काठमाडौं - तत्कालिन शिक्षा मन्त्री सुमना श्रेष्ठलाई मोबाइलमा एउटा म्यासेज आयो – ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धान भइरहेका एक शिक्षकसँग ५० हजार रुपैयाँ लिएर पेन्सन पट्टा बनाइदियो । पेन्सन पट्टा बनाएर ती शिक्षक अमेरिका गइसके ।’
श्रेष्ठले त्यो म्यासेजको तत्काल सुनुवाई गरिन् । ती कर्मचारी को हुन ? पत्ता लगाइन् । ५० हजार रुपैँया घुस लिने कर्मचारी थिए – शाखा अधिकृत धनेश्वर प्रसाईं ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सहमती लिएर गत जेठमा उनलाई सानोठिमी स्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सरुवा पनि गरियो । तर, हाजिर भएनन् । शिक्षक किताबखानाबाट रमाना समेत नलिई उनी बसिरहे । मन्त्रालयले पनि उनलाई सरुवा भएको केन्द्रमा पठाउन दबाब दिन चाहेन किनभने उनी एमाले निकट नेपाल निजामती कर्मचारी संगठन शिक्षा मन्त्रालयको विभागीय कार्यसमितिका कोषाध्यक्ष हुन् । मन्त्रीले सरुवाको सहमती जुटाए पनि मन्त्रालयका उच्च तहका कर्मचारीहरु भने उनलाई जोगाउन चाहन्थे । सुमना मन्त्रीबाट हटे पछि जसले प्रसाईंलाई जोगाउन चाहन्थे उनीहरु सफल भए ।
उनै प्रसाईंलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पुनः सेवाग्राहीसँग तीन लाख रुपैँया घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।
पढ्नुहोस् : शिक्षकको पेन्सनपट्टा बनाउन घुस मागेको अभियोगमा रकम सहित कर्मचारी पक्राउ
शिक्षकको पेन्सनपट्टा बनाउँदा सेवाग्राहीबाट तीन लाख रुपैँया घुस लिइसकेको अवस्थामा प्रसाईंलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् । संघीयता सँगै कर्मचारी समायोजन भएका बेला प्रसाईं मन्थली नगरपालिकामा समायोजन भएका थिए । स्थानीय तहमा नगइ उनी नेताको शक्तिको आडमा संघमै काजमा छन् । कर्मचारी संगठन र राजनीतिक दलका नेताहरुसँगको निकटता दावी गर्दै रवाफ देखाउने गरेको उनकै सहकर्मीहरु बताउँछन् । दलका उच्च तहका नेताहरुसँग हात मिलाएका तथा संगठनका नेताहरु सँग सँगै बसेका फोटाहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले आफू 'शक्ति केन्द्रको निकट रहेको' दावी गर्ने उनका एक जना पुराना सहकर्मीले बताए ।
'उनी एकदमै महत्वाकाँक्षी मान्छे हुन्, केही बर्ष यता उनको व्यक्तिगत रफाव र जीवनशैली अस्वभाविक रुपमा बदलिएको देखिन्थ्यो' उनका एक जना पूर्व सहकर्मीले भने 'कर्मचारी सँगठनको नेता हुँ, दलका नेताहरुसँग पनि उठ बस छ मलाई कसले के गर्न सक्छ भन्दै रवाफ देखाउँथे ।'
खुलेयाम घुस लिने कर्मचारीको रुपमा परिचय बनाएका प्रसाईं पहिलो पटक घुस सहित पक्राउ परेका होइनन् । ५२ हजार रुपैंया घुस सहित २०७७ माघ १५ मा पनि उनी पक्राउ परेका थिए । त्यतिबेला उनी सहित तीन जना पक्राउ परेका थिए ।
त्यस बेला पनि किताबखानामा सेवाग्राहीसँग घुस लिएको आरोपमा आयोगले पक्राउ गरी मुद्दा चलाएको थियो । काम छिटो गरिदिने भन्दै क्याण्टिन सञ्चालक सुदर्शन न्यौपानेले अवकास पश्चात पेन्सन कागजात बनाउन आएका सेवाग्राहीसँग घुस लिएका थिए । उक्त रकम चालक सुरेश नेपालको क्वाटरमा राखेको अवस्थामा भेटिएको थियो । अनुसन्धानको क्रममा प्रसाईंले सेवाग्राहीको काम आलटाल गरी क्याण्टिन सञ्चालक न्यौपानेलाई सेवाग्राहीसँग घुस माग्न लगाई सवारी चालक नेपालले राखेको पुष्टि भएको आयोगले बिशेष अदालतमा दायर गरेको अरोपपत्रमा उल्लेख छ ।
यो पढ्नुहोस्
बिशेषले सफाई दिएपनि पुनरावेदनका लागि आयोग, सर्वोच्च अदालत गएको छ । उक्त मुद्दा अदालतमा चलिरहेको बेला उनी पुनः पक्राउ परेका हुन् ।
बिशेषबाट सफाई पाएपछि सूर्यप्रसाद गौतम सामान्य प्रशासन मन्त्रालयका सचिव भएको बेला उनलाई फेरी शिक्षामा काज पठाएका थिए । मन्त्रालयले उनलाई पुनः पहिला घुस लिएकै कार्यालय शिक्षक किताबखाना पठाएको थियो ।
काठमाडौंका एक शिक्षकको पेन्सन पट्टा बनाउन ५० हजार रुपैँया घुस लिएको आधारमा केन्द्रमा सरुवा भए पनि उनलाई थमौती गर्ने उच्च तहका कर्मचारी माथि पनि आयोगबाट छानविन हुनु पर्ने माग छ ।
‘सरुवा भइसकेका कर्मचारीलाई मन्त्री र सचिव बाहेक अरु कसैले थमौती गर्न सक्दैनन् । मन्त्रीले सरुवा गर्न चाहे पनि कसले रोक्यो भन्ने प्रष्टै छ’ मन्त्रालयका एक कर्मचारीले भने ।
शिक्षा सचिव दिपक काफ्ले २०६९ चैत अघिसम्म भक्तपुरको जिल्ला शिक्षा अधिकारी थिए । त्यस बेला प्रसाईं पनि भक्तपुरमै कार्यरत थिए ।
‘अनियमितता गर्ने र घुस लिने कर्मचारीलाई काखी च्यापेको देखेर हामी त मन्त्रालयका उच्च तहका कर्मचारीको सम्बन्ध कस्तो व्यक्तिसँग रहेछ भनेर छक्कै परेका थियौँ’ मन्त्रालयका ति कर्मचारीले भने ।
प्रतिक्रिया