काठमाडौं - स्थानीय सरकारको अधिकार क्षेत्र भित्र रहेको आधारभूत तह (कक्षा ८) को अन्तिम परीक्षालाई थप व्यवस्थित गर्ने पालिकाहरुको संख्या बढ्दै गएको छ । छुट्टा छुट्टै केन्द्र तोकेर परीक्षा लिने निर्णय गरेर काठमाडौं महानगरले कार्य अघि बढाउँदै गर्दा पोखरा महानगरले पनि छुट्टा छुट्टै केन्द्र तोकेर परीक्षा लिने निर्णय गरेको छ ।
नगर शिक्षा समिति, परीक्षा समिति लगायत शिक्षाका सरोकारवालाहरुको गत १९ गते बसेको बैठकले परीक्षालाई थप व्यवस्थित गर्न केन्द्र निर्धारण गरेर परीक्षा लिने निर्णय गरेको शिक्षा महाशाखाले जनाएको छ । शैक्षिक सत्र २०८१ को महानगरस्तरीय परीक्षालाई थप व्यवस्थित गर्नका लागि गत वर्षको होम सेण्टरलाई परिवर्तन गरी पायक पर्ने समूह विद्यालयको केन्द्र निर्माण मार्फत् परीक्षा सञ्चालन गर्ने निर्णय भएको महाशाखाले जनाएको छ ।
परीक्षाको केन्द्र र समय तालिका पछि प्रकाशन गर्ने जनाईएको छ । शुरुमा ३३ वटा केन्द्र निर्धारण गर्ने योजना बनाईए पनि विद्यार्थीको सहजताका लागि केन्द्र थप हुन सक्ने देखिएको महाशाखा श्रोतले जनाएको छ । शुरुमा सय जना भन्दा कम विद्यार्थी नहुने गरी केन्द्र निर्धारण गर्ने महाशाखाको योजना थियो । तर, कतिपय विद्यालयका बालबालिकालाई अपायक पर्ने भए पछि केन्द्र थप्नु पर्ने देखिएको जनाईएको छ ।
पोखरा महानगर भित्र दुई सय तीन सामुदायिक, दुई सय सात निजी र वटा गुरुकुल, गुम्बा गरी ११ विद्यालय सञ्चालनमा छन् । यी मध्ये कक्षा ८ सम्म सञ्चालन भएका सामुदायिक विद्यालय एक सय नौ र निजी एक सय ७८ वटा छन् । सामुदायिकको कक्षा ८ मा तीन हजार नौ सय ११ र निजीमा छ हजार छ सय १३ विद्यार्थी अध्ययनरत रहेको महाशाखासँग तथ्याँङ्क छ ।
यस अघि काठमाडौं महानगरले गरेको निर्णय प्रति निजी विद्यालय सञ्चालकहरुले भने आपत्ति जनाएका छन् । विद्यालयले आफैं परीक्षा लिने र आफैं नतिजा प्रकाशन गर्दा विद्यार्थीको यकिन सिकाइ मापन हुन नसकेको भन्दै आलोचना हुँदै आएको छ । खास गरी निजी विद्यालयहरुले आफ्नो विद्यालयलाई गतिलो देखाउन विना सिकाइ विद्यार्थी उत्तीर्ण गराउँदै आएको उनीहरु माथि आरोप लाग्दै आएको छ ।
प्रतिक्रिया