बढ्दो विद्युतीय सञ्जलीकरणले अचम्मको पुस्ता जन्माएको छ । विद्युतीय प्रविधि भरपुर उपयोग गर्न पाएको सन् १९९० देखि २०१० को बिचमा जन्मेको पुस्तालाई ‘जेन जी’ पुस्ता भिनिन्छ (विकिपेडिया) । यो पुस्ता इण्टरनेटसँग जोडियो । सूचना प्राप्तिका लागि सामाजिक सञ्जालले तिनलाई एक अर्कासँग जोड्यो । उनीहरू पुरानो पिँढीको नेतृत्व भिजनरी छ भन्ने कुरामा विश्वास नै गर्दैनन्; झूटो विवरण पेस गरेर राज्य सत्ता टिकाइ रहेको कुरामा तिनीहरु बढी विश्वास गर्छन् । मिथ्यांक प्रस्तुत गरेर सामान्य मान्छेलाई मुर्ख बनाउने प्रवृत्ति विरुद्ध धावा बोल्छन् (हरि रोका, कान्तिपुर दैनिक, भदौ २८, २०८१)।
उदाहरणका लागि, बंगलादेशकी शेख हसिना आफूलाई लोकतन्त्रवादी भइरहेको सावित गर्न प्रयास गरिरहेकी थिइन् । उनका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशंसकहरू आन्दोलन सुरु हुनुभन्दा एक महिना अघिसम्म बंगलादेशको आर्थिक वृद्धिलाई चमत्कारपूर्ण भन्दै थिए ।
बंगलादेशमा जस्तै अनगिन्ती असंगठित आन्दोलनहरू हुने गरेका छन् । भर्खरै बेलायतमा भएको आप्रवासी विरुद्धको आन्दोलन होस् या फ्रान्समा भइरहेको म्याक्रोन विरुद्धका प्रदर्शनहरूमा यही पुस्ताले नै उपद्र मच्चाएका थिए । उनीहरुको राजनीतिक दलमा संलग्नता हुँदैन र संगठित पनि हुँदैनन् । सत्तामा रहेकाहरु उनीहरुको शक्ति आंकलन नै गरिरहेका हुँदैनन् । तर उनीहरु द्रुतगतिमा प्रवाह हुने असीमित सूचनामा अध्यावधिक भैरहेका हुन्छन् र विभिन्न किसिमले जोडिएर रहेका हुन्छन् । गाउँ र शहरलाई जोडिरहन्छन् । उनीहरुको आन्दोलन कसरी, कुन ठाउँ र कति शक्तिका साथ कति बेला आउँछ भन्ने थाहा पाउन पनि गाह्रो छ ।
निजी क्षेत्रको उदय सँगै यो पुस्ताले गुणस्तरीय शिक्षा प्राप्तिका लागि अस्वभाविक असमानता बेहोर्नुपर्यो । शायद यस्तो असमानता इतिहासमा कहिले थिएन । नेपालका सामुदायिक विद्यालयहरुमा ‘जेन जी’ पुस्ता भन्दा पहिलाका शिक्षकहरुको वर्चश्व छ । आधुनिक प्रविधिको विकाससँगै प्रविधि उपयोग गर्ने क्षमता ज्यादै कमजोर छ । उनीहरुको राजनीतिक दलमा आवद्धता छ । शिक्षाको सुधारमा राजनीतिक दलहरुको प्राथमिकता खासै देखिँदैन । योजनावद्ध तयारी केही देखिँदैन । यसले नयाँ युवा जमातलाई निराश बनाइरहेको छ । यस्तो निराशाले राजनीतिमा विद्रोह हुने खतरा हुन्छ भने शिक्षा क्षेत्रमा कालन्तरसम्म राज्य र समाजका लागि अधोगति तिर धकेल्ने आधार बनिरहेको हुन्छ । चिरकालसम्म मुलुकका लागि राजनीति भन्दा खतारायुक्त हुन पुग्दछ । सुधारका विकल्पहरुको खोजी गर्न अबेर भैसकेको छ ।
यसै सन्दर्भमा बागलुङ्गको काठेखोला गाउँपालिकाका २८ जना ‘जेन जी’ पुस्ताका महिला (ठुल्दिदी) हरुको भिन्न अभ्यासका बारेमा यहाँ चर्चा गरिएको छ । यो विद्रोही र खतारयुक्त प्रयास होइन । सभ्य र संवेगात्मक प्रयास हो ।
विषयवस्तु र सन्दर्भ
काठेखोला गाउँपालिकाको सेरोफेरोका केही विषयवस्तु काल्पनिक कथा जस्ता छन् । तर ति कथा होइनन् वास्तविकता हुन् । गाउँले अभिभावक र उनीहरूका बालबालिकासँग पङ्तिकारले गरेको गन्थनको निचोड हो यो आलेख ।
बेलायती स्वयम् सेवी संस्था (भिएसओ)को बागलुङ्ग युवा क्लब (विवाइसी) द्धारा संचालित सिकाइ परियोजनाको अन्तिम मूल्याङ्कन गर्ने समुह नेता (टिम लिडर) का रुपमा काठेखोलामा भएको मेरो भ्रमण परिमाणात्मक र गुणात्मक नतिजा (फाइण्डिङ्ग) पहिचानका लागि थियो । त्यो फरक पाटो हो, तर, यहाँ मैले गाउँघरमा जाँदा आफूले अनुभुत गरेका केही विशिष्ट विषय वस्तु मात्र प्रस्तुत गर्न खोजेको छु । जसमा मूल विषय ठूल्दिदी (विग सिष्टर) हुन पुगेको छ ।
को हुन् ठूल्दिदीहरु ?
नीतु गुरूङ्गको अर्को नाम ठूल्दिदी हो । उनी काठेखोला भिमसेन मा.वि.की ठुल्दिदी हुन् । बिहान खाना खाएपछि करिब एक घण्टाको समय लगाएर उनी विद्यालयमा पुग्छिन् । उनी आफू मात्र पुग्दिनन्, वरपरका साना बालबालिका साथै लिएर जान्छिन् । विद्यालयमा पुगपछि उनको पहिलो काम बालविकास देखि कक्षा पाँच सम्म कति बालबालिका विद्यालयमा आएनन् पहिचान गर्नु हुन्छ । नआएकाहरुका अभिभावकलाई पालैपालो फोन गरेर कारण सोध्छिन् । उनको दोस्रो काम यदी कुनै शिक्षक अनुपस्थित भएको रहेछ भने त्यो कक्षामा पसेर पढाउन शुरु गरिहाल्छिन् ।
विद्यालयमा स्यानेटरी प्याड व्यवस्थापन, बालबालिकाको सफाई, उनीहरुको दिशा धोईदिने देखि स–साना सबै काम विना हिचकिचाहट गर्छिन् । विद्यालयमा छुट्टि भएपछि चार बजेतिर ती बिहान लिएर आएका सबै बालबालिका उसैगरी साथै लिएर फर्कन्छिन् ।
यति गरे वापत उनले परियोजनावाट स्वयम् सेविकाको रूपमा प्रा.वि. तहको शिक्षकले पाउने तलबको एक चौथाई पनि मुस्किलले पाउँछिन् । तर यसमा उनको खासै गुनासो छैन ।
नीतुको सेवा भावको कर्मले नजानिँदो किसिमले अरूमा प्रभाव परेको छ । उनको बोली ब्रम्ह बोली हुन्छ । वास्तविक कुरा भन्दा अरू बोल्नै उनलाई आउँदैन । साह्रै दयनीय अवस्था भएका बालबालिकालाई उनले आँफै कलम, कापी, पनि किनिदिन्छन् । सबै जस्तो अभिभावकको घरमा पुग्छिन् । लामो विदामा बालबालिका के गरेका छन् ? सोधखोज गर्छिन् ।
आर्थिक रुपमा कमजोर घर परिवारका र परिवारिक परिवेश असजिलो भएका अभिभावकहरुसँग दुःख सुखका कुरा गर्छिन् । कुरा गर्दै जाँद कति अभिभाव आँशु खसाल्छन् । सहानुभुति दिने र कतिपय समस्या समाधान गर्ने तागत समेत देखाएकी छन् उनले । एकजना बच्चाको आमाले अर्को विबाह गरिछन् । बाबु विदेशिएको धेरै वर्ष भयो रे, बेखबर छन् । हजुर आमाले आँखा नदेख्ने रैछिन् । नीतु त्यो बच्चा र हजुर आमाको नजिककी साथी बनेकी छन् । उनले पढ्न छाडेको बच्चालाई विद्यालयमा भर्ना गराएर नियमित विद्यालय आउने गराएकी छन् । त्यस्तै अर्को घरको बाबुको मानसिक अवस्था ठिक नभएको र आमा नभएको बच्चाको पनि विद्यालयमा भर्ना गराई, दिनदिनै सँगै ल्याउने लाने आँफै गर्छिन् । उनको यो व्यवहारले विद्यालयका कतिपय शिक्षकहरू नतमस्तक भएका छन् । हामीले पनि त्यस्ता पढ्नै मुस्किल परेका बच्चालाई सहयोग गर्नपर्छ भनी सहयोग गर्न थालेका छन् ।
उनको मानवीय र नैतिक पक्षले नजानिँदो किसिमबाट अरूमा नैतिक दबाव परेको छ । एक किसिमले उनको उपस्थितिले अप्रत्यक्ष रुपमा अरूलाई डर हुने गरेको छ ।
सरस्वती प्रा.वि. की आशा थापा (ठूल्दिदी) ले पनि विशिष्ट परिवेशका बालबालिकाको पढाइमा सहयोग गर्दै आएकी छन् । अभिभावकको दुःख सुखका कथा सुनिदिने साथी बनेकी छन् ।
काठेखोला गाउँपालिकाका २७ ओटा विद्यालयमा एक एक जना त्यस्ता ठूल्दिदीहरु छन् । ठूल्दिदीहरुसँगका हृदयस्पर्शी कथा कति छन् कति !
उनीहरूको काम देखेर गाउँपालिकाले बाँकी २० वटा विद्यालयमा पनि कार्यक्षेत्र विस्तार गर्न आग्रह गरेको रहेछ । थप प्रोत्साहन रकम उपलब्ध गराएर उनीहरुलाई नजिक पर्ने दुई विद्यालय हेर्ने व्यवस्था गरेको छ । विद्यालय टाढा भएको ठाउँमा छुट्टै ठुल्दिदी नियुक्त गरेको छ ।
ठूल्दिदीहरू कहाँवाट कसरी आए किन त्यसरी काम गरिरहेका छन् ?
जुनजुन विद्यालयहरुमा उनीहरुले सेवा गरिरहेका छन् तीनै विद्यालयको सेवा क्षेत्र भित्र रहेका कम्तीमा १२ कक्षा उत्तिर्ण महिलालाई ठूल्दिदीका रुपमा नियुक्त गरिँदो रहेछ । उनीहरू सामान्यतया विवाहिता महिला हुन् । पढेका जागिर नखाएका र नपाएका महिला । उनीहरुको मनोविज्ञान त्यस्तो देखियो कि, उनीहरूले पढेको कुरालाई स्थानीय परिवेशमा उपयोग भएकोमा खुसी रहेछन् । उनीहरुको सामाजिक प्रतिष्ठा अचम्मसँग उचालिएको छ । सामाजिक प्रतिष्ठा, संवेगात्मक सम्बन्ध, सेवाभाव र संरचनाकृत तलबी सम्बन्धको संयुक्त अवस्थाले ठूल्दिदीहरु सबैकी ठूली दिदी भएका छन् । उनीहरू पनि गौरब गरिरहेका छन् । उनीहरू आफ्नो घरको दिन चर्यामा ठूलो असर पर्न पनि दिएका छैनन् । धेरै महत्वाकाँक्षी पनि देखिँदैनन् ।
शिक्षामा सुधार वा बिगार के भयो त !
ठुल्दिदीहरुले काम गरेका विद्यालयहरुको सेवाक्षेत्र भित्रका गाउँ र वस्तीमा विद्यालय उमेर समूहका केटाकेटी विद्यालयमा नगएका कुनै पनि छैनन् । विद्यालयमा विद्यार्थीको नियमितता उल्लेख्य छ । प्रशंसनीय छ । विद्यालय छाड्ने दर शुन्य नै भन्दा हुन्छ । एक विद्यालय छाडेर अर्को विद्यालय जाने र बसाइसराईको कारणले विद्यालय छाड्ने जस्ता कारण बाहेक पढ्न छाडेका विद्यार्थी विरलै छन् । ती ठूल्दिदीहरूको प्रयास र परियोजनाका निर्धारित कार्यक्रका कारणले हरेक विद्यालयमा कमजोर विद्यार्थीका लागि अतिरिक्त÷पुनरावलोकन (रिमेडिएल कक्षा) पठनपाठन पनि गरिएको छ ।
यो प्रयासलाई गाउँ पालिकाले आत्मसात गरे पनि विद्यालय परिवारले (विद्यालयका शिक्षक वर्गले) भने आत्मसात गरी संस्कारकै रुपमा स्थापित गर्ने गरी व्यवहारमा रूपान्तरण गर्न खोजेको जस्तो लागेन ।
पठनपाठनको दैनिक गतिविधि र विद्यालयको परम्परागत संस्कारलाई परिवर्तन गर्न सकेजस्तो लागेन । हाम्रा विद्यालयहरू राम्रा भए यस्तो त बोर्डिङ्गमा पनि हुँदैन भनी अभिभावकले उत्साहित हुदै बच्चाहरुलाई सामुदायिक विद्यालयमा फर्काएको पनि पाइएन । शिक्षकको मनोविज्ञान परिवर्तन गर्ने दशा बाँकी नै हो कि भन्ने लाग्यो । विद्यालय विद्यार्थीको औषत उपलब्धिमा ठूलै भिन्नता आउला जस्तो लागेन । फेरि असहज परिवेशका बच्चाको उपलब्धि समान्यतया कमजोर नै हुने हुँदा औषतमा विद्यालयको उपलब्धिमा उल्लेख प्रगति नदेखिन सक्दछ ।
पढाई भनेको नै होमवर्क !
त्यो बाबुको घरको आर्थिक अवस्था विजोग छ । आर्थिक अवस्था मात्र होइन आमाले अर्को बिवाह गरेर उसलाई छाडेर गइन् (उनीहरुको गाउँले भाषामा पोइला गई) बाउ विदेश गएको सम्पर्क विहीन छ । बज्यैले आँखा देख्नु हुन्न । बाजे पनि हुनु हुन्न । बज्यैसँग बस्दछ । स्कूल जाँदैन थ्यो । त्यो विग सिष्टर (ठूली दिदी) नानीले उसलाई घरमै गएर लिएर गईन् । पहिला पढ्ला जस्तो थिएन । तर बिस्तारै विद्यालयमा बानी पर्न थाल्यो । अहिले राम्रै पढ्छ ।
काठेखोलातिर नपढेका अभिभावक पनि गृहकार्य भन्दैनन् , होमवर्क भन्छन् । बालबालिकाको पढाइ सम्बन्धी सोधिएका प्रश्नहरुको उत्तर सबै त्यही होमवर्कसँग ठोकिन्छ । हामीले सोधेका केही प्रश्न र उत्तर :
प्रश्न : तपाईको बच्चा घरमा कत्तिको पढ्छ ?
उत्तर : होम वर्क गर्छ (केही अभिभावक), गर्न मान्दैन (अरु केही अभिभावक) ।
प्रश्न : बच्चाले पढाईलाई घरमा कति समय दिन्छ ?
उत्तर : होमवर्क जति छ, त्यति दिन्छ ।
प्रश्न : तपाई बच्चासँग उसको पढाईका बारेमा कुरा गर्नु हुन्छ ?
उत्तर : त्यही होमवर्कका बारेमा कुरा हुन्छ ।
प्रश्न : तपाई बच्चाको पढाइका लागि घरमा कति समय दिनुहुन्छ ?
उत्तर : होमवर्कको कुरा हुन्छ । के समय दिने र नदिने खै ! साह्रै धेरै नखेल मात्र भन्नु पर्छ । खाली खेल्ने मात्र भन्दछन् । मोबाइल मै झुण्डिन खोज्छन् आजकलका केटाकेटीहरु ।
प्रश्न : बच्चासँग विद्यालय, शिक्षक र शिक्षकको व्यवहारका बारेमा कुरा हुन्छ ?
उत्तर : थोरै होमवर्क दिए भने अलि धेरै दिए खेल्ने थिएन भनी कहिलेकाँही हुन्छ ।
यस प्रकार पढाइ भनेकै होमवर्क हो भन्ने खालको बुझाइ अभिभावकमा पाइयो । ती बालबालिकालाई होमवर्क नदिएको भए पठनपाठन र उनीहरूको शिक्षा कस्तो हुने थियो होला ? म अनुमान गर्न खोज्दछु, अनुमानको केही निचोड निस्कदैँन । केही अभिभावकलाई जिज्ञासा राख्न खोज्दा त्यस्तो (होमवर्क नदिने) पनि पढाई हुन्छ र त्यस्तो भए त सबैले बोडिङ्ग तिर लगे भईहाल्यो नि, नसक्नेले नपढाए भयो नि भन्छन् । शिक्षकहरूको कुरा पनि उस्तै छ । कोही अभिभावक होमवर्क थोरै भयो भनेर गुनासो गर्छन् । कोही धेरै भयो भन्छन् । घुमिफेरि कुरो होमवर्क मै छ ।
अचम्म लागि रहेको छ, यो हो के ? अहिले विश्वमा विद्यालय तहको शिक्षा राम्रो फिनल्याण्डको मानिन्छ । त्यहाँ छ वर्ष नपुगेको बच्चालाई पढाउन पाइँदैन । १३ वर्ष नपुगी गृहकार्यको दबाबमा राख्न हुदैन भन्ने मान्यता छ, त्यसै गरेका छन्, भएकै छ । त्यहीँको शिक्षा विश्वमा उत्कृष्ट छ । म अलमल मै छु । विद्यालयमा सिकाइ नपुगेर त्यसो हुन परेको होला कि ? के होला ? अथवा पाठ्यक्रम बढी बोझिलो भएर त होइन । यो विषयमा थप बहस र छलफल जरुरी छ ।
बदलिएको समाजशास्त्र
हाम्रा सामुदायिक विद्यालयहरू समुदायले दुःख गरी स्थापना गरेका सामाजिक प्रतिष्ठाका थलो हुन् । अझै पनि समाजका कतिपय पाका मानिसहरुको ती विद्यालय प्रति औधिनै माया छ । तर अहिले जेन जी पुस्ताले समाज तरङ्गित छ । तरल छ । समुदाय र समाजको परंपरागत स्वरुप नै बदलिएको छ । मानिसको अन्तरसम्वन्ध र अन्तराक्रिया (समाजशास्त्र) को तरिका नै बदलिएको छ । बसाइको स्वरुप नै बदलिएको छ । बदल्न नसकेको शिक्षाको तरिका मात्र हो । पारिवारिक मूल्य र मान्यता परिवर्तन हुँदैछन् । विचार, उपभोग र रोजगारीलाई छुट्टै तरिकाले बुझ्ने जेन जी पुस्ताको बर्चश्व बढ्दो छ । काठेखोला गाउँपालिकाका अधिकांश युवाहरू बैदेशिक रोजगारमा गएका छन् । तिनका श्रीमती र छोराछोरी प्राय बागलुङ्ग बजारमा र केही पोखरा बस्दा रहेछन् ।
सन्तानको राम्रो शिक्षाको बहानामा गाउँ छाड्ने क्रम बढ्दो छ । पालिकाको सदरमुकाममा रहेको भीमसेन मा.वि.का केही शिक्षकहरूका बच्चाहरू त्यसै विद्यालयमा पढ्ने रहेछन् । तापनि अरु केही शिक्षकका समेत निजी विद्यालयमा पढ्न टाढाटाढा जाने रहेछन् ।
त्यसै विद्यालयका दुई शिक्षकले एउटै कुरो भने : ‘आफ्नो श्रीमतीलाई पो आफूले भनेर हुने रहेछ बुहारीलाई नहुने रहेछ, यसै विद्यालयमा राम्रै पढ्दै थिए बच्चाहरू बुहारीले लिएर गइन् ।’
साना बच्चालाई आमाले किन छाड्छिन् ? गाउँको वस्तिमा रमाउँदै गर्दा विद्यालयका अभिलेख हेरिए । करिब दुई दर्जन भन्दा बढी औपचारिक छलफल र अन्तरक्रिया भए । बेलुकी र विहान चिया पसलका गफगाफ देखि अनौपचारिक र अनियमित कुराकानी भए । विद्यालयमा पठनपाठनलाई निरन्तरता दिन असजिलो अवस्थाका बालबालिका कुरा हुँदा त्यस्ता धेरैजसो बालबालिकाहरु आमाले छोडेर अर्कैसँग विवाह गरेको (स्थानीय भाषामा पोइला गएकी) महिलाबाट बालबालिका अलपत्र परेको पाइयो । यो विषयलाई पनि मन मस्तिष्क र ब्रम्हले केही ठम्याउन सकेको छैन । प्राकृतिक रुपमा बच्चालाई आमाले जति अरूले कसैले माया गर्दैन । पृथ्वीका सबै प्राणीमा यो कुरा लागू हुन्छ । पशुहरूको पनि कतिपय बाबुहरू निर्दयी हुन्छन्, तर आमाले आँफू बाचुञ्जेल र बच्चा नहुर्किने बेलासम्म बच्चाको रेखदेख गरेकी हुन्छिन् । जंगलमा बाघले आक्रमण गर्दा समेत आफ्नी आमाले ज्यानको प्रवाह नगरी रक्षा गर्न खोज्दा बाघ र सिंहहरू पनि हार खाएका दृष्य देख्न पाइन्छ । तर त्यहाँ किन त्यस्तो भयो ?
विद्यालयमा विद्यार्थी घटेको पिरलो
गाउँ बसाइको क्रममा अनुभूति गरेको र मनमस्तिष्कमा बसेको अर्को विषय हो विद्यालयमा विद्यार्थी संख्या घट्दै जानु । यो कुराले विद्यालय व्यवस्थापन समिति, प्र.अ. र शिक्षकरूले असहज महसुस गरेका रहेछन् । पहिला यति विद्यार्थी थिए, हामीले पढ्दा त यति थिए , तर अहिले यस्तो भयो भनी धेरैले भने । एक किसिमको लघुताभाष (ह्यूमुलेसन) अनुभव गरिरहेका । मान्छे बसाई सरे, जन्मदर कम हुँदै गयो विद्यार्थी संख्या घट्नु स्वभाविक छ । प्राकृतिक देखिन्छ । यदि विद्यालय नै नआएर बालबालिका गाउँ घर तिरै रहेको भए चिन्ताको विषय हुन्थ्यो जस्तो लाग्यो । वहाँरुले चिन्ता गर्ने विषय त विद्यालयमा आएका बच्चाको पठनपाठन राम्रो हुन सक्यो कि सकेन भन्नेमा हुनु पर्ने थियो होला ।
चुरो विनाको बहस
सिकाइ व्यक्तिगत विषय हो र व्यक्तिको मनमस्तिष्क, क्षमता र रुचीसँग सम्बन्धित हुन्छ । प्रत्येक सिकारू सिकाइको क्षमता र अवस्था पहिचान नगरी सिकाउँछु भनेर हुँदैन । ‘अबको एसईईमा ७० प्रतिशत विद्यार्थी पास हुने गरी काम थालेका छौं’ प्रधानमन्त्री केपी ओलीले शुक्रबार, भदौ १४, २०८१ मा सार्वजनिक अभिव्यक्ति दिएका छन् ।
विना योजना र शिक्षाको मर्म नै पहिलाउन नसकेका यस्ता अपरिपक्क कुराले उपलब्धि दिन सक्छ जस्तो लाग्दैन । यस्ता कुराले थप विकृति निम्तिन्छ । ठूला कुरामा बहस हुन्छ । तर ठूलाठालुले विश्वास नगेरका हाम्रा विद्यालय र शिक्षकहरूको बारेमा सुक्ष्म बहस भएन कि भन्ने लाग्यो । परम्परागत पाठ्यपुस्तक निर्देशित पठनपाठनमा खासै परिवर्तन गर्न सकिएन । विद्यार्थी शिक्षक अन्तरसंवाद र सिर्जना, वर्षौ देखि नेतृत्व हत्याएर बस्ने गरेको विद्यालयको नेतृत्व जस्ता विषयमा हाम्रो बहस हुनै सकेको छैन ।
निचोड
भोगाइबाट निस्किएका र मानवीय पिडावाट उत्पन्न भएका संवेगहरूलाई होशियारी पूर्वक व्यवस्थापन गर्न मानवीय संवेदना आवश्यक पर्छ । परियोजना मूल्याङ्कन गर्न जाँदा देखिएको तथ्यङ्कीय विश्लेषणले नतिजा दिने नै छ । तथ्याङ्कीय विश्लेषणबाट मात्र होइन धेरैका बुझाइबाट सकरात्मक र नकरात्मक पक्षको उजागर होला । सामुदायिक विद्यालयहरूको कार्य शैली र दैनिकी चिरकालीन (क्रोनिक) रोग जस्तो भएको छ । यसमा ठूलो जोखिम र प्रयत्नको आवश्यकता देखिन्छ । तथापी ठूल्दिदीको व्यवस्था, उनीहरुको अभिभावक र बालबालिकासँगको संवेगात्मक सम्बन्ध विचारणीय छ । उनीहरूको आत्मीय प्रयासले विद्यालय परिवारमा परेको नैतिक दवावको विषय आफ्नै घरेलु (होमग्रोन) प्रकृतिको रुपमा छलफलको विषय हुनु पर्छ भन्ने लाग्छ ।
विद्यालय वा शिक्षण संस्था भनेको पाठ्यक्रमले निर्देश गरेका काम मात्र गर्ने थलो होइनन् । नीति र नियमले निर्देश गरेका संरचनाकृत र संयन्त्रिक गतिविधि मात्र सञ्चालन गर्ने थलो भए भने यन्त्रिक हुन पुग्छन् । शिक्षण संस्थामा यन्त्रवद्ध र घडिको सुईको आधारमा भएका कामले बालबालिकाका लुप्त चेतना र क्षमताको उजागर गर्न मुस्किल पर्दछ । बालबालिकाको ती सम्भावनाहरूलाई उजागर गरी भविष्यका सापेक्षिक बाटाहरू देखाउन ठूली दिदीहरूसँग जस्तो माया र भावना साटासाट गर्न पाउनु पर्छ, त्यस्तो वातावरण हरेक विद्यालयमा हुन पर्छ । सबै शिक्षकलाई ठुली दिदी बनाउने कसरी होला ? थप बहसको आवश्यकता देखिएको छ ।
शिक्षा मन्त्रालयका पूर्व सहसचिव काफ्ले हाल शिक्षा क्षेत्रकै अध्ययन अनुसन्धानमा सकृय छन् ।
प्रतिक्रिया