Edukhabar
शुक्रबार, ११ माघ २०८१
विदेशमा शिक्षा

'नेपालमा केही हुँदैन' भन्ने भाष्य खडा गर्नेहरुको निगरानी गर्दै शिक्षा मन्त्रालय

गलत सन्देश प्रवाह गर्नेहरु माथि कारवाही गर्ने भन्दै शिक्षा मन्त्रालयले सचेत गराएको छ ।

सोमबार, ०८ पुस २०८१

काठमाडौं - नेपालमा केही हुँदैन, विदेश नै जानु पर्छ भन्ने सन्देश प्रवाह गर्दै विद्यार्थी एवं अभिभावकलाई भ्रममा पार्ने शैक्षिक परामर्शदातृ संस्थाहरु (कन्सल्टेन्सि) माथि शिक्षा मन्त्रालयले निगरानी शुरु गरेको जनाएको छ । कतिपय कन्सल्टेन्सिहरुले विद्यार्थी तथा अभिभावकलाई भ्रममा पार्दै हुँदै नभएका कुराहरुलाई समेटेर प्रचार प्रसारका सामग्री बनाएको भन्दै मन्त्रालयले उनीहरुलाई सचेत बनाएको हो । 

सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले विभिन्न मिडिया एवं सामाजिक सञ्जालहरुमा नेपालमा केही पनि गर्न सकिँदैन भन्ने जस्ता सन्देश प्रवाह हुनेगरी प्रचार प्रसार गरेको फेला परेको जनाएको छ । यस्ता प्रचार प्रसार आए पछि अभिभावक एवं विद्यार्थीले समेत गुनासो गरेकोले मन्त्रालयले कानून स्मरण गराएको जनाएको छ । 

शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७३ ले यस्ता संस्थाहरुले गर्ने प्रचार प्रसारको शैली समेत किटान गरेको छ । निर्देशिकाको संस्था सम्बन्धि व्यवस्था अन्र्तगत परिच्छेद चारको दफा सातमा संस्थाले पालना गर्नु पर्ने शर्तहरुको व्यवस्था गरिएको छ । सोही दफाको तीनमा शैक्षिक परामर्श, पूर्व तयारी कक्षा तथा भाषा शिक्षण दिने संस्थाले आफ्नो सेवा सम्बन्धि प्रचार प्रसार गर्दा पालना गर्नु पर्ने नियम उल्लेख गरिएको छ । उक्त बुँदाका विभिन्न चार शिर्षकका १० विषयलाई पालना नगरे सेवा बन्द गर्न सकिने निर्देशिकाको व्यवस्था छ । भ्रामक, अनिश्चित, अपुष्ट र आधारहीन कुरा राखि प्रचार प्रसार एवं विज्ञापन गर्न नहुने, अध्ययन सम्बन्धि शैक्षिक परामर्श प्रदान गर्न शैक्षिक मेला वा प्रदर्शनी आयोजना गर्दा मन्त्रालयको स्विकृती लिनु पर्ने जस्ता व्यवस्था निर्देशिकामा छ । यदी निर्देशिकाको व्यवस्था पालना नगरेको खण्डमा मन्त्रालयले त्यस्ता संस्थाको स्विकृती नै रद्द गर्न सक्ने कानूनी व्यवस्था छ । 

मन्त्रालयले निकालेको सूचना हेर्नुहोस् : 

consulty

प्रतिक्रिया