Edukhabar
शनिबार, ०६ पुस २०८१
खबर/फिचर

कक्षा १० मा एनजी आएको विषयमा मात्रै परीक्षा

लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी यस वर्षदेखि जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन पाउने प्रावधानको व्यवस्था गर्न लागिएको हो ।

शुक्रबार, २८ मंसिर २०८१

भक्तपुर - कक्षा १० को अन्तिम परीक्षा (एसईई) मा अघिल्लो वर्ष एनजी आएको विषयको मात्रै विद्यार्थीले परीक्षा दिन पाउने भएका छन् । लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी यस वर्षदेखि जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन पाउने प्रावधानको व्यवस्था गर्न लागिएको हो । कक्षा आठ, १०, १२ मा सबै विषयमा सैद्धान्तिकमा डी र प्रयोगात्मकमा सी ल्याउनै पर्ने हुन्छ । हरेक विषयमा यो ग्रेड प्राप्त नगरेका विद्यार्थीलाई प्रमाणपत्र समेत नदिने व्यवस्था छ । 

संशोधन गरिएको निर्देशिका अनुसार नियमित वा ग्रेड वृद्धि परीक्षामा कम्तीमा डी ल्याउन नल्याए पछि एनजी आएका विद्यार्थीले एनजी आएको विषयको मात्रै परीक्षा दिन पाउँछन् । ‘नियमत र मौका परीक्षा दिँदा पनि एनजी आएका विद्यार्थीले जति विषयमा एनजी आएको हो त्यसको मात्रै परीक्षा दिन पाउँछन’ परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने । 

यो अवसर तीन वर्षसम्म पाउने उनले बताए । 

राष्ट्रिय परीक्षा बोर्डले केही दिनमै परीक्षा फारम खुलाउने तयारी गरेको छ । परीक्षा फारम निःशुल्क गर्ने विषयमा विवाद मिल्न सकेको छैन । शिक्षा मन्त्री विद्या भट्टराई परीक्षा र रजिष्ट्रेशन फारम निःशुल्क हुनु पर्ने पक्षमा छन् भने बोर्डका पदाधिकारी शुल्क नलिई परीक्षा सञ्चालन गर्नै नसक्ने अडानमा छन् । बोर्डको बार्षिक कार्यतालिका अनुसार यस बर्ष कक्षा १० को अन्तिम परीक्षा चैत सात गते देखि हुँदैछ ।

प्रतिक्रिया