Edukhabar
आइतबार, २१ पुस २०८१
गतिविधि

प्याब्सन अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि

सामुदायिक विद्यालय प्रधानाध्यापकहरुलाई समेत सहभागी गराएर प्याब्सनले तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन गर्दैछ ।

शुक्रबार, १४ मंसिर २०८१

काठमाडौँ - निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन शुक्रवारदेखि सुरु हुदैछ । 

नेपालमै गुणस्तरीय शिक्षा प्रदान गर्दै विश्व शैक्षिक मञ्चमा उपस्थिति देखाउने उद्देश्यले स्वदेशी शिक्षालय र शिक्षाकर्मीलाई प्रतिस्पर्धी बनाउन प्याब्सनले हरेक वर्ष सम्मेलन गर्दै आएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहजीकरण र ब्रिटिस काउन्सिलको प्राविधिक सहयोगमा ‘लिडिङ चेञ्ज’ शीर्षकमा नेतृत्व विकास गर्ने उद्देश्य राखेर शुक्रबार सुरु हुने सम्मेलन शनिबारसम्म चल्नेछ । 

फिनल्याण्ड, बेलायत, क्यानडा, दक्षिण एसियाका शिक्षा सम्बन्धी विज्ञ एवं प्रतिष्ठित वक्ताहरू सम्मेलनमा सहभागी हुने प्याब्सनका महासचिव आरबी  कटुवालले बताए ।

‘उहाँहरूले सम्मेलनमा आफ्ना विचार र अनुभवहरू साटासाट गर्नुहुनेछ’ उनले भने ।  

कक्षा कोठाको सुधार, नेतृत्व विकास, कृत्रिम बौद्धिकता (एआई),  डिजिटल शिक्षासम्बन्धी विषयहरूमा बहस हुने उनले बताए । १२ भन्दा बढी सेसन र चारभन्दा बढी महत्त्वपूर्ण कि नोट स्पिच सम्मेलनमा हुने कटुवालले बताए । 

सम्मेलन निजी विद्यालय र सामुदायिक विद्यालयका सञ्चालक, प्रिन्सिपल, कोर्डिनेटर, शिक्षक सहभागी हुने छन् ।

प्रतिक्रिया