यात्रामा सधैँ आफैँ खाना पकाएर सबैलाई खुवाउने उनकी स्वयमपाक्के सम्धिनीको यात्रा कै क्रममा इलाम पुगेको रात एक्कासी भएको मृत्युवरणले घायल नन्दकला सुवेदी अरूलाई यसैगरी घायल बनाएर अल्पिएको बिहीबार १३ दिन भयो । उहाँको निवास सुर्खेतमा म सातौँ दिन पुग्दा आफन्तजन र शुभेच्छुकको बाक्लो भिड देखिन्थ्यो ।
८८ वर्षको उमेरमा कैलाश मानसोवर भ्रमण गर्दाका अनुभवलाई समेटेर ९२ वर्षको उमेरमा ‘अठासी वर्षमा कैलाश मानसरोवर’ नियात्रा प्रकाशन भएको छ सुवेदीको । जेष्ठ नागरिकले लेखकका रूपमा नियात्रालाई रोज्नु जति चाखलाग्दो विषय छ त्यो भन्दा बढी प्रेरणादायी छ उहाँको साक्षरता अवसर । नेपाली यात्रा संस्मरण विधामा जेष्ठ लेखक नन्दकला सुवेदीको कृति कुनै बेला पढौँला भनेर राखेको थिएँ । अहिले उहाँको अवसान भएको सेरोफेरोमा अध्ययन गर्ने र संक्षिप्त समीक्षा गर्ने हुटहुटी जाग्यो ।
नेपाललाई साक्षर मुलुक घोषणा गर्ने सरकारको प्रयास अहिले ६४ जिल्लामा सफल भएको छ । साक्षरताका सन्दर्भमा आम चासो भित्र यसको उपादेयता खोज्ने गरिन्छ । नन्दकला सुवेदीले साक्षर हुनुको एक उपादेयतालाई पुष्टि गरिदिनु भएको छ, एक नवसाक्षर लेखकका रूपमा पनि । यस सन्दर्भमा नियात्रा समाजका अध्यक्ष प्रतीक ढकाल भन्नु हुन्छ, ‘प्रौढ कक्षाबाट सिकेका अक्षरहरूको संगत गरेर नन्दकला आमाले यो कृति लेख्नु भयो र अब उहाँ अमर हुनु भएको छ ।’
२०२६ सालमा प्रौढशिक्षा पढ्न थाले पछि दियालो बालेर मध्यरातसम्म पढेको साधना अहिले त कथा जस्तै बनिसकेको छ । ०२८ सालमा प्रौढ शिक्षा पढाउने माष्टर बनेको घटनालाई उहाँले यसरी रोचक तरिकाले व्यक्त गर्नु भएको छ ‘प्रौढकक्षा पढेर प्रौढकक्षा कै गुरुमा पनि पो भए म त ।’
यसपछि परिवार नियोजन संघको मोटिभेटर, महिला संगठनको क्षेत्रीय सदस्य र सुर्खेत नगर पञ्चायतको वडा सदस्यसम्मको समाज सेवामा उहाँले योगदान दिनु भएको छ । लेखिकाको जन्म ठूलो परिवार भएको देलेखी आचार्य घरानामा भएको हो । १२ वर्षको उमेरमा नै सुवेदी परिवारसँग वैवाहिक नाता गाँसिएको छ ।
उहाँको पहिलो पुस्तकाकार कृतिका रूपमा २०७८ मा ‘पुराना भजन तथा तीजगीत सङ्ग्रह’ पनि प्रकाशित भएको छ।
‘अठासी वर्षमा कैलाश मानसरोवर’ कृति चाँहि लेखकको प्रकाशित दोस्रो सिर्जना हो । आफ्ना चार छोरा र छ छोरीहरू प्रकाशक र ज्वाईँ नन्दु उप्रेती भाषा सम्पादक रहेको २०७९ माघ १ गते प्रकाशित यो कृति १०८+३६ पृष्ठको रहेको छ । नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकाल, लेखक घनश्याम राजकर्णिकार र लेखक तथा यस कृतिका भाषा सम्पादक नन्दु उप्रेतीको मन्तव्य सहित लेखिकाका ‘मेरा कुरा’ पृष्ठभूमि खण्डमा रहेका छन् ।
बर्षेनी बड्डा (आफ्ना पति) सँग समूहमा र जोडि मात्र भएपनि विभिन्न तीर्थस्थल घुम्ने आदत विकास भएको र तिनै यात्राहरूको संस्मरण भएकाले यो कृति विविध क्षेत्रमा जानकारी प्रदायक समेत छ । त्यो समयमा स्कुल, गुरुकुल केही थिएनन्, डण्डिवियो खेल्ने, गाइभैँसी चराउने बाख्रा खोलेर वनतिर लाईदिने, रोपाईं गर्ने, माटाकै खाना, माटाकै खीर, माटाकै भात पकाइ खेल्ने, ढुङ्गाका बेहुला बेहुली बनाउने, पातका कपडा लगाइ खेल्ने जस्ता बाल्यकाल विताउने तत्कालीन सामाजिक परिवेशको उजागर भएको छ यस कृतिमा । घुमफिर गरेका स्थान र विविध सन्दर्भहरू समेटिएका एक दर्जन पुष्पहरू कृतिमा उनिएका छन् ।
स्थानगत विविधता र वर्णनका फरक विशेषतालाई आध्यात्मिकताको भावभूमिमा पस्किनाले यी सबै पुष्पहरू बहुआयामका पर्याय बनेका छन् । यसमा खोपिल्टा खनेर पानी, काँ मर्नु, हैन रैछ ?, होटलमै खान थालिउँ, बास पाउनै मुस्किल, आकाश जस्तै राराताल, सम्धिनी निदाकै ठाममा वित्नुभयो, आधा केदारनाथको, आधा पशुपतिनाथको, जात्तिविधि राम्रो, सुनै सुनको मन्दिर, समुद्रबाट घाम निस्कियो र अठासी वर्षमा कैलाश मानसरोवर जस्ता १२ शीर्षकका यात्रावर्णन रहेका छन् ।
कृतिमा तत्कालीन जनजीवनको धेरै वस्तुपरक बिम्वहरू रहेका छन् । यसका केही उहाहरणहरू, फेरीमा चढेर भेरी तरियो, पानी पिउँदै कसार र चिउरा चपाइयो, इस्कुल, गुरूकुल, केइ थे’नन् हाम्रा गाउँमा, साँइली सम्धिनी स्वयम्पाक्के, दैलेखको कालभैरवको मन्दिरभित्र महिलाले हेर्न नहुने किम्वदन्ती, त्यसबेला हातहातमा घरघरमा फोन थे’नन्, मह मोलेको सातु खादै हिनियु, फाल्गु नदीको बगरमा खोपिल्टा खनेर पानी निकालेर न्वा’को आदि।
वि.सं. १९८७ साल माघ १ गते जन्मिएकी सुवेदीको गत भदौ २२ गते बिहान वीरेन्द्रनगर, सुर्खेतमा ९४ वर्षको उमेरमा निधन भएको छ । लेखकले ‘मेरा कुरा’ को अन्त्यमा भन्नु भएको छ, ‘लोकको भलो हुने काम गर्नु, दुनियाँले सम्झने कर्म गर्नु, कसैको कुभलो नसोच्नु, नगर्नु । आफ्नो भलो भन्दा अरुको भलो राम्रो कर्म हो भन्ने सधैँ सम्झनु, पुर्खालाई नभुल्नु, आफू जन्मेहुर्केको माटो हावापानी सप्पैलाई माया गर्नु, आफन्त साथीसङ्गीले कृल्यै विर्सन नसक्ने हुनु, सप्पैलाई म बुढीमान्छेको यही आशिर्वाद छ ।’
यी पङ्तिहरू नै उहाँका लिपिवद्ध सद्भावका अन्तिम हरफ बनेका छन् । यी शब्दहरू उहाँको परिवार, नेपाली लेखक तथा आम मानवका लागि सभ्य समाज विकास गर्न प्रेरक अभिव्यक्ति बनेका छन्
मसान्तका दिन घर नछोड्ने चलन तोडेको । विस्तारै शाकाहारी होटल हुँदै अन्य होटलमा पनि खाने बस्ने गर्न थालेको जस्ता कुराले उहाँहरूमा रूढिवादिता त्याग्ने चेत बढ्दै आएको देखिन्छ ।
‘होटलमै खाने सुत्ने भएपछि त कति सजिलो सजिलो ।’
यसरी सहजतामा अभ्यस्त हुँदै आएको हाम्रो सामाजिक परिवेशको एक झल्को पनि हो यो लेखन । बड्डाले पहिले पहिले पनि आएको जस्तै गरेर नौलो ठाउँको होटलमा कुरा गरेको घटनाले यात्रामा होशियारीको कुटनीति झल्काउँछ । मुस्ताङ्मा उनीहरूले पकाएको खाए बास मिल्ने नत्र नमिल्ने अवस्था त्यस समयको वास्तविक तस्वीर हो । राराताल जाँदा बाटो पनि ओडार जस्तो, पत्थरका कापबाट छिरेर निस्कनु पर्ने जस्तो अवस्था तत्कालीन नेपालको यथार्थ चित्र हो । मुलुकको समृद्धि र विकास भएन भन्ने नयाँ पुस्तालाई यस्ता घटना अहिले किम्वदन्ती जस्तै लाग्छन् ।
पति पत्नी बीचको अन्योन्याश्रित सम्बन्धको एकल जीवनमा सधैँ अभाव खड्किरहने परिस्थिति मार्मिक रुपमा पोखिएको छ । बड्डाको मृत्यु पछिका यात्रामा उहाँको यादमा व्यक्त उहाँका यी भावहरू मन छुने किसिमका छन् , ‘बड्डा नहुँदा कोठै हैन,जस्तो, घरै हैन जस्तो, आँगनै हैन जस्तो, संसारै हैन जस्तो लागि र’ने । उहाँ बितेपछि त मलाई कतै जानै मन लाग्न छाड्यो । गाडिमा बस्दा, रेलमा चढ्दा, बाटोमा हिँड्दा बड्डालाई छेउमा नदेख्दा मेरो मन त्यसै त्यसै अत्तालिन्थ्यो । फैरि आफैले आफैँलाई सम्झाउँथेँ ।’
सनातन हिन्दु परम्परा विश्वासको कट्टरताभन्दा जीवन्त अभ्यासमा आधारित हुँदै आएको छ । धार्मिक विश्वासलाई गुरुका वचनसँग जोडेर सहज बनाउँदै लगिएको छ । जस्तो कि शखमूल आश्रमका गुरुले तीर्थमा जाँदा अरूको सरह खाए हुन्छ भन्नु भएपछि उहाँले पालना गर्नु भयो ।
यात्रामा हराएका मान्छे फेला पर्दाको खुशी भावलाई ‘पैतालामा गाडिएको घङ्गरुको काँडा झिकेजस्तो भो ’ भनेर निकै कलात्मक रुपमा व्यक्त भएको छ । नेपाली भाषामा नभको स्थानीय शब्द जात्तिविधि को प्रयोग धेरै ठाउँमा भएको छ । यसको अर्थ ‘असाध्यै’ भन्ने लाग्दछ । जस्तै ‘जात्तिविधि राम्रो रै’छ यो ताल त ।’ लेखकाबाट ‘सल्लाका रुखहरूले टनक्कै ढाकेको’ भनेर ‘ढपक्कै ढाकेको’ भन्ने अर्थमा शब्द प्रयोग भएको छ ।
कालक्रमिक रूपमा भएका सुधारका सङ्केतहरू संस्मरणका फरक फरक शीर्षकमा देख्न सकिन्छ । बसमा जाडो पनि नहुने, गर्मी पनि नहुने । एसी भन्ने चिज जोडेको रैछ । चिउरा, सातुमा मह मोलेर बोक्दै थालेका यात्राको शिलशिला विस्तारै होटलको भरमा सहज बन्दै आएको छ । हिँडेर गरिने यात्रा बस, रेल, हुँदै प्लेन र अब एसी जोडेको गाडिमा हुन थालेको छ ।
नियात्रामा कर्णाली क्षेत्रका आञ्चलिक भाषाको प्रयोग धेरै भएको छ । यसका साथै डिरेस, जिपगाडी जस्ता शब्दहरू पनि प्रयोग भएका छन् । यात्राका क्रममा अनुभूत गरेका जानकारीमूलक तथ्यहरू पाठकका लागि कामलाग्ने देखिन्छन् । जस्तैः भारतको कटरा बजारमा किनमेलमा आधि नै दामको मोललोलाई हुँदो रहेछ । खाइसक्ने वित्तिकै थाल बटुका अरूले नै माझ्न थालि हाले धर्म कमाउन । स्वर्ण मन्दिर भित्र जाँदा टाउकामा फेटा बाँधेर मात्र जान पाईंदो रहेछ । पण्डितहरूले एक सय रूपिया लिएर सबै कुण्डको पानी टाउकामा खन्याइ दिँदा रहेछन् । अघि तिरेको पैसा अनुसारको प्रसाद पाइयो ।
प्रौढ शिक्षाबाट साक्षर एक अग्रज पुस्ताकी आमाले जीवनमा भोगेको यात्र अनुभव र जीवनका विविध अनुभूति वर्तमान पुस्ताका लागि पुस्तकका रुपमा प्रदान गर्नु आँफैमा प्रेरणादायी विषय हो । शिक्षा र जीवनको अभ्यासले नै मानिसलाई परिपक्व, कर्तव्यनिष्ट र कर्मठ बनाउने हो । उहाँको लेखनीमा यही भाव प्रकट भएको देखिन्छ ।
८८ वर्षको उमेरमा कैलाश मानसरोवरको यात्रा सम्पन्न गरेपछि ‘जिन्दगीमा जे जस्तै परे पनि हरेस चै कहिल्यै नखानु’ भन्ने उहाँको सन्देश सबैका लागि र सधैँका लागि प्रेरणादायी रहेको छ । जेष्ठ लेखक नन्दकुमारी आमालाई श्रध्दासुमन ।
पुस्तक समीक्षक गौतम, शिक्षा मन्त्रालयका उपसचिव हुन् ।
प्रतिक्रिया