Edukhabar
आइतबार, ३० भदौ २०८१
खबर/फिचर

शिक्षाको आदर्श वाक्य खोजीमा शिक्षा मन्त्रालय

गत वर्ष ‘समावेशी र सिपमूलक शिक्षा, स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्य बनाइएको थियो ।

सोमबार, १० भदौ २०८१

काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको शिक्षा दिवसका लागि आदर्श वाक्यको खोजी गरेको छ । शिक्षा दिवस मुल समारोह समितिको बैठकमा मन्त्रालयका पदाधिकारीले आदर्श वाक्य के राख्ने ? भनेर सदस्यहरुसँग सुझाव मागेका हुन् । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज दुई गतेलाई गत बर्ष देखि शिक्षा दिवसका रुपमा मनाउन शुरु गरिएको हो । 

शिक्षा दिवस मनाउन एक सय ३० सदस्यीय मुल समारोह समिति गठन गरेको छ । मन्त्रालयले दिवस सफल पार्न कार्यक्रम समन्वय समिति, राष्ट्रिय शिक्षा पुरस्कार सम्बन्धी उपसमिति, कार्यक्रम व्यवस्थापन, शैक्षिक स्मारिका प्रकाशन, सांस्कृतिक कार्यक्रम, प्रचार प्रसार उपसमिति गठन गरेको छ । 

मन्त्रालयमा भएको बैठकमा दिवस मनाउन अहिलेसम्म भएका कामको बारेमा जानकारी गराईएको छ । त्यस्तै शिक्षा दिवस २०८१ का लागि आदर्श वाक्य तय गर्ने विषयमा बैठकमा छलफल भए पनि के बनाउने टुङग्याउन सकेको छैन । 

मुल समारोह समितिले सहसचिव डा.कमल पोखरेलको संयोजकत्वमा रहेको उपसमितिलाई आदर्श वाक्य टुङ्ग्याउने निर्णय गरेको छ । यस वर्षको शिक्षाको आदर्श वाक्य तीन दिन भित्र टुङ्ग्याउन समय दिइएको छ । 

आदर्श वाक्यमा निम्न शब्दहरु समावेश गर्न मन्त्रालयले प्रस्ताव गरेको छ :   

- ज्ञान बोध, 
- कौशल/उद्यमशीलता/ सीप
- लगानी 
- सान्दर्भिकता गुणस्तर 
- जवाफदेहिता / प्रणालीगत जवाफदेहिता 
- शान्ति क्षेत्र/समाजिकरण/साहित्ष्णुता 
- ज्ञानको निर्माण/सिर्जना/उत्पादन 
- नवप्रर्वद्धन
- प्रविधि 

आदर्श वाक्यका लागि पर्याप्त सुझाव नआएपछि उपसमितिलाई जिम्मेवारी दिइएको हो । गत वर्ष समावेशी र सिपमूलक शिक्षा, स्वदेशमै युवा राष्ट्रको इच्छा भन्ने आदर्श वाक्य बनाइएको थियो । 

शिक्षा मार्फत विश्व भनेको समाज हो भनेर चिनाउने खालको नारा आवश्यक रहेको शिक्षा मन्त्री विद्या भट्टराईले बताइन् । 

‘हाम्रो देशमा पनि विदेशबाट पढ्न आउन सक्ने वातारण बनाउनु पर्छ,’उनले भनिन् ‘नेपाली विद्यार्थीलाई पनि स्देशमा बस्न सकिन्छ भन्ने बुझाउन उद्यमशिलता र प्रविधिमा जोडेर नारा बनाउन सकिन्छ ।’ 

शिक्षा दिवसले मुलुकको शिक्षाको समस्यालाई उजार गर्ने र समाधानको बाटो पहिल्याउन सहयोग गर्ने भएकोले दिवस मनाउनु पर्ने मन्त्रीले बताइन् । 

‘विषय सतहमा ल्याउँछ । दिवसले विषयलाई उचाईमा पु¥याउछ । समस्या बाहिर ल्याउँछ’ उनले भनिन् । 

विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने सन्देश दिने खालको वाक्य बनाउनु पर्ने विज्ञान सचिव विश्वबाबु पुडासैनीले बताए । 

‘उद्यमशिलता, स्वदेशमै गुणस्तरीय शिक्षा दिने र उच्च शिक्षा अध्ययन गर्न विदेश जानु पर्दैन भन्ने खालको आदर्श वाक्य बनाउनु पर्नेछ’ उनले भने ।  

पदक बिना प्रमाणपत्र मात्रै 

बजेट अभाव भएको भन्दै मन्त्रालयले उच्च शिक्षाका सर्वोेत्कृष्ट विद्यार्थीलाई प्रदान गर्ने पदक यस वर्ष पनि दिन नसक्ने जनाएको छ । मन्त्रालयले उत्कृट विद्यार्थीलाई प्रमाणपत्र मात्रै दिने भएको छ । गत वर्षको नौ सय ६२ जनालाई पदक दिन बाँकी छ । 

यस वर्षको पनि सूचना आव्हान गरिसकेको छ । मन्त्रालयले छात्र नेपाल विद्या भूषण, नेपाल छात्रा विद्यापदक र नेपाल प्रविधि विद्या भूषण प्रदान गर्दै आएको थियो । मन्त्रालयले विद्या भूषण सम्बन्धी निर्देशिका परिमार्जन गरेर प्रमाणपत्र मात्रै दिने व्यवस्था गर्नै लागेको हो । निर्देशिका संशोधनको लागि सहमति लिन कानुन मन्त्रालयमा पठाइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले पीएचडी होल्डरलाई पनि प्रमाणपत्र मात्रै दिने भएको छ । 

प्रतिक्रिया