Edukhabar
विहीबार, ०३ असोज २०८१
गतिविधि

साक्षरताको सूचक प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउन शिक्षा मन्त्रीको निर्देशन

सिकाइलाई प्रविधिसँग जोड्ने, नयाँ पाठ्यक्रम र विद्यार्थी मुल्याङकन प्रक्रिया सुरु गर्ने योजना बनाउन शिक्षा मन्त्रालयका  कर्मचारीहरुलाई निर्देशन

आइतबार, २३ भदौ २०८१

भक्तपुर - शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले साक्षर बनाउने सूचक परिवर्तन गरेर नयाँ कार्यक्रम अघि सार्न निर्देशन दिएकी छिन् । सिकाइलाई प्रविधिसँग जोड्ने र नयाँ पाठ्यक्रम र विद्यार्थी मुल्याङकन प्रक्रिया सुरु गर्ने योजना बनाउन उनले शिक्षा मन्त्रालयका  कर्मचारीहरुलाई निर्देशन दिएकी हुन् । PJP03161 (1)

५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा तथा मानव श्रोत विकास केन्द्रले गरेको कार्यक्रममा बोल्दै  उनले पढाइ र लेखाइमा मात्र साक्षरता सीमित नभएकोले साक्षरताका सूचक परिवर्तन गर्दै लैजानु पर्ने बताइन् । साक्षरताको विद्यमान पाठ्क्रममा मूल्यसूची र विल भर्पाईको पढाई, आफ्नो र परिवारका सदस्यको नाम, उमेरको जानकारी, मोवाइल र क्यालकुलेटर लगायतको डिजिटल जानकारी भएकालाई साक्षर भनिने उल्लेख छ । यस्तै, लेनदेनका हरहिसाब, चित्र पोष्टर साइनबोर्ड र ट्राफिक सङ्केतको जानकारी, सामुदायिक कार्यक्रममा सक्रिय सहभागिताको आधारमा साक्षर व्यक्तिको पहिचान दिने पाठ्यक्रममा उल्लेख छ । 

‘यसलाई सिकाइको अभिन्न अङ्गका रूपमा लिई सिकाइमा रेडियो, टेलिभिजन, मोवाइल, ईण्टरनेट, सेलिब्रेटी, विज्ञापन जस्ता सञ्चार, प्रविधि तथा सहभागी मैत्री सामग्री, विधि प्रयोग हुने गरी अब पाठ्यक्रम र विद्यार्थी मूल्याङ्कनका प्रक्रिया सुधार गर्ने योजना बनाई कार्यान्वयन गर्न पनि म अनुरोध गर्छु’ कार्यक्रममा सम्बोधन गर्दै उनले भनिन् । 

साक्षर नेपाल कार्यक्रम, वैकल्पिक शैक्षिक कार्यक्रम, अनौपचारिक शिक्षा तथा खुला सिकाइ, अनौपचारिक शिक्षाको राष्ट्रिय योग्यता प्रारूपलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्दै आजीवन सिकाइलाई सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तह बिच स्रोत साझेदारी आवश्यक रहेको उनले बताइन् । 

यस बर्षको दिवसको नारा ‘बहुभाषिक शिक्षाको प्रवर्धनः पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ तय गरिएको छ । 

karmachari

०६५/०६६ देखि मुलुकलाई साक्षर नेपाल घोषणा गर्ने भन्दै सरकारले साक्षर नेपाल अभियान चलाए पनि अहिले सम्म ६४ जिल्ला मात्रै साक्षर घोषणा भएका छन् । ०७७ मा साक्षर नेपाल घोषणा गर्ने भने पनि अझै दुई वटा प्रदेशको १३ वटा जिल्ला साक्षर घोषणा हुन बाँकी छ । मधेश प्रदेशका सप्तरी, सिराहा, धनुषा महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका एक सय ३० स्थानीय तह र कर्णाली प्रदेशका मुगु, जुम्ला, हुम्ला कालिकोट र डोल्पा जिल्लाका २३ स्थानीय तहलाई लक्षित गरी साक्षरता कार्यक्रम सफल बनाउन लाग्नु पर्ने मन्त्री भट्टराईले बताइन् ।

तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले ०७७ को नीति तथा कार्यक्रममा साक्षर नेपाल घोषणा गर्ने बताएकी थिइन् । घोषणा गरेको चार वर्षको अवस्था उस्तै छ । साक्षरताको अवस्थाका बारेमा यो खबर पढ्नुहोस् : नाम र नारा फेरियो, आधा करोड नागरिक अझै निरक्षर

प्रतिक्रिया