शिक्षकको पेशागत सहयोगका लागि आन्तरिक तथा बाह्य अनुभवी विज्ञ व्यक्तिबाट निरन्तर प्राविधिक सहयोग उपलब्ध गराउने पद्दतीको रूपमा मेण्टरिङलाई लिइन्छ । शिक्षकलाई प्रधानाध्यापक, अनुभवी शिक्षक वा विषय विज्ञबाट नियमित कक्षा अवलोकन तथा सुपरिवेक्षण मार्फत पेशागत उन्नयनका लागि पुर्याईने प्राज्ञिक तथा प्राविधिक सहयोगलाई शिक्षक मेण्टरिङ भनिन्छ । सिकारुको स्तर, रुचि र क्षमता अनुसारका उपयुक्त विषयवस्तुको चयन, शैक्षणिक सामग्रीको पहिचान, निर्माण र प्रयोग, शैक्षणिक विधि तथा पद्दतीको उचित छनोट र प्रयोग, सिकाइमा विद्यार्थीको सक्रिय सहभागिता, विद्यार्थीको वैयक्तिक सिकाइ कठिनाइहरूको पहिचान गरी सुधारात्मक शिक्षण, विद्यार्थी सिकाइ मापन, कक्षाकोठा व्यवस्थापन, अभिलेखीकरण, आदि जस्ता क्षेत्रहरूमा शिक्षकहरुको अनुभव आदन प्रदान गरी पेशागत सहयोग गर्ने कार्य मेण्टरिङमा गरिन्छ ।
शिक्षकको पेशागत विकास प्रारुप २०८० अनुसार नवनियुक्त शिक्षकलाई सेवा प्रवेश तालिम पश्चात अनुभवी र आफ्नो विषय क्षेत्रमा विज्ञ मेण्टरको मार्गनिर्देशनमा रहेर विषय सम्बद्ध आधारभूत शैक्षणिक सिपहरू (दैनिक पाठयोजना निर्माण, सहयोगात्मक सिकाइ वातावरण निर्माण, शिक्षण विधि तथा तरिकाको प्रयोग, विभिन्न सिकाइ आवश्यकता भएका बालवालिकाहरूको सिकाइ तथा विकासमा सहजीकरण गर्ने, सिकाइ सामग्री निर्माण तथा प्रयोग, विद्यार्थी सिकाइको लेखाजोखा तथा मूल्याङ्कन आदि) विकासका लागि मेण्टरिङ सहायता प्रदान गरिने छ भनिएको छ ।
मेण्टरिङ विकासात्मक प्रक्रिया भएकोले ज्ञानको आदानप्रदान गरी पेशागत दक्षता विकास गर्न कोचिङको तुलनामा मेण्टरिङ प्रक्रिया दीर्घकालीन प्रकृतिको हुन्छ । शिक्षक मेण्टरिङले शिक्षण सिकाइ क्रियाकलापमा सुधारका लागि शिक्षकलाई स्थलगत प्राविधिक सहयोग प्रदान गर्नु तथा तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सहयोग पुरेयाउँछ ।
सैद्धान्तिक उपयोग
१. प्रयोगात्मक शिक्षण (Experiential Learning)
यस सिद्धान्तको प्रमुख प्रतिपादक डेविड कोलब (David Kolb) ले 'Experiential Learning M Experience as the Source of Learning and Development' पुस्तक मार्फत प्रयोगात्मक शिक्षणले विद्यार्थीको व्यावहारिक अनुभव र सीपहरूको विकासमा जोड दिने उल्लेख गरेका छन् । अनुभव, सक्रिय सहभागिता, समस्या समाधान र आत्म प्रतिबिम्बबाट सिकाइ हुन्छ र शिक्षक मेण्टरिङमा यी कुराहरु आवश्यक हुन्छन् ।
२. निर्देशित खोज (Guided Discovery)
यो सिद्धान्तको प्रमुख प्रतिपादक जेरोम ब्रुनर (Jerome Bruner) ले यस सिद्धान्तलाई शिक्षण प्रक्रियामा स्वयम खोज र अन्वेषण गर्न प्रोत्साहित गर्ने विधि प्रस्तुत गरेका छन् । निर्देशित खोजले शिक्षण सहजीकरणलाई विद्यार्थी केंद्रित बनाउन सहयोग गर्छ । नैतिक मूल्य र आदर्शहरूलाई शिक्षण सहजीकरण प्रक्रियामा उपयोग गर्न कक्षा अवलोकनको मापदण्डहरू निर्धारण गरी शिक्षक मेण्टरिङ प्रक्रियामा निर्देशित खोज सिद्धान्तले सिकाइलाई नवप्रवर्तनात्मक बनाउन समेत सहयोग गर्छ ।
३. सकारात्मक अनुशासन (Positive Discipline)
यस सिद्धान्तको प्रमुख प्रतिपादक डा. जेन नेल्सन (Dr. Jane Nelsen) ले यो सिद्धान्तलाई बालबालिकाको अनुशासनमा सकारात्मक दृष्टिकोण अपनाउँदै उनीहरूको आत्म सम्मान र आत्म विश्वासको विकास गर्न मद्दत पुर्याउने विधि प्रस्तुत गरेकी छन् । सकारात्मक अनुशासनले शिक्षक मेण्टरिङ प्रक्रियामा सकारात्मक सम्बन्धको विकास गर्न, जिम्मेवारी लिन, आत्म नियन्त्रण र आत्म अनुशासनको महत्त्व लाई बुझ्न सिकाइलाई विद्यार्थी केन्द्रित बनाउन समेत उपयोगी हुन्छ ।
४. प्रौढ सिकाइ स्माल्कम नोल्स (Malcolm knowles) को प्रौढ सिकाइ एण्ड्रागोजीमा आधारित सिद्धान्त हो । विशेष गरी प्रौढमा अनुभवजन्य कुराको ज्ञान हुन्छ र सक्रिय सहभागिता मार्फत् सिक्ने प्रक्रियामा संलग्न हुन्छन् भन्ने मान्यता रहेको छ । शिक्षक आफ्नो पेशागत समस्या तथा आवश्यकता कुन क्षेत्र वा पक्षसँग सम्बन्धित छ, त्यो पक्षको समाधान तथा विकासमा केन्द्रित रहनु पर्छ भन्ने प्रौढ सिकाइको सैद्धान्तिक मान्यता हो ।
५. स्वउत्प्रेरणाको सिद्धान्त अमेरिकी मनोवैज्ञानिकहरू एडवर्ड डीसी (Edward L. Deci) र रिचर्ड रेयान (Richard M. Ryan) ले प्रतिपादन गरेका यो सिद्धान्तले व्यक्तिहरूमा स्वप्रेरणा र बाह्य प्रेरणाको महत्त्वलाई बुझाउँछ । यस्तो इच्छाशक्तिले व्यक्तिलाई आत्मविकासका लागि व्यक्तिगत उत्प्रेरणा जगाउँछ । व्यक्तिले शिक्षण पेशा रोज्न र सो पेशामा रहिरहन स्वयम् उत्प्रेरित हुनुपर्छ । कुनै पनि विषयमा विषयगत दक्षता हासिल गर्न शिक्षक आफै उत्प्रेरित हुनुपर्छ भन्ने मान्यता अनुसार शिक्षकको पेशागत विकासमा स्वउत्प्रेरित सिद्धान्तबाट मेण्टरिङ प्रक्रिया आकर्षित हुने अवस्था बन्छ ।
नीतिगत व्यवस्था
राष्ट्रिय शिक्षा नीति, २०७६ अनुसार स्थानीय तहले विद्यालयलाई केन्द्रविन्दु बनाएर शिक्षकको निरन्तर पेशागत विकास कार्यक्रमहरू (कस्टमाइज्ड तालिम, कार्यशाला, सेमिनार, अवलोकन भ्रमण, प्रतिविम्बन, शिक्षक नेटवर्क, सहकार्यात्मक रूपमा गरिने अनुसन्धान (Collaborative Research), मेण्टरिङ, कोचिङ आदि) सञ्चालन गरिने व्यवस्था गरेको छ । दिगो विकास लक्ष्य नं. ४ अन्तर्गतको लक्ष हासिल गर्न तयार गरिएको राष्ट्रिय प्रारूप अनुसार नेपालले सन् २०३० सम्ममा आधारभूत र माध्यमिक तहमा कार्यरत शत प्रतिशत शिक्षकहरूलाई न्यूनतम सङ्गठित शिक्षक तालिम प्रदान गर्ने लक्ष्य राखेको छ । विद्यालय शिक्षा क्षेत्र योजनाले पनि कक्षाकोठाको शिक्षण सिकाइमा सुधार ल्याई विद्यार्थीको सिकाइ उपलब्धि बढाउन शिक्षक तालिममा मात्र सीमित नभई शिक्षक पेशागत विकासका आयामलाई फराकिलो बनाउँदै शिक्षक तालिमका साथै गोष्ठी तथा सेमिनार, शिक्षक मेण्टरिङ, शिक्षक सिकाइ समूह गठन, पाठ अध्ययन, कार्यमूलक अनुसन्धान आदिलाई जोड दिएको अवस्था छ । विद्यालय सुपरीवेक्षण तथा पेशागत सहायता निर्देशिका २०८० ले विद्यालयको प्रभावकारी निरीक्षण तथा सुपरीवेक्षणका लागि हरेक स्थानीय तहमा पूरा समय काम गर्ने गरी कम्तीमा एक जना स्रोत बिज्ञ रहने व्यवस्था गरेको छ ।
शिक्षकको पेशागत विकास प्रारुप २०८० अनुसार तालिम प्राप्त, अनुभवी र विज्ञ मेन्टरबाट सहकार्यात्मक तथा सहयोगात्म शैली अवलम्बन गरी मेण्टरिङ सहायता सञ्चालन हुने छ । शिक्षक मेण्टरिङको अवधि ६ महिनाको हुने छ । शिक्षक मेण्टरिडका माध्यमबाट नवप्रवेशी शिक्षकलाई कक्षाकोठाको शिक्षण सिकाइको विधि र प्रक्रियामा सुधार गरी उनीहरुको पेशागत विकासको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक मेण्टरिङ कार्यान्वयन कार्यविधि, २०८० तयार पारी कार्यान्वयनमा ल्याएको छ ।
तर नवप्रवेशी शिक्षकलाई मात्र लक्षित गरिएको शिक्षक मेण्टरिङ कार्यक्रमले कार्यरत सवै शिक्षकलाई सम्बोधन गर्न सकेको छैन । शिक्षण पेसामा कार्यरत सवै प्रकारका शिक्षकको पेशागत सहयोगको लागि ज्ञान र अनुभव आदन प्रदान गर्ने शैक्षिक पद्धतिको रुपमा शिक्षक मेण्टरिङलाई विस्तार गर्न आवश्यक देखिएको छ ।
अभ्यास
नेपालमा शिक्षक मेण्टरिङलाई शिक्षकको पेशागत सहयोगको रुपबाट अध्ययन गर्दा ग्रामीण विकासको लागि सेती परियोजना देखि नै शिक्षकको पेशागत विकासमा स्रोत व्यक्ति मार्फत तालिम तथा पेशागत सहयोगको कार्यक्रमहरु हुन थाले देखि शिक्षक मेण्टरिङको प्रारम्भिक अवस्थाको सुरुवाती चरण मान्न सकिन्छ । २०३८ देखि २०४८ सम्म सञ्चालित सेती परियोजनाले १४ ओटा विद्यालय रहेको क्षेत्रलाई एउटा स्रोत केन्द्र स्थापना गरी स्रोत व्यक्ति मार्फत विद्यालयका शिक्षकलाई तालिम दिने, शिक्षण सामग्री निर्माण र प्रयोगमा सहयोग पुर्याउने तथा परीक्षा सञ्चालनमा समन्वय गर्ने कार्य गर्दथ्यो । २०४१ देखि ०४९ सम्म सञ्चालन भएको प्राथमिक शिक्षा परियोजनाले ७ देखि १५ वटा विद्यालय रहेको क्षेत्रलाई एउटा स्रोतकेन्द्रका रूपमा विकसित गरी स्रोत व्यक्ति मार्फत पेशागत सहयोग गरिएको थियो । प्राथमिक शिक्षा परियोजनाको सकारात्मक अनुभवबाट प्रोत्साहित भई २०४८ देखि २०५२ सम्म सञ्चालित प्राथमिक शिक्षा विकास परियोजनाले स्रोत केन्द्रको अवधारणा अवलम्बन गरी शिक्षकलाई पेशागत सहयोग प्रदान गर्ने रणनीति लिइएको थियो । स्रोतकेन्द्र र स्रोत व्यक्तिहरूबाट शिक्षक तालिम, विद्यालय अनुगमन, शिक्षक पेसागत सहयोग उपलव्ध गराइन्थ्यो । सबैका लागि शिक्षा परियोजना, विद्यालय क्षेत्र सुधार कार्यक्रम र विद्यालय क्षेत्र विकास कार्यक्रमले समेत स्रोत केन्द्रमार्फत शिक्षकहरूलाई प्राविधिक सहयोग उपलब्ध गराउने व्यवस्था गरेको थियो ।
औपचारिक र आधिकारिक निरीक्षण राष्ट्रिय शिक्षा पद्दतिको योजना २०२८ बाट सुरु भएको हो । यसमा शिक्षकको पेशागत विकास भन्दा पनि दण्ड र पुरस्कारको लागि प्रशासनिक निरीक्षण गरिन्थ्यो । शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ मा निरीक्षण तथा सुपरिवेक्षणमा भएका व्यवस्थाहरुमा हालसम्म पनि राशिपयो २०२८ अनुसार नै निर्देशित रहेको देखिन्छ । वर्तमान समयमा निरीक्षण, सुपरिवेक्षण, कोचिङलाई मेण्टरिङ भित्र समेटिने गरिन्छ । शिक्षक मेण्टरिङ नवीनतम अवधारणा हो । यो वृहत विषय क्षेत्र केन्द्रित भएर शिक्षकलाई पेशागत सहयोग गर्ने आधुनिक प्रक्रिया हो । निरीक्षण प्रक्रिया भन्दा सुपरीवेक्षण प्रक्रिया विकसित अवधारण मानिए पनि यी दुवै आधिकारिक निरीक्षणका प्रक्रिया भएकोले शिक्षकको पेशागत विकासमा प्रत्यक्ष र निरन्तर सहयोग गर्ने नवप्रवर्तनात्मक रुपमा शिक्षक कोचिङ, मेण्टरिङर पाठ अध्ययनलाई लिने गरिन्छ ।
परम्परागत निरीक्षण र सुपरीवेक्षण भन्दा आधुनिक कोचिङ र मेण्टरिङ प्रक्रियामा शिक्षकको शिक्षण सहजीकरण प्रक्रियाको अवलोकन पश्चात कार्यसम्पादनको बारेमा रचनात्मक प्रतिक्रिया प्रदान गरिन्छ । आधुनिक शिक्षक पेशागत विकासको प्रक्रिया शैक्षिक गुणस्तरसँग प्रत्यक्ष रुपमा सहसम्बन्धित भएर प्राविधिक र विषयगत विशेषज्ञ सेवा प्रदान गर्ने गरी शिक्षकलाई कोचिङ, मेण्टरिङ, पाठ अध्ययन र विषयगत तथा प्राविधिक सिपमा आधारित भएर सञ्जालीकरण गर्नु पर्ने देखिन्छ ।
मेण्टरिङ प्रक्रिया
मेण्टरिङ प्रक्रियामा शिक्षण सिकाइका लागि तय गरिएका विषयवस्तु, शिक्षण विधि र सामग्री प्रयोग, विद्यार्थी सक्रियता, कक्षाकोठा व्यवस्थापन जस्ता पक्षहरुमा विज्ञ प्राविधिक सहयोगकर्ता द्वारा अवलोकन गरी शिक्षण सिकाइ सहजीकरणको अनुगमन, सहकर्मी शिक्षकहरुबीच छलफल र आवश्यक पृष्ठपोषण सहितको प्राविधिक सहयोग र सहजीकरण गरिन्छ । कक्षा शिक्षणको अवलोकन पश्चात प्रदान गरिने रचनात्मक पृष्ठपोषण र सुझावलाई शिक्षकले पेशागत सहयोग प्रक्रियाको रुपमा लिएर शिक्षण कार्यमा सुधारको उपाय खोजी गरी शिक्षण अनुभव आदनप्रदान गर्ने कार्य गरिन्छ ।
मेण्टरिङ प्रक्रियामा शिक्षकलाई उनीहरूको ज्ञान, सिप र दक्षताको सवलीकरणको लागि सिकाइका नवीनतम सिद्धान्त खोजी गर्न, शिक्षण विधि प्रक्रियासँग अभ्यस्त बनाउन र प्रभावकारी शिक्षण सामग्रीको प्रयोगबाट सिकाइ वातावरणलाई जीवन्त बनाउन शिक्षकलाई प्राविधिक सहयोग गरिन्छ । मेण्टरले कक्षा अवलोकनमा गरिएको टिपोटका आधारमा सम्बन्धित शिक्षकसँग पाठको उद्देश्य, क्रियाकलाप, विधि, सामग्रीको प्रयोग र विद्यार्थीको सिकाइ वातावरण जस्ता पक्षमा छलफल गरी शिक्षण सिकाइ सहजीकरण कार्यमा सुधारका लागि नवप्रवेशी शिक्षकलाई प्रदान गरिने रचनात्मक तथा सुधारात्मक सुझावलाई कक्षा शिक्षणमा कार्यान्वयनका लागि शिक्षण सुधार योजना निर्माण गरी कार्यान्वयन गर्न आवश्यक सहयोग समेत गर्नु पर्दछ । आवश्यकता देखिएमा नमुना कक्षा शिक्षण गर्नलाई समेत प्राविधिक सहयोगकर्ता तयार रहनुपर्छ । मेण्टरले विषय शिक्षकको सिकाइ सहजीकरण कार्यलाई समूहमा छलफल गर्ने, अनुभव आदानप्रदान गर्ने वातावरण निर्माणका लागि सहजीकरण गर्नुपर्दछ ।
बुँदागत रुपमा मेण्टरिङ प्रक्रियालाई निम्न अनुसार उल्लेख गरिन्छ :
१. प्रारम्भिक चरण
असल सम्बन्ध स्थापना स्थापना गर्न मेण्टर र मेण्टीले एक अर्कालाई राम्रोसँग चिन्ने र विश्वासको वातावरण निर्माण गर्नु पर्छ ।
२. योजना निर्माण
मेण्टर र मेण्टी मिलेर एक पाठ योजना बनाउँछन् जसमा मेण्टीले के सिक्न चाहन्छ र कति समयमा कसरी सिक्छ भन्ने कुरा उल्लेख हुन्छ । मेण्टरिङ कार्यमा अवलोकन पुर्व गरिने, अवलोकनको क्रममा गरिने र अवलोकन पश्चात गरिने कार्यसम्मको समेत योजना निर्माण गर्नु पर्छ ।
३. सिकाइ र अभ्यास
मेण्टरले मेण्टीलाई नयाँ शिक्षण विधि, प्रविधि वा सामग्रीहरूको माध्यमबाट मेण्टरिङमा सिकेका नयाँ सीपलाई कक्षामा प्रयोग गरेर अभ्यास गर्छन् । यसरी गरिने शिक्षण सहजीकरण कार्य पाठ योजना अनुसार उद्देश्यमूलक हुनपर्छ । आवश्यक भएमा मेण्टरले नमुना कक्षा गरेर देखाउनु पर्छ ।
४. अवलोकन र प्रतिक्रिया
मेण्टरले मेण्टीको शिक्षण पद्धतिलाई अवलोकन गर्छन् र अवलोकन पश्चात् मेण्टरले मेण्टीलाई कक्षा शिक्षणमा भएका राम्रा पक्षहरू र सुधार गर्न सकिने पक्षहरूबारे सकारात्मक प्रतिक्रिया दिन्छन् । अवलोकन र प्रतिक्रिया उद्देश्यमूलक र निर्धारित ढाँचामा हुनुपर्छ जसले गर्दा अनावश्यक प्रतिक्रिया दिनबाट मेण्टरलाई रोकेर वास्तविक समस्यामा आधारित भएर रचनात्मक र सुधारात्मक सुझाव दिन प्रेरित गर्छ ।
५. पृष्ठपोषण
मेण्टरले मेण्टीलाई कार्यान्वयन योग्य रचनात्मक पृष्ठपोषण र सल्लाह दिनु पर्छ । पृष्ठपोषण उद्देश्य अनुरुप निश्चित गन्तव्य मूखी र उत्प्रेरणा जगाउने हुनु पर्छ । पृष्ठपोषण विशिष्ट, मापनयोग्य र सुधारात्मक हुनुपर्छ ।
मेण्टरिङको ढाँचा वा विधि
१. व्यक्तिगत मेण्टरिङ
यो परम्परागत मेण्टरिङ प्रक्रिया हो । यसमा शिक्षक र विद्यार्थी मात्र समावेश हुन्छन् । अन्य समुहको सहयोगको अपेक्षा गरिदैन ।
२. समूह मेण्टरिङ
यो समूहमा गरिने मेण्टरिङ हो । यसमा एकजना व्यक्ति मात्र मेण्टरको लागि पर्याप्त स्रोत नहुने हुँदा अनुभवी विज्ञको समूहबाट नै कम अनुभवी वा नवप्रवेशी शिक्षकको मेण्टरिङ गरी पृष्ठपोषण प्रदान गरिन्छ ।
३. अनलाइन मेण्टरिङ
कोभिड १९ पश्चात अनलाइन सिकाइ पनि प्रक्रियागत सिकाइको अभिन्न माध्यम बन्दै गएको छ । भौगोलिक रूपमा टाढा रहेर पनि मेण्टरिङ गर्न सकिने यो सरल विधिमा अनलाइनका विभिन्न माध्यमहरूबाट अनलाइन मेण्टरिङ गर्ने गरिन्छ ।
४. प्राविधिक मेण्टरिङ
कुनै नयाँ विधि, रणनीति र प्रविधि बारेमा जानकारी दिन यस्तो मेण्टरिङ गरिन्छ । कुनै नयाँ प्राविधिक ज्ञान सिकाउन जस्तै आइसिटी जुनियरले सिनियरलाई पनि मेण्टरिङ गर्ने गरिन्छ ।
५. सुक्ष्म मेण्टरिङ
छिटो र छोटो अवधिमा विभिन्न व्यक्तिहरूसँग मेण्टरिङ सत्रहरू सम्पन्न गर्ने एउटा प्रक्रिया हो जसमा सहभागीहरू मेण्टरहरूसँग छोटो कुराकानी गर्छन् ।
६. सहकर्मी मेण्टरिङ
यस्तो ढाँचाको मेण्टरिङमा पेशागत जीवनका साझा वा समान अनुभवहरूलाई सहकर्मीहरूले एक अर्कामा ज्ञानको आदानप्रदान गरेर सिकाइ हासिल गर्छन् । यस प्रकारको मेण्टरिङिमा सहपाठी अवलोकनबाट गरिन्छ र पृष्ठपोषण दिइन्छ ।
सकारात्मक प्रभाव
मेण्टरिङ उत्कृष्ट शिक्षण सहयोगी रणनीति हो । जहाँ शिक्षकहरू प्रभावकारी शिक्षण अभ्यासको विकासमा केन्द्रित हुन्छन् । शिक्षक मेण्टरिङ औपचारिक र अनौपचारिक हुन सक्छ । अनौपचारिक वातावरणमा शिक्षकहरूले लक्ष्यहरू निर्धारण गर्छन् तर मापन योग्य हुँदैनन् र संरक्षित पनि हुँदैनन् । औपचारिक मेण्टरिकको लक्ष्यहरू मापनयोग्य हुन्छन् । मेण्टरिङमा कोचिङ र परामर्शको पनि प्रभाव पर्छ । मेण्टरिङका सम्बन्धहरु समन्वय, छलफल, सल्लाह र परामर्शमा आधारित हुन्छन् र कोचिङमा त्यस्तो हुँदैन । मेण्टरिङ तथा कोचिङमा मनोवैज्ञानिक समस्याहरूलाई समाधान गरिन्छ । मेण्टरिङका सकारात्मक प्रभावलाई वुँदागत रुपमा यसरी उल्लेख गर्न सकिन्छ :
- शिक्षकको पेशागत विकास
- शिक्षण सहजीकरणमा सुधार
- शिक्षकको आत्मविश्वासमा वृद्धि
- शैक्षिक वातावरणमा सुधार
- शिक्षकको उच्च मनोबल
- मेण्टरिङका चुनौती
१. नीतिगत चुनौती
शिक्षा तथा मानव श्रोत विकास केन्द्रले विकास गरेको तालिम पाठ्यक्रमका आधारमा प्रशिक्षक प्रशिक्षण पूरा गरेका प्रशिक्षकहरूबाट प्रदेशको शिक्षा तालिम केन्द्रले मेण्टरहरूको तालिम सञ्चालन गर्नु पर्नेछ भनी शिक्षक मेण्टरिङ कार्यविधि २०८० मा भनिएको छ । कार्यान्वयन भने स्थानीय तहले गर्ने देखिन्छ । फेरि मेंण्टर सहायता संयन्त्र अन्तर्गत प्राज्ञिक मेण्टर विश्वविद्यालयको प्राध्यापक मात्र रहने र फिल्ड मेण्टरमा क्याम्पसका प्राध्यापक र शिक्षा तालिम केन्द्रका प्रशिक्षकलाई छनोट गर्न सकिने व्यवस्थाले प्राज्ञिक र फिल्ड मेण्टरमा शिक्षक हुनपर्ने व्यवस्था देखिदैन तर मेण्टरिङ भने शिक्षकले गर्नु पर्ने हुँदा यसको प्राविधिक पक्ष चुनौतिपूर्ण छ । मेण्टरिङ कार्यक्रममा तत्कालै समस्याको समाधान खोजिने र निरन्तर चलिरहने प्रक्रिया भएकोले सोही अनुसार प्रणाली व्यवस्था गर्नुपर्ने हो तर झण्झटिलो प्रक्रियाले थप चुनौती थपिने देखिन्छ ।
२. संस्थागत चुनौती
शिक्षक मेण्टरिङ कार्यविधिमा नव नियुक्त तथा एक शैक्षिक सत्रभन्दा कम शिक्षण अनुभव भएका शिक्षकलाई नवप्रवेशी शिक्षकका रूपमा छनोट गरी अनुभवी शिक्षकबाट २२ हप्ताको अवधिमा ३५ घण्टाको सक्रिय सहयोग प्रदान गर्ने व्यवस्था रहेको छ । त्यसको कार्यान्वयनको लागि विद्यालयदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्मको संस्थागत व्यवस्था गरिएको भएपनि कार्यान्वयनको पूर्ण जिम्मेवारी भने स्थानीय तहलाई दिइएको छ । यदि स्थानीय तहले मेण्टरिङ कार्यलाई महत्व नदिएमा यसको कार्यान्वयनमा चुनौति हुने देखिन्छ ।
३. उत्प्रेरणा सम्बन्धी चुनौती
उत्प्रेरित हुन नसके सिकाइ हुन कठिन हुन्छ । यो चुनौती महत्वपूर्ण चुनौती हो । सिक्नको लागि निरन्तर क्रियाशील भएर सूचना तथा प्रविधिमा सधैँ अध्यावधिक भइरहे मात्र मेण्टरिङ प्रक्रिया प्रभावकारी हुन्छ ।
४. उद्देश्य निर्धारण सम्बन्धी चुनौती
मेण्टरले कक्षा कोठामा शिक्षकलाई सहयोग गर्नु भनेको शिक्षकको पेसागत विकासलाई उद्देश्यमूलक बनाउनु हो । यदि शिक्षक मेन्टरिङको उद्देश्य निर्धारणमा क्ःब्च्त् लक्ष नभएमा कक्षा कोठाको वातावरणमा नकारात्मक असर पर्ने देखिन्छ ।
५. अनुसन्धान सम्बन्धी चुनौती
दक्ष र अनुभवी मेण्टर नै अनुसन्धानकर्ता हुने भएकाले शिक्षकहरूको पेशागत विकासका लागि रचनात्मक सहयोग गर्नुपर्छ । मेण्टरले शिक्षण कार्यलाई खोजमूलक र अनुसन्धानात्मक बनाउन सक्ने क्षमता नभए अनुसन्धानमूलक शिक्षण सहजीकरणमा चुनौति देखिन्छ ।
६. पृष्ठपोषण प्रदान सम्बन्धी चुनौती
पृष्ठपोषणलाई सकारात्मक रुपमा नवप्रवेशी शिक्षकले स्वीकारेमा मेण्टरिङमा समस्या रहँदैन । तर पृष्ठपोषणका सुझावहरूलाई प्रतिशोधात्मक रुपमा लिएमा समस्या र चुनौती दुवै रहन्छन्छ ।
अन्य चुनौति
● मेण्टरिङ सरल प्रक्रिया भए पनि यसको प्रभावकारितालाई मापन गर्न गाह्रो हुन सक्ने
● प्रभावकारी मेण्टरिङ कार्यक्रम सञ्चालन गर्नका लागि पर्याप्त स्रोतहरू आवश्यक हुने हुँदा समयमै स्रोतको व्यवस्थापन नभए चुनौती थपिने
● मेण्टर र मेण्टी दुवैको कार्य व्यस्तता भएमा नियमित भेटघाट र संवाद गर्न समय मिलाउन चुनौतिपूर्ण हुन सक्ने
● मेण्टीले खुलेर आफ्ना समस्याहरू वा विचारहरू व्यक्त गर्न नसक्दा मेण्टरिङको उद्देश्य पुरा हुन नसक्ने
निष्कर्ष
मेण्टरिङ एक विकासात्मक प्रक्रिया भएकोले शिक्षकको ज्ञान, सीप र क्षमताको अभिवृद्धि गरी गुणस्तरीय शिक्षा प्राप्तिमा यसलाई पेशागत विकासको विधि वा प्रक्रियाको रुपमा लिने गरिन्छ । सहकर्मी शिक्षकबाट कक्षा अवलोकन गरी सकारात्मक धारणा सहितको रचनात्मक सुधारका लागि शिक्षण सहजीकरण प्रक्रियाको समीक्षा गरी महत्वपूर्ण सुझाव दिएर शिक्षकको पेशागत विकासमा सहयोग गरिन्छ । मेण्टरिङ प्रक्रिया दीर्घकालीन प्रकृतिको हुने हुँदा शिक्षकलाई निरन्तर पेशागत सहयोगमा उपयोगी हुन्छ । विद्यालय स्तरीय र पालिका स्तरीय शिक्षक सिकाइ समूह निर्माण गरी निरन्तर रूपमा शिक्षकहरू बिच सिकाइ अनुभव आदानप्रदान गर्ने गरी मेण्टरिङको कार्य र क्षेत्र विस्तार गर्नु पर्ने देखिन्छ ।
नवप्रवेशी शिक्षकहरुलाई आधारभूत शैक्षणिक सिपहरुमा दक्षता हासिल गराउनको लागि विद्यालयमा आधारित शिक्षक पेशागत विकास सहायतालाई निरन्तर उपलब्ध हुने वातावरण मिलाउनु पर्दछ । विद्यार्थीको गुणस्तरीय शिक्षासँग नजोडिएको शिक्षकको पेशागत विकासका कार्यहरु अस्थायी हुन्छन् । शिक्षक सिकाइ सहजीकरणका राम्रा अभ्यासहरूको प्रयोग र अभिलेखीकरण गर्ने कार्य गरिने हुँदा शिक्षक मेण्टरिङ शिक्षकको पेशागत विकासको लागि प्रभावकारी र उपयोगी देखिन्छ ।
कोइराला, जनज्योती माध्यमिक विद्यालय खुर्कोट सिन्धुलीका माध्यमिक तहका शिक्षक हुन्, उनी नेपाल शिक्षक महासंघ गोलञ्जोर गाउँपालिका समितिका अध्यक्ष पनि हुन् ।
प्रतिक्रिया