शिक्षा व्यक्ति, समाज र सिङ्गो राष्ट्रको सर्वाङगिण विकासको माध्यम हो । शिक्षाको जग कमजोर भयो भने उल्लेखित तीन वटै क्षेत्र कमजोर हुने खतरा रहन्छ । आजका विकसित राष्ट्रहरु अमेरिका, युरोप अष्टे«लिया लगायत कतिपय एशिया महादेशका मुलुकहरुले बिकासको आधार गुणस्तरीय, बैज्ञानिक, सिर्जनशील अनुसन्धानमूलक शिक्षा बनाएकोले उनीहरु उन्नतीको शिखरमा पुग्न सफल भएका हुन् । यी राष्ट्रहरुको शैक्षिक इतिहासको अध्ययन गर्दा त्यहाँका शिक्षण संस्थाहरु अत्यन्त अब्बल स्तरमा रहेको पाइन्छ ।
जर्मनीमा चान्सलर एञ्जेला मर्केलको समयमा देशका डाक्टर, इञ्जीनियर तथा न्यायाधिसहरुले मार्केलसंग आफुहरुको तलब, सेवा र सुविधाहरु शिक्षक, प्राध्यापकहरुको सरह हुनुपर्ने माग रोखे । उनीहरुको मागको सम्बोधनमा एञ्जेला मर्केलले डाक्टर, इञ्जीनिययर तथा न्यायाधिस लगायतका दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षकहरुको तुलना तपाईंहरुसंग कसरी हुन सक्छ ? भन्ने जवाफ दिएको खबर चर्चामा आएको थियो । उक्त भनाईबाट विकसित देशहरुले शिक्षा, शिक्षक तथा प्राध्यापकहरुलाई हेर्ने दृष्टिकोण प्रष्ट हुन्छ ।
जर्मनीमा मात्र नभएर शिक्षण पेशालाई युरोप लगायत अन्य देशहरुमा पनि मर्यादित, प्राज्ञिक एवं माथिल्लो दर्जाको पेशाको रुपमा लिएको पाइन्छ । अब्बल दर्जाका जनशक्तिहरुलाई मात्र शिक्षालयहरुमा प्रबेश गराइन्छ । बिकसित देशहरुले योग्य गुरुजनहरुले मात्र दक्ष जनशक्ति उत्पादन गर्न सक्दछन् भन्ने मान्यतामा विश्वास राख्दछन् । शिक्षण पेशामा संलग्न व्यक्ति तथा व्यक्तित्वहरु सामाजिक, आर्थिक एवं प्राज्ञिक रुपमा माथिल्लो स्तरका पेशाकर्मी मानिन्छन् । परन्तु हाम्रो देशको सन्दर्भमा शिक्षा क्षेत्रमा राज्यको कार्यशैली एञ्जेला मर्केलको चिन्तनसंग ठीक उल्टो देखिन्छ । शिक्षामा राजनीति र राजनीतिमा शिक्षा अन्तर घुलन भएको अवस्था छ । शिक्षा क्षेत्र उपेक्षित छ ।
अहिलेको शिक्षाको अवस्थाले राज्य शिक्षा नीति, नियम बनाउने, कार्यान्वयन गर्ने, शिक्षालयहरुको उचित व्यबस्थापन गर्ने कार्यमा सफल देखिंदैन । प्रथम त शिक्षा क्षेत्रलाई हेर्ने राज्यको दृष्किोण दुरदर्शी छैन । एकातिर देशको शिक्षा व्यवहारिक, वैज्ञानिक, प्रवित्रि मैत्री हुन सकेको छैन भने अर्को तिर राज्यको कार्य शैली परम्परात चिन्तन र कार्य शैलीबाट निर्देशित छ । राज्यले तय गरेको शिक्षा नीति, शिक्षाको व्यक्तिगत, सामाजिक र राष्ट्रिय उद्देश्य, तहगत पाठ्यक्रम र पाठ्यपुस्तक लगायतको क्षेत्रमा संशोधन, परिमार्जन तथा आवश्यकता अनुसार परिवर्तन गर्न आवश्यक रहेको विज्ञहरुको कथन छ । यस सन्दर्भमा राज्यले शिक्षा क्षेत्रको समग्र विकासको लागि देशका विज्ञ, विशेषज्ञहरुसंग सहकार्य गर्नु पर्दछ ।
हाम्रो समाजमा विद्यालय पठाए पछि नानीहरुले पढी हाल्छन् भन्ने मनोविज्ञान भएका अभिभावकहरुको संख्या ठूलो छ । आफ्ना नानीहरुको शिक्षा दिक्षामा अभिभावकको भूमिका ठूलो हुन्छ । नेपोलियन वोनापार्टले मलाइ शिक्षित आमा देउ, मैले तिमीलाई असल नागरिक दिन्छु भनेका छन् । उनको भनाईले पनि अभिभावक रुपी आमा शिक्षित वा असल भएमा देशमा असल नागरिक बन्न सक्दछन् भन्ने अर्थ लाग्दछ । कुनै पनि मानिस जन्मने बेलामा सामाजिक हुँदैन । उसलाई भविष्यमा कस्तो छोरा, छोरी वा नागरिक बनाउने भन्ने कुरा अभिभावकले दिने शिक्षा, दीक्षा, संस्कार र दिशानिर्देशले निर्धारण गर्दछ । यस अर्थमा अभिभावकहरु आप्mना नानीहरुका प्रथम गुरु ठानिन्छन् । घर परिवारको वातावरण, संस्कृति, आचार विचार, खानपान, संस्कार, चालचलनले बालबालिकाहरुलाई प्रत्यक्ष वा परोक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ ।
हाम्रा नानीहरुले समाजको संस्कृति, संस्कार मूल्य, मान्यताका साथै नैतिक शिक्षाबाट वञ्चित हुँदै गएको अवस्था छ । नयाँ पुस्तालाई पाश्चात्य सभ्यताको गहिरो प्रभाव परिरहेको छ । अहिले हाम्रा धेरै जसो नानीहरु विद्यालय शिक्षा सकिए पछि उच्च शिक्षा अध्ययनको लागि विदेश पलायन हुँदा देशमा दक्ष जनशक्तिको अभाव हुने ठुलो संभावना देखिन्छ । युवा पुस्तामा आफ्नै देशमा उच्च शिक्षासम्म अध्ययन गरी देशको सेवा गर्ने राष्ट्रिय भावना हराउँदै गएको छ ।
अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई पनि विदेशमा पढ्न पठाउने गरेका छन् । यस सन्दर्भमा आजका नानीहरुलाई राज्य, अभिभावक र शिक्षालयहरुले गुणस्तरीय शिक्षा दिई सक्षम नबनाउने हो भने देशको भविष्य कता जाला ?
राज्य, अभिभावक र शिक्षकहरुको त्रीकोणत्मक पहल विना देशका शिक्षालयहरुको स्तर उकास्न सकिंदैन । अभिभावकले छोराछोरीहरुलाई विद्यालयले दिने शिक्षाको अतिरिक्त घर, परिवारबाट नै असल गुणहरुको विकास गराउन अत्यन्त आवश्यक हुन्छ । अभिभावकले आफ्ना नानीहरुलाई घर परिवारमा नै आफूभन्दा ठूलालाई आदर गर्न, सानोलाई माया गर्न, सहयोगी भावनाको विकास गर्न, देशलाई माया गर्न, आफ्नो काम आफै गर्न, स्वाबलम्बी बन्न, छिमेकी, एवं आफन्तजनसंग राम्रो व्यवहार विकास गर्न सिकाउनु पर्दछ । अभिभावकले नानीहरुलाई व्यक्तिबाट बदलेर सामाजिक बनाउने भूमिका खेल्नु पर्दछ । उनीहरुमा परोपकारी भावनाको विकास गराउनु पर्दछ ।
परिवार साझा विचार विनिमयको ठाउँ हो । अभिभावकहरु जति बढि चेतनशील र व्यबहारिक हुन्छन् त्यति नानीहरुको सामाजिक, मनोवैज्ञानिक, संवेगात्मक, वौद्धिक स्तर लगायतका क्षेत्रमा विकास हुन सक्दछ । अभिभावकहरुले आफ्ना नानीहरुको व्यबहार, भाषिक, धार्मिक, साँस्कृतिक, सांस्कारिक अभ्यास खानपान, भेष–भूषा, चालचलन लगायतका अभ्यासले बालबालिकाहरुमा सिकाइ हुन्छ । अभिभावकमा जति इमान्दारिता, सामाजिक भावना, व्यबहारिक ज्ञान, उदार व्यबहार, परोपकारी आचरण हुन्छ त्यसरी नै नानीहरुको आचरण निर्माण हुन्छ । नानीहरुले अभिभावकका कृयाकलापहरुलाई अवलोकन, देखासिखी र अनुसरणगरी ज्ञान आर्जन गर्दछन् । यसर्थ आप्mना नानीहरुलाई उज्यालो भविष्य प्रदान गर्न विद्यालयमा पठाएर मात्र हुँदैन । उनीहरुलाई व्यवहारिक ज्ञान घर, परिवार एवं समुदायमा नै सिकाउन आवश्यक हुन्छ ।
अहिले समय वदलिएको छ । समाजका मूल्य र मान्यताहरु वदलिएका छन् । शिक्षा घर, पविारबाट शुरु भएर स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय हुने भएकोले आजको व्यक्ति, समाज र विश्व बजारको मागलाई समेत सम्बोधन गर्न सक्ने शिक्षा र दिशानिर्देश आजका बालबालिकाहरुको आवश्यकता हो । आजका नानीहरुलाई विज्ञान र प्राविधिक सीप अति आवश्यक भइसकेको अवस्था छ । एकातिर विज्ञान र प्रविधिको विकासले उपलब्ध गराएका इण्टरनेट, कम्प्युटर, मोवाइल लगायतका डिजीटल प्रयोगहरुको आवश्यकता समयको माग बनेको छ भने अर्कोतिर यी सुविधाहरुको उचित प्रयोग हुन नसकेकोले हाम्रा नानीहरुलाई एकोहोरो बनाएको, सामाजिक र व्यवहारिक बन्न सहयोग नगरेको वालमनोविदहरुको निष्कर्श छ । शिक्षकहरुको गुनासो छ । अग्रज पुस्ताको असन्तुष्टि छ ।
अन्त्यमा, देशको शिक्षा प्रणाली समय सापेक्ष, गुणस्तरीय, मौलिक, बैज्ञानिक, अनुसन्धानमूलक तथा सिर्जनशील हुन नसकेमा व्यक्ति, समाज र सिङ्गो मुलुकको भविष्य नै अन्धकार हुन्छ । आजका नानीहरुमा आफूले आर्जन गर्ने ज्ञान र सिक्ने सीप कमजोर भएमा देशका हरेक क्षेत्रहरु कमजोर हुन्छन् । यसर्थ राज्य, अभिभावक लगायत सरोकारवालाहरुको सहकार्यमा आजका विद्यार्थीलाई समय सापेक्ष, जीवन उपयोगी गुणस्तरीय शिक्षा प्रदान गर्न विलम्ब नगरौं ।
प्रतिक्रिया