम गर्छ । जहाँ मैले ज्ञान विना प्रयोग मार्फत  उत्पादन गरेको थिँए । ज्ञान त पछि आएको हो ।  हो, काममा ज्ञान र विज्ञान  मिसाउने नै हो । उत्कृष्टता, सक्षमता र प्रभावकारीताको लागि । 

ईमान्दार साथ म भन्दैछु ढिलो चाँडो अब फेरि हामी PAK मै आउनु छ । यो हाम्रो जिनमा भएको, संस्कार बनेको, अभ्यास भएको विषय थियो । तिमी एक्लैलाई त भन्दिन तर पश्चिमी अध्याँरोले हामीलाई छोप्यो । अहिलेको हाम्रो करीब ७० भन्दा बढी वर्षहरू यसै खेर गएछन् । उल्टो हिँडिएछ । आखिर हाम्रा पुर्खाको अभ्यास सही थियो । स्पष्ट थियो । छोटो थियो । अर्थपूर्ण थियो । प्रयोगवादी थियो । हामी त कर्म गर्ने फलको आशा नगर्नेका शास्त्र पढ्ने र साधना गर्नेका सन्तान थियौँ । काममा हाम्रो विश्वास थियो । 

पश्चिमाहरुले हामीलाई योजनामा विश्वास गर्नुपर्छ भने हामीले मान्यौँ । तिमीहरुले योजनामा हिँडाउन खोज्यौ ज्ञान धारणा हुँदै प्रयोग गर्न वा हुन सिकायौ ।  समय सिमित हुने रहेछ । योजना गर्दा गर्दै कर्म छुट्यो । यो सबै क्षेत्रमा यस्तै छ अहिले । योजना, खाका, दस्तावेज, आयोग, सिफारिस, नीति, कानुन, कार्यविधि,  विधी, सिद्धान्त, डकुमेण्ट र प्रक्रियामै मात्र हामी सिमित भयौँ । मूल काम छुट्यो । कार्यान्वयन छुट्यो । हामी त्यही बाटो  हिड्यौँ । त्यो बाटो सही थिएन रहेछ । प्रयोग नगरी बालकलाई ज्ञान दिएर प्रयोगमा लाँदा जान्दैन रहेछ ब्लुम ! तर के गर्नु हेर्नू न हामी ज्ञान दिँदैमा हरायाँै । त्यसैमा हरायौँ । प्रयोगमा जान भ्याइएन । समय सिमित हुँदो रहेछ ज्ञान दिँदै सकियो । तसर्थ सून यो बाटो अब छोड्नुपर्छ  शिक्षाविदहरु, पाठ्यक्रमविदहरु र सरकारहरु ! 

तिमी महान छौ ब्लुम । तर हामीले तिमीलाई  अवलम्बन गर्न सकेनौँ । बुझ्न सकेनौँ भनौ वा प्रयोग गर्न सकेनौँ । हामी असफल भयौँ । अब त्यो समय सकिएको भान भै रहेछ मलाई अर्थात् हामीलाई । 

हामीलाई अहिले फेरि पाउलो फ्रे (Paulo Freire) तिमीले समालोचनात्मक शिक्षण सिकाइ (Critical learning pedagogy) जो अभ्यास गर्‍यौँ । समालोचनात्मक शिक्षण सिकाइ भन्दै बस्तुको या विषयको बारेमा सोच्न लगाउँदै गुण दोष केलाउँदै सवल दुर्बल पक्षहरू स्पष्ट गर्दै निष्कर्ष निकाल्न लगाउछौँ । तिमीहरुको CLP ले हामीलाई वादविवादमा, प्रतिवादमा, आलोचनामा, सोचमा सिमित गरेर, प्रक्रियाहरुमा अल्मलल्याउने निश्चित  छ ।  हामी अब फेरी यतातिर फस्ने छौँ । वादविवाद, तर्क वितर्क र कुतर्कहरुले गर्दा हाम्रो बस छुट्नेछ । यसले पनि हामीलाई सिध्याउने छ । यो बिल्कुलै गरिराख्नु जरुरी छैन । हामीले सत्य सिक्ने हो । पत्ता लगाउने हो । अवलम्बन गर्ने हो । सत्य सधैँ तर्कातित हुन्छ । तर्कले त हामीलाई गुणस्तरबाट टाढा लाँदै छ । कमसल बनाउँदैछ । कठै ! हाम्रो शैक्षिक ७४ बर्ष । यसै गएछन् ।

सूचना, ज्ञान, प्रक्रिया र मूल्याँकनले केही दिँदैन । सोच र तर्कले गाडी छुट्न सक्छ । मोती भेटिन्न । घर जल्न सक्छ । जीवन  सकिन सक्छ । फोटो र भिडियो खिच्दैमा मान्छे बगिसक्छ । प्रक्रिया प्रक्रिया भन्दा भन्दै सबैभन्दा मूल्यवान हाम्रो समय सकिन्छ । जो अहिले सकिरहेको छ । मूल्याँकन र निर्णय प्रक्रियाले, विधिले हामीलाई कार्यवाट सँधै विमुख गरायो । हामी अलमल गरिरहयौं । मूल्याँकन गरेर आएको निष्कर्ष निकाल्दै हाम्रो समय घर्कियो बाटो त दियो । देखायो तर हिँड्न सिकाएन । सिकिएन । जो हामीले देख्यौँ । भोग्यौँ । त्यसैले माफ गर Paulo Freire तिमी पनि महान रह्यौ हाम्रो लागि या मेरा लागि जो मलाइ यो बोध र चित्र खुल्ने सम्म ल्याइर्पुयायौँ । 

हाम्रो त  सिधै  विषयवस्तुमा प्रवेश गर्ने प्रश्न उत्तर ढाँचा अर्थात उत्तानो सोली ढाँचा हो । सिधा प्रश्न सिधा जवाफ । स्पष्ट व्यवहार हाम्रो स्वाभाव र शैली हो । विषय वस्तुहरूलाई अनावश्यक ढङ्गले तोडमोड गर्न कुनै आवश्यक छैन । जे छ त्यो  स्पष्टसँग भने भइहाल्छ । सत्य छोटो र स्पष्ट हुन्छ । छलछाम तिगडम हाम्रो होइन । काम पनि छैन । सिधा र इमानदार हाम्रो पहिचान हो । स्वप्नदर्शी र योजनामुखी हामी होइनौँ कर्मवान र अनुभवमुखी हामी हौँ । कम्तिमा हामी आफ्नो स्वत्व बुझौँ । हाम्रो संस्कार के मा बसेको थियो बुझौँ । बोध गरौँ ।   आखिर असल कामको लागि त्यत्रो घुमिराख्नु पर्दैन । सोचिरहनु पर्दैन । काम प्रधान हो हाम्रो । अभ्यासको लागि घुमाउनु पर्दैन । दिमागको र शब्दको खेती गरेर मात्रै उत्पादन हुँदैन । पेट भरिन्न । जसरी  परिधिमै घुम्दा केन्द्र छुट्छ । त्यस्तै केन्द्रिय भाग छुटिरहेको छ हाम्रो । खै विकास, बजार र अर्थले मात्र पनि जीवनको स्वच्छता, स्वास्थ्य, गुणस्तरीयता, पूर्णता र आनन्द नपाइदोँ रहेछ । जो देखिसकियो । गुणस्तर र स्रोत मै फर्किनु पर्ने छ । प्रकृति तर्फ फर्कनुको कुनै विकल्प छैन । रासायनिकरणले ध्वस्त हुन लागेको पर्यावरणको प्राकृतिक स्वच्छता पुनः फर्काउन सकिन्छ कि भन्ने र्चिन्ताको विषय यो छ । जुन प्राथमिकतामा कहिल्यै परेको छैन ।

KAP ले पनि काम र सीप सिकाएन सब छुटिगो । समालोचनात्मक चिन्तनको नाममा विषयवस्तुलाई तोडमोड गरेर निष्कर्ष निकालेर मात्र हामीलाई सही गन्तव्य मिल्ने छैन । गन्तव्य मिलेर के गर्नु हिँड्न एक पाइला पनि सारेको छैन भने । बोध होस् पाठ्यक्रमविद्लाई । बोध होस् शिक्षाविद्हरुलाई । अब चाँडै पाइला सरोस् । 

त्यस्तै गरी मारिया मण्टेसरी (Maria Montessori) को सिकाइ पद्दति अवलम्बन गर्दा हाम्रो बालकको लागि परिवार सिकाइको पहिलो केन्द्र हो भन्ने अवस्था भत्कियो । आमा पहिलो गुरु हो भन्ने समाप्त भयो । परिवारबाट लिने सुरक्षा, अवधारणा र ज्ञानबाट बालबालिका करिब करिब वञ्चित भए । १८ महिने उमेरमै स्कुलमा निर्भर हुन पुग्यो । परिवारमा हुर्किन र बा आमाको हेरचाह र सुरक्षा पाउनुबाट वञ्चित रह्यो । यो अन्यन्तै दुःखद् अवस्था हो । भविष्यको लागि घातक हो । परिणाममा संज्ञाननात्मक, क्रियात्मक, भावनात्मक तथा मनोवैज्ञानिक हिसाबले बालबालिका कमजोर हुन पुगे । उनीहरुको जग कमजोर बस्यो । उसलाई प्रेम, स्नेह, माया, करुणा, संस्कार, नैतिकता, आदर्श  आदिको अभाव महसुस भइ नै रह्यो ।  परिवारमै बालबालिकालाई सिक्ने सिकाउने पद्दतिमा जानु पूर्वीय दर्शन तथा चिन्तन अनुसारको सिकाइ पद्दतिमा फर्कनु हो । 

२०८२ मा पाठ्यक्रम बदलिने हल्ला छ, उल्ट्याउनु पर्ने छ पाठ्यक्रम र बदल्नु पर्ने छ मूल्याँकन पद्दती ।  २५ प्रतिशत सैद्धान्तिक र ७५ प्रतिशत प्रयोगात्मक तथा सिपमूखी । त्यही अनुसारको विद्यालय । 

अन्त्यमा, फेरि एकपटक माफ गर  ब्लुम, फ्रे र मण्टेसरी तिमिहरु महान् थियौ, आफ्नो ठाउँमा, आफ्नो समयमा, आफ्नो सन्दर्भमा । कुनै पनि बस्तुले काम गर्छ कि गर्दैन भनेर  जान्न प्रयोग गरेर हेर्नू पर्यो, हर्यौँ हामीले । भयो अब पुग्यो । सप्तकोशीमा धेरै पानी बगिसक्यो, अर्थात् समय धेरै बदलियो तथापि हामी त्यही अनुशरण गर्दै छौँ । 

हाम्रो बुद्धिको बिर्को खुले, चेनताको तह खुले, हृदयसँगै चित्र खुले, माफियाहरु अन्ततः कालिदास बने भने हाम्रा सन्ततिले आफ्नै माटोको सुगन्ध, हावाको अक्सिजन, पूर्वीय किरण, हिमाली जल र आफ्नै आकाश पाउने छन् । हामी पुनः  हाम्रा पूर्खाहरुकै जस्तो बल, आहार, विचार र आचार तथा आत्मनिर्भरताको जगमा फेरि एकपटक आफैँ उज्यालो बनेर उदाउनेछौँ । आशा छ, आत्मनिर्भरताको पुरानो जग फेरि आफैँ बसाउने छौँ ।

पाण्डे, श्री सुनपकुवा मा. वि. उर्लाबारी, मोरङका शिक्षक हुन् । 

प्रतिक्रिया