Edukhabar
बुधबार, ०९ माघ २०८१
सम्पादकीय

दलीय स्वार्थको ‘चंगुल चिर्न’ देखिएको सुधारको सानो संकेत

यस अघि नियुक्ति गर्दा अपनाईने औपचारिकतामा आफ्ना नेताले दिएको नाम अनुमोदन गराएर उनीहरु दलप्रति आफ्नो ‘क्रेडिट’ थप बढाउँथे !

सोमबार, ०१ पुस २०८१

दलीय भागबण्डाबाट आक्रान्त बनाईएको देशकै जेठो विश्वविद्याल त्रिभुवन विश्वविद्यालयमा पछिल्लो समय गरिएको नियुक्तिले सुधारको सानो संकेत देखाएको छ । दलका नेताहरुको खल्तीबाट निकालिएको नाम सदर गर्न अभिसप्त विश्वविद्यालयको कार्यकारी परिषद्ले यसपटक डीन नियुक्तिमा थिती बसाल्ने पाईला चालेको छ । यसलाई जोगाएर थप परिस्कृत बनाउँदै निरन्तरता दिन सक्ने हो भने दलीय स्वार्थको चंगुलबाट थिचिदैं थिचिदैं पाताल पुर्याईएको विश्वविद्यालयको साख सुधारको पहिलो पाईला बन्न सक्ने आधार देखिएको छ । 

छनोट सम्बन्धि मापदण्डलाई थप परिस्कृत बनाउनु त पर्छ नै, यसमा कुनै शंका छैन । कुनै एक समय र परिस्थितिमा बनेको मापदण्ड अनन्त काल सम्म सान्दर्भिक नहुन सक्छ । तर, आजको दिनमा विश्वविद्यालयमा नियुक्तिका लागि कार्यकारी परिषद्ले जे विधि अपनायो र टुगोंमा पुर्यायो त्यो सुधारका लागि भएको एक तहको सकारात्मक अभ्यास हो । सुधारको संकेत हो । 

यस अघि यस्ता नियुक्तिमा न उम्मेद्वारको अन्तरवार्ता हुन्थ्यो, न कार्ययोजना नै बुझाउनु पथ्र्यो ! प्रकृया पुरा गर्न औपचारिकताका लागि सर्च कमिटि गठन त गरिन्थ्यो तर त्यस्ता सर्च कमिटिको जिम्मा खुल्लम खुला दलमा सकृय भएका मान्छेले पाउँथे । अनी उनीहरु आफ्ना दलका नेताले दिएको नाम अनुमोदन गराएर दलप्रति आफ्नो ‘क्रेडिट’ थप बढाउँथे ! सर्च कमिटिबाट दलका नेताले भनेकै तीन जनाको नाम सिफारिस गराईन्थ्यो । त्यस मध्ये एक जनालाई भागबण्डा गरेर नियुक्त गरिन्थ्यो । यसपाली कम्तीमा यो विधिलाई नअपनाएर एक कदम अघि बढेको छ ।  

त्यस्ता सयौं प्राध्यापक विश्वविद्यालयमा अहिले पनि कार्यरत छन् जो खुरुखुरु कक्षा लिन्छन् खुरुखुरु फर्कन्छन् ! उनीहरुको क्षमतालाई विश्वविद्यालयको प्राज्ञिक उन्नयनमा प्रयोग गर्न यो नियुक्ति कोशेढुङ्गां बन्न सक्ने देखिएको छ ।

यस पटक विश्वविद्यालयको कार्यकारी परिषद्ले कार्यविधि बनायो, सर्च कमिटिले कार्ययोजना सहित आवेदन माग्यो । त्यो कार्य योजनाको प्रस्तुती दिन लगायो । अन्तरवार्ता लियो र परिषद् समक्ष सिफारिस गर्यो । आवेदन दिएका मध्ये कार्यविधिको मापदण्ड अनुसार कमिटिले तुलनात्मक रुपमा अब्बल व्यक्ति सिफारिस गर्यो । ती मध्येबाटै परिषद्ले नियुक्ति दियो । 

पढ्नुहोस् : दलीय भागबण्डाबाट टाढिँदै त्रिविको नियुक्ति

हो, यो नियुक्तिमा परेकाहरु मध्ये कतिपय व्यक्ति कुनै अमुक राजनीतिक दल निकट छन् । तर, यसमा ख्याल गर्नु पर्ने कुरा के हो भने, विश्वविद्यालयलाई यस्तो हालतमा पुर्याएका छन् कि त्यहाँका अधिकाँश प्राध्यापक दलको फेरो नसमाई जिम्मेवारी प्राप्त गर्न त परै जाओस् टिक्नै नसक्ने अवस्था बनाईएको छ । त्यही त्रासमा कतिपय व्यक्ति कुनै समय कुनै राजनीतिक दल निकट हुन वाध्य थिए अथवा पारिएका थिए र अझै पनि छन् नै । 

त्यहि भिडमा त्यस्ता सयौं प्राध्यापक विश्वविद्यालयमा अहिले पनि कार्यरत छन् जो खुरुखुरु कक्षा लिन्छन् खुरुखुरु फर्कन्छन् ! उनीहरुको क्षमतालाई विश्वविद्यालयको प्राज्ञिक उन्नयनमा प्रयोग गर्न यो नियुक्ति कोशेढुङ्गां बन्न सक्ने देखिएको छ । केही गर्छु भन्ने ‘जुनुन’ सहित प्राज्ञिक र व्यवस्थापकीय दुबै क्षमता पनि भएका त्यस्ता व्यक्ति दलमा आवद्ध नभएकै कारण किनारामा पुर्याईएको लामो समय भयो । विश्वविद्यालयमा विगत झण्डै तीन दशक देखि जारी यथार्थ यही हो । विश्वविद्यालयमा प्राज्ञिक मर्यादा जोगाएर बसेका त्यस्ता प्राध्यापकहरुको योग्यतालाई मुलधारमा ल्याउन विद्यमान दलीय भागबण्डाको अन्त्य विना सम्भव नै छैन । 

जुन मुलुकमा विश्वविद्यालय सवल हुँदैनन् त्यो मुलुकले सामाजिक, आर्थिक, राजनीतिक, नैतिक कुनै पनि मुल्य स्थापित गर्न सक्दैन ।

अहिलेको नियुक्ति त्यस तर्फको पहिलो पाईला हो भन्ने ईतिहासमा प्रमाणित गर्ने तर्फ गम्भिर हुनु जरुरी छ । यसमा विश्वविद्यालयको कार्यकारीले मात्रै सोचेर पुग्दैन सत्ताधारी र विपक्षी मुख्य राजनीतिक दलका नेताहरुले  मनन् गर्ने ल्याकत राख्नु पर्छ । सुधारका लागि भएका यस्तै साना साना प्रयासलाई संरक्षण नगर्ने हो भने विश्वविद्यालय माथिको निर्लज्ज राजनीतिक हस्तक्षेप जारी रहने छ, आउँदा अनेकन पुस्ताको शैक्षिक विकासमा अवरोध आउने छ ।

विश्वविद्यालयमा हाम्रो कुनै दवाव छैन भन्ने दलका नेताहरुको प्रतिवद्धता ‘ओठे प्रपञ्च’ मात्रै हो भन्ने थप प्रमाणित हुँदै जाने छ । जुन मुलुकमा विश्वविद्यालय सवल हुँदैनन् त्यो मुलुकले सामाजिक, आर्थिक, राजनीतिक, नैतिक कुनै पनि मुल्य स्थापित गर्न सक्दैन । तसर्थ अहिले देखिएको सुधारको सानो प्रयासलाई थप संस्थागत गर्ने तर्फ राज्य, राजनीतिक दल, त्रिवि कार्यकारी परिषद् र ‘दलको दौरा समाउँदा मख्ख पर्ने’ कतिपय प्राध्यापकहरु स्वयं पनि गम्भिर बनुन् ।

प्रतिक्रिया