Edukhabar
आइतबार, ०६ असोज २०८१
गतिविधि

नमूना विद्यालयको भुक्तमान : सरकार दिन्छ बार्षिक ३० हजार, बिजुलीमा मात्रै खर्च हुन्छ मासिक ३५ हजार !

विद्यालयमा शिक्षक कर्मचारी गरेर ३७ जनाको दरबन्दी छ । अपुग २७ जनालाई विद्यालयले निजी श्रोतबाट तलब दिने गरी राखेको छ । निजी श्रोत भनेको अभिभावकसँग फि उठाउने, अनी निःशुल्क शिक्षा त कता कता !

आइतबार, ०६ असोज २०८१

पाल्पा - सार्वजनिक शिक्षाको स्तर उकास्न भन्दै सरकारले लागू गरेको नीति अनुसार २०७५ साल देखि तानसेन स्थित दमकडा माध्यमिक विद्यालय पनि नमूना विद्यालय विकासका लागि छनौट भयो । एक निर्वाचन क्षेत्र एक नमूना सामुदायिक विद्यालय विकास गर्ने सरकारको योजनामा छनौट भए पछि विद्यालयले पाँच करोड २० लाख रुपैंया भौतिक निर्माण र एक करोड रुपैंया शैक्षिक तथा व्यवस्थापकीय पक्ष सुधार गर्नका लागि अनुदान स्वरुप प्राप्त गर्ने भयो । उक्त कार्यक्रमबाट विद्यालयको भौतिक पक्ष सुधार त भएको छ तर अन्य सामुदायिक विद्यालयकै जस्तो यो नमूना विद्यालयको भुक्तमान पनि उस्तै छ । विद्यालयको वार्षिक प्रशासनिक खर्च व्यवस्थापनको अवस्था टिठलाग्दो छ ! 

सरकारले विद्यालयलाई प्रशासनिक खर्च भन्दै बर्षको ३० हजार रुपैंया दिन्छ । विद्यालयमा प्रयोग हुने बिजुलीको बिल मात्रै महिनाको ३५ हजार रुपैंया आउँछ । विद्यालयमा शिक्षक कर्मचारी गरेर ३७ जनाको दरबन्दी छ । अपुग २७ जनालाई विद्यालयले निजी श्रोतबाट तलब दिने गरी राखेको छ । निजी श्रोत भनेको अभिभावकसँग उठाएको फि बाट तलब दिने ! 

संविधानमा शिक्षा अधिकार भनिएको छ, आधारभूत तह सम्म अनिवार्य तथा निःशुल्क र माध्यमिक तह सम्म निःशुल्क शिक्षा हुने व्यवस्था छ । २०७५ सालमै अनिवार्य तथा निःशुल्क शिक्षा ऐन लागू भएको छ । तर, राज्यले नै घोषणा गरेको नमूना विद्यालयको भुक्तमान यस्तो छ ।

विभिन्न चुनौती झेल्दै अभिभावकको मन जित्न सफल दमकडा मावि हिजो आज राज्यको मुख ताक्न छाडेर शैक्षिक व्यवस्थापनमा केन्द्रित छ । व्यवस्थापनमा देखिने यस्तै चुनौती सुधार गरेरै जिल्लामा नम्बर एक सामुदायिक विद्यालय बन्न सफल भएको प्रधानाध्यापक मोहन सापकोटाको दावी छ । वि.सं.२०१३ सालमा केशवमान अमात्य, निम नारायण अधिकारी, मनिराम बञ्जाडे लगायतको अग्रसरतामा अनौपचारिक रुपमा घरको पिँढीबाट शुरु भएको पठनपाठनको क्रम सरस्वती पाठशालाका रुपमा बदलियो । देउरालीमा शुरु भएको सरस्वती विद्यालयको बदलिएको संरचना नै अहिलेको विद्यालय हो । विद्यालयलाई आजको ठाउँमा ल्याईपुर्याउन थुप्रै अभिभावक, शिक्षक र पूर्व प्रधानाध्यापकको भूमिका मोहन सरको स्मरणमा छ । अमात्य र अधिकारी सँगै प्रधानाध्यापकका रुपमा राधाकृष्ण शर्मा, प्रेमराज पंगेनी, दुर्गा प्रसाद अर्याल, श्रीधर प्रसाद घिमिरे, माधव प्रसाद पाठकहरुको बिँडो अहिले मोहन सरको काँधमा छ । २०५२ सालको  शिक्षक सेवा आयोगको परीक्षाको २०६० सालमा सार्वजनिक नतिजाबाट स्थायी भएका उनी २०७२ भदौ दुई गतेबाट प्रधानाध्यापकका रुपमा कार्यरत छन् । २०५३ सालबाट अस्थायी शिक्षकका रुपमा शिक्षण पेशामा प्रवेश गरेका मोहन सरको यो विद्यालय शिक्षण गरे पछिको चौथो हो भने स्थायी भए पछिको दोश्रो ।  

विद्यालयमा अहिले प्राविधिक धार तर्फ सिभिल ईञ्जिनियरिङ् विषयको समेत अध्ययन भईरहेको छ । प्रारम्भिक बाल विकास देखि कक्षा १२ सम्म नौ सय ४५ विद्यार्थी र शिक्षक कर्मचारीको व्यवस्थापन मोहन सरकै नेतृत्वमा छ । 
सार्वजनिक शिक्षाका पक्षधरहरु भन्छन् : सामुदायिक विद्यालयका शिक्षकहरु दलगत राजनीतिमा आवद्ध भएका कारण सार्वजनिक शिक्षा ध्वस्त भयो । नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष समेत रहेका मोहन सरका कुरा भने बेग्लै छन् । विद्यालयको ईतिहास, वर्तमान र आगामी यात्राका बारेमा मोहन सरसँग गरिएको कुराकानीको भिडियो सामग्री : 

 


 

प्रतिक्रिया