Edukhabar
सोमबार, १५ पुस २०८१
विचार / विमर्श

गणित शिक्षण सिकाइमा अन्यौल

विद्यार्थीले सिक्नुपर्ने कुराहरूलाई वैकल्पिक तरिका प्रयोग गरेर, सामग्रीहरू तथा अन्य ठोस अर्धठोस तथा संकेतहरू प्रयोग गरेर क्रियाकलापहरु सञ्चालन गरी शिक्षकले शिक्षण सिकाइ गर्न नसक्नु पनि एउटा महत्वपूर्ण कारण हो ।

शनिबार, ०८ भदौ २०८१

कक्षा १० को अन्तिम परीक्षा एसईई २०८० को नतिजामा राष्ट्रिय परीक्षा बोर्डले केही फरक प्रकारका विषयवस्तुहरू अथवा परिसूचकहरू स्थापित गरेको छ । जस्तै कुनै पनि विषयको लिखित परीक्षामा कम्तिमा ३५% अर्थात् पास अङ्क नल्याएको अवस्थामा उक्त विषयलाई नन ग्रेडिङ अथवा एनजी दिने । यसरी हेर्दा विद्यालय तहका विभिन्न विषयहरूमा विद्यार्थीको नतिजामा विविधता आएको देखिन्छ । गत वर्षहरूका नतिजामा आन्तरिक मूल्याङ्कन र अन्तिम परीक्षाको अङ्कलाई एकै ठाउँमा राखेर समष्टिमा ग्रेडिङ गरेर तयार गरिन्थ्यो । कुनै पनि विषयमा न्यूनतम अङ्कहरूको व्यवस्था समेत गरिएको थिएन  अहिले सम्पूर्ण विषयमा २५ प्रतिशत आन्तरिक मूल्याङ्कनको व्यवस्था गरिएको छ । यसको साथसाथै विद्यार्थीले अन्तिम लिखित परीक्षामा पनि ७५ अंकको ३५ प्रतिशत अङ्क अनिवार्य प्राप्त नगरेको खण्डमा उक्त विद्यार्थीलाई अनुत्तीर्णको सूचीमा राखेको छ । जसले गर्दा अहिले विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा यसका बारेमा धेरै टिका टिप्पणी भएको पाइन्छ । एकातिर नीतिगत रुपमा पहिले नै निर्धारण नगर्नु र दोस्रो परीक्षाको मुखमा मात्र यस्ता कुराहरूलाई सञ्चार माध्यममा ल्याउनाले जनमानसमा विरोधाभास फैलिएको पाइन्छ ।

गत चैतमा भएको परीक्षाको असारमा प्रकाशित नतिजामा ५२ प्रतिशत जति विद्यार्थी नन ग्रेडेड भएका छन् । नतिजा अनुसार सबैभन्दा धेरै नन ग्रेडिङ सूचीमा परेका विद्यार्थी अनिवार्य गणितमा रहेका छन् । यसमा एक लाख ७७ हजार नौ सय ८५ जना विद्यार्थी अनिवार्य गणित विषयमा नन ग्रेडड भएका छन् । ऐच्छिक गणितमा ६९  हजार चार सय १६ विद्यार्थी नन ग्रेडेड भएका छन् । यसरी हेर्दा सबैभन्दा धेरै नन ग्रेडेड विद्यार्थीले गणित विषयमा मौका परीक्षा दिनुपर्ने अवस्था आयो  ।

गणित विषयको नतिजालाई विश्लेषण गर्दा केही कुराहरुलाई विशेष ध्यान दिनुपर्ने देखिन्छ

नीतिगत तहमा

संविधान अनुसार माध्यमिक शिक्षा स्थानीय तहको क्षेत्राधिकार भित्र छ । परीक्षालाई बढी महत्व दिनुको कारणले यसले नेपालका विभिन्न भौगोलिक सांस्कृतिक आर्थिक तथा सामाजिक विविधता लाई सम्बोधन गर्नको लागि केन्द्रीकृत प्रणालीले पक्कै पनि राम्रो गरेको देखिँदैन । संविधान सम्मत हेर्दा खेरि उक्त परीक्षालाई राष्ट्रिय परीक्षा बोर्डले ठूलो तामझामका साथ सञ्चालन गर्न आवश्यक नदेखिनु र दोस्रो विभिन्न परिवेश भूगोल तथा सुविधाहरूबाट वञ्चित भएका विद्यार्थीले समेत समान प्रकृतिका प्रश्नहरुबाट समान ढङ्गबाट मूल्याङ्कन गर्नुपर्ने अवस्थाले विद्यार्थीमा एक किसिमको विविधता आएको पाइन्छ । तसर्थ यथासक्य छिटो विद्यालय शिक्षालाई पुन संरचित गरी विभिन्न परीक्षा मूल्याङ्कन तथा अन्य क्रियाकलापहरू सञ्चालन गर्न अति आवश्यक देखिन्छ । नीतिगत रुपमा कुनै पनि प्रदेश तथा स्थानीय तहको क्षेत्राधिकार तथा अधिकारलाई प्रत्यायोजन गरी शिक्षामा माध्यमिक तह उत्तीर्ण परीक्षालाई सञ्चालन गर्न जरुरी छ । यसो भएको खण्डमा सिक्ने र सिकाउनेको बीचमा तारतम्यता मिल्ने र विद्यार्थीलाई आवश्यकता अनुसार आफ्नो सन्दर्भ अथवा परिवेश अनुसारका समस्याहरू सोधेर परीक्षण गर्न सकेको खण्डमा केही सुधार हुन सक्छ ।  

गणित तथा गणितीय विषयवस्तुलाई विद्यार्थीको आफ्नो क्षमता दक्षता तथा आवश्यकताका आधारमा छनोट गरी आफ्नो सिकाइमा संगठित गर्न नसक्नु समस्याको रुपमा रहेको छ ।

अहिले गणित विषयलाई व्यवहारसँग जोडेर व्यवहारिक रुपमा कसरी शिक्षण सिकाइ र मूल्याङ्कन गर्न सकिन्छ भन्ने उद्देश्यले परीक्षाको ढाँचालाई अथवा प्रश्नहरुलाई विभिन्न तहमा विभाजन गर्ने गरिएको छ । जसले गर्दा विद्यार्थीमा गणितको व्यवहारिक सम्बन्धलाई उजागर गर्ने सीपको विकास हुने कुराको अपेक्षा गरिएको थियो । प्रायजसो गणितका विषयवस्तुहरु सन्दर्भमा र वास्तविक सामाजिक तथा सांस्कृतिक व्यवहारिक समस्याहरुलाई हल गर्ने  गरी तय गरिएको छ । तर केन्द्रीकृत रुपमा   परीक्षाका लागि प्रश्नहरू निर्माण गर्दा भौगोलिक तथा सांस्कृतिक विविधतालाई सम्बोधन गर्न सकिएको छैन । एउटा भूगोलको मानिसले अर्को भूगोलको मानिसको रितिरिवाज तथा परम्परालाई तथा व्यावहारिकतालाई बुझ्न कठिनाइ पर्ने देखिन्छ । फलस्वरूप त्यस्ता खालका समस्याहरुलाई विद्यार्थीले गणितीय रुपमा प्रस्तुत गर्न असमर्थ भई समाधान गर्न नसकेको अवस्था छ । तसर्थ नीतिगत रुपमा हेर्दा कक्षा १० को अन्तिम परीक्षालाई संविधानमा तय गरे अनुसार स्थानीय तह वा प्रदेश तहबाट सञ्चालन तथा व्यवस्थापन गर्न सकेको खण्डमा ती कुराहरुलाई केही हदसम्म सम्बोधन गर्न सकिन्छ ।

गणितीय विषयवस्तुहरू

विद्यालय शिक्षामा भएको प्रावधान अनुसार हेर्दा गणितलाई विशेषगरी तीनवटा भागमा वर्गीकरण गरिएको छ । पहिलो कक्षा नौ र १० को लागि अनिवार्य गणितको रुपमा रहेको छ । अतिरिक्त गणितलाई दोश्रो ऐच्छिक दोस्रोको रूपमा राखिएको छ।  जसले विद्यार्थीहरुलाई उच्च तहमा गएर विज्ञान तथा गणितका विषय वस्तुहरू अध्ययन गर्नका लागि सहज र सहयोगी हुने उद्देश्य राखिएको छ । र तेस्रो पछि गएर उच्च तहमा गएर व्यवसाय व्यवस्थापन तथा अर्थशास्त्र लगायतका विषयवस्तुहरुमा आफ्नो पढाइलाई अगाडि बढाउन चाहनेहरूका लागि व्यावसायिक गणित गरी तीनवटा रूपमा गणितलाई स्थापित गरिएको छ ।

यसरी हेर्दा गणित कुनै पनि विषय विधा तथा क्षेत्रको लागि अत्यावश्यक उपयोगी विषय भएको देखिन्छ । तथापि विद्यार्थीमा गणितका आधारभूत धारणाहरू तथा दैनिक व्यवहारिक तथा सामाजिक क्रियाकलापहरूमा भएका र रहेका गणितीय धारणाहरु विषयवस्तुहरु तथा ढाँचाहरुलाई  छुट्याएर तिनीहरूको समुचित प्रयोग तथा सोही अनुरुपको गणितीय धारणाको विकास अहिलेको आवश्यकता हो ।

गणित तथा गणितीय विषयवस्तुलाई विद्यार्थीको आफ्नो क्षमता दक्षता तथा आवश्यकताका आधारमा छनोट गरी आफ्नो सिकाइमा संगठित गर्न नसक्नु समस्याको रुपमा रहेको छ । जब विद्यालय तहमा गणितलाई आवश्यकता भन्दा बढी देखावटी वा गाह्रो बनाउने आधारमा मात्र विषय वस्तुहरूको छनोट गरिन्छ तब विद्यार्थीमा गणित प्रतिको धारणा तथा  झुकाव बिस्तारै कम हुँदै जान्छ ।  
विद्यार्थीको रुचिको क्षेत्र अनुसार अति आवश्यक विषयवस्तु आवश्यक विषयवस्तु तथा अन्य क्षेत्रको लागि सहयोगी हुने विषयवस्तु र विद्यार्थीलाई आवश्यक नपर्ने विषयवस्तुहरू गरी फरक फरक क्षेत्रमा छुट्याई आवश्यकता र रुचिलाई परिपूर्ति गर्ने गरी छनोट गर्नुपर्ने देखिन्छ । गणितीय विषयवस्तुहरू विद्यार्थीको दैनिक जीवनमा समाहित भएर आउन सक्छन् । विद्यार्थीमा उक्त विषयवस्तुको गहिरो धारणा विकास हुन्छ । गणितलाई  व्यवहारसँग र व्यवहारलाई गणितसँग जोड्न सक्दछ ।

विद्यालय तहको अनिवार्य गणितमा विद्यार्थीलाई आफ्नो दैनिक जीवनमा आवश्यक पर्ने विषयवस्तुहरू तथा तिनीहरूको प्रयोग र सम्बर्धन तथा व्यवहारमा भएका विभिन्न खालका गणितहरुलाई खोज्ने खालका विषयवस्तुहरू मात्र समावेश गर्न जरुरी छ । 

गणित पाठ्यक्रमले तय गरेका विधिहरूलाई कक्षा कोठामा सही रूपमा प्रयोग गर्न सकेको खण्डमा पक्कै पनि विद्यार्थीले गणितीय विषयवस्तुहरूलाई बुझ्न कठिनाइ पर्दैन । 

पाठ्यक्रम विकास केन्द्रले गणित विषयको पाठ्यक्रम बनाउँदा  विशुद्ध गणितीय विषयवस्तु भन्दा पनि व्यवहारिक यथार्थपरक तथा सामाजिक र सांस्कृतिक एवं रैथाने विविधताहरुलाई सम्बोधन गर्ने खालका विषयवस्तुहरुलाई समावेश गर्ने तर्फ ध्यान दिनुपर्यो । गणितलाई दैनिक जीवनमा कसरी प्रयोग गर्ने ? भन्ने कुराको विशेष ध्यान दिइ पाठ्यक्रम तथा सन्दर्भ सामग्रीहरू निर्माण गर्न सकेको खण्डमा गणित विषयमा अहिलेको जस्तो धेरै नन ग्रेडेड हुने छैनन् । 

अहिले बजारमा भएका विभिन्न पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीहरूले गणितलाई व्यवहारमा जोड्न भन्दा पनि उपल्लो तहका गणितीय विषयवस्तुहरुलाई जस्ताको तस्तै रुपमा तल्लो तहमा कसरी स्थापित गर्ने भन्ने कुरामा जोड दिएको देखिन्छ । पाठ्यक्रम विकास केन्द्रले तय गरेका विषयवस्तु तथा सिकाइ उपलब्धिहरूलाई मात्र ध्यानमा दिएर सन्दर्भ सामग्री तथा पाठ्यपुस्तकहरू प्रकाशित गर्न सकेको खण्डमा विद्यार्थीमा एक खालको व्यावहारिक ज्ञानको विकास हुनका साथै गणितका विभिन्न विधाहरु तथा ढाँचाहरुमा अभ्यस्त बनाउन सकिन्छ । गणित विषयका विज्ञहरूले विभिन्न समय परिवेश तथा परिदृश्यमा प्रयोग भएका गणित तथा प्रविधिहरूलाई आफ्नो शिक्षण सिकाइ क्रियाकलापमा तथा सामग्री निर्माणमा भरपुर मात्रामा प्रयोग गर्न सकेमा पनि विद्यार्थीमा सिकाइ कौशल बढेर जानेछ । 

शिक्षण सिकाइ विधिहरू

पाठ्यक्रमले तय गरेका उपलब्धिहरु विद्यार्थीले हासिल गर्नको लागि सबैभन्दा महत्वपूर्ण विषय भनेको शिक्षण विधि हो ।  विद्यार्थीको रुचि तिनीहरूको क्षमता तथा दक्षतालाई ध्यानमा राखेर विधि छनोट गरी शिक्षण सिकाइ गर्न सकेमा पक्कै पनि विद्यार्थीले गणितले अथवा पाठ्यक्रमले तय गरेका सिकाइ उपलब्धिहरु हासिल गर्न सक्दछन् । यसका लागि शिक्षकहरूले विद्यार्थीको क्षमता तथा आवश्यकतालाई परिपूर्ति गर्नको लागि कस्ता खालका विधि तथा रणनीतिहरू प्रयोग गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । गणित पाठ्यक्रमले तय गरेका विधिहरूलाई कक्षा कोठामा सही रूपमा प्रयोग गर्न सकेको खण्डमा पक्कै पनि विद्यार्थीले गणितीय विषयवस्तुहरूलाई बुझ्न कठिनाइ पर्दैन । 

विद्यार्थीलाई गणितका विषयवस्तुहरुमा सोच्न तर्क गर्न तथा विकल्पहरू दिनुको सट्टा तिनीहरूलाई   सूत्रहरू सम्झाउने तथा घोकाउने र गणितीय समस्या समाधानका विधिहरूका चरणहरूलाई स्मरण गराउनेलाई बढी जोड दिएको देखिन्छ ।

कुन पाठको लागि कुन विधि बढी उपयुक्त हुन्छ अर्थात् भूगोल कक्षा कोठाको अवस्था विद्यार्थी संख्या र विद्यार्थीको क्षमताका आधारमा उपयुक्त विधि छनौट गर्नु शिक्षकको दायित्व हुन्छ । अहिलेको परिवेशमा हाम्रा कक्षा कोठाहरूमा शिक्षण सिकाइको दौरानमा  ओन साइज फिट अल रणनीतिलाई व्यापक रुपमा प्रयोग गरेको पाइन्छ । जसले गर्दा विषयवस्तुमा दक्ष भएको व्यक्तिले गणितीय अवधारणालाई सजिलै बुझ्न सक्ने र गणितीय  क्षमताका हिसाबले गणितीय विषयवस्तुमा कमजोर भएकाहरुले झनै गाह्रो भएर जाने विद्यार्थीको सिकाइको बीचमा अझै ठूलो खाडल बनेको देखिन्छ । अझै पनि गणित विषयलाई विद्यार्थीले शिक्षकले कालोपाटी अथवा सेतोपाटीमा समाधान गरेका समस्यालाई जस्ताको तस्तै कपीमा उतार्नुलाई नै महत्वपूर्ण मानेको देखिन्छ । गणितका विविध व्यवहारिक समस्याहरुलाई प्रयोग नगरिकन चक टक विधि नै बढी प्रयोगमा छ । विद्यार्थीले सिक्नुपर्ने कुराहरूलाई वैकल्पिक तरिका प्रयोग गरेर, सामग्रीहरू तथा अन्य ठोस अर्धठोस तथा संकेतहरू प्रयोग गरेर क्रियाकलापहरु सञ्चालन गरी शिक्षकले शिक्षण सिकाइ गर्न नसक्नु पनि एउटा महत्वपूर्ण कारण हो । 

गणित शिक्षण सिकाइका लागि नयाँ नयाँ विधि तथा प्रविधिहरू विकास भएका छन् । ती विधि तथा प्रविधिहरूलाई केही हदसम्म शिक्षकहरूले गणित शिक्षामा प्रयोग गरेको पाइन्छ । तथापि उक्त विधि, प्रविधिले विद्यार्थीको सिकाइमा कति प्रभाव पारेको छ अर्थात् शिक्षकलाई अथवा विद्यार्थीलाई अथवा दुवैलाई शिक्षण सिकाइका लागि सहजता अथवा उपयोगि भएको छ छैन ? त्यो कुरा जान्नु र त्यसलाई अनुसरण गर्नु अथवा रूपान्तरण गर्नु अहिले महत्वपूर्ण भएको छ । 

यसका साथै गणित शिक्षकले विद्यार्थीका लागि गणितीय सामग्रीहरू तथा विषयवस्तुहरूको बारेमा रचनात्मक रुपमा सोच्न लगाएर कक्षा कोठामा विभिन्न खालका क्रियाकलापहरु गराएर वास्तविक गणित शिक्षामा आधारित रहेर शिक्षण सिकाइ गर्न सकेको अवस्था देखिँदैन । विद्यार्थीलाई गणितका विषयवस्तुहरुमा सोच्न तर्क गर्न तथा विकल्पहरू दिनुको सट्टा तिनीहरूलाई   सूत्रहरू सम्झाउने तथा घोकाउने र गणितीय समस्या समाधानका विधिहरूका चरणहरूलाई स्मरण गराउनेलाई बढी जोड दिएको देखिन्छ । विद्यार्थीमा समालोचनात्मक तथा सिर्जनात्मक सोचाइको विकास गर्न सकेको खण्डमा सन्दर्भमा आधारित विषयवस्तुहरूबाट सोधिएका प्रश्नहरूको विद्यार्थील्े समाधान गर्न सक्दछन् । 

अहिले शहरी क्षेत्रका केही शिक्षकहरूले गणित सिकाइका लागि विभिन्न प्रकारका प्रविधिहरू प्रयोग गरेको पाइन्छ । उक्त प्रविधिले गणितमा के कस्तो प्रभाव परेको छ त्यो कुरालाई हेर्दा उक्त शिक्षण सिकाइ प्रक्रियालाई विद्यार्थीको मूल्याङ्कनमा कसरी जोड्न सकिएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । विद्यार्थीले आफूले सिकेको सीपलाई मूल्याङ्कनसँग जोडेर प्रस्तुत गर्न सक्ने खालको मूल्याङ्कनका विधिहरु हामीले प्रयोग गर्न सकेका छैनौं ।

मूल्याङ्कन तथा यसको अभ्यास

विद्यार्थी मूल्याङ्कन भनेको पाठ्यक्रमले तय गरेका न्यूनतम सिकाइ उपलब्धिहरू विद्यार्थीले कति हासिल गरे भन्ने कुराको लेखाजोखा गर्ने विधि हो । तर हाम्रो परिवेशमा मूल्याङ्कनलाई अलि फरक ढंगले प्रयोग भएको देखिन्छ । एक त कुनै एक परिवेशमा सुविधा सम्पन्न अवस्थामा शिक्षण सिकाइ गरिरहेको शिक्षकहरूले तयार गरेका आधारमा देशका भौगोलिक सामाजिक तथा आर्थिक र सांस्कृतिक विविधताले दूरदराजमा रहेका विद्यार्थीले पनि सामना गर्नुपर्ने छ भने दोस्रो शिक्षकहरुले प्रश्नपत्र निर्माण गर्दाखेरि विद्यार्थीको तह पाठ्यक्रमले तय गरेको न्यूनतम सिकाइ उपलब्धि भन्दा पनि पाठ्यक्रममा भएको उच्चतम सिकाइ उपलब्धिलाई बढी स्थान दिएर प्रश्नपत्रहरू निर्माण गरेको पाइन्छ । फलस्वरूप उक्त परीक्षामा दूरदराजमा रहेका विद्यार्थीले विषयवस्तुका साथमा वास्तविक सन्दर्भ नबुझेर पनि समाधान गर्न नसकेको देखिन्छ ।

विश्वविद्यालयले आफ्ना दीक्षितहरूबाट दैनिक रूपमा सञ्चालन गरेका शिक्षण सिकाइ क्रियाकलापहरूको प्रभावकारिता र त्यसको विश्वसनीयता एवं  वैधतालाई अंगीकार गरी समय सापेक्ष अवलोकन तथा मूल्याङ्कन गरी आवश्यकता अनुसार परिमार्जन गर्दै लानुपर्ने देखिन्छ । 

विद्यार्थीको मूल्याङ्कनका लागि हामीले केन्द्रीकृत प्रणालीको साटो संविधानले तय गरे अनुसार प्रदेश स्तरमा तथा स्थानीय स्तरमा नै शिक्षण सिकाइका विधिहरूलाई अवलम्बन र रैथाने र इण्डिजिनियस गणितहरूको प्रयोग गरेर मूल्याङ्कनका साधनहरू निर्माण गरेको खण्डमा पक्कै पनि अहिलेको समस्याबाट केही छुटकारा पाउन सकिन्छ । 

विश्वविद्यालयको पाठ्यक्रम तथा शिक्षक तालिमको प्रभावकारिता 

अहिलेको परिवेशमा गणित विषयमा बहुमत विद्यार्थी नन ग्रेडेड हुनु भनेको एउटा सिङ्गो देश देशको शिक्षा पद्धति विश्वविद्यालयहरूका कार्यक्रमहरुको प्रभावकारिता पाठ्यक्रमहरूको सान्दर्भिकता तथा शिक्षक तालिमको पनि मूल्याङ्कन हो भन्ने कुरा नकार्न सकिँदैन । किन भने अहिले विद्यालय तहका कक्षा १ देखि १२ सम्मका अधिकांश शिक्षकहरू त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय अन्तर्गत स्नातक तह र स्नातकोत्तर तह पार गरेका विद्यार्थी रहेका छन् । यसरी हेर्दा विश्वविद्यालयमा अध्ययन गरेको विषयवस्तुहरू र शिक्षण सिकाइमा प्रयोग गर्नुपर्ने विधिहरू तथा रणनीतिहरूको  बिचमा नभएको भेटिन्छ । विश्वविद्यालयका दीक्षितहरूबाट सञ्चालित विद्यालय शिक्षा कार्यक्रममा यति धेरै मात्रामा कमी कमजोरी तथा विद्यार्थी नन ग्रेडेड हुनुले पक्कै पनि विश्वविद्यालय थप सजग हुनुपर्ने देखिन्छ । 

गणित विषयमा विद्यालय तह तथा विश्वविद्यालय तहमा भएका विषयवस्तुहरू विधिहरू एवं कक्षा कोठामा प्रयोग गर्नको लागि सिकाइने शिक्षण सिकाइका सीपहरूको बीचको समायोजनमा  केही नमिलेको आभास हुन्छ ।  साथै विश्वविद्यालयले आफ्ना दीक्षितहरूबाट दैनिक रूपमा सञ्चालन गरेका शिक्षण सिकाइ क्रियाकलापहरूको प्रभावकारिता र त्यसको विश्वसनीयता एवं  वैधतालाई अंगीकार गरी समय सापेक्ष अवलोकन तथा मूल्याङ्कन गरी आवश्यकता अनुसार परिमार्जन गर्दै लानुपर्ने देखिन्छ । 

सामुदायिक विद्यालयका शिक्षकहरू मध्ये  ९० प्रतिशत भन्दा माथिको संख्यामा पूर्ण रुपमा शिक्षण सिकाइका लागि प्रयोग हुने शिक्षक तालीम प्राप्त भएको सरकारी तथ्याँक छ । तर, उक्त तालीमलाई कक्षा कोठा शिक्षण सम्म प्रभावकारी तरिकाले  पुर्याउन नसकिएको देखिन्छ । शिक्षण सिकाइका लागि प्रदान गरिने तालीम विद्यार्थीको सिकाइलाई भन्दा शिक्षकको पेशागत  बढुवाका लागि प्रभावकारी भएको हो कि जस्तो पनि देखिन्छ ।

निश्कर्ष

गणित विषयमा भएको विद्यार्थीको  अनुतीर्ण संख्यालाई हेर्दा पक्कै पनि यससँग सम्बन्ध राख्ने विभिन्न सरोकारवालाले एकपटक ठण्डा दिमागले सोच्नुपर्ने अवस्था आएको छ । गणित आवद्ध विभिन्न संघ संस्थाहरु एवं संगठनहरुले गणितमा भएको विभिन्न किसिमका कमी कमजोरीहरुलाई उजागर गरी तिनीहरुमा भएका राम्रा कुराहरुलाई अनुसरण र सुधार गर्नुपर्ने कुराहरूलाई सुधार गरी पाठ्यक्रम पाठ्यपुस्तक तथा शिक्षण सिकाइ क्रियाकलाप गर्न जरुरी छ । विभिन्न अध्ययन अनुसन्धान गरी त्यसबाट आएका  निष्कर्षहरूलाई शिक्षण सिकाइमा प्रयोग गरेर गणित शिक्षणमा भएको कमी कमजोरीलाई कम गर्न सकिन्छ ।

यसका लागि सरकारले नीतिगत रुपमा गणित विज्ञान जस्ता विषयका लागि दक्ष शिक्षक नियुक्तिमा कञ्जुस्याईं नगरि सेवा सुविधाका साथमा एक वा एक भन्दा बढी स्थानमा शिक्षण सिकाइ कार्यमा संलग्न गराएर गणित प्रतिको नकारात्मक धारणालाई हटाउने तर्फ कार्य गर्नु जरुरी छ ।

सानोठिमी क्याम्पस भक्तपुरमा गणित विषय प्राध्यापन गर्ने आचार्यका यी विचार निजी हुन् । 

प्रतिक्रिया