नेपालले सन् २०३० सम्ममा आधारभूत र माध्यमिक तहमा कार्यरत शत प्रतिशत शिक्षकहरूलाई न्यूनतम सङ्गठित शिक्षक तालिम प्रदान गर्ने लक्ष्य राखेको छ । दिगो विकास लक्ष्य न. ४ अन्तर्गत गुणस्तरीय र जीवन पर्यन्त सिकाइ कार्यान्वयनको राष्ट्रिय प्रारूप अनुसार उक्त कार्य पुरा गर्न विद्यालय क्षेत्र विकास योजना (सन् २०१५/१६–२०२२/२३) मा बालविकास केन्द्र सहयोगी कार्यकर्ता लाई २०२२/२३ सम्म शत प्रतिशत अर्थात ३२ हजारलाई एक महिने तालिम दिने भनिएको थियो । हाल कार्यान्वयनमा रहेको विद्यालय शिक्षा क्षेत्र योजना (२०७९/०८०–२०८९/०९०) ले कक्षाकोठाको शिक्षण सिकाइमा सुधार ल्याई शिक्षक तालिममा मात्र सीमित नभई शिक्षक पेशागत विकासका आयामलाई फराकिलो बनाउँदै शिक्षक तालिमका साथै गोष्ठी तथा सेमिनार, शिक्षक मेण्टरिङ, शिक्षक सिकाइ समूह गठन, पाठ अध्ययन (Lesson Study), कार्यमूलक अनुसन्धान आदिलाई जोड दिएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको सोह्रौँ योजना (आर्थिक वर्ष २०८१ /८२–२०८/८६) को दस्तावेज अनुसार आगामी २०८/८६ सम्ममा प्रारम्भिक बालविकास र शिक्षाको अनुभव सहित कक्षा १ मा भर्ना हुने बालबालिका शत प्रतिशत पुग्ने छन् । हाल यो प्रतिशत ७६.९ मात्र छ । यस योजनाले शिक्षा क्षेत्रमा अगाडि सारेको रूपान्तणकारी रणनीति कार्यक्रम अन्तर्गत प्रारम्भिक बालविकास तथा शिक्षा सम्बन्धी कार्यक्रमहरूलाई सबै स्थानीय तहसम्म पुर्याई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भन्ने उल्लेख छ ।
आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यक्रम मार्फत बाल विकासका शिक्षकहरूलाई बुट क्याम्पमा आधारित तालिम दिने भनिएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ मा चार वर्ष पूरा भएका बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित एक वर्षको प्रारम्भिक बालविकास शिक्षाको व्यवस्था गरेको छ । यस शिक्षाको मुख्य उद्देश्य विविध किसिमका मनोरञ्जनात्मक सिकाइ सहजीकरण क्रियाकलापका माध्यमद्वारा बालबालिकाको सर्वाङ्गीण विकासमा सहयोग पुर्याउनु र कक्षा एकमा प्रवेशका लागि तयारी गर्नु रहेको छ ।
शिक्षा ऐनको आठौं संशोधनले सर्वप्रथम प्रारम्भिक बाल विकास शिक्षालाई विद्यालय शिक्षामा समावेश गर्यो । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ ले एक वर्षको बालविकास शिक्षासहित अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षाको व्यवस्था गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा प्रारम्भिक बाल विकास तथा शिक्षा व्यवस्थापनको जिम्मेवारी स्थानीय तहमा रहेको छ । चार वर्षभन्दा मुनिका बालबालिकाको विकास तथा स्याहारका लागि शिशु विकास केन्द्र स्थापना र सञ्चालन सम्बन्धी व्यवस्था शिक्षा ऐन र शिक्षा नियमावली २०५९ मा रहेको छ ।
करिव ३६ हजार पाँच सय ९३ बाल विकास शिक्षक सामुदायिक विद्यालयमा कार्यरत छन् । सबै बाल विकासका शिक्षकहरू सहभागी हुने वातावरण सिर्जना गर्नुपर्नेमा एक हजार पाँच सयलाई मात्र बुटक्याम्पमा आधारित तालिम दिनु संख्यात्मक रुपमा धेरै थोरै हो ।
शिक्षा मन्त्रालयले चालु आर्थिक वर्षमा एक हजार पाँच सय बाल विकास शिक्षकहरूलाई बुटक्याम्प मार्फत तालिम सञ्चालन गर्न तीन करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेट कार्यान्वयन गर्न बनाइएको योजनामा बाल विकास शिक्षकको क्षमता तथा आवश्यक ज्ञान, सीप र सिकाइ अभिवृद्धि गराउन बुटक्याम्प गरिने उल्लेख छ । शिक्षकको क्षमता विकास नभएसम्म बालबालिकाको सर्वाङ्गीण विकास सम्भव नहुने भएकोले बालविकास शिक्षकलाई सघन आवासीय तालिम (बुटक्याम्प) आवश्यक र समय सान्दर्भिक रहने देखिन्छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आवासमा बसी उक्त तालिम लिन इच्छुक बाल विकास शिक्षकहरूलाई नियुक्ति मिति, यस पूर्व कुनै तालिम लिएको भए सो तालिमको नाम, अवधि र मिति समेतको विवरण सहित २०८१ असोज १० गते भित्र सहभागी हुन स्थानीय तहबाट बुटक्याम्पमा सहभागी हुन आएका निवेदनहरूलाई जिल्लाको समग्र विवरण राख्न इकाईहरूलाई निर्देशन दिएको छ । करिव ३६ हजार पाँच सय ९३ बाल विकास शिक्षक सामुदायिक विद्यालयमा कार्यरत छन् । सबै बाल विकासका शिक्षकहरू सहभागी हुने वातावरण सिर्जना गर्नुपर्नेमा एक हजार पाँच सयलाई मात्र बुटक्याम्पमा आधारित तालिम दिनु संख्यात्मक रुपमा धेरै थोरै हो ।
हाम्रो अभ्यास
बालविकास सहजकर्ताको भर्ना गर्दा बालमैत्री सीप र तालिमको कुनै आवश्यकता पर्दैन र नियुक्ति पछि पनि तालिम र विकासका कार्यक्रम सञ्चालन भएको पाइदैन । यो तहमा जसले पनि पढाउन सक्छ भन्ने मान्यता रहेको छ । विद्यार्थी विद्यालय भर्ना भए पश्चात पढाइ र लेखाइमा केन्द्रित गरिन्छ र डर त्रास देखाएर भएपनि उक्त कार्य गर्न लगाइन्छ । अभिभावकले पनि यस्तै खोज्छन् । विद्यालयमा मनोरञ्जनात्मक वातावरण पाउनुपर्ने त्यो कलिलो मस्तिष्कमा कस्तो असर पर्छ अध्ययन हुँदैन । आमासँग म विद्यालय जान्न भनी रुने बालबालिकालाई जबरजस्ति बोकेर ल्याएर कक्षा कोठामा थुनिन्छ । निजी विद्यालयले पनि साना नानीबाबुलाई नर्सरी, एलकेजी. युकेजी. भनी दुई वर्षदेखिका बालबालिका भर्ना गर्ने र जबरजस्ति दबाब दिएर पढाउने गर्छन् । यसको दिर्घकालीन असर र प्रभाव न अभिभावकले बझे न शिक्षकले नै । जबकि यस उमेरका बालबालिकालाई मनोरञ्जनात्मक विधिबाट शिक्षण क्रियाकलापमा संलग्न गराउनु पर्ने हुन्छ । साना साना बालबालिकालाई सिकाइ सहजीकरण गर्ने पदीय रूपले साना शिक्षकको ठूलो र गहन जिम्मेवारी बुझेको सरकारी निकायले अवश्य पनि सघन आवासीय तालिम (बुटक्याम्प) मार्फत यी समस्याको समाधान खोज्नेछ ।
तालिमको उद्देश्य व्यापक ज्ञान र सीपहरू प्रदान गर्नु हो र बुटक्याम्पको उद्देश्य छिटो र प्रभावकारी रूपमा विशेष सीपहरू सिकाउनु हो ।
शिक्षाको गुणस्तर सुधार तथा शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि बाल विकास शिक्षकहरू (ईसीडी) लाई पहिलो पटक सञ्चालन गर्न लागेको तालिम अर्थात् बुटक्याम्पले सहभागीहरूलाई निश्चित सीप र ज्ञान द्रुत गतिमा हासिल गर्न सक्षम बनाउने छ भन्ने अपेक्षा छ ।
तालिम र बुटक्याम्पको फरक
तालिम (Training) र बुटक्याम्प (Bootcamp) सुन्दा उस्तै भए पनि यी बीचमा सामान्य फरकहरू छन् । तालिम सामान्यतया लामो समयसम्म चल्छ, जस्तै केही महिना वा वर्ष । बुटक्याम्प भने छोटो अवधिको हुन्छ, प्रायः केही हप्ता वा महिना मात्र । तालिममा विषयवस्तुको गहिरो अध्ययन गरिन्छ भने बुटक्याम्पमा व्यावहारिक सीपहरूमा ध्यान दिइन्छ । तालिमको उद्देश्य व्यापक ज्ञान र सीपहरू प्रदान गर्नु हो र बुटक्याम्पको उद्देश्य छिटो र प्रभावकारी रूपमा विशेष सीपहरू सिकाउनु हो । तालिममा प्रायः सैद्धान्तिक र व्यावहारिक दुवै पक्षमा ध्यान दिइन्छ तर बुटक्याम्पमा भने प्रायः व्यावहारिक अभ्यास र परियोजनाहरूमा केन्द्रित हुन्छ । सामान्य उद्देश्य पूरा गर्नको लागि तालिम र विशिष्ट उद्देश्यको लागि बुट क्याम्प सञ्चालन गरिन्छ ।
सघन आवासीय तालिम (बुटक्याम्प) मार्फत निम्न सैद्धान्तिक अवधारणात्मक ज्ञानलाई शिक्षण सहजीकरण प्रकृयाबाट व्यवहारिक उपययोग गर्नु उपलव्धि मूलक हुन्छ ।
अपेक्षाको सिद्धान्त : कुनै व्यक्ति शिक्षणमा प्रवेश गरेपछि त्यही व्यक्तिले शिक्षण पेशामा कस्तो अनुभवको अपेक्षा गर्छ र शिक्षण सुधारमा कस्तो अपेक्षा रहन्छ भन्ने विषयलाई अपेक्षित सिद्धान्तले केही स्तरमा शैक्षिक र मानसिक विचारको समायोजन गर्छ । सघन आवासीय तालिमबाट दिगो र निरन्तर शिक्षण सिकाइ सहजीकरणको अपेक्षित सुधारको अपेक्षा गरिन्छ ।
स्वउत्प्रेरणाको सिद्धान्त : स्वउत्प्रेरणा आन्तरिक उत्प्रेरणा हो । यस प्रकारको उत्प्रेरणाले जुन कुनै कुरा प्राप्तिका लागि साँच्चै चाहना र सो कामसँग सम्बन्धित अन्तर्निहित पुरस्कार प्राप्तिको इच्छाबाट आउँछ । व्यक्तिले शिक्षण पेसा रोज्न, सो पेसामा रहि रहन र दक्ष विषय शिक्षक बनिरहनका लागि स्वयम् उत्प्रेरित हुनुपर्छ । जुन यस प्रकारको तालिम सहजीकरणबाट सम्भव हुन्छ । शिक्षक सघन आवासीय तालिम पश्चात पनि कक्षा कोठामा गरिने सिकाइ सहजीकरणमा सधैँ स्वउत्प्रेरित भइरहन सके मात्र तालिमको उपलब्धि प्राप्त हुन्छ र पाठ्यक्रमको उद्देश्य पूरा हुन्छ ।
संरचनावादका सिकाइ सिद्धान्त : संरचनावादीहरूका अनुसार सिकाइ सक्रिय प्रक्रिया हो, जसमा सिकारुले प्राप्त गरेको वातावरणीय संसारलाई बुझेर ज्ञान सम्बन्धी व्यवहार निर्माण गर्दछन् । सिकारुले सक्रिय छलफल, अन्तक्रिया, क्रियात्मक अनुभव, अवलोकन, संवाद, चिन्तन, सक्रिय सहभागिता आदिद्वारा नयाँ ज्ञानको निर्माण गर्छ । उक्त ज्ञानलाई व्यवस्थित गर्न सिकाइ सहजीकरणको माध्यमबाट शिक्षकले कक्षा कोठा वातावरणलाई विद्यार्थी मैत्री बनाउँन सघन आवासीय तालिम (बुटक्याम्प) उपयुक्त अवसर बन्न सक्ने अवस्था रहेकोले यसको सैद्धान्तिक महत्व रहेको पाइन्छ ।
बुटक्याम्पमा आधारित शिक्षक तालिमको प्रभावकारिता
सघन र छोटो अवधिः बुटक्याम्पहरू सामान्यतया केही दिनदेखि पाँच हप्ता सम्मका हुन्छन् । सहभागीहरूलाई निश्चित सीप र ज्ञान द्रुत गतिमा हासिल गर्न सक्षम बनाउँछ । यो तालिम शिक्षकहरूको क्षमता अभिवृद्धि र पेसागत विकास गर्ने प्रभावकारी माध्यमको रूपमा उदाएको छ ।
व्यवहारिक अभ्यासः सिद्धान्तको सिकाइ भन्दा बढी व्यावहारिक अभ्यासमा जोड दिइन्छ । सैद्धान्तिक ज्ञानलाई व्यवहारिक ज्ञानमा परिणत गरी शैक्षिक उपलव्धि प्राप्त हुने उपायहरु पहिचान गरिन्छ । यो शिक्षण तालिम एक प्रकारको प्रशिक्षण हो जसमा सहभागीहरूलाई निश्चित अवधिमा विशेष विषयमा व्यवहारिक र प्रयोगात्मक गहन प्रशिक्षण दिइन्छ ।
समूहगत कार्यः सहभागीहरूलाई समूहमा काम गर्न प्रोत्साहित गर्न सहपाठी शिक्षण सहजीकरण प्रक्रिया अवलम्बन गरिन्छ र उनीहरूलाई एक अर्काबाट सिक्न तथा सहयोग गर्न मद्दत गर्दछ । जसका लागि पाठ अध्ययन (ीभककयल क्तगमथ) का प्रक्रियाहरु र मेण्टरिङ विधिलाई समुहकार्यको लागि उपयुक्त हुन्छ ।
विशेषज्ञ प्रशिक्षकः विशेषज्ञ प्रशिक्षकबाट तालिम सञ्चालन गरिन्छ । बालमैत्री सिकाइ क्रियाकलापमा आधारित भएर प्रशिक्षकले तालिम सहजीकरण प्रक्रिया अपनाउँछन् । तालिममा सहभागिको ज्ञानलाई प्रशिक्षकले प्रशिक्षण सहजीकरण क्रियाकलापको माध्यमबाट विशेषज्ञ ज्ञानमा परिवर्तन गर्ने उपायको सामुहिक खोजी गरिन्छ ।
द्रुत सिकाइः सघन आवासीय तालिम (बुटक्याम्प) मा छोटो अवधिमा धेरै कुरा सिक्ने गरी तालिम सहजीकरण सामग्री विकास गरिएको हुन्छ । शिक्षकहरूलाई द्रुत गतिमा नयाँ सीप र ज्ञान हासिल गर्न मद्दत गर्दछ । शिक्षण सिकाइ सहजीकरणका लागि शिक्षकको तयारी, विद्यार्थी मैत्री सिकाइ वातावरण, विद्यार्थी केन्द्रित शिक्षण विधि र सक्रिय सिकाइ क्रियाकलापहरूको प्रयोग, विषयवस्तु अनुरूपको शिक्षण सिकाइ सामग्रीहरूको प्रयोग, विद्यार्थीको वैयक्तिक सिकाइ कठिनाइहरू पहिचान गरी सुधारात्मक शिक्षण आदिले सहयोग पुर्याउँछ ।
प्रतिक्रिया र मूल्यांकनः सहभागीहरूलाई नियमित रूपमा प्रतिक्रिया दिइन्छ र उनीहरूको प्रगति मूल्यांकन गरेर सुधारको लागि प्रेरित गरिन्छ ।
व्यवहारिक ज्ञानः सिद्धान्तलाई व्यावहारिक रूपमा प्रयोग गर्न सिकाइन्छ । व्यवहारिक ज्ञानको रूपमा गोष्ठी, सेमिनार, आत्ममूल्याङ्कन, शिक्षक सहयोगी समूह, जर्नल प्रकाशन र त्यसको लेखाजोखा, सहभागी कक्षा अवलोकन, शिक्षण तयारी, जोखिमपूर्ण मामलाको अध्ययन, घटना अध्ययन, सहभागी प्रशिक्षण, समूह शिक्षण र कार्यमूलक अनुसन्धान आदिलाई लिन सकिन्छ ।
सूचना प्रविधिको सञ्जालीकरण: अन्य सहभागीहरूसँगको अन्तरक्रियाबाट नयाँ सम्बन्ध बनाउन सकिन्छ । जुम, गुगल मिट, माइक्रोसफ्ट टिम, फेसबुक, मेसेञ्जर, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालका साधनहरूलाई उपयोग गरी आफूलाई परेको समस्या र सफल अभ्यासको आदानप्रदान गर्न सकिन्छ ।
शिक्षकको पेशागत विकास: तीव्र गति र प्रतिष्पर्धात्मक वातावरणले सिकाइलाई प्रेरित गर्दछ । बुटक्याम्पमा आधारित प्रमाणिकारण तालिमले शिक्षकको पेशागत विकासलाई सहयोग गर्दछ । शिक्षणीय कलामा कुशलता र विषयवस्तुमा दक्षता नै शिक्षकको मुख्य पेशागत विकास हो । त्यसैले उक्त तालिमले शिक्षकको पेशागत विकासमा सकारात्मक प्रभाव पार्ने देखिन्छ ।
सिकाइलाई खेल कार्यमा आधारित भएर सिकाउने र विद्यार्थी हाँस्दै र नाच्दै विद्यालय आउने वातावरण सिर्जना गरिने गरी बुटक्याम्पमा आधारित तालिम दिइनुपर्छ
बुटक्याम्पमा आधारित शिक्षक तालिमका चुनौती
नीतिगत व्यवस्था र विद्यमान अभ्यास बीच अन्तर: सार्वजनिक विद्यालयमा सञ्चालित बाल विकास केन्द्रमा प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम २०७७ को कार्यान्वयन अपेक्षित रुपमा हुन सकेको छैन । कतिपय बालविकास शिक्षकमा पाठ्यक्रमबारे अझै जानकारी नभएको र सिकाइ क्रियाकलाप सञ्चालनमा अन्योल रहेको देखिन्छ ।
नीतिगत अन्योल: चार वर्षभन्दा मुनिका बालबालिकाहरूको सर्वाङ्गीण विकासका लागि शिशु विकास र स्याहार केन्द्र सञ्चालन गर्न सकिने व्यवस्था रहेकोमा सो केन्द्रमा कति वर्ष देखिका बालबालिका भर्ना गर्न सकिने भन्नेमा नीतिगत अन्योल र अस्पष्टता देखिन्छ । निजी क्षेत्रमा सञ्चालित विद्यालयले प्लेग्रुप नर्सरी एल.केजी. यु.केजी. आदि नाममा दुई वर्षदेखिका बालबालिका भर्ना लिने र पाठ्यपुस्तकमा आधारित पढाइ लेखाइका क्रियाकलाप गर्ने गरेको पाइन्छ ।
तालिममा सबै शिक्षक समावेश नहुने: सघन आवासीय तालिम (बुटक्याम्प) मा चालु आर्थिक वर्षमा सामुदायिक विद्यालयमा कार्यरत करिब ३६ हजार पाँच सय ९३ बाल विकासका शिक्षकहरू मध्ये एक हजार पाँच सय जनालाई मात्रै तालिम प्रदान गरिने हुँदा बाँकी धेरै शिक्षकहरू तालिममा समावेश नहुने देखिन्छ । यो प्रमुख चुनौती हो ।
विविधता पूर्ण शिक्षण पद्दति: नेपालका विद्यालयहरूमा विभिन्न प्रकारका विद्यार्थीहरू हुन्छन् । बुटक्याम्पले शिक्षकहरूलाई विभिन्न शिक्षण पद्धतिहरू सिक्न मद्दत गर्दछ । तर पनि विविधता युक्त समाज भएमा शिक्षकलाई प्रशस्तै अवसर र चुनौती प्राप्त हुन्छ ।
प्रविधिको प्रयोग: बुटक्याम्पमा प्रविधिको प्रयोग गरी शिक्षण सिकाइलाई प्रभावकारी बनाउन सकिन्छ । तर प्रविधिको प्रयोग गर्न सकिने अवस्था नभए तालिम प्रभावकारी नहुने देखिन्छ ।
समयको अभाव: शिक्षकहरूसँग लामो अवधिको तालिममा सहभागी हुने समय कम हुन्छ । छोटो समयमा शिक्षकलाई कलात्मक र सिर्जनात्मक ज्ञान सिकाउन चुनौती पूर्ण देखिन्छ । बुटक्याम्पले यस समस्यालाई पूर्ण समाधान गर्न सक्दैन ।
विषयगत ज्ञानको अभिवृद्धि: बुटक्याम्पले शिक्षकहरूलाई आफ्नो विषयगत ज्ञानलाई अझ गहिरो बनाउन मद्दत गर्दछ तर बाल शिक्षाका विद्यार्थीका लागि विषयगत भन्दा सिर्जनात्मक र कलात्मक ज्ञान चाहिने हुँदा कलात्मक र सिर्जनात्मक ज्ञान नभएका शिक्षकलाई दुबै ज्ञान सिकाउन चुनौतीपूर्ण रहने देखिन्छ ।
निष्कर्ष
शिक्षक तालिम प्रमाणीकरणको लागि सघन आवासीय तालिम (बुटक्याम्प) महत्वपूर्ण मानिन्छ । यस्ता कार्यक्रमहरू न्यूनतम शैक्षिक कार्यको साथमा नव प्रवेशी शिक्षकलाई समेत सेवा प्रवेश तालिम दिन उपयोगी हुन्छ । शिक्षाको सेवा प्रवेश तालिमदेखि सेवाकालीन तालिमसम्म यसको उपयोग गर्न सकिन्छ । बुट क्याम्प शिक्षक तालिमले शिक्षण सहजीकरण प्रक्रियालाई नव प्रवर्तनात्मक कार्यमा अगाडि बढ्न सहयोगी बन्ने आधार निर्माण गर्नु पर्ने देखिन्छ । यसलाई विद्यालय भित्रको शैक्षिक वातावरण सुदृढ गर्न र शिक्षकको पेशागत विकासमा प्रयोग गर्न सकिन्छ । निशुल्क र अनिवार्य शिक्षामा गुणस्तरीय शिक्षाको पहुँच विकासको लागि उपयोगी हुन्छ । अभ्यासमा आधारित उदाहरणहरूबाट सिकाइ गरिने र विशिष्ट तर्कको सट्टा व्यापक प्रवृत्तिहरूको प्रतिनिधित्व हुने यसका सकारात्मक पक्ष मानिन्छ । शैक्षिक संस्थालाई स्मार्ट बनाइ डिजिटल संयन्त्र मार्फत शिक्षण सिकाइलाई सहज, प्रयोगात्मक बनाउने उपायको खोजी गरी शिक्षण सिकाइ सहजीकरणमा समन्वय र सहकार्य गर्ने प्रवृत्तिको विकास गर्न र सहपाठी सिकाइ प्रणालीको सुदृढीकरण गर्न सघन आवासीय तालिम (बुटक्याम्प) बाल विकास सहजकर्ता शिक्षकको लागि उपयोगी र फलदायी हुने देखिन्छ ।
शिशु विकास केन्द्रको आन्तरिक सजावट, चिसो र धुलो रहित बसाइ, खेल्ने तथा आराम गर्ने व्यवस्था, सफा पिउने पानी, सरसफाई र सामग्री सहितको बालमैत्री शौचालय, पर्याप्त खेल सामग्री, आइसिटीमा आधारित सामग्रीको निर्माण र उपयोग, सिकाइ क्रियाकलाप सञ्चालनमा सहजकर्ता र सहयोगी शिक्षकको भूमिका जस्ता विषयवस्तुलाई समेत तालिम सामग्रीमा समावेश गरी समेट्नुपर्छ । सिकाइलाई खेल कार्यमा आधारित भएर सिकाउने र विद्यार्थी हाँस्दै र नाच्दै विद्यालय आउने वातावरण सिर्जना गरिने गरी बुटक्याम्पमा आधारित तालिम दिइनुपर्छ जसले साना साना बाल मस्तिष्कमा सकारात्मक धारणाको विकास गरी सुन्दर र उज्वल भविष्यको पर्खाइमा रहेका अनजान बाल संसारमा ज्ञानरुपी ज्योती छर्ने छ ।
कोइराला, जनज्योती माध्यमिक विद्यालय खुर्कोट सिन्धुलीका माध्यमिक तहका शिक्षक हुन्, उनी नेपाल शिक्षक महासंघ गोलञ्जोर गाउँपालिका समितिका अध्यक्ष पनि हुन् ।
प्रतिक्रिया