Edukhabar
मंगलबार, ०१ असोज २०८१
गतिविधि

नेपालमै पहिलोपटक सामुदायिक कलेजमा बीएस्सी सीएसआईटी

बजारको माग अनुसारको विषय पठन पाठनका रूपमा रहेको बिबिए, सिएसआइटी सञ्चालन गर्न पाउँ भनी तीन जना पूर्व शिक्षा मन्त्री, रेक्टर, भिसीलाई समेत भेट्दा पनि त्रिभुवन विश्वविद्यालयले स्वीकृति नदिएको स्मरण

विहीबार, २० भदौ २०८१

काभ्रे - सामुदायिक कलेजमा बीएस्सी सीएसआईटी सञ्चालन हुने भएको छ । काभ्रेको बनेपा नगरपालिका वडा नं ६  बुडोल स्थित काभ्रे बहुमुखी क्याम्पसको व्यवस्थापन र बनेपा नगरपालिकाको सहयोगमा राजर्षि जनक विश्वविद्यालयको सम्बन्धनका नेपालमै पहिलोपटक सो विषय सहितको बनेपा कलेज अफ म्यानेजमेण्ट एण्ड टेक्नोलोजी सञ्चालन गर्ने तयारी गरिएको हो । 

उक्त शैक्षिक कार्यक्रमका बारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा कलेजका प्राचार्य  केजी बैदारले काभ्रे बहुमुखी क्याम्पसको भौतिक र जनशक्तिको उपयोग गर्ने गरि सो कलेज सञ्चालन गर्ने बताए ।  उनले बनेपा नगरपालिका भित्रका घर घरमा इञ्जिनियर, सूचना प्राविधिक,  आइटी इञ्जिनियर र कुशल व्यवस्थापक हुन ुपर्नेमा जोड दिए । क्याम्पसले बजारको माग अनुसारको विषय पठन पाठनका रूपमा रहेको बिबिए, सिएसआइटी सञ्चालन गर्न पाउँ भनी तीन जना पूर्व शिक्षा मन्त्री, रेक्टर, भिसीलाई समेत भेट्दा पनि त्रिभुवन विश्वविद्यालयले स्वीकृति नदिएको उनले स्मरण गरे ।

उनले भने, 'त्रिविले आफूले पनि चलाउन नदिने र चलाउन खोजेकालाई समेत भाँजो हाल्न खोज्यो, तर हामीले सम्बन्धन लिन सफल भएका छौँ ।'

भर्नाका लागि फर्म खुला भएको जानकारी दिँदै उनले त्रिविको आंगिक क्याम्पसले लिने गरेको शुल्क भन्दा कम शुल्कमा अध्यापन गराउने जनाए । 

'चार वर्षमा साढे तीन लाख रूपैयाँमा अध्यापन गराउने गरि शुल्क निर्धारण गरेका छौं' प्राचार्य बैदारले भने, 'बिबिए, बिएस्सी सिएसआइटी अध्ययनका लागि न्यूनतम छ लाख पर्नेमा सर्वसाधारणलाई शिक्षाको पहुँच वृद्धि गर्न उक्त शुल्कमा अध्यापन गराउने भएका छौँ ।' 

बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले काभ्रे जिल्लामै पहिलोपटक उक्त विषय पढ्न पाउने वातावरण बनेकोमा काभ्रेलीहरूले गर्व गर्नुपर्ने जनाए । उनले क्याम्पसको पठनपाठन विहान र कलेजको पठनपाठन दिउँसो सञ्चालन गर्ने गरि व्यवस्थापन गरिएको बताए । उनले क्याम्पसमा भएको पूर्वाधार उपयोग गर्ने र कुनै समस्या भए बनेपा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए । सम्बन्धनका लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा पनि गएको तर दुबैबाट सम्बन्धन नपाएकोमा उनले दुः ख व्यक्त गरे । 

समयको बचत, सुविधा सहित र कम शुल्कमा हाललाई  ४० सिट कोटा सञ्चालन गरिने कलेजले जनाएको छ । त्रिविले अनुमति नदिए पनि राजर्षि जनक विश्वविद्यालयमा प्रक्रिया अघि बढाउँदा सफल भएको कलेज सञ्चालक समितिका अध्यक्ष लम्बोदर कायस्थले बताए ।

उनले सो विषयमा विद्यार्थीको चाप बढ्दै गरेको तर सो चाप अनुसार विद्यार्थीले कलेज पाउन नसकेको अवस्थालाई न्यूनीकरण गर्न उक्त कार्यक्रम सहितको कलेज सञ्चालन गरिएको जनाए । 

प्रतिक्रिया