Edukhabar
आइतबार, ३० भदौ २०८१
गतिविधि

फोहर प्लाष्टिक संकलन गरेर विद्यार्थी बनाउँदै छन् ‘इको–ब्रिक’

प्लाष्टिक फोहरलाई प्लाष्टिककै बोतलमा भरेर, खाँदेर ‘इको–ब्रिक’ बनाइन्छ । त्यसबाट युथ स्क्वाडको अगुवाईमा बनाईन्छ सार्वजनिक विश्राम स्थलमा बस्ने मुढा, बेञ्च, कुर्ची एवं सजावटका लागि आवश्यक सामग्री

आइतबार, १६ भदौ २०८१

सप्तरी - एकातिर बाटोघाटो र सार्वजनिक ठाउँमा असरल्ल फोहर संकलन गरेपछि वातावरण सफा हुने र अर्को तिर त्यही फोहरबाट उपयोगी सामग्री बनाईने ! यो हो रूपनगर क्याम्पसका विद्यार्थीले शुरु गरेको प्लाष्टिक प्रदूषण विरूद्धको अभियान । 

जथाभावी फालिएका प्लाष्टिक फोहरले वातावरण र स्वास्थ्यलाई हानी पुर्याउने भए पछि रूपनगर नन्दराज संग्रौला क्याम्पसका प्रमुख दीपक कुमार गजुरेलको अगुवाइमा उक्त अभियान शुरु गरिएको हो । 

क्याम्पसका विद्यार्थीको समूह 'रूपनगर युथ स्क्वाड'को व्यानरमा शनिबार आयोजित फोहर प्लाष्टिक संकलनमा सात बोरा प्लाष्टिक संकलन गरिएको छ ।

rupnagar-ECOबाटो, नाला, खेतबारी, विद्यालय क्षेत्रमा छरिएका फोहर प्लाष्टिकबाट ‘इको–ब्रिक’ बनाइने स्क्वाडका संयोजक आफताब अलीले जानकारी दिए । प्लाष्टिक फोहरलाई प्लाष्टिककै बोतलमा भरेर, खाँदेर इको–ब्रिक बनाइन्छ । त्यसबाट सार्वजनिक विश्राम स्थलमा बस्ने मुढा, बेञ्च, कुर्ची एवं सजावटका लागि आवश्यक सामग्री निर्माण गरिने उनले बताए । 

'प्लाष्टिक प्रदूषण विरूद्ध जुटौँ' भन्ने नारा रहेको यो अभियानका लागि पुरक एशिया नामक अन्तर्राष्ट्रिय संस्थाले प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराएको अलीले बताए ।

'प्लाष्टिक प्रदूषण विरूद्धको यो अभियान आज एक दिनका लागि मात्र होइन, यसलाई हामी निरन्तर जारी राख्ने छौँ’ उनले भने ।  

यो अभियानले ज्यादै चुनौती पूर्ण बन्दै गएको प्लाष्टिक प्रदूषण नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास रहेको क्याम्पस प्रमुख गजुरेलले बताए । 

आर आर क्याम्पस काठमाडौंमा ३० वर्ष प्राध्यापन गरेर अवकाश पछि एक बर्ष देखि आफ्नो जन्म थलो सप्तरीको शिक्षा सुधारका लागि सकृय गजुरेलले पढाइ, सिकाइका अलावा विद्यार्थीकै सहभागितामा सार्वजनिक महत्वका कृयाकलाप गर्दै आएका छन् । सोही कार्य अन्र्तगत प्लाष्टिक प्रदूषण विरूद्धको अभियान सञ्चालन गरिएको उनले बताए । 

यसका अलावा विद्यार्थीको लेखन सीप विकास गर्नका लागि  क्याम्पसको नाममा फिचर सेवा पनि शुरु गरिएको उनले बताए । विद्यार्थीको हौसलामा थप उर्जा भर्न महिनाको ४ वटा लेख तयार पार्ने गरी योजना बनाएको उनले बताए । 

प्रतिक्रिया