Edukhabar
बुधबार, ०९ माघ २०८१
गतिविधि

कक्षा १२ का विद्यार्थीलाई वित्तीय साक्षरता तालिम

अनलाइन सुरक्षा र वित्तीय ठगीबाट बच्ने उपायहरूका बारेमा पनि विद्यार्थीलाई जानकारी प्रदान

सोमबार, १७ मंसिर २०८१

सप्तरी - वचत, लगानी एवं ऋण, खर्च व्यवस्थापन जस्ता विषयमा विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्न रूपनगर क्याम्पसले क्याम्पस वरपरका सरकारी विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । व्यवस्थापन विषय पढ्दै गरेका विद्यार्थीको व्यावहारिक ज्ञानमा वृद्धि गर्ने र तिनीहरूलाई आर्थिक रूपमा सचेत र सक्षम बनाउने लक्ष्य सहित तालिम प्रदान गरिएको क्याम्पसका प्रमुख दीपक कुमार गजुरेलले बताए । 

तालिम वित्तीय साक्षरताको महत्व र दैनिक जीवनमा वित्तीय व्यवस्थापनको भूमिका, भविष्यको सुरक्षाका लागि वचत र सही ढंगले लगानी गर्ने तरिकाहरूका बारेमा केन्द्रित थियो । उचित र जिम्मेवार तरिकाले ऋण लिने र खर्चको योजना बनाउने उपायहरू, बैंकिङ् प्रणाली र प्रविधिको उपयोग, बैंक तथा वित्तीय संस्थाहरूको भूमिका र अनलाइन सुरक्षा र वित्तीय ठगीबाट बच्ने उपायहरूका बारेमा छुट्टा छुट्टै सेसन मार्फत् विद्यार्थीलाई जनकारी गराईएको गजुरेलले बताए ।

सामुदायिक क्याम्पसले समाजलाई गर्ने योगदान अन्तर्गत तालिम आयोजना गरिएको उनले बताए । गत शनिबार भएको तालिमको प्रमुख प्रशिक्षकमा नबिल बैंक लिमिटेड, कञ्चनपुर शाखाका प्रबन्धक सुरज ठाकुर र उनको टिम संलग्न थियो । 

तालिममा रूपनगर नन्दराज संग्रौला क्याम्पस वरपर रहेका छ वटा सरकारी विद्यालयका ६५ भन्दा वढी विद्यार्थी सहभागी थिए । सहभागी विद्यालयहरूमा, शंकर मावि, रूपनगर, सर्वोदय मावि, कञ्चनपुर, जनचेतना मावि, घोङ्गिदाहा, ठाकुरजी मावि, जण्डोल, महिकर मावि, पर्सवनी, र नन्द उमा पब्लिक मावि, ओद्राहा थिए ।

Financial Training (7)

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त यस सामुदायिक क्याम्पसले जीवन उपयोगी सीप सिकाउने उद्देश्यले विभिन्न कार्यक्रम गर्ने योजना बनाएको जनाएको छ । 

प्रतिक्रिया