काठमाडौं - समुदायमा एउटा भाष्य बनेको छ ‘छोराछोरी निजी स्कूलमा पढ्छन्, आफु सामुदायिक विद्यालयमा पढाउँछन् ।’
समाजमा भएको यो भाष्य सीमित विद्यालयमा बाहेक सही नै छ । जुन विद्यालयलाई शिक्षकले पत्याएको हुँदैन । समुदायले पत्याइदिनु पर्ने वाध्यता छ । आफुले पढाएको भन्दा निजी विद्यालयमा पढाउँदा राम्रो अंक आउँछ भन्ने सामुदायिकमा पढाउने शिक्षकको समेत बुझाई छ ।
समाजको यही भाष्यलाई चिरेर अघि बढ्ने प्रयास गरिरहेको छ दाङको मावि सेण्टर तुलसीपुरले ।
अभिभावकको मन जितेको यो विद्यालयका सबै शिक्षक, कर्मचारी र व्यवस्थापन समितिका पदाधिकारीको मनमा बस्न सकेको थिएन । छोराछोरी निजी स्कुलमा छाडेर शिक्षकहरु मावि स्कुलमा पढाउन आउँथे । जुन दृश्य समुदाय र अभिभावकलाई पाच्य थिएन । उनीहरुले यो दृश्यलाई नजिकबाट नियालेका थिए । त्यसैले प्रधानाध्यापक भागवत पौडेलसँग अभिभावकको सधैँ एउटै प्रश्न हुन्थ्योे ‘हाम्रो सन्तान यहाँ पढ्ने अनि यही विद्यालयमा पढाउने शिक्षकको छोराछोरी चाँहि किन निजीमा पढाउँछन् ? कतै यो स्कुलको पढाई राम्रो नभएर त होइन ?’
पौडेलले अभिभावकलाई सीमित शिक्षकका छोराछोरी पढेको आँकडा देखाएर टाँलटुले जवाफ त दिन्थे तर, खुलेर जवाफ दिन सक्दैन थिए । किनकी विद्यालयमा कार्यरत सबै शिक्षक, कर्मचारी र व्यवस्थापन समितिका पदाधिकारी सबैको सन्तानलाई विद्यालयमा भर्ना गर्न सकेका थिएनन् ।
विद्यालयमा विद्यार्थीको आकर्षण हुनुमा शिक्षकले पत्याएर आफ्नो सन्तान भर्ना गर्नु, पढाई बाहेक अतिरिक्त क्रियाकलामा जोड दिनु नै प्रमुख कारण
शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीले पत्याएको स्कुल बनाउने प्रधानाध्यापक पौडेललाई हुटहुटी थियो तर, कसरी गर्ने ? उनले उपाय खोजी गरे । ०७९ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि जसले शिक्षा सुधारको सपना देखे । उनीहरुले शिक्षकको सन्तान आफु पढेकै विद्यालयमा पढाउनु पर्ने कार्यपालिकाबाट निर्णय गराएका थिए । केहीले कार्यान्वयन पनि सुरु गरिसकेका थिए । मावि स्कुलका प्रधानाध्यापक पौडेलले पनि आफुले सामना गर्दै आएको प्रश्नको समाधान व्यवस्थापन समितिको निर्णयबाट गराउन खोजे । उनको योजनामा समितिले साथ दियो । शिक्षकको छोराछोरी अनिवार्य पढाउनै पर्ने निर्णय भयो । यो निर्णयको स्वागत र बिरोध गर्ने दुबै समुह निस्किए । तर, बिरोध गर्ने भन्दा स्वागत गर्ने बढी भए । त्यसैले यो निर्णय कार्यान्वयन सहज बन्दै गयो ।
०८१ को नयाँ भर्नाबाट व्यवस्थापन समितिको त्यो निर्णय लागू भयो । फलस्वरुप स्थायी, करार, निजी स्रोतका शिक्षकले निर्णय कार्यान्वयन गर्न सघाए । ९५ जना शिक्षक र कर्मचारी मध्ये शिक्षक, कर्मचारीको ५५ र व्यवस्थापन समितिमा पदाधिकारीका छोराछोरी १२ जना अध्ययनरत छन् । प्रधानाध्यापक पौडेल भन्छन् ‘अहिले शिक्षकले समेत पत्याएको विद्यालयको रुपमा हाम्रो परिचय फेरिएको छ ।’
शिक्षकको सन्तान आफुले पढाएकै विद्यालयमा पढाउनु पर्ने बाध्यकारी निर्णयले बाल अधिकार हनन् भयो भन्दै प्रश्न नउठेको होइन । विद्यालय सुधारको एउटा सुचक मानेर गरेको सकारात्मक निर्णयको अगाडि बिरोधको केही लागेन किनभने शिक्षक कर्मचारीलाई छोराछोरी अनिवार्य भर्ना नगरे अन्यत्र सरुवा भएर जानु पर्ने व्यवस्थापन समितिको निर्णय थियो । विद्यालय प्रतिको सकारात्मक धारणा बनाउन, शैक्षिक स्तर सुधार गर्न र शिक्षकको पेशा प्रतिको सम्मान गर्न यो निर्णय गर्नु परेको प्रधानाध्यापक पौडेलले बताए ।
‘यो निर्णयले विद्यालय प्रतिको आम धारणा सकारात्मक भएको छ । शैक्षिक गुणस्तर सुधार गर्न सहयोगी बनेको छ’ उनले भने ।
आफ्नो विद्यालयका शिक्षकले मात्रै होइन, लुम्बिनी प्रदेशको विभिन्न जिल्लामा कार्यरत सामुदायिक विद्यालयका कार्यरत दुई सय ५० भन्दा बढी शिक्षकका छोराछोरी पनि यही विद्यालयमा पढ्छन् । लुम्बिनी प्रदेशको केही पालिकाले शिक्षकका छोराछोरी सामुदायिकमै पढेको हुनु पर्ने निर्णयको फाइदा यो विद्यालयले पनि लिएको हो ।
भर्ना क्षमता नभएर फर्किए विद्यार्थी
सामुदायिक विद्यालय प्रति अभिभावकको विश्वास घट्दै गएको र विद्यार्थी संख्या घटिरिहेकोको बेलामा यो विद्यालयमा ठिक उल्टो छ । विद्यालयले चाहेर पनि भर्ना हुन चाहने सबै विद्यार्थी लिन सकेको छैन ।
‘यो शैक्षिक सत्रमा पाँच सय जना भर्ना क्षमता भएकोमा दुई हजारले आवेदन दिएका थिए’ प्रधानाध्यपाक पौडेलले भने,‘एक हजार पाँच सय भर्ना गर्न नसकेकोमा साह्रै पछुतो लागेको छ ।’
नयाँ संरचना निर्माण भइरहेकोले अर्को वर्ष थप विद्यार्थी लिन सकिने उनले बताए ।
दुई हजार आठ विद्यार्थी रहेको विद्यालयले ५९ वटा कक्षा चलाएको छ । प्रारम्भिक बाल विकास देखि कक्षा पाँचसम्म एउटा कक्षामा ३० जना मात्रै राखेर पढाइरहेको छ । एउटा कक्षामा कम्तीमा तीन वटा सेक्सन विभाजन गरिएको छ । त्यस्तै कक्षा छ देखि माथि न्यूनतम ४० र बढीमा ५० जना राख्दा पनि भर्ना हुन चाहने सबैलाई राख्न नसकिएको उनले बताए । विद्यालयमा विद्यार्थीको आकर्षण हुनुमा शिक्षकले पत्याएर आफ्नो सन्तान भर्ना गर्नु, पढाई बाहेक अतिरिक्त क्रियाकलामा जोड दिनु नै प्रमुख कारण भएको प्रधानाध्यापक पौडेल बताउँछन् । विद्यालयले अभिभावकको चाहना अनुसार नेपाली र अंग्रेजी माध्यम पनि संगै लगेको छ । विद्यालयको नतिजाले पनि अभिभावकलाई लोभ्याएको छ ।
०८० मा कक्षा १० को अन्तिम परीक्षा दिएका मध्ये ७५ प्रतिशत विद्यार्थी ग्रेडड भएका छन् । दुई सय ५५ विद्यार्थीले परीक्षा दिएकोमा एक सय ९३ जना ग्रेडेड भएका हुन् । सिकाइ उपलब्धी पनि राष्ट्रिय स्तरमा गणना गर्न योग्य छ । विद्यालयको औषत जीपीए ३ प्रतिशत रहेको छ ।
कक्षा १२ को नतिजा पनि उत्कृष्ट भित्रै पर्छ । यस वर्ष १२ कक्षामा एक सय ३५ जनाले परीक्षा दिएकोमा एक सय २० जना ग्रेडेड भएका छन् । एनजी आएका मध्ये पनि दुई विषय भन्दा बढी एनजी आउने एक जना मात्रै छन् ।
‘बालबालिकाले सीप र ज्ञान दुबै पाएका छन् । हामीले पढाईलाई उत्पादन र रोजगारीसंग जोडेका छौं । त्यसैले यो विद्यालयमा पासआउट भएर गइसकेपछि बेरोजगार हुनु परेको छैन, ’ उनले भने ।
मावि तहमा निजी स्रोतका शिक्षकको भर
सरकारी दरबन्दीको शिक्षक न्यून भए पनि विद्यालय सुधारको योजनाबाट पछि हटेका छैनन् व्यवस्थापन समिति र प्रधानाध्यापक । सरकारी दरबन्दीका शिक्षक ३६ जना छन् भने निजी स्रोतका ३४ जना छन् । माविमा चार वटा दरबन्दी रहेकोमा गणितमा दुई विज्ञान एक र नेपाली विषयको एक जना राहत शिक्षक छन् । त्यस्तै निमाविको गणितको एक जना मात्रै स्थायी शिक्षक छन् । गणित, विज्ञान, सामाजिक र अंग्रेजी गरी चार जना राहतका शिक्षक छन् । प्र्राविमा १८ जना शिक्षक छन् ।
कक्षा नौ र १० मात्रै छ/छ वटा सेक्सन गरी १२ वटा कक्षा छ । चार वटा सेक्सनमा नेपाली माध्यमको पढाई हुन्छ भने आठ वटामा अंग्रेजी माध्यमबाट पढाई हुन्छ । यसको लागि मावि तहमा मात्रै अंग्रेजी, विज्ञान, गणित, नेपालीमा दुई/दुई जना निजी स्रोतका शिक्षक नियुक्ति गरिएको छ । ६ देखि ८ सम्म चार/चार वटा सेक्सनमा राखेर पढाइ हुन्छ । शिशु कक्षामा मात्रै तीन वटा सेक्सन छ । एक देखि चार सम्म दुई वटा र कक्षा पाँचमा चार वटा सेक्सन रहेको छ । एकै पटक कक्षा चलाउन ठाउँ अभावले बिहान छ देखि ११ बजेसम्म साधारण तर्फको ११ र १२ कक्षा चल्छ । त्यस्तै साढे नौदेखि ९–१२ कक्षाको प्राविधिक धारको इल्ट्रेक्ट्रिकल कक्षा चल्छ । त्यस्तै दिउसो एक देखि छ बजेसम्म प्रि–डिप्लोमा कक्षा चल्छ । सरकारी दरबन्दीको शिक्षक नभए पछि विद्यालयले निजी शिक्षकको भरमा कक्षा चलाइरहेको छ ।
प्रधानाध्यापक पौडेल भन्छन् ‘निजी स्रोतका शिक्षकले नै विद्यालय धानेका छन् ।’
दरबन्दीका शिक्षक न्यून भएकोले विद्यालयले निजी स्रोतको शिक्षक छनोट आधार बनाएको छ । यसले भनसुन भन्दा पनि निजी स्रोतको शिक्षक हुन पनि निश्चित प्रक्रिया पुरा गर्नु पर्ने हुन्छ । यसको लागि निजी स्रोत शिक्षक नियुक्ति सेवा शर्त सम्बन्धी विनियम नै बनाईएको छ । निजी स्रोतको शिक्षकलाई खुसी पार्न विद्यालयले १० प्रतिशत थप सञ्चित कोषको व्यवस्था गरेको छ । सञ्चित बिरामी विदाको रकमको ५० प्रतिशत भुक्तानी दिने गरेको छ । विद्यालयले साधारण धार तर्फको निजी स्रोतको शिक्षकको तलबमा मात्रै गतवर्ष ७८ लाख रुपैयाँ खर्च गरेको छ । तलब बाहेक अरु सुविधा र प्राविधिक धारका शिक्षकको तलबलाई समेत डेढ करोड खर्च हुने गरेको प्रधानाध्यापक पौडेलले बताए । विद्यालयमा साधारण धारको १२ सम्म पढाई हुन्छ ।
विद्यालयमा टेक्निलकल विषय मात्रै छ वटा पढाई हुन्छ । इलेक्टिकल नौ १२, तीन वर्षे डिप्लोमा आइटी, जियोम्याट्रिक्स, २४ महिने प्रि–डिप्लोमा इसीडीएफ, आइटी र इलेक्टिकलमा दुई सय विद्यार्थी निःशल्क पढिरहेका छन् । स्वीस सरकारको सहयोगमा चलेको इन्स्योयर कार्यक्रम मार्फत निःशुल्क कक्षा लिन पाएका हुन् ।
प्राविधिक धार र जग्गाको भाडाबाट आम्दानी
प्राविधिक धारको कक्षा, इन्स्योर प्रोजेक्ट, जग्गा भाडा र अभिभावकले दिएको सहयोगले निजी स्रोतका शिक्षकको तलब भत्ता, विद्यालय सञ्चालन खर्च धान्ने गरेको उनले बताए । १३ कट्ठा जग्गा नगरपालिकालाई भाडामा लगाएर बार्षिक २० लाख रुपैंया आम्दानी गर्ने गरेको छ । विद्यालयले कक्षा पाँच सम्म निःशुल्क, नेपाली माध्यममा पढ्ने छ देखि आठ सम्म विद्यार्थीबाट दुई सय ५० रुपैयाँ र आठ देखि १० सम्मका विद्यार्थीलाई तीन सय ५० रुपैयाँ, अंग्रेजी माध्यममा पढ्ने छ देखि १० सम्मका विद्यार्थीबाट पाँच देखि एक हजार रुपैयाँसम्म सहयोग लिने गरेको प्रधानाध्यपाक पौडेलले बताए ।
‘तिर्न नसक्नेले तिर्दैनन् । जसले सक्छन् उसले मात्रै तिर्ने हाम्रो नीति हो’ उनले भने । विद्यालयले यही शुल्कबाट संगित, मार्सल आर्टस लगायत अतिरिक्त क्रियाकलाप गराउने गरेको छ ।
विद्यालयमा मसलन्द खर्च ३० हजार, पीसीएफबाट तीन लाख रुपैयाँ संघीय सरकारबाट सहयोग आउँछ तर, विद्युत महसुल मात्रै साढे पाँच लाख रुपैया बार्षिक बिल आउँछ । त्यस्तै पानीको बिल मात्रै एक लाख ७० हजार, अतिरिक्त क्रियाकलापमा पाँच लाख ५० हजार खर्च हुने विद्यालयले जनाएको छ । निजी स्रोतको शिक्षक बाहेक अतिरिक्त क्रियाकलापका शिक्षक, काउन्सिलर, सुरक्षा कार्ड, बसको चालक पनि विद्यालयकै खर्चमा राखेको छ ।
विद्यालयले संगीत तथा बाद्यवादन, खेलकुद हरेक दिन हुने तालिका नै बनाएको छ । त्यस्तै बादविवाद र हाजिरी जवाफ हरेक साता हुने गरेको विद्यालयले जनाएको छ । यस बाहेक कक्षा चार देखि आठ सम्मका विद्यार्थीले हस्ताक्षर सुधार तालिम लिने गरेको छ । शिक्षकले अनिवार्य हस्तलेखन सुधार तालिम लिनु पर्ने हुन्छ ।
०६६ देखि फेरिएको रुप
०६६ अघिसम्म यो विद्यालयमा न पूर्वाधार थियो न त विद्यार्थी । दुई सय ५० हाराहारीमा विद्यार्थी रहेको यो विद्यालयको प्रधानाध्यपाकमा पौडलले जिम्मेवारी पाए । विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूका बीच द्वन्द्व भएको बेला उनी प्रधानाध्यपाक भएका थिए । उनी त्यो दिन सम्झिँदै भन्छन् ‘शैक्षिक वातावरण अस्तव्यस्त थियो । विद्यालयमा तालाबन्दी थियो । मैले पहिला अभिभावकहरूलाई बोलाएँ । सुधारको योजना सुनाएँ । सहयोग मागेँ । अभिभावकको सहयोग पनि पाँए ।’
सातामा २६ घण्टी भन्दा बढी पढाउने शिक्षकलाई एक एक सयदेखि दुई सय सम्म खाजा खर्च दिने व्यवस्था गरिएको छ । त्यस्तै तहगत र विषय संयोजकलाई मासिक चार हजार रुपैयाँ थप भत्ता
त्यसपछि विद्यालयको मुहार फेरिन थालेको हो । २०६३ सालमा कक्षा नौ र २०६५ मा १० कक्षामा पहिलो पटक एसएलसीमा सहभागी भएको थियो । माध्यमिक तहको विद्यालय भए पनि शिक्षक दरबन्दी प्राथमिक तहको मात्रै थियो । त्यो पनि पर्याप्त थिएन ।
‘०६६ मा म आए पछि अभिभावक, शिक्षक, व्यवस्थापन समितिसंगको सहकार्य गरेर यो अवस्थामा आएको हो’ पौडेलले दावी गर्दै भने । उनले विद्यालय सुधार गर्न पहिलो प्राथमिकता जनशक्तिलाई दिए । आफु नहुँदा पनि नियमित पठन पाठन हुने व्यवस्था मिलाइए । विषयगत, तहगत प्रणाली विकास गरेपछि विद्यालय प्रधानाध्यपाक बिना पनि चल्न सक्ने अवस्थामा पुर्याएको उनले बताए ।
‘कोअर्डिनेटरलाई पिरियड कम दिएका छौँ । सुविधा पनि दिएका छौँ । उनीहरुले शिक्षक परिचालन, परीक्षा, अनुगमन, नियमित पठन पाठनको जिम्मा लिएका छन्’ उनले भने ।
एसी सहितको कक्षा कोठा
२०२७ सालमा स्थापना भएको मावि तुलसीपुर सेण्टर शैक्षिक र भौतिक रुपमा तिव्र विकास भएको विद्यालयमा पर्छ । ०७७/७८ मा नमुना विद्यालयमा छनोट भएपछि संघीय सरकारको डीपीआरको आधारमा भौतिक पूर्वाधार निर्माणले तिव्रता पाएको हो । १२ वटा भवनमा ५१ वटा कक्षामा पढाइ हुन्छ । तीन वटा स्टाफ कक्ष, पुस्तकालय एक, कम्प्युटर कक्षा तीन वटा, ल्याब पाँच वटा र सेमिनार कक्षको लागि एउटा कोठा छुट्याईएको छ । विद्यालयमा छात्र शौचालय १५ वटा र छात्रा शौचालय १० वटा र स्टाफ शौचालय पाँच वटा रहेका छन् । विद्यालयमा खानेपानीको व्यवस्था गर्न नौ वटा युरोगार्ड छ ।
त्यस्तै विद्यालयको दुई वटा भलिबल कोर्ट र फुटबल कोर्ट एउटा रहेको छ । विद्यालयमा ६६ वटा डेक्सटप, २४ वटा ल्याप्टप रहेको छ । विद्यालयमा आकर्षित हुने अर्को आधार भनेको विद्यालयमा भर्ना भएका विद्यार्थीको दुई लाखसम्म दुर्घटना बिमा कोषको व्यवस्था पनि हो । शैक्षिक सुधार सम्बन्धी रणनीति योजना कार्यविधि समेत बनाएको छ । यसको भौतिक पूर्वाधार देखि शैक्षिक स्तर सुधारको योजना कार्यविधि बनाईएको हो । विद्यालयको १८ वटा कक्षा कोठामा एसी जडान गरिएको छ । हरेक कक्षामा प्रोजेक्टर र फ्यानको व्यवस्था छ ।
शिक्षकलाई सुविधा नै सुविधा, व्यवस्थापनको योजनामा शिक्षकको साथ
विद्यालय व्यवस्थापन समितिले के बुझेको छ भने विद्यालयको ड्राइभर शिक्षक हुन्, जबसम्म शिक्षकलाई योग्य र खुसी पार्न सकिदैँन तबसम्म शैक्षिक स्तर सुधार हुँदैन । त्यसैले विद्यालयले शिक्षकलाई आइटी सम्बन्धी तालिमलाई प्राथमिकता दिएको छ । इसीडीका शिक्षकले मण्टेसरी तालिम पाएका छन् । तलदेखि माथिसम्मका शिक्षकलाई शैक्षिक सामाग्री निर्माण तालिम दिइएको छ ।
त्यस्तै शिक्षकको सञ्चित विदाको रकम हरेक वर्ष दिने व्यवस्थाले पनि लोभ्याएको छ । निजी स्रोतका शिक्षकलाई १० प्रतिशत थपेर सञ्चित कोषको व्यवस्था, बिरामी बिदाको रकमको ५० प्रतिशत भुक्तानी व्यवस्था गरिएको छ । सातामा २६ घण्टी भन्दा बढी पढाउने शिक्षकलाई एक एक सयदेखि दुई सय सम्म खाजा खर्च दिने व्यवस्था गरिएको छ ।
तल्लो दरबन्दीमा रहेका माथिल्लो कक्षामा अध्यापन गर्ने शिक्षकलाई पनि थप सुविधा दिने गरिएको छ । बालविकास शिक्षकलाई विद्यालयबाट मासिक थप तीन हजार रुपैयाँ दिँदै आएको छ ।
त्यस्तै तहगत र विषय संयोजकलाई मासिक चार हजार रुपैयाँ थप भत्ता दिने गरिएको छ । आधारभुत तहमा अंग्रेजी र नेपाली माध्यमको फरक कोअर्डिनेटर छन् । नौ र १० मा अर्को कोअर्डिनेटर छन् । यस बाहेक हरेक विषयको विषगत कोअर्डिनेटरको व्यवस्था छ ।
विद्यालयले प्रार्थना भन्दा अघि हाजिर गरेर ४५ मिनेट पहिलो पिरियड पढाउने व्यवस्था मिलाएको छ । यसरी प्रार्थना भन्दा अघि पढाउने शिक्षकलाई प्रति महिना चार सय रुपैयाँ पारिश्रमिकले बेलैमा विद्यालय आउन लोभ्याएको छ । यस बाहेक सार्वजनिक विदा र बार्षिक बिदामा काम गरे बापत सट्टा बिदा र थप पारिश्रमिक दिने प्रावधान छ । तल्लो दरबन्दीमा रहेका माथिल्लो कक्षामा अध्यापन गर्ने शिक्षकलाई पनि थप सुविधा दिने गरिएको छ । बालविकास शिक्षकलाई विद्यालयबाट मासिक थप तीन हजार रुपैयाँ दिँदै आएको छ । उनीहरुले संघीय सरकारबाट १० हजार, स्थानीय तहबाट सात हजार पाउँछन् ।
शिक्षकले बिदा लिनु परेमा मोबाइल एपबाटै आवेदन दिनु पर्ने हुन्छ । विद्यालयमा विद्युतीय हाजिरको व्यवस्था छ ।
असल अभ्यास
विद्यालयमा पढाइका अतिरिक्त संगित, खेलकुद, मार्सल आर्ट, कमजोर विद्यार्थीलाई निःशुल्क कोचिङको व्यवस्थाले अभिभावकलाई यो विद्यालय प्रति लोभ्याएको हो । विद्यालयले दुर्घटना बिमा बाहेक अस्पतालसंग सम्झौता गरेर विद्यार्थीको प्राथमिक उपचार निःशुल्क गराएको छ । प्रत्येक कक्षामा दुई जना मोनिटरको व्यवस्था छ । उनीहरुलाई डायरी छापेर दिइएको छ । शिक्षक आएको, पढाएको र गएको समय उल्लेख गरेर शिक्षकले हस्ताक्षर गरेर राख्छन् । विद्यालयको आफ्नै बस छ । यो डायरी कोअर्डिनेटरले हेर्ने, कैफियत भएमा प्रधानाध्यपाक र व्यवस्थापन समितिमा पेश गर्छन् ।
विद्यालयलमा शुक्रबार पनि सात घण्टी नै पढाउने गरेको छ । ‘यसरी समग्र रुपमा विद्यालयको सबै क्षेत्र व्यवस्थित गरेकोले विद्यालयमा पढाउन उच्च, मध्य र निम्न वर्गको पढाउन चाहेका छन्’ प्रधानाध्यपाक पौडेलले भने ।
अभिभावकले घरबाटै हेर्छन् विद्यालयको गतिविधि
विद्यालयमा ८० वटा क्यामेरा जडान गरिएको छ । कक्षाकोठा, पुस्तकालय, बाहिर, ल्याबमा सीसीटीटी जडान गरिएको छ ।
‘अभिभावकले घरबाटै आफ्नो बच्चाको जानकारी राख्न सक्छन् । आफ्नो छोराछोरी कतिबेला स्कूल पुग्यो कक्षामा के गर्दै छन् ? भिडियो हेरेर थाहा पाउँछन्’ प्रधानाध्यपाक पौडेलले भने,‘कक्षामा शिक्षक पुगेको छ कि छैन ? बच्चा स्कुल गएको छ कि छैन ? घरबाटै मोबाइलमा हेर्न सकिने व्यवस्था मिलाएका छौँ ।’
यसको लागि विद्यालयको एपबाट अभिभावकले छोराछोरीको शैक्षिक प्रगति र अन्य विवरण हेर्न सक्ने व्यवस्था मिलाएको हो । विद्यालयले अभिभावकलाई सीप मुलक कार्यक्रम सञ्चालन गरेको छ । विद्यालयको सम्पूर्ण क्रियाकलापमा अभिभावकको साथ रहने गरेको छ ।
‘कुनै निर्णय लिनु परेमा अभिभावक र शिक्षकको सुझावको आधारमा गर्ने गरेका छौँ’ पौडेलले भने ‘विद्यालय यो अवस्थामा आउनुमा शिक्षक र अभिभावककाको साथ सहयोग नै महत्वपूर्ण छ । विद्यालयको सुधार म एक्लैले गरेको होइन मेरो टिमले गरेको हो ।’
प्रतिक्रिया