Edukhabar
बुधबार, ०९ माघ २०८१
खबर/फिचर

दलीय भागबण्डाबाट टाढिँदै त्रिविको नियुक्ति

यस अघि उपकुलपति र अहिले डीन दुबैमा ‘आउट’

आइतबार, ३० मंसिर २०८१

काठमाडौं - त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले विश्वविद्यालय सम्हालेको नौ महिना पछि आफु जस्तै खुला प्रतिष्पर्धाबाट छनोट गरी आफ्नो टीम बनाएका छन् । उपकुलपति बरालले विगतमा जस्तो देखिने गरी दलीय भागबण्डा भन्दा पनि प्रतिष्पर्धा गराएर रेक्टर, रजिष्ट्रार, डीन र अनुसन्धान केन्द्रका निर्देशक, सहायक परीक्षा नियन्त्रक खुला प्रतिष्पर्धाबाट छनोट गरेका हुन् । 

यस अघि रेक्टर र रजिष्ट्रार नियुक्ति गर्न ९० भन्दा बढीले आवेदन दिए पनि उपकुलपति बरालले सत्तारुढ र विपक्षी दलसँग अडान लिएर आफुले रोजेकै व्यक्तिलाई नियुक्ति दिलाएका थिए । तत्कालिन समयको प्रमुख प्रतिपक्षी दल एमालेले आफु निकटका प्राध्यापक संघका अध्यक्षलाई नियुक्ति गर्न दबाब दिएको भए पनि तत्कालिन शिक्षा मन्त्री सुमना श्रेष्ठ र उपकुलपति बरालले लिएको अडान अनुसार नै रेक्टरमा प्रा.डा. खड्ग केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाललाई नियुक्ति गरिएको थियो । 

रेक्टर र रजिष्ट्रार पछि बरालले सह परीक्षा नियन्त्रक पनि खुला प्रतिष्पर्धा गराएर अघिल्लो साता  नियुक्ति गरिसकेका छन् । नियुक्ति भएका मध्ये बिराटनगरमा नियुक्ति गरिएका सह–परीक्षा नियन्त्रकले भने अध्ययन पुरा नगरी पीएचडीको शैक्षिक योग्यता देखाएको घटना बाहिर आएको छ । 

प्रतिष्पर्धाको तेस्रो श्रृङखलामा डीन र निर्देशकहरुको नियुक्ति भएको हो । भदौ १७ मा गरेको खुला विज्ञापनमा आवेदन दिएका मध्येबाट आठ जना डीन र तीन जना निर्देशक छनोट गरेको त्रिविले जनाएको छ ।

यसरी प्रतिष्पर्धाबाट छनोटमा परेका पदाधिकारी खुसी छन् । छनोटबाट बाहिएका मध्ये केहीले भने मेरिटको नाममा दलको कार्यकर्ता नै छनोट गरेको भन्दै उपकुलपतिको चर्को बिरोध गरेका छन् । 

आठ जना डीनको लागि ६३ र निर्देशकको लागि १६ जनाले आवेदन दिएका थिए । शिक्षा विकास तथा अनुसन्धान केन्द्र सेरिडमा एक पदको लागि आठ र योजना निर्देशकमा आठ जनाले आवेदन दिएका थिए । 

विश्वविद्यालयको कार्यकारी परिषद्ले छनोट समिति बनाएर कार्ययोजना प्रस्तुती, अन्तरवार्ताको प्रक्रियाबाट सर्टलिष्ट निकालेको थियो । उनीहरु मध्येबाट मेरिट भन्दा पनि योग्य व्यक्ति छनोट गरेको त्रिवि स्रोतले जनाएको छ । 

कार्यकारी परिषद्को शनिबार बसेको बैठकले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा प्रा.डा.मोहनराज शर्मा, इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा प्रा.डा.सुशीलबहादुर बज्राचार्य, व्यवस्थापन संकायमा प्रा.डा.महानन्द चालिसे, मानविकी तथा सामाजिक शास्त्र संकायमा प्रा.डा.दुविनन्द ढकाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा डा. किशोरचन्द्र दाहाल, शिक्षा शास्त्र संकायमा प्रा.डा. वेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा डा.ठाकुर सिलवाल र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा.डा.शंकर खनाललाई नियुक्त गरेको हो । त्यस्तै सेरिडमा डा.राजेन्द्र कुँवर, व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रमा प्रा.डा. मिना राजभण्डारी र त्रिवि योजना निर्देशनालयमा डा.लक्ष्मीकान्त शर्मालाई नियुक्त गरेको त्रिविले जनाएको छ । 

विश्वविद्यालयको आठ डीन, निर्देशकहरु, सह परीक्षा नियन्त्रक र क्याम्पस प्रमुखमा दुई सय ७१ जनाले आवेदन दिएका थिए । पदाधिकारी मध्ये अब क्याम्पस प्रमुख छनोटको चरण सुरु हुने विश्वविद्यालयले जनाएको छ । 

गत विहीबार बसेको विव्विद्यालयको सभामा कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले आफ्नो दलले भाग खोजेका कारण विश्वविद्यालयमा खाली रहेका डीन र क्याम्पस प्रमुख नियुक्तिमा ढिलाई भएको विषयमा सार्वजनिक समाचार प्रति आलोचना गरेका थिए । नियुक्तिमा आफूले कुनै हस्तक्षेप नगरेको भन्दै पुस ७ गते विहान ११ बजे बस्ने अनौपचारिक सभामा नयाँ डिन लिएर आउन उपकुलपतिलाई निर्देशन दिएका थिए । 

यस अघि उपकुलपति र अहिले डीन दुबैमा ‘आउट’

यस अघि उपकुलपतिको अन्तिम तीन जनाको सुचीमा परेका प्रा.डा. चित्रहादुर बुढाथोकी  डीनको प्रतिष्पर्धाबाट पनि बाहिरिएका छन् । छनोट समितिले एक नम्बरमा बुढाथोकी, दुई नम्बरमा अहिलेका उपकुलपति बराल र तेस्रोमा प्रा.डा. टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले बराललाई नियुक्त गरेका थिए । एक नम्बरमा परेका बुढाथोकीले अहिले कार्यरत शिक्षा संकायकै डीनमा प्रतिष्पर्धा गर्न आवेदन दिएका थिए । उनी सर्टलिष्टमा परेका पनि थिए । तर, दोस्रो कार्यकालमा पनि नियुक्ति लिने उनको योजना पुरा हुन सकेन । कार्यविधि बनाएर उपकुलपति छनोट गर्न खोज्नु राम्रो पक्ष भए पनि पारदर्शी नभएको बुढाथोकीको आरोप छ । 

‘छनोट कार्यविधि नै स्पष्ट थिएन । कार्यविधिमा योग्य भन्दा पनि आफ्ना मान्छे मिलााएर ल्याउने खालको थियो’ उनले भने,‘तीन जना भयो । मेरिट अनुसार नै नियुक्ति गर्नु पनि भन्नु भयो । अहिले आएर मेरिटमा भन्दा पनि पार्टीगत गुटको स्वार्थलाई सम्बोधन गर्ने गरी नियुक्ति गर्नु भयो । यसमा अचम्म मान्नु पर्ने केही छैन । दुई नम्बरी मान्छेले गर्ने त्यही हो । दुई नम्बरी मान्छेले एक नम्बर त खोज्दैन नि ।’ 

बरालबाट विश्वविद्यालय सुधारको सपना नदेख्न समेत उनले आग्रह गरे । मेरिटमा एक नम्बरमा भएको प्राध्यापकलाई पन्छाएर सह प्राध्यापक नियुक्ति गरेको भन्दै उनले आपत्ती समेत जनाए । 

बराल उपकुलपति नियुक्ति भए पछि विश्वविद्यालयमा देखावटी भागबण्डा भन्दा पनि प्रतिष्पर्धाबाट छनोटको प्रक्रिया सुरु हुनु सकारात्मक भएको प्रा.डा.भोजराज अर्यालले बताए । उनी यस अघि उपकुलपति र अहिले व्यवस्थापन संकायको डीनको लागि प्रतिष्पर्धी थिए । दुबै पदमा उनी सर्टलिष्टमा परे पनि बाहिरिएका हुन् । 

‘सुधारको ब्रेक थ्रु भएको त छ । तर, कार्यविधि सुधार गर्नु पर्ने देखिन्छ’ उनले भने, ‘भविष्यमा पार्टीमा लागेपछि पद पाइन्छ भन्दा पनि आर्टिकल निकाल्ने, रिसर्च गर्नु पर्छ भन्ने यसले देखाएको छ ।’ 

आफू छनोटमा नपरेपछि प्रक्रियाबाट बाहिरिँदा पनि सहज रुपमा स्वीकार गरेको उनले बताए । 

‘कार्यविधिमा सुधार गर्नु पर्ने धेरै छ’ उनले भने, ‘प्रतिष्पर्धा त भयो तर, उपकुलपतिलाई जो मन पर्यो त्यही छान्नु भयो  । मेरो कुनै आपत्ती छैन ।’  

विगतमा पनि डीन छनोट गर्न सर्च कमिटि गठन गरिन्थ्यो तर, उसले दलमा आबद्धताको आधारमा सिफारिस गथ्र्यो । सर्च कमिटिलाई नागरिकता समेत बुझाउनु पर्दैन्थ्यो । अहिले छनोट भएकाहरुले आफ्नो संकाय सुधार गर्न कार्ययोजना बनाएर पेश गरेका छन् ।

प्रतिक्रिया