काठमाडौँ - विद्यालय छुट्टी भइसकेकोले कक्षाबाट विद्यार्थी निस्किरहेका थिए । अभिभावक विद्यालयको गेट र वरिपरि नानीबाबु लिन कुरिरहेका थिए । शिक्षकहरू पनि कक्षा सकिए पछि घर जाने हतारोमा थिए तर, प्रिन्सिपल र दुई जना सहायक प्रिन्सिपल एकै कोठामा बसेर दिन भरिको समीक्षामा व्यस्त थिए ।
कुन कक्षा कस्तो भयो ? अभिभावकको गुनासो के आयो ? लगायतका विषयमा उनीहरू आपसमा गफिन थाले । भोलीको कक्षा नियमित गर्ने विषय पनि उनीहरूको छलफलको विषय बन्यो ।
टोखा नगरपालिका बानियाँटारको फ्लोरोसेण्ट माध्यमिक विद्यालयको सञ्चालक समेत रहेका तीन जनाको छलफलमा म पनि मिसिएँ । कक्षा १० को नतिजामा एक सय ५५ विद्यार्थी सहभागी गराएर सबै ग्रेडेड गराएको छ । गत वर्ष कक्षा १२ मा सतप्रतिशत पास गराएको विद्यालयको नतिजा राम्रो हुनुको कारण खोजी गर्न म विद्यालय पुगेको थिएँ । तीनै जना सञ्चालकहरु सहित कुराकानी शुरु भयो ।
छलफलकै क्रममा यसपालि कक्षा १२ को नतिजाको चर्चा चल्यो । मैले सोधेँ ‘यसपालि कक्षा १२ को नतिजा कस्तो आयो ?’
प्रिन्सिपल कमल न्यौपानेले भने ‘सोच्दै नसोचेको नतिजा आयो । हाम्रो विद्यार्थी कहिल्यै फेल भएका थिएनन् । यसपालि १२ कक्षामा १० जनाको एनजी आयो । के कारणले कमजोरी भयो । हामी समीक्षा गरिरहेका छौँ । १० कक्षाको त राम्रो छ ।’
गत बर्ष सतप्रतिशत नतिजा आएको विद्यालयको यस बर्ष कक्षा १२ को नतिजा साँच्चै नसोचेकै आयो । परीक्षामा ७६ जना सहभागी गराएकोमा नौ जनाको एक र एक जनाको दुई विषयमा एनजी आयो । त्यसैले विद्यालयको आन्तरिक छलफलको विषय मोडिएर नतिजा समीक्षा तिर बढ्यो ।
१२ कक्षाका विद्यार्थीले आफ्नो नतिजा स्वीकार गर्न नसकेर पुनर्योग गरे पनि सुधार नभएको उनले बताए । विद्यालयबाट बुधवार १० जनाले नै मौका परीक्षा दिइसकेका छन् । जति पनि पास भएका छन् उनीहरूको नतिजा ३ जिपिए भन्दा कम छैन । ०७९ मा ३.६० भन्दा बढी जिपिए ल्याउने ५४ प्रतिशत विद्यार्थी थिए । यसपालि ३६ प्रतिशतमा झरे पछि विद्यालय व्यवस्थापकलाई झस्काएको हो ।
‘उनीहरूको नतिजाले हामीलाई समेत झस्काएको छ । विद्यार्थीको नतिजा कमजोर आउनु भनेको विद्यालयको कमजोरी हो भनेर हामीले स्वीकार गरेका छौँ । आगामी दिनमा यो अवस्था आउन नदिन हामी सचेत छौ’ न्यौपानेले भने,‘हाम्रो कमजोरी कहाँ भयो ? अब कसरी सुधार गर्ने योजना बनाइरहेका छौँ । कहिल्यै पनि कुनै विद्यार्थी एनजी नदेखेको विद्यालयलाई यसपालिको एनजीले झस्काएको छ ।’
२९ वर्ष अघि खुलेको यो विद्यालय हरेक वर्ष उत्कृष्ट तर, गुमनाम छ । नगरपालिका स्तरमा सधैँ पहिलो हुने, निजी विद्यालय सञ्चालकहरुको संगठन प्याब्सनको मुल्याङ्कनमा जिल्लाकै कहिले पहिलो त कहिले दोस्रो स्थान । वाग्मती प्रदेश स्तरमा पनि उत्कृष्ट भित्रै पर्ने यो विद्यालयको पहिचान हो । स्थानीय र प्रदेश स्तरमा परिचित विद्यालय राष्ट्रिय स्तरमा भने ‘गुमनाम’ छ ।
विद्यालयको न साइनबोर्ड छ न त वेवसाइट नै ! स्थानीय, जिल्ला र प्रदेश स्तरबाट पुरस्कार पाउँदा पनि न हल्ला गर्छन्, न शहर र सडकमा होडिङ् बोर्ड नै टाँग्छन् ! विद्यालयको नाम गुगल गर्दा एउटा फोन नम्बर भेटिन्छ तर, फोन समेत लाग्दैन ! अर्थात् उनीहरु कक्षा कोठा, सिकाइ र विद्यार्थी, अभिभावक बाहेक प्रचार प्रसार र तकड भडकमा कतै भेटिन्नन् !
नागरिकको करबाट राज्यले लगानी गरेर पनि दलगत आवद्धताका शिक्षकहरुको चरम राजनीतिक गतिविधि, अस्तव्यस्त व्यवस्थापनका कारण खस्केको सार्वजनिक शिक्षाको चरमा छिरेर निजीका सञ्चालकहरुले शिक्षामा चरम व्यापार गरिरहेका छन् । निजी विद्यालय भन्ने वित्तिकै अभिभावकको 'ढाड सेक्न कस्सिएका संस्था' हुन् भन्ने मानक बनिरहेको बेला फ्लोरोसेण्टको शैली बेग्लै छ ।
छ जना लगानीकर्ता रहेको यो विद्यालयमा तीन जना त ‘फुल टाइम’ विद्यालयमै पढाउँछन् । प्रधानाध्यापक न्यौपानेले विज्ञान, तीर्थ घिमिरेले अङ्ग्रेजी र मेघराज गौतमले गणितको कक्षा लिन्छन् । कक्षा हेर्न र समन्वय गर्न उनीहरूले आआफ्नो जिम्मेवारी पनि बाँडफाँट गरेका छन् ।
प्रिन्सिपल न्यौपानेले एक देखि चारसम्म र ११, १२ कक्षाको समन्वय गर्छन् ।
सहायक प्रिन्सिपल मेघराजले प्रि प्राइमरी, आठ, नौ र १०, अर्का सहायक प्रिन्सिपल तीर्थले पाँच देखि सात कक्षाको समन्वय गर्छन् ।
‘सबै कक्षा तीनै जनाले हेर्छु भनेर पनि हुँदैन । कोही अभिभावक आउनु भयो भने कसलाई भेट्ने भन्ने हुन्छ’ सहायक प्रधानाध्यापक तीर्थ भन्छन्,‘एकाडेमिक हो भने कोर्डिनेटरले हेर्नुहुन्छ । उहाँबाट पनि समस्या समाधान भएन भने हामी तीन जना मध्ये जसले समन्वयको जिम्मेवारी पाएको हुन्छ उसैले भेट्छौं ।’
शिक्षकलाई खुसी र सञ्चालकहरू आँफै खटिएकै कारण नतिजा राम्रो भएको उनीहरू दावी गर्छन् । शिक्षकको सेवा सुविधा सरकारले तोके अनुसारकै रहेको व्यवस्थापकहरुको दावी छ ।
‘त्यसैले होला ५२ सालमा इण्ट्री गरेका शिक्षक अझै पनि विद्यालयमै हुनुहुन्छ । पढाउनकै लागि हाम्रो विद्यालय छाडेर अरूमा जानु पर्दैन । शिक्षक सेवा आयोग पास भएर सामुदायिक पढाउन जाने, लोकसेवामा नाम निकाल्ने, विदेश जाने कमै छन्’ उनले भने,‘यसरी शिक्षक टिकि राख्नुमा हामीले दिने सेवा सुविधा नै हो । तलब सरकारले तोके अनुसार नै छ । त्यस्तै हरेक वर्ष १० प्रतिशत बढाउने गरेका छौँ । न्यूनतम तलब २६ हजार रुपैँया पाउँछन् भने बढीमा ७० हजार सम्म बुझ्छन् ।’
शिक्षकलाई सन्तुष्ट राख्न सके मात्रै विद्यार्थीको नतिजा सुधार हुने उनीहरूको बुझाई छ ।
हुन पनि यो विद्यालयबाट २०८० मा कक्षा १० को अन्तिम परीक्षा एसईई दिएका एक सय ५५ मध्ये ३.६ जिपिए भन्दा बढी ल्याउने नै १ सय ५ जना (६७ प्रतिशत) छन् । त्यस्तै ३.२ भन्दा बढी ल्याउने एक सय ४९ जना छन् । १२ कक्षामा पनि ग्रेडेड भएका सबै जसोको नतिजा उच्च ग्रेडकै छ ।
नतिजा राम्रो हुनुको कारणबारे सहायक प्रधानाध्यापक तीर्थ घिमिरे भन्छन् ‘जान्ने र नजान्नेलाई फरक ट्रिट गर्छौँ । परीक्षामा ल्याएको अंकको आधारमा सिष्टमबाटै सेक्सन विभाजन गर्छौँ । जान्नेलाई एउटा सेक्सनमा राख्छौँ भने सिकाइ सुधार गर्नु पर्नेलाई छुट्टै सेक्सनमा राखेर पढाउँछौँ । दुबैलाई पढाउन नै फरक विधि लगाउनु पर्ने हुन्छ । यसले नै हाम्रो नतिजा सुधार भएको हो ।’
कमजोर र राम्रो गर्ने दबै विद्यार्थीलाई एकै ठाउँमा राखेर एकले अर्कोलाई सिकाउने विधि अपनाए पनि सफल नभए पछि फरक सेक्सनमा राखेर पढाउने गरेको घिमिरेले बताए ।
‘एकै ठाउँमा राख्दा जान्नेलाई के हुँदो रहेछ भने यो त मलाई थाहा छँदै छ भन्ने म त जान्ने हुँ भन्ने घमण्ड हुँदो रहेछ’ घिमिरे भन्छन्,‘शिक्षकले कक्षामा पढाउँदा पनि जान्नेलाई मात्रै लक्षित हुँदो रहेछ । नजान्ने त सधैँ पछि पर्ने भयो । जान्नेको लयमा कक्षा अघि बढेको बढ्यै हुँदो रहेछ । नजान्नेको लागि एउटै कुरा बारम्बार भन्दा कति दोहोर्याएको भन्ने हुँदो रहेछ ।’
जान्ने र नजान्नेलाई फरक राख्दा शिक्षकले नजान्नेलाई विशेष सहयोग गर्न सक्ने उनले बताए ।
विद्यालयको संगठनात्मक संरचनामा पाँच भागमा विभाजन गरिएको छ । प्ले ग्रुपदेखि युकेजीसम्म हेर्ने गरी एक जना कोअर्डिनेटर, हरेक कक्षामा एक जना कक्षा शिक्षकको व्यवस्था गरिएको छ । त्यस्तै दुई वटा कक्षामा एक जना ‘आया’ को व्यवस्था गरिएको छ । त्यस्तै एक देखि चार कक्षासम्म एउटा संरचना बनाइएको छ । यो समूहको पनि एक जना कोअर्डिनेटर र हरेक कक्षामा विषय शिक्षक छन् । त्यस्तै पाँचदेखि सात कक्षासम्म अर्को संरचना बनाइएको छ । आठ देखि १० र ११ देखि १२ को अर्को संरचना रहेको छ ।
हरेक संरचनाको समन्वय गर्न व्यवस्थापन पक्षका तीनै जनाले जिम्मेवारी लिएका छन् ।
यस बाहेक अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक र कम्प्युटर विषय विभाग गठन गरिएको छ । हरेक विषयको विभागीय प्रमुख तोकिएको छ । व्यवस्थापनका तीनै जनाले समन्वयन गर्ने जिम्मेवारी लिएका छन् । प्रधानाध्यापकले विज्ञानको, सहायक प्रधानाध्यापक घिमिरेले अङ्ग्रेजी र सामाजिक, अर्का प्रधानाध्यापक मेघराज गौतमले गणित विषयको समन्वयको जिम्मेवारी लिएका छन् ।
निजी विद्यालयले विद्यार्थीलाई परीक्षा अघि नै प्रश्न दिन्छन् र विद्यार्थीले घोकेर आएको उत्तर लेखेर राम्रो नतिजा ल्याएपछि अभिभावक मख्ख हुन्छन् भन्ने आम बुझाई छ । यो विद्यालयले यसलाई चिर्न पनि सफल भएको छ । परीक्षा अघि नै विषय शिक्षकहरूले प्रश्न तयार गरेर विषय समितिमा बुझाउनु पर्ने हुन्छ ।
‘एउटा विषय पढाउने तीन जना शिक्षक छन् भने सबैले प्रश्न तयार गरेर समितिमा बुझाएका हुन्छन्, त्यसलाई मोडरेशन गरेर प्रश्नपत्र तयार गछौँ’ सहायक प्रधानाध्यापक गौतमले भने ‘यसले गर्दा शिक्षकलाई समेत कुन प्रश्न आउँछ भन्ने थाहा हुँदैन ।’
हरेक परीक्षामा सोधिने प्रश्नको ग्रिड र पाठ्यक्रम कक्षा सुरु हुनु भन्दा अघि नै तयार भइसकेको हुनाले शिक्षकले त्यही अनुसार पढाएर प्रश्न तयार गरी विषय समितिमा बुझाउने गरेको उनले बताए । यो अभ्यासले शिक्षकलाई पनि तोकिएको पाठ्यक्रम अनुसार निश्चित अवधिमा सिकाउनै पर्ने जिम्मेवारी हुने उनले बताए ।
विद्यालयले पनि हरेक विद्यार्थीलाई निश्चित जिपिए ल्याउने टार्गेट दिने गरेको अर्को अभ्यास छ ।
‘अभिभावक, विद्यार्थी, कक्षा शिक्षक र कोअर्डिनेटर बसेर विद्यार्थीलाई कति जिपिए ल्याउन सकिन्छ भनेर कमिटमेण्ट गराएका हुन्छौँ’ उनले भने,‘जसले लक्ष्य पुरा गर्न सक्छ उसलाई प्रोत्साहनको व्यवस्था पनि गरेका हुन्छौँ । यसले पनि नतिजा सुधार गर्न सहयोग गरेको छ ।’
परीक्षा अघि विद्यार्थीले बनाएको ‘नोट’ ठिक भए नभएको कोअर्डिनेटरलाई जिम्मेवारी दिएको हुन्छ । ‘विद्यार्थीले तयार गरेको नोट अडिट गर्ने व्यवस्थाले विद्यार्थीको हस्ताक्षर, लेखाइमा पनि निखार आउने गरेको हामीले पायौँ’ गौतमले भने,‘जसको नोट पुरा गरेको हुन्छ उसको कापीमा परीक्षण भएको स्ट्याम्प लगाउने गरेका छौँ ।’
विद्यालयले गरेको अर्को सफल अभ्यास हो - विद्यार्थीले लेखेको उत्तर पुस्तिकाको फिडब्याक दिने । नतिजा सार्वजनिक भएपछि अभिभावक सहित विद्यार्थीले उत्तर पुस्तिका लैजान्छन् । भोलीपल्ट विद्यालय आउँदा उक्त उत्तर पुस्तिका फिर्ता ल्याउनु पर्ने हुन्छ ।
‘नतिजा सार्वजनिक भएको अर्को दिनको कक्षामा पढाई हुँदैन । त्यही उत्तर पुस्तिकाको समीक्षा हुन्छ । उत्तर के लेखेको थियो ? के हुनु पथ्र्यो भन्ने पृष्ठपोषणको काम हुन्छ’ उनले भने,‘यसले पनि विद्यार्थीले कमजोरी सुधार गर्दै नतिजा राम्रो गर्ने गरेको पायौँ ।’
विद्यालयले विद्यार्थी र हरेक कक्षाको छुट्टा छुट्टै डायरी व्यवस्था गरेको छ । कुन शिक्षकले के पढायो ? विद्यार्थीलाई के होमवर्क दिएको भन्ने कक्षाको डायरीमा लेख्ने गरेका छन् ।
विद्यालयले सिकाइ भन्दा पनि अनुशासनलाई प्राथमिकता दिएको प्रधानाध्यापक न्यौपानेले बताए ।
‘पढाई त चाहिन्छ नै तर, अनुशासन नभएको विद्यार्थी पढाइले काम गर्दैन भन्ने हाम्रो मान्यता हो’ उनले भने,‘त्यसैले अनुशासनलाई प्राथमिकता दिएका छौँ । अनि मात्रै सिकाइ हाम्रो प्राथमिकतामा पर्छ ।’
प्रतिक्रिया