Edukhabar
विहीबार, ०३ असोज २०८१
गतिविधि

शिक्षकले पत्याएको सामुदायिक र गुमनाम निजीलाई राष्ट्रिय पुरस्कार

यी दुबै विद्यालयको कक्षा १२ को नतिजा विश्लेषण गरेर  एडुखबरले यस अघि नै सामग्री प्रकाशन गरेको थियो ।

बुधबार, ०२ असोज २०८१

काठमाडौं - शिक्षकले पत्याएर नतिजामा सुधार भएको दाङको सामुदायिक विद्यालय मावि तुलसीपुर सेण्टरले यस वर्षको उत्कृष्ट शिक्षा पुरस्कार प्राप्त गरेको छ । त्यस्तै निजी तर्फ नतिजामा उत्कृष्ट भए पनि 'गुमनाम' रहेको काठमाडौं टोखाको फ्लोरोसेण्ट विद्यालयले राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । 

२०८० को कक्षा १२ को नतिजाको आधारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यी दुई विद्यालयलाई उत्कृष्ट छनौट गरेको हो । उत्कृष्ट विद्यालयलाई प्रधानमन्त्री केपी ओलीले शिक्षा दिवसको अवसरमा बुधबार

आयोजित कार्यक्रममा तीन लाख रुपैंया नगद, प्रमाणपत्र, शिल्ड र ध्वजा प्रदान गरेका छन् ।  

यी दुबै विद्यालयको कक्षा १२ को नतिजा विश्लेषण गरेर  एडुखबरले यस अघि नै सामग्री प्रकाशन गरेको थियो । शिक्षक र विद्यालय व्यवस्थापन समितिको विवादमा फसेको विद्यालयलाई एउटा प्रधानाध्यापकले चाहँदा तिनै  शिक्षक र व्यवस्थापन समितिलाई साथमा लिएर अभिभावकको मन जित्ने मुलुककै नमुना विद्यालय कसरी बनाउन सकिन्छ ? भन्ने अभ्यासका बारेमा एडुखबरले सामग्री प्रकाशन गरेको थियो । 

पढ्नुहोस् : शिक्षकले पत्याएको मावि सेण्टर

यस्तै शिक्षकलाई खुसी नबनाएसम्म विद्यालयको नतिजा सुधार नहुने बुझेर सामुदायिक विद्यालय सरह तलब दिन थालेको फ्लोरोसेण्ट स्कुलको अभ्यास पनि एडुखबरले प्रकाशन गरेको थियो । हरेक वर्ष शिक्षकलाई १० प्रतिशत तलब वृद्धि र निश्चित कोटा स्थायी बनाएर सञ्चय कोष काट्ने व्यवस्थाले शिक्षकको मेहनत बढाएको छ । यसले राष्ट्रिय स्तरमा हुने परीक्षाको नतिजा पनि सतप्रतिशत छ ।

पढ्नुहोस् : गुमनाम तर, उत्कृष्ट

सामुदायिक विद्यालय तर्फ दास्रो पुरस्कार काठमाडौं त्रिपुरेश्वरको विश्व निकेत माध्यमिक विद्यालय र निजी तर्फ विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयलाई प्रदान गरेको छ । विश्व निकेतनले ०७४ यता तेस्रो पटक उत्कृष्ट भित्र पर्न सफल भएको हो । ०७४ मा पहिलो भएको यो विद्यालय ०७५ मा दोस्रो र यसवर्ष पनि दोस्रो स्थान हासिल गर्न गरेको हो । दोस्रो हुनेलाई दुई लाख नगद, शिल्ड, प्रमाणपत्र र ध्वजा प्रदान गरेको छ । 

विद्यालय तर्फको तेस्रो शिल्ड सामुदायिकको दाङकै जनकल्याण मावि शान्तिनगर र निजी तर्फ बूढानीलकण्ठ स्कुललाई प्रदान गरेको छ । एक लाख नगद, ध्वजा, सिल्ड र प्रमाणपत्र प्रदान गरेको हो । 

प्राविधिक शिक्षा तर्फ आगिंकको नेपाल बनेपा बहुप्राविधिक शिक्षालय बनेपा, सम्बन्धन प्राप्तमा तुलसीपुर पोलिटेक्निकल इन्ष्टिच्यूट, सामुदायिक विद्यालय तर्फ जनता माध्यमिक विद्यालय बाणगंगा कपिलबस्तु, निजी स्तरबाट सञ्चालितमा नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स, सानोभर्याङलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको छ । यी संस्थाहरुलाई प्रधानमन्त्रीले एक लाख रुपैंया नगद पुरस्कार, ध्वजा, प्रमाणपत्र प्रदान गरे । 

त्यस्तै समाज कल्याण शिक्षा पुरस्कारमा युवा क्रियाकलाप उत्थान केन्द्र कागेश्वरी मनोहरा र आशा फाउण्डेशन ललितपुरलाई प्रदान गरिएको छ । यी संस्थाहरुलाई दुई लाख रुपैंयाका दरले नगद र प्रमाणपत्र प्रदान गरिएको छ । 

प्रतिक्रिया