Edukhabar
विहीबार, ११ पुस २०८१
खबर/फिचर

एनजी आएका सबैलाई परीक्षा : ३५ हजार विद्यार्थीलाई परेन प्रभाव

ग्रेड बृद्धि परीक्षाको मौका दिँदा पनि सहभागि नहुने ३५ हजार विद्यार्थीलाई, एनजी आएका सबैलाई परीक्षा दिने सरकारको नीतिले छुन सकेन । उनीहरुले किन परीक्षा दिएनन् ? उनीहरु को हुन् ? भन्ने बारेमा शिक्षा मन्त्रालयले कुनै चासो समेत दिएको छैन ।

बुधबार, ३० असोज २०८१

काठमाडौं - कक्षा १० को अन्तिममा लिईने नियमित परीक्षा (एसईई) को नतिजामा एनजी आएका र फारम भरेर पनि परीक्षा नदिएका विद्यार्थीलाई पुनः परीक्षा दिने व्यवस्थाले ३५ हजार विद्यार्थीलाई कुनै प्रभाव परेन । गत चैतमा भएको परीक्षाको गत असार १३ गते सार्वजनिक नतिजामा २७ नम्बर पनि ल्याउन नसकेका र फारम भरेर पनि परीक्षा नदिएका विद्यार्थीलाई पुनः परीक्षा दिन पाउने गरी तत्कालिन शिक्षा मन्त्री सुमना श्रेष्ठले निर्देशिका नै परिवर्तन गरेर परीक्षा सञ्चालनको निर्णय गरेकी थिईन् । 

यस अघि दुई विषयसम्म एनजी आएका विद्यार्थीले मात्रै परीक्षा दिने व्यवस्थालाई हटाएर उनले सात विषयसम्म एनजी आएका र नियमित परीक्षामा अनुपस्थित भएका विद्यार्थीले समेत ग्रेड बृद्धि परीक्षा दिन पाउने निर्णय गरेपछि ३३ हजार विद्यार्थी ग्रेडेड भएका हुन् । 

एसइईको ग्रेड बृद्धि परीक्षामा दुई लाख सात हजार विद्यार्थी सहभागि भएका थिए । यस मध्ये एक लाख १९ हजार चार सय २५ विद्यार्थी मौका परीक्षामा ग्रेडेड भएका हुन् । यसमा ५६ हजार सात सय दुई जना छात्र, ६२ हजार सात सय २१ छात्रा र दुई जना अन्य छन् । मौका परीक्षामा ३३ हजार विद्यार्थी पास भए पनि कक्षा १० को परीक्षा फारम भरेर पनि परीक्षा नदिएका, परीक्षामा सहभागि भएर एनजी आएपछि ग्रेड बृद्धि परीक्षाको मौका दिँदा पनि सहभागि नहुने ३५

हजार विद्यार्थीलाई भने सरकारको यो नीतिले छुन सकेन । उनीहरुले किन परीक्षा दिएनन् ? उनीहरु को हुन् ? भन्ने बारेमा शिक्षा मन्त्रालयले कुनै चासो समेत दिएको छैन । 

दुई विषयमा ग्रेडेड ८५ हजार, सात विषय मै ग्रेडेड हुने नौ सय २७

दुई विषयमा एनजी आएर ग्रेडेड हुने ८५ हजार सात सय ७४ जना छन् । यस अघिको व्यवस्था अनुसार लिएको परीक्षाको नीतिगत व्यवस्था नै बदलिए पछि तीन विषय र त्यस भन्दा बढीमा एनजी आएका ३३ हजार छ सय ७७ जना ग्रेडेड भएका हुन् । 

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार दुई विषयमा एनजी आएर  परीक्षा दिएका मध्ये पाँच हजार सात सय ७४,  तीन विषयमा ग्रेडेड हुने  १६ हजार पाँच सय ८३, चार विषयमा ग्रेडेड हुने आठ हजार नौ सय ६५,  पाँच विषयमा ग्रेडेड हुने चार हजार सात सय एक, छ विषयमा ग्रेडेड  दुई हजार चार ७४, सात विषयमा ग्रेडेड नौ सय २७,  आठ विषयमा ग्रेडेड  सात जना र नौ विषयमा ग्रेडेड हुने तीन जना छन् । 

मौका परीक्षामा सबै भन्दा राम्रो कोशी, कमजोर लुम्बिनी 

परीक्षा दिएका मध्ये कोशीबाट सबैभन्दा बढी ग्रेडेड भएका छन् । कोशीबाट ३५ हजार आठ सय १९ जनाले परीक्षा दिएकोमा २५  हजार दुई सय ६७, मधेशमा ३४ हजार पाँच सय २६ विद्यार्थी सहभागि भएकोमा २३ हजार पाँच सय ६३ अर्थात् ६८ प्रतिशत ग्रेडेड भएका छन् । वागमतीमा ३० हजार पाँच सय ७८ विद्यार्थी सहभागि भएकोमा १७ हजार ६ सय ५३ अर्थात् ५७.७३ प्रतिशत ग्रेडेड भएका हुन् । गण्डकीमा ५३ प्रतिशत मात्रै ग्रेडेड  भएका छन् । १८ हजार नौ सय ५१ विद्यार्थी सहभागि भएकोमा १० हजार ५२ ग्रेडेड भएका हुन् । मौका परीक्षामा सबैभन्दा कम ग्रेडेड हुनेमा लुम्बिनी प्रदेश रहेको छ । ४३ हजार एक सय ४५ विद्यार्थी रहेकोमा १८ हजार ६ सय ९७ जना मात्रै ग्रेडेड भएका हुन् ।

कर्णालीमा १६ हजार नौ सय ३१ विद्यार्थी ग्रेडेड भएकोमा १० हजार एक सय ३७ विद्यार्थी अर्थात् ५९.७ प्रतिशत ग्रेडेड भएका हुन् । सुदूरपश्चिममा ३० हजार तीन सय ७१ विद्यार्थी सहभागि भएकोमा १४ हजार ५६ अर्थात् (४६.२) प्रतिशत ग्रेडेड  भएका छन् । 

गणितमा एक लाख ग्रेडेड 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार मौका परीक्षामा गणितमा एक लाख चार सय ९३ जना ग्रेडेड भएका छन् । एक लाख ५३ हजार नौ सय १७ जनाले परीक्षा दिएकोमा एक लाख चार सय ९३ जना ग्रेडेड भएका हुन् । ग्रेडेड भएका मध्ये एक सय ७८ जनाले गणितमा ए प्लस ल्याएका छन् । नियमित परीक्षामा सबैभन्दा बढी नन् ग्रेडेड भएको विज्ञानमा मौका परीक्षामा ६७ हजार दुई सय आठ जना ग्रेडेड भएका छन् । 
अंग्रेजीमा ८० हजार ६ सय ७९ जनाले मौका परीक्षा दिएकोमा ५१ हजार २४ जना ग्रेडेड भएका छन् । 

कसरी हराए ३५ हजार विद्यार्थी ? 

चैतमा भएको नियमित परीक्षामा चार लाख ६४ हजार सात सय ८५ विद्यार्थीले परीक्षा दिएकोमा नियमित र ग्रेड वृद्धि समेत तीन लाख ४१ हजार आठ सय ९७ विद्यार्थी  मात्रै ग्रेडेड भएका थिए । चैतमा लिएको परीक्षामा दुई लाख २२ हजार र साउनमा लिएको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार गरी तीन लाख ४१ हजार आठ सय ९७ विद्यार्थी ग्रेडेड भएका हुन् । एक लाख २२ हजार आठ सय ८८ विद्यार्थी कक्षा ११ पढ्न अयोग्य भएका छन् । 

त्यसो त अहिले ग्रेडेड भएका ३३ हजार विद्यार्थीले यसै वर्ष कक्षा ११ पढ्न पाउने नपाउने अन्यौल देखिएको छ । किन भने यस अघि नियमित परीक्षामा ग्रेडेड विद्यार्थीले कक्षा ११ पढेको तीन महिना भई सकेको छ । अहिले ग्रेडेड विद्यार्थी कुन विद्यालयमा भर्ना हुन्छन् र कसरी यस अघि पढेकाहरुसँगै पढ्न सक्छन् भन्ने अन्यौल देखिएको छ । 

तत्कालिन शिक्षा मन्त्री श्रेष्ठले लेटरग्रेडिङ निर्देशिका संशोधन गरेर दुई विषय भन्दा बढी नन् ग्रेडेड भएकालाई पनि पुनः परीक्षा दिन गरी गरेको व्यवस्थाले यसअघिको नियमित परीक्षामा अनुपस्थित भएका आठ हजार विद्यार्थी समेत सहभागि हुने अनुमान गरिएको थियो । यो निर्णयले दुई लाख ४१ हजार आठ सय चार विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने थिए । तर, दुई लाख १० हजार तीन सय २१ विद्यार्थी मात्रै ग्रेड बृद्धिको परीक्षा फारम भरेका थिए । दुई लाख सात हजारले मात्रै परीक्षा दिएका छन् । ग्रेड बृद्धि परीक्षा दिन पाउने र परीक्षा फारम भर्ने बेलासम्म नै ३१ हजार चार सय ८३ विद्यार्थी हराएका थिए । अझ ग्रेड बृद्धि परीक्षा दिन फारम भरेका पनि तीन हजार भन्दा बढी विद्यार्थी सहभागि नभएको परीक्षा नियन्त्रक पौडेलले बताए । यस अनुसार ३५ हजार विद्यार्थी  हराएका छन् ।

यो निर्णय अघि दुई विषयमा एनजी आउने विद्यार्थीले नतिजा सार्वजनिक  भए लगत्तै पुरक परीक्षा दिन पाउने व्यवस्था थियो । दुई भन्दा बढि विषयमा एनजी आएका विद्यार्थीले अर्को वर्ष हुने बार्षिक परीक्षामा सहभागि हुन पाउँथे । जति वटा विषयमा एनजी आएको छ त्यसमा तीन वर्षसम्म निरन्तर परीक्षा दिन पाउने व्यवस्थालाई हटाएर एसईईमा एनजी आउने सबैले परीक्षा दिन पाउने गरी श्रेष्ठले निर्देशिका संशोधन गरेकि थिईन् । २०७३ सालमा भएको शिक्षा ऐनको आठौं संशोधनले विद्यालयको संरचना बदलेर प्रारम्भिक बाल कक्षा देखि कक्षा १२ सम्मलाई विद्यालय तह हुने व्यवस्था गरिसकेको छ । तर पनि साविकको एसएलसीकै शैलीमा कक्षा १० को परीक्षा निरन्तर जारी छ । उक्त परीक्षाको नतिजा देखाएर व्यापार गर्ने निजी विद्यालय सञ्चालकहरुको शैली र परीक्षाका नाममा हुने आर्थिक गतिविधिलाई निरन्तर राख्दा फाईदा देख्ने कर्मचारी संयन्त्रको स्वार्थले कक्षा १० को परीक्षालाई महत्व दिईदैं आएको छ ।  

यही बिचमा छोटो समय शिक्षा मन्त्रालय सम्हालेकी श्रेष्ठले पनि उक्त परीक्षालाई अनावश्यक महत्व दिएकी थिईन् । उनको उक्त  निर्णय पछि पक्ष विपक्षमा बहस शुरु भएको थियो । एसईईको नाममा जारी कक्षा १० को परीक्षाको शैली बदल्नु पर्ने बेलामा, झन् धमिलो बनाएको उनी माथि आरोप छ ।

पढ्नुहोस् : शिक्षा मन्त्री, थिती बिगार्ने बाटोबाट पछि हट !

प्रतिक्रिया