काठमाडौं - प्रधानमन्त्री केपी ओलीले कक्षा १० को अन्तिम परीक्षा एसईईको नतिजालाई ७० प्रतिशत सम्म पुर्याउने घोषणा गरे पनि काठमाडौं उपत्यकाको एक स्थानीय तहले शतप्रतिशत नतिजा पुर्याउने लक्ष्य लिएर कक्षाकोठामा सिकाइ सुधारको योजना सुरु गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकाले कक्षा १० को अन्तिम परीक्षा एसईईमा एनजी उन्मुलन अभियान सुरु गरेर कक्षाकोठामा विद्यार्थीको सिकाइ सुधारको थालनी गरेको हो ।
प्रधानमन्त्री ओलीले कक्षा १० का विद्यार्थीको सिकाइ सुधार गर्ने घोषणा गरे पछि प्रधानमन्त्री कार्यालयले सरकारी संयन्त्र नै परिचालन गरेर प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलीको निजी कम्पनीको प्रवर्द्धन शुरु गरेको थियो । प्रधानमन्त्रीसँगको पहुँचमा आधारमा गरिएको उक्त कार्य माथि अहिले अख्तियारले छानविन शुरु गरेको छ ।
तर, कागेश्वरी मनोहरा नगरपालिकाले भने सिकाइ कमजोर भएका विद्यार्थी पहिचान गरी उपचारात्मक विधिबाट कक्षाकोठामै थप कक्षा चलाउने विधि अपनाउने निर्णय गरेको हो । विद्यार्थीको सिकाइ सुधार गर्न अनलाइन कक्षा चलाउन साधन र इण्टरनेटको पहुँच नभए पछि नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्षलाई जिम्मेवार बनाएर शुक्रबारदेखि सिकाइ सुधारको योजना शुरु गरेको हो ।
सिकाइ कमजोर भएका विद्यार्थीलाई उपचारात्मक कक्षा चलाएर नगरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने कुनै पनि विद्यार्थीको एनजी आउन नहुने नीति अनुसार सुधारको योजना सुरु गरेको शिक्षा शाखा प्रमुख पुष्प ढकालले बताए ।
‘सिकाइ उपलब्धी न्यून भएका विद्यार्थी पहिचान गर्छौं । ती विद्यार्थीको आवश्यकताको आधारमा समूह निर्माण गरेर उपचारात्मक विधिबाट सिकाइ सुधार गर्ने, साप्ताहिक परीक्षा लिने, पृष्ठपोषण दिने नीति लिएका छौँ’ उनले भने, ‘विद्यार्थीको सिकाइ कम्तीमा ३५ प्रतिशत सुनिश्चित गर्नु पर्ने हुन्छ ।’
नगरपालिकाले सिकाइ सुधार गर्न शुक्रबार प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षलाई एनजी उन्मुलन गराउन पाँच बुँदे प्रतिवद्धतामा हस्ताक्षर गर्न लगाएको छ । प्रतिवद्धतामा चालू शैक्षिक सत्र २०८१ को अन्त्य सम्ममा एनजी उन्मुलन गर्ने गरी अधिकतम प्रयत्न गर्ने उल्लेख छ । त्यस्तै न्यून सिकाइ उपलब्धी भएका विद्यार्थीलाई लक्षित गरी ७५ दिने रिमिडियल टिचिङ क्याम्प सञ्चालन गर्ने, प्रत्येक विषयको न्यूनतम लक्षित प्राप्ताङ्क घोषणा गरी वैयक्तिक उपचारात्मक शिक्षणको व्यवस्था मिलाउने प्रतिवद्धता छ । यसका लागि हरेक शनिबार परीक्षा सञ्चालन गरी सिकाइ उपलब्धी सुधारमा निरन्तर क्रियाशील राख्ने, सबै विद्यार्थीको न्यूनतम सिकाइ उपलब्धी ३५ सुनिश्चत गर्ने उनीहरुले प्रतिवद्धता जनाएका छन् ।
एनजी उन्मुलन गर्न एसईई शुरु हुनु भन्दा अघिसम्म बिहान बेलुका अतिरिक्त कक्षा चलाउन नगरपालिकाले विद्यालयलाई अनुदान दिने तयारी समेत गरेको छ । विद्यालयकै विषयगत शिक्षकले अतिरिक्त कक्षा चलाएर विद्यार्थीको सिकाइ सुधार गर्ने योजना अघि सारिएको हो । दोस्रो त्रैमासिक परीक्षाको नतिजाको आधारमा ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई ‘रिमिडिअल’ कक्षा चलाउन लागेको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले बताए । धेरै विद्यार्थीको एनजी आउने र सीमित विद्यार्थीको चार जीपीए आउनुको कुनै अर्थ नभएको उनले बताए ।
‘चार जीपीएलाई भन्दा पनि सबै विद्यार्थी ग्रेडेड भएको हुनु पर्छ’ मेयर कार्कीले भने ‘नगरपालिकाले पुरस्कृत गर्दा पनि नन् ग्रेडेड (एनजी) शुन्य भएको आधारमा पुरस्कृत गर्छौं।’
नगरपालिकाले थप लगानी गरेर एनजी उन्मुलन अभियान सुरु गर्न लागेको उनले बताए ।
‘तपाईंले पढाएका विद्यार्थीले कम्तीमा ३५ प्रतिशत ल्याउनै पर्छ । यदि यो अंक हासिल गर्न सक्दैनन् भने हामीले छुट्टै लगानी गरेर अतिरिक्त कक्षा सञ्चालन गरेको अर्थ के हुन्छ ?’ कार्यक्रमको सुरुवातमा शिक्षक प्रधानाध्यापकलाई सम्बोधन गर्दै कार्कीले भने ‘हामीले सहयोग गर्दा पनि विद्यार्थीको नतिजा एनजी आउँछ भने शिक्षकको कमजोरी हो । यस्ता शिक्षकलाई कारवाही गर्न त सकिदैँन, तर विद्यार्थीको सिकाइ सुधार गर्न नसक्ने शिक्षकलाई कक्षामा भन्दा पनि चौरमा सुन्तला र बदाम किन्न म लगानी गर्न तयार छु ।’
नगरपालिकाले लिएको योजना र लक्ष्य पुरा गर्न सहयोग गरिदिन उनले विद्यालयका प्रधानाध्यापक र अध्यक्षहरुलाई आग्रह गरे ।
एनजी उन्मुलन अभियान अन्तर्गत पालिकाले विद्यार्थी उपलब्धी अभिवृद्धि योजना (सार्प) निर्माण गरेको थियो । यसमा विद्यार्थीले आफ्नो सिकाइको लक्ष्य आफै निर्धारण गर्नु पर्ने र विद्यार्थीले लिएको लक्ष्यको आधारमा विषयगत शिक्षकले कक्षाको हरेक विषयमा कम्तीमा ल्याउनु पर्ने अंक तोक्नु पर्ने हुन्छ । शिक्षकले सिकाइ सुधार योजना बनाएर कार्यान्वयन गर्नु पर्ने हुन्छ । ‘पहिला शिक्षकले घोषणा र त्यसपछि विद्यालयको सिकाइको औषत अंक घोषणा गरिन्छ’ शिक्षा शाखा प्रमुख ढकालले भने ।
प्रतिक्रिया