Edukhabar
विहीबार, ०३ असोज २०८१
खबर/फिचर

शिक्षा दिवस असोज २ मा किन ?

फागुन १२, साक्षरता दिवसको अवसर पारेर भदौ २३ गते (सेप्टेम्बर ८) मनाउने गरिएको शिक्षा दिवस दुई वर्षदेखि असोज २ मा मनाउन थालिएको हो ।

बुधबार, ०२ असोज २०८१

काठमाडौं - सरकारले बुधवार शिक्षा दिवस मनाउँदै छ । ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता साझेदारी र प्रणालीगत सक्षमता’ आदर्श वाक्यका साथ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको छ । 

संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानेर असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसको रूपमा मनाउन थालिएको  हो । ०८० जेठ ९ को मन्त्रीपरिषद्को बैठकले असोज २ लाई राष्ट्रिय शिक्षा दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । 

संघीय संसद्को दुवै सदनबाट पारित भएको ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन' तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ असोज २ गते प्रमाणीकरण गरेकी थिईन् । 

राष्ट्रिय शिक्षा दिवस २०३१ फागुन १२ गतेदेखि दिन मनाउन थालिएको थियो ।  २०६४ सालदेखि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर भदौ २३ गते (सेप्टेम्बर ८) मा मनाउन थालिएको  थियो । २०७६ सालसम्म सेप्टेम्बर ८ मै दिवस मनाइयो । ०७७, ०७८, ०७९ मा शिक्षा दिवस कहिले मनाउने भन्ने यकिन नभएपछि स्थगित नै भयो । 

शिक्षा दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गर्दै शिक्षा क्षेत्रका लागि बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा उनले जोड दिएका छन् । अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलका लागि तीनै तहका सरकारबिच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने अवस्था रहेको प्रधानमन्त्री ओलीले शुभकामना सन्देश दिएका छन् ।

‘लगानी र स्रोतसाधनको प्रभावकारी एवं रचनात्मक उपयोग भई गुणस्तरीय शिक्षामार्फत रोजगारी तथा नैतिक आचरणयुक्त नागरिक र समाज निर्माण गर्नु आवश्यक छ’ सन्देशमा उनले भनेका छन् । 

कक्षा १० को अन्तिम परीक्षा (एसइई) को आगामी परीक्षामा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन मुख्य विषयमा प्रतिभाशाली विषय शिक्षकबाट सूचना र प्रविधिको देशव्यापी रूपमा अतिरिक्त कक्षा सञ्चालन गर्न सरकारले विशेष पहल गरिरहेको सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया