Edukhabar
बुधबार, ०२ असोज २०८१
खबर/फिचर

कक्षा १२ पढ्ने ७२ बर्षिया विद्यार्थीलाई सरकारको सम्मान

‘आमाको पढाईले अरु बालबालिका र निरक्षरलाई पढ्नु पर्छ भन्ने हौसला प्रदान गरेको छ’ : शिक्षा मन्त्री भट्टराई

आइतबार, २३ भदौ २०८१

भक्तपुर - उमेरले सात दशक पार गर्यो, तर पढाई प्रतिको लगाव ‘युवा अवस्था’ भन्दा कम छैन । बिहान भरी घर धन्दा सक्छिन् । ९५ बर्षिया सासु र ७४ बर्षिय श्रीमानलाई खाना खुवाउँछिन् । अनि झोला भिरेर पढ्न जान्छिन् - ७२ बर्षिया सूर्यमति खनाल । 

६२ वर्षको उमेरमा साँवा अक्षर चिनेकी उनी अहिले १२ कक्षा पढ्दै छिन् । दिनभरी पढेर घर फर्किन्छिन् । सासु र श्रीमानलाई पढाईको कुरा सुनाउँछिन् । ऐच्छिक विषय पत्रकारिता, समाजशास्त्र र नेपाली लिएकी छिन् । समाजको बारेमा कक्षामा पढ्छिन् घरमा घोत्लिन्छिन् । 

‘हामीले जे कुरा भोगेका हुन्छौँ । त्यही कुरा कक्षामा पढ्छौँ’ उनी भन्छिन् ‘त्यसैले खासै गाह्रो त लागेको छैन । अंग्रेजी विषय भने अलि गाह्रो लाग्छ ।’ 

दुई छोरा र दुई छोरीकी आमा उनी सानोमा विद्यालय गएर पढ्न पाइनन् । 

‘बुढेसकालमा पढ्ने धोका पुरा गर्दै छु’ उनले भनिन् । 

उनी विद्यालय नियमित जान्छिन् । अगाडिको वेञ्चमा बस्छिन् । कक्षामा हल्ला हुँदा उनी कक्षाकै ‘मनिटर’ र प्रेरकको भूमिकामा खडा हुन्छिन् । किनकी कक्षामा रहेका उनका दौँतरी नाती सरहका छन् । 
तनहुँ भिमादका उनका श्रीमान मावि स्थायी शिक्षक थिए । उनको अवकास पछि गाउँ छाडेर काठमाडौं टोखामा बस्छन् । श्रीमतीको पढाईमा श्रीमानले पनि साथ दिएका छन् । 

उनै सूर्यमतिको जोस र पढाई प्रतिको लगावलाई सरकारले पनि नजिकबाट नियालेको छ । त्यसैले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले साक्षरता दिवसको अवसरमा उनलाई दोसल्ला ओडाएर सम्मान गरिन् । 

‘आमाको पढाईले अरु बालबालिका र निरक्षरलाई पढ्नु पर्छ भन्ने हौसला प्रदान गरेको छ’ मन्त्री भट्टराईले भनिन् । ५८ औ साक्षरता दिवस कार्यक्रममा शिक्षामन्त्री भट्टराईले साक्षरताको सूचक प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउन शिक्षा मन्त्रीको निर्देशन दिएकी छिन् । 

पढ्नुस्-

साक्षरताको सूचक प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउन शिक्षा मन्त्रीको निर्देशन

सरकारले साक्षर नेपाल अभियान पुरा गर्न साक्षर जिल्ला घोषणालाई प्राथमिकता दिएको छ । अझै १३ जिल्लामा १५३ पालिकामा साक्षर घोषणा हुन सकेको छैन । १५ देखि ५० वर्ष उमेर समूहका ४३ लाख भन्दा बढी व्यक्ति अझै निरक्षर रहेको पछिल्लो जनगणनाले देखाएको छ । 

पढ्नुस्-

नाम र नारा फेरियो, आधा करोड नागरिक अझै निरक्षर

 

छ महिला विद्यालयलाई सम्मान 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री भट्टराईले प्रौढ महिलालाई पढाउने छ वटा महिला विद्यालयलाई सम्मान गरेकी छिन् । 

कक्षा १० सम्म पढाई हुने महिला विद्यालयले प्रौढ निरक्षर महिलालाई साक्षर बनाएको भन्दै भक्तपुरको आस्था महिला विद्यालय, काठमाडौं चाबहिलको ज्ञानज्योति महिला विद्यालय, तीनकुनेको उत्प्रेरणा महिला विद्यालय, नयाँबजारको नमुना महिला महिला विद्यालय र बुटबलको साधना महिला विद्यालयलाई सम्मान गरिएको हो । यी विद्यालयले १५ वर्ष भन्दा माथिका महिलालाई अध्ययन गराउदैँ आएका छन् ।

निरक्षरलाई साक्षर गराउन र अधुरो शिक्षा पुरा गर्न यी विद्यालयले महत्वपूर्ण भूमिका खेलेकोले सम्मान गरिएको शिक्षा  तथा मानव स्रोत विकास केन्द्रका निर्देशक निलकण्ठ ढकालले बताए । 

यस्तै विद्यालयलबाट अध्ययन गरेका विद्यार्थी स्नातकोत्तर तहसम्म अध्ययन गर्ने भएका छन् । साक्षरता दिवसको अवसरमा सोमबार ४३ बर्षिया दिलमाया तामाङलाई केन्द्रले सम्मान गरेको छ । ज्ञानज्योति महिला विद्यालयमा पढेकी उनी मदन भण्डारीमा पत्रकारितामा स्नातककोत्तर गरिरहेकी छिन् । 

विद्यालय र विद्यार्थीलाई सम्मान गरिएका फोटोहरु :

01_adult_school

02_adult_school

03_adult_school

04_adult_school

05_adult_school

adult_school_last

 

प्रतिक्रिया