Edukhabar
बुधबार, ०२ माघ २०८१
गतिविधि

अनलाईनबाट विशेष कक्षा चलाउने सरकारको तयारी

विद्यार्थीको सिकाइ सुधारका लागि तल्ला कक्षाहरुबाटै गर्नु पर्ने तयारी नगरी एकै पटक कक्षा १० मा मात्रै ध्यान दिने परिपाटिले नतिजा सुधार हुन नसकेको विज्ञहरुको निश्कर्षका बिचमा प्रधानमन्त्रीको जोड कक्षा १० मा मात्रै !

शुक्रबार, १४ भदौ २०८१
दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री ओली

धुलिखेल - धेरै विद्यार्थी नन् ग्रेडेड भएका कक्षा १० का मुख्य तीन विषय गणित, विज्ञान र अँग्रेजीमा अनलाइनबाट विशेष कक्षा चलाउने सरकारले तयारी गरेको छ । प्रधानमन्त्री केपी ओलीले अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन संघीय सरकारका तर्फबाट सम्बन्धित निकायलाई भनिसकेको बताएका छन् । 

काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यसका लागि शिक्षा मन्त्रालय, नेपाल टेलिकम लगायत निकायलाई आवश्यक प्रबन्धका लागि भनिसकेको बताए । 

गत वर्ष झापामा अनलाइन कक्षा दिएका कारण विद्यार्थीकोको नतिजामा सुधार आएको दावी गर्दै उनले यस अभ्यासलाई देशभर विस्तार गर्ने बताए । पचास प्रतिशतको हाराहारीमा मात्रै एसईईमा उत्र्तीण हुनुु विद्यार्थी माथिको चरम अन्याय भएको बताउँदै उनले  यस्तो अवस्थालाई अन्त्य गर्न भनिसकेको बताएका हुन् । 

'बढी नम्बर दिएर नभई  विद्यार्थीले आफै राम्रो लेखेर धेरै उत्र्तीण गराउने गरी हामीले काम थालिसकेका छौँ' उनले भने 'अहिलेको सरकार किन बनेको रहेछ भन्ने कुरा परिणाममा देखाउने गरी हामी काम गर्नेछौँ ।’

गत असारमा सार्वजनिक भएको कक्षा १० को अन्तिम परीक्षामा गणितमा सबै भन्दा धेरै एक लाख ७७ हजार नौ सय ८५, विज्ञानमा एक लाख २६ हजार नौ सय ३३ र अँग्रेजीमा एक लाख एक हजार तीन सय ८३ विद्यार्थी नन् ग्रेडेड भएका थिए ।

विद्यार्थीको सिकाइ सुधारका लागि तल्ला कक्षाहरुबाटै गर्नु पर्ने तयारी नगरी एकै पटक कक्षा १० मा मात्रै ध्यान दिने परिपाटिले नतिजा सुधार हुन नसकेको विज्ञहरुको निश्कर्ष छ । २०७३ सालमा जारी भएको शिक्षा ऐनको आठौं संशोधनले विद्यालय शिक्षाको संरचनामा परिर्तन गरी कक्षा १२ सम्मलाई विद्यालय तह बनाई सक्दा पनि साविकको एसएलसीकै शैलीमा कक्षा १० को अन्तिम परीक्षाको हाउगुजी कायम राखिएको भन्दै विज्ञहरुले आलोचना गरिरहेका छन् । विद्यालय शिक्षामा निजी लगानी गरेका विद्यालय सञ्चालकहरुको प्रभावका कारण कक्षा १० को अन्तिम परीक्षाको शैली नबदलिएको विज्ञहरुको निश्कर्ष आईरहेका बेला प्रधानमन्त्रीले पनि कक्षा १० को अन्तिम परीक्षालाई नै महत्व दिएका छन् ।    

प्रधानमन्त्री ओलीले आउँदो एसईई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तिर्ण हुने गरी देशभर अनलाइनबाट शिक्षा सञ्चालनको घोषणा गरे । उनले भाषणका क्रममा देशको समृद्धि र समग्र शिक्षाको सुदृढीकरणका लागि आगामी दिनमा सरकार थप स्पष्ट र दृढताकासाथ अघि बढ्ने पनि दावी गरे । 

प्रधानमन्त्रीले विश्वविद्यालयबाट विभिन्न सङ्कायमा दीक्षित विद्यार्थीलाई आफूूले प्राप्त गरेको ज्ञान–सीपलाई सदुपयोग गर्न आग्रह पनि गरे ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले स्नातकोत्तर तहमा स्कुल अफ आर्टसमा ४ सिजिपिए ल्याउने मिजला चित्रकारलाई चान्सलर स्वर्णपदक, स्कुल अफ साईन्सबाट स्नातक तहमा ४ सिजिपिए ल्याउने मुकेश तिवारीलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरे । यस्तै स्नातक तहमा मनिपाल कलेज अफ मेडिकल साइन्स पोखराका स्वीकार दाहाललाई भाइस–चान्सलर स्वर्णपदक, विराट मेडिकल कलेज विराटनगरकी रस्मिता पौडेललाई न्हुछेरत्न तुलाधर स्वर्णपदक, स्कुल अफ मेकिडल साइन्सेजका अर्जुन दासलाई रमेशप्रसाद सिंह स्वर्णपदक र  स्कुल अफ एजुकेशनकी रनिषा पौडेललाई महेशनाथ पराजुली स्वर्णपदक प्रदान गरे । 

समारोहमा विदेशी विद्यार्थी सहित दुई हजार तीन सय १४ विद्यार्थी दीक्षित भएका थिए । 

प्रतिक्रिया