Edukhabar
शनिबार, ०६ पुस २०८१
गतिविधि

छात्रवृत्ति प्राप्त सामुदायिकका विद्यार्थीको सफलताका कथा खोजी

अदक्ष वा अर्धदक्ष सीप सहित विदेश भासिनु पर्दैन भन्ने मानक स्थापना गर्न ‘हामी नेपाली सक्षम छौं’ अभियान मार्फत् विद्यार्थीका संघर्ष र सफलताका कथा खोज्दै

सोमबार, ०१ पुस २०८१

काठमाडौं - आफूले छात्रवृत्ति प्रदान गरेर पढाईरहेका सामुदायिक विद्यालयका १६ जना विद्यार्थीको भिडियो कथा ईस्लिङ्टन कलेजले सार्वजनिक गरेको छ । बेलायत स्थित लण्डन मेट्रोपोलिटियन यूनिर्भसिटिको सम्बन्धनमा सञ्चालित उक्त कलेजले सिन्धुपाल्चोकको मेलम्चि स्थित तेर्से माध्यमिक विद्यालयका चार र चितवनको शक्तिखोर स्थित शक्तिखोर माध्यमिक विद्यालयका १२ बालबालिकालाई कक्षा ११ देखि छात्रवृत्ति दिएर अध्ययनमा सघाउँदै आएको छ । खाना र बस्नका लागि होस्टलको व्यवस्था, कपडा र किताब कापी लगायतका सम्पूर्ण शैक्षिक सामग्री सहित उनीहरुको पढाईमा सघाएको कलेजका प्रमुख शुलभ बुढाथोकिले बताए ।  

सामुदायिक विद्यालयमा पढेका आर्थिक रुपले कमजोर र सामाजिक रुपले सिमान्तकृत वर्गका बालबालिकालाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरेको बुढाथोकिले बताए । अदक्ष वा अर्धदक्ष सीप सहित नेपाली विदेश भासिनु पर्दैन भन्ने मानक स्थापना गर्न ‘हामी नेपाली सक्षम छौं’ भन्ने अभियान मार्फत् कलेजले विद्यार्थीका संघर्ष र सफलताका कथा संकलन समेत शुरु गरेको बुढोथोकिले बताए । 

‘हामीले खोज्न लागेका विद्यार्थीका त्यस्ता कथा पुर्नजागरणका कथा हुन्, हाम्रो कार्यक्रम माई सेकेण्ड टिचर मार्फत् सिकाइमा संलग्न तथा काठमाडौं, ईटहरी र पोखरामा सञ्चालित हाम्रा आफ्नै कजेजहरु मार्फत् अध्ययन पुरा गरि स्वरोजगार एवं उद्यमशील र आर्कषक कमाई साथ रोजगारीमा लागेका विद्यार्थीका कथा खोज्ने अभियान शुरु गरेका हौँ’ उनले भने ‘यसले एकातिर हाम्रो २५ बर्ष देखि निरन्तर जारी कामलाई डकुमेण्टेशन गर्छ भने अर्का तिर विदेशको कोर्ष नेपालमै बसेर पढ्ने र यसबाट आफ्नै देशमा रोजगार वा स्वरोजगार हुन सकिन्छ भन्ने मान्यता स्थापित गर्ने छ ।’ 

सूचना प्रविधि अन्तरगत शिक्षा क्षेत्रमा राज्यको लगानी शुन्य भएको अवस्थामा यस क्षेत्रलाई पर्यटन व्यवसायकै हाराहामीमा स्थापित गर्न सकिन्छ भन्नेमा आफूहरु विश्वस्त भएर कार्य गरिरहेको उनले बताए । कलेजले अन्य थुप्रै विद्यार्थीलाई छात्रवृत्ति दिएको जनाएको छ ।  सोमबार अभियानको घोषणा गर्दै बुढाथोकिले ती १६ विद्यार्थीको भिडियो कथा सार्वजनिक गरेका हुन् । 

‘नेपालमा केही गर्न हुन्न अथवा केaह ीगर्न सकिन्न भन्ने जुन भाष्य बनिरहेको छ त्यो भाष्य गलत हो भन्ने कुरा हामीले पढाएका विद्यार्थी आफैंले प्रमाणित गरिसकेका छन्’ उनले भने, ‘यस्ता परिवर्तनको कथा, संघर्ष, दृढता र देश प्रेमको कथाले देश निर्माण सम्भव छ भन्ने स्थापित गर्ने हाम्रो उद्देश्य हो ।’

कलेजले देशभरका विभिन्न एक सय ५८ सामुदायिक विद्यालयका १० हजार बढी विद्यार्थीलाई माई सेकेण्ड टिचर मार्फत् सिकाइमा सहजीकरण समेत गर्दै आएको उनले बताए । 

उक्त अवसरमा कलेज र विश्वविद्यालय बिच नेपालमा कक्षा ११ र १२ मा कम्प्युटर विज्ञानमा उत्तीर्ण विद्यार्थीलाई विश्वविद्यालयले प्रमाणपत्र दिने सम्झौता पनि गरिएको छ । उक्त सम्झौतामा कलेजका तर्फबाट प्रमुख कार्यकारी रोहित पाण्डे र माई सेकेण्ड टिचरकी प्रमुख  मेधा भट्टराई तथा विश्वविद्यालयका तर्फबाट डीन क्रिष्टोफर लेनले हस्ताक्षर गरेका छन् । माई सेकेण्ड टिचर मार्फत् सिकाइ गरिरहेका सामुदायिक वा निजी जुन सुकै विद्यालयबाट कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान उत्तीर्ण विद्यार्थीले उक्त प्रमाणपत्र प्राप्त गर्न सक्ने पाण्डेले जानकारी दिए । सम्झौता पत्रमा हस्ताक्षर गरेपछि क्रिष्टोफरले यो सम्झौताले नेपाल सरकारको विद्यालय तहको कम्प्युटर शिक्षालाई विश्वविद्यालयले मान्यता दिन पाउँदा आफू खुसी भएको बताए । 

प्रतिक्रिया