बालबालिकालाई दिइने सजायले उनीहरूको व्यक्तित्व विकासमा कहिल्यै सुधार ल्याउन सक्दैन । आत्मविश्वासको कमी हुने र सधैँ आफूलाई लज्जित, घृणित र अपमानित भएको अनुभव भइरहने भएकाले सिर्जनात्मक बन्नु पर्ने विद्यार्थी द्वन्द्वात्मक बन्न पुग्छन् । सजाय व्यवहार परिवर्तनको लागि असान्दर्भिक उत्तेजना भएकोले दुष्स्वप्न देख्ने, भोक नलाग्ने वा अस्वभाविक तरिकाले भोकाउने अथवा मनैदेखि दुःखी र पीडित हुने लक्षणहरू देखा पर्दछन् । सजायबाट “म खराब र कमजोर रहेछु” भनेर मानसिक रुपमा महशुुस गर्ने हुँदा उनीहरु जिम्मेबार बन्न सक्दैनन् । परिणामत पढाइबाट टाढा हुँदै जाने र अरू बढी सजायका भागी हुन्छन् ।
द गारडियन,१९९९ का अनुसार एउटा शिक्षकद्वारा पिटिइएको विद्यार्थीले आफ्नो शिक्षकलाई घृणा नगरी विद्यालयको पढाइ सिध्याउन त सक्छ तर विद्यालयमा शिक्षकद्वारा दिइएको कठोर सजायले गर्दा ऊ लागू पदार्थको प्रयोग गर्ने र गराउने हुनुको साथै अन्य आपराधिक कार्यमा संलग्न पनि बन्न सक्छ । शारीरिक पिटाइ र मानसिक रुपमा दिइने गाली वा अपशव्द विद्यार्थीको लागि अप्रिय र बिर्सन नसक्ने अनुभव बन्छ । त्यसैले कक्षाहरू सबै बालबालिकाका लागि शैक्षिक रूपमा सुरक्षित स्थान हुनुपर्छ । दण्ड र सजाय विद्यार्थीको अनुशासित व्यवहारको लागि यस्तो गलत परिणाम हो जसले असल व्यवहार पुनः प्राप्त हुने सम्भावनालाई कम गर्छ ।
कानुनी आधार
नेपालको संविधान, २०७२ धारा ३९ को उपधारा ६ को व्यवस्थाले बालमैत्री विद्यालय निर्माणको आवश्यकता प्रत्यक्ष रूपमा सम्बोधन गरेको छ । शिक्षा नियमावली २०५९ (संशोधन सहित)को परिच्छेद २२ दफा १३३ मा शिक्षकले विद्यार्थीलाई शारीरिक र मानसिक यातना दिन नहुने उल्लेख छ। शिक्षा ऐन २०२८ को दफा १७ मा बालमैत्री शिक्षण विधि अपनाउन शिक्षकलाई अनिवार्य रूपमा आवश्यक प्रशिक्षण प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ । बालबालिका ऐन, २०७५ को दफा ६ मा विद्यालयमा कुनै पनि किसिमको मानसिक, शारीरिक र यौन दुव्र्यवहारबाट जोगाउन विद्यालयमा सुरक्षा प्रबन्धको व्यवस्था गर्नुपर्ने प्रावधान छ । यस ऐनले १८ वर्षभन्दा मुनिका व्यक्तिहरूलाई बालबालिका मानेको छ । बाल संरक्षण नीति, २०७६ को दफा २ मा प्रत्येक विद्यालयमा बाल संरक्षण समिति गठन गर्ने प्रावधान छ ।
बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०६७ को प्रमुख उद्देश्य बालमैत्री शिक्षण सिकाइको वातावरण तयार गर्ने रहेको छ । बालअधिकार महासन्धि (UNCRC) को धारा २८ र २९ ले बालबालिकाको शिक्षामा पहुँच र बालमैत्री वातावरण सुनिश्चित गर्न राष्ट्रहरूको दायित्व निर्धारण गरेको छ। दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (SAARC) ले बालअधिकारको संरक्षणमा भएका सम्झौताहरूलाई नेपालले अनुसरण गरेको छ । नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि र संझौताहरूले दण्ड र भयरहित वातावरणमा बालबालिकाको शिक्षा सुनिश्चित गरेको छ ।
विद्यार्थी सजायको रुपमा पाठ्यक्रम, पाठ्य पुस्तक र परीक्षा प्रणाली
२०६८ जेठ ११ गते विद्यालय शान्ति क्षेत्र घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ तर्जुमा भई कार्यान्वयनमा छ । विद्यालय शान्ति क्षेत्र घोषणा गरिए पनि विद्यालय अझै अशान्त छन् भन्न सकिन्छ । कारण झोला भरि पाठ्यपुस्तक बोकाउने पाठ्यक्रम र स्तरीकृत परीक्षा विद्यार्थीलाई निरन्तर मानसिक सजाय दिइरहने माध्यम बनेको छ । राष्ट्रिय बालबालिका नीति २०८० मा बालबालिकालाई हुने सजायको अन्त्य गर्न संघ प्रदेश स्थानीय तह समेतलाई सशक्त बनाउन बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ तथा बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ कार्यान्वयनमा रहेका छन् । बालमैत्री विद्यालय सैद्धान्तिक रुपमा ठीकठाक छ तर व्याहारिक रुपमा पनि व्यवस्थित गर्न पाठ्यक्रम, पाठ्यपुस्तक र परीक्षा प्रणाली विद्यार्थी मैत्री हुनु पर्छ । उमेर, तह र क्षमता अनुसार विद्यार्थीले कति सिक्छन् भन्ने ख्यालै नगरी अनावश्यक पुस्तकको भारी बोकाउँदैमा गुणस्तरीय शिक्षा होइन शैक्षिक क्षति बेहोर्नु परिरहेको यथार्थ छ । परीक्षाको डर देखाएर कोचिङ र ट्युसन भन्दै पैसा असुल्नकै लागि विद्यालयहरुले गर्ने व्यापारले पनि विद्यार्थीलाई मानसिक तनाव र सजाय दिएको छ । एउटा विद्यार्थीले एक दिनमा कति सिक्न सक्छ भन्ने ख्यालै नगरी दिनभरि जबर्जस्ती पढाइरहँदा सिकाइ उपलव्धि होइन क्षति भइरहेको छ ।
परीक्षामा कुनै विषयमा फेल भएकै कारण विद्यार्थीले पढाइ छोड्ने, आत्महत्या गर्ने र अपमानित हुनु पर्ने अवस्थालाई वाध्यात्मक मानसिक सजायको रुपमा हेर्न सकिन्छ । विद्यालय तहदेखि उच्च तहसम्मका स्तरीकृत परीक्षा प्रणालीहरु कति कमजोर छन् यी कमजोर प्रणालीहरुले सिकाइ उपलब्धिको उचित मूल्यांकन गर्न नसक्दा विद्यार्थीमात्र असफल होइन शिक्षक, शिक्षा प्रशासन र शैक्षिक नीति नियमहरु समेत असफल भएका छन् । तर यसको सजाय भने विद्यार्थीले पाइरहेका छन् । शिक्षालयहरुमा सिकाइ छ तर सीप छैन जसको कारण शैक्षिक बेरोजगारी बढेको छ । कारण बृहत र अव्यवहारिक पाठ्यक्रम र कडा स्तरीकृत परीक्षा प्रणाली नै हो । यस्तो पाठ्यक्रममा बृहत विषयगत ज्ञानलाई सामान्यीकरण गरिने हुँदा परीक्षा प्रणाली जति नै स्तरीकृत भए पनि विद्यार्थीले विशिष्ट सीप हासिल गर्न सक्दैन । शिक्षामा प्रशस्तै लगानी गर्न सक्ने बाहेक सबैले समाजमा शैक्षिक क्षति व्यहोर्नु पर्छ ।
विद्यालयमा दिइने सजायको प्रकृति
हिसाब कण्ठ नगरेकोमा शिक्षकले विद्यालयको चर्पीको दिसा चटाएका, शब्दार्थ नघोकेको आरोपमा अस्पताल भर्ना हुने गरी उठबस गराएका, सामान्य निहुँमा विद्यालयको छानामा नाङ्गै बनाएर यातना दिएका, शिक्षकले दिएको शारीरिक दण्डको कारण विद्यार्थीलाई अस्पताल भर्ना गर्नु परेका घटना हरेक बर्ष जसो सार्वजनिक भईरहेका छन् ।
Paulo Freire ले आफ्नो प्रसिद्ध पुस्तक Pedagogy of the Oppressed मा भने जस्तै विद्यार्थीको खाली भाँडो (empty vessel) मा शिक्षकले ज्ञानको निक्षेप (Deposit) गरेर शिक्षक जान्ने व्यक्ति र विद्यार्थी नजान्ने व्यक्ति हुन् भन्ने दृष्टिकोण राखिन्छ । शिक्षक, पाठ्यक्रम र परीक्षा प्रणालीबीचका यही गलत अभ्यासका कारण शिक्षकले विद्यार्थी सजायको विकल्प अपनाउनु पर्ने वाध्यता बन्ने गरेको पाइन्छ । यी जटिल पाठ्यक्रम र मूल्याङ्कन प्रणाली कसका लागि तयार पारिएका हुन् जहाँ ५० प्रतिशत भन्दा वढी विद्यार्थी स्तरीकृत परीक्षामा असफल हुन्छन् !
विद्यालयमा दिइने सजायको सैद्धान्तिक उपयोग
दण्ड र प्रोत्साहनको सिद्धान्त (Theory of Punishment and Reward) : फ्रेडरिक स्किनरका अनुसार सजायले डर पैदा गर्ने र अस्थायी सुधार मात्र ल्याउन सक्ने भएकाले दीर्घकालीन सकारात्मक व्यवहार परिवर्तनको लागि प्रोत्साहन वा पुरस्कारले मात्रै सम्भव हुने धारणा प्रस्तुत गरेका थिए ।
समाज शास्त्रीय शैक्षिक सिद्धान्त (Social Learning Theory) ः अल्बर्ट ब्याण्डुराले विद्यालयमा सजायको अभ्यासले विद्यार्थीमा डर पैदा गरेर सिकाइ प्रक्रिया कमजोर बनाउने सम्भावना हुन्छ भन्ने मान्यताको विकास गरे ।
सकारात्मक मनोविज्ञानको सिद्धान्त (Positive Psychology Theory) : मार्टिन सेलिगम्यानले सन् १९९० मा सजायको सट्टा विद्यार्थीकोको सिर्जनात्मक पक्षमा ध्यान दिनुपर्ने र उनीहरूलाई सकारात्मक मनोवैज्ञानिक दृष्टिकोणले प्रोत्साहित गर्नुपर्ने विषयमा जोड दिए । नेपालको सन्दर्भमा सकारात्मक अनुशासनको लागि विहानी समयमा योग, ध्यान र शारिरिक कसरत सहितको आत्मिक शान्तिको अभ्यास अनुकुल हुनेगरी विद्यालयमा पठनपाठनको समय मिलाइनु सान्दर्भिक देखिन्छ ।
बालअधिकारको सिद्धान्त (Child Rights Theory) : संयुक्त राष्ट्रसंघ बालअधिकार महासन्धि (UNCRC) ले सन् १९८९ मा सजायलाई हिंसात्मक विधि ठहर गर्दै बालबालिकाको शारीरिक र मानसिक सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो ।
माथिका सिद्धान्तहरूले सजायलाई व्यवहार परिवर्तनका लागि दीर्घकालीन समाधान दिने नभई अस्थायी प्रकृतिका हुने भएकाले विद्यार्थीलाई दिइने दण्ड तथा सजायले उनीहरुलाई रचनात्मक र सिर्जनात्मक व्यक्तित्व विकासका लागि सधै बाधा पुर्याउने जस्ता समस्याहरु उत्पन्न हुने देखिन्छ ।
सजायका समस्याहरू
शारीरिक समस्या : सजायको कारण जोर्नी खुस्किनु, कुनै अङ्ग भाँचिनु वा मर्किनु, दृष्टि र श्रवण सम्बन्धी समस्या हुनु र घाउचोट वा अपाङ्ग हुनु जस्ता समस्याहरू देखा पर्दछन् ।
समाजिक समस्या : असामाजिक कार्यमा संलग्न हुने, विद्यालय जान छोड्ने, झगडालु स्वभावका हुने, समाज विरोधी र लागू पदार्थ सेवन गर्ने हुन्छन् ।
मानसिक समस्या : सजायको कारणले विद्यार्थीमा आत्मविश्वासको कमी हुने, चिन्ता मान्ने, सुत्न नसक्ने वा निद्रामा बर्बराउने, स्मरण शक्तिमा कमी हुने, पढाइमा अल्छी वा निष्क्रिय हुने र आत्महत्या तर्फ उन्मुख हुन सक्ने हुन्छन् ।
संवेगात्मक समस्या : झगडालु, झर्को मान्ने, प्रतिशोध भावनाको कारण अपराधिक कार्यमा संलग्न हुने, साथीभाइसँग घुलमिल नहुने, ढाँट्ने, कुलतमा फस्ने, अटेरी स्वभावका हुने, जस्ता नकारात्मक व्यवहारहरू देखा पर्दछन् ।
पिट्न त आमाले पनि बच्चालाई पिट्छिन तर वच्चा टाढिदैन आमासँगै टासिएर रुन्छ कारण वच्चाको मनमा आमा थिइन् र आमाको मनमा बच्चा थियो । अबको शिक्षक विद्यार्र्थीको मनको शिक्षक बन्नु पर्छ । प्रायजसो बालबालिकाले हिंसा विद्यालय र घरबाट नै सिक्ने भएकाले दण्ड रहित दिगो सिकाइका लागि उपयुक्त शिक्षण विधि तथा प्रक्रियाको उपयोगितामा ध्यान दिनु पर्ने देखिन्छ ।
विद्यालयमा दण्ड रहित सिकाइको लागि शिक्षण विधि तथा प्रक्रियाको उपयोगिता
विद्यार्थी सजायले सकारात्मक भन्दा नकारात्मक प्रवृत्तिलाई प्रोत्साहन गर्ने र सिकाइ भन्दा प्रतिशोध युक्त व्यवहार पैदा हुने कुरा माथिको सैद्धान्तिक पक्षको चर्चाबाट स्पष्ट हुन्छ । बालमैत्री र दण्ड रहित विद्यालयको लागि निम्न अनुसारका शिक्षण विधि र प्रक्रिया अपनाउन सकिन्छ ।
१. समस्यामा आधारित सिकाइ (Problem Based Learning) : हावर्ड बारोज र उनका सहकर्मीहरूले सन १९६० को दशकमा विकसित गरेका यस अवधारणाले वास्तविक जीवनमा आधारित भएर विभिन्न समस्याहरूको विश्लेषण र समाधान गर्न विद्यार्थीलाई नै सक्रिय र आत्मनिर्भर बनाइ दीर्घकालीन सिकाइको वातावरण सिर्जना गर्न प्रेरित गर्नु पर्दछ ।
२. परियोजनामा आधारित सिकाइ (Project Based Learning) : किलप्याट्रिकका अनुसार परियोजनामा आधारित शिक्षा विद्यार्थीको सिर्जनात्मकता र समस्याको समाधान गर्ने क्षमताको विकासका लागि प्रभावकारी हो । परियोजना कार्यको माध्यमबाट गरिने सिकाइ स्मरणमा लामो समय टिक्ने देखिएको छ ।
३. प्रोत्साहनमा आधारित सिकाइ (Reward Based learning) : शिक्षा प्रक्रियामा सकारात्मक व्यवहारलाई उत्प्रेरित गर्न र नकारात्मक व्यवहारलाई निरुत्साहित गर्न प्रोत्साहनको प्रयोग गरिन्छ । बीएफ स्किनरले प्रशंसा प्याब्लभले उत्तेजना र प्रतिक्रिया र थर्नडाइकले प्रभावको नियम मार्फत विद्यार्थीलाई सिक्नको लागि प्रोत्साहन गरी सजाय नदिइकनै जीवन्त सिकाइको वातावरण सिर्जना गर्न यो विधि उपयुक्त हुन्छ ।
४. मनोविज्ञानमा आधारित सिकाइ ( Psychology Based Learning) : विद्यार्थीको मानसिक र भावनात्मक अवस्थालाई ध्यानमा राखेर व्यक्तिगत परामर्श सहानुभूति पूर्ण संवाद र तनाव व्यवस्थापन गरी गरिने शिक्षणले डर र तनावलाई कम गरी विद्यार्थीलाई आत्मविश्वासी बनाउन सहयोग गर्दछ ।
५. सहकार्यमा आधारित सिकाइ (Collaborative Based Learning) : विद्यार्थीबीच सामूहिक सहकार्य र समन्वयबाट सिकाइ समूहको निर्माण गरी समस्याको सामूहिक समाधान खोजिन्छ । मार्टिन स्लाभिनले सामूहिक शिक्षणको प्रभावकारिता सम्बन्धी Student Teams Achievement Divisions (STAD) मोडलमा विद्यार्थीबीच सकारात्मक प्रतिष्पर्धा, सहकार्य र सहयोगात्मक सिकाइको वातावरण सिर्जना गरी सजायको सट्टा प्रोत्साहन र सहयोगलाई महत्व दिएर सिकाइ वातावरण तयार गरिन्छ ।
६. जिज्ञासामा आधारित शिक्षण (Inquiry Based Learning) : यो शिक्षण प्रक्रियामा प्रश्नबाट सुरु गरिन्छ र विद्यार्थीलाई सोच्न र आफ्नो उत्तर आफै पत्ता लगाउन प्रेरित गरी सिर्जनात्मक, जिज्ञासु र समालोचनात्मक बनाउँदै समस्याको समाधान खोज्ने स्वतन्त्रता दिइन्छ ।
७. प्रविधिमा आधारित सिकाइ (Digital Based learning) : अनलाईन कक्षा मार्फत विद्यार्थीलाई सिक्नको लागि आकर्षण गरी स्मार्ट बोर्ड कम्प्युटर ट्याब्लेट र शैक्षिक सफ्टवेरको प्रयोग गरी व्यक्तिगत रुपमा शिक्षण गरिने हुँदा विद्यार्थी सिक्नको लागि सधैं तयारी रहने भएकोले सजायको कुनै आवश्यकता हुँदैन ।
निष्कर्ष
नेपालले बालमैत्री विद्यालयको अवधारणालाई सफल बनाउन विभिन्न कानुनी र नीतिगत व्यवस्था गरेको छ तर पनि अनावश्यक विषय समेट्ने पाठ्यक्रम र सधै शिक्षक र अभिभावकले डर देखाइरहने परीक्षा प्रणालीले विद्यार्थीलाई मानसिकरुपमा असर गरिरहेको छ । शिक्षण सिकाइमा मूल्यांङकनलाई निरन्तर सिकाइ प्रक्रियाको अभिन्न अङ्गका रुपमा लिइनु पर्दछ । सिकाइको बोझका रुपमा होइन ।
शिक्षण सिकाइ क्रियाकलापलाई खोजमुखी, समालोचनात्मक, अन्तरक्रियात्मक, प्रवर्धनात्मक र सिर्जनात्मक बनाउन परियोजना कार्य, घटना अध्ययन, समस्या समाधान र अवलोकन जस्ता पक्षहरुलाई जोड दिनु पर्दछ । शिक्षकको भूमिका सहजकर्ता, उत्प्रेरक र विद्यार्थीलाइ सिकाइ प्रति जिज्ञासु बनाउने व्यक्तिका रुपमा प्रस्तुत हुन सकेमा मात्र शिक्षण सिकाइ कार्य अर्थपूर्ण हुन्छ । जटिल र बृहत पाठ्यक्रम र कडा परीक्षा प्रणालीले शैक्षिक वातावरण भन्दा व्यवसायिक वातावरणलाई मलजल भएको देखिन्छ । शिक्षा जस्तो पवित्र पेशामा निजी विद्यालयहरुले व्यापार गरे भने समुदायको क्षमता विकासको अवस्था नहेरी बनाइएको सामुदायिक विद्यालयहरु आफ्नालाई जागिर लगाउने अखडा बने ।
अभिभावकका लागि दुवै प्रकृतिका विद्यालयहरुमा सन्तान पढाउनु वाध्यता बन्यो । निजी विद्यालयमा महङ्गो शुल्क तिर्नु पर्ने वाध्यता र समुदायिक विद्यालयमा गरिब हुनुको वाध्यता । यिनै वाध्यतालाई अवसरमा परिणत गर्ने गरी दिगो र समृद्ध शैक्षिक प्रणालीको विकास हुनु पर्ने देखिन्छ ।
कोइराला, जनज्योती माध्यमिक विद्यालय खुर्कोट सिन्धुलीका माध्यमिक तहका शिक्षक हुन्, उनी नेपाल शिक्षक महासंघ गोलञ्जोर गाउँपालिका समितिका अध्यक्ष पनि हुन् ।
प्रतिक्रिया