Edukhabar
बुधबार, ०२ असोज २०८१
गतिविधि

१ लाख २७ हजारले १२ कक्षाको मौका परीक्षा दिँदै

दुई विषयमा एनजी आएका, दुई विषयमा अनुपस्थित, एक विषयमा एनजी आएका र अर्कोमा अनुपस्थित भएका विद्यार्थीले मौका परीक्षा दिने छन् ।

मंगलबार, २५ भदौ २०८१

भक्तपुर-राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को मौका परीक्षा सुरु गर्दैछ  । परीक्षामा १ लाख २७ हजार सात सय  विद्यार्थी सहभागी हुँदै छन् । यसअघि नियमित परीक्षामा ३ लाख ९० हजार आठ सय ६८ विद्यार्थी सहभागी भएका थिए । नियमित तर्फ सहभागी भएका मध्ये मौका परीक्षामा ३२ प्रतिशत विद्यार्थी सहभागी हुँदै छन् ।

नियमित परीक्षामा दुई लाख तीन हजार आठ सय ४७ विद्यार्थी सबै विषयमा ग्रेडेड (पास) भएका थिए । एक लाख ८६ हजार नौ सय ९४ विद्यार्थी परीक्षामा फेल भएका थिए । 

राष्ट्रिय परीक्षा बोर्डले दुई विषयमा एनजी आएका, दुई विषयमा अनुपस्थित, एक विषयमा एनजी आएका र अर्कोमा अनुपस्थित भएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लागेको हो । 

परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार देशभर चार सय ३२ परीक्षा केन्द्र तय गरिएको छ । 

मंगलबार ७३ विषयको परीक्षा हुने छ । परीक्षा बुधवारसम्म चल्नेछ । अंग्रेजी बाहेक अरू विषयको परीक्षा बुधवार पनि हुनेछ । बोर्डले प्रश्नपत्र इमेल मार्फत परीक्षा केन्द्रमा पठाउने व्यवस्था गरेको छ । 

परीक्षा बिहान ११ देखि २ बजेसम्म हुने बोर्डले जनाएको छ । मंगलबार अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थी (सबै विषय), अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयमा मौका परीक्षामा सहभागी हुने विद्यार्थीले पहिलो दिन अंग्रेजी र दोस्रो दिन नेपाली विषयको परीक्षा दिनु पर्ने हुन्छ ।

त्यस्तै भदौ २६ मा दुई विषयको परीक्षा दिने विद्यार्थीका लागि आफूले परीक्षा दिने मध्येको ठुलो कोड नम्बर भएको विषयको परीक्षा हुने बोर्डले जनाएको छ । दोस्रो दिन अनिवार्य अंग्रेजीको परीक्षा नहुने बोर्डले जनाएको छ । एक विषय मात्रै भएको विद्यार्थीले पहिलो दिन नै परीक्षा दिनु पर्ने हुन्छ ।

 

 

 

 

प्रतिक्रिया