Edukhabar
आइतबार, ३० भदौ २०८१
खबर/फिचर

विद्यार्थीको घट्दो रुची, भर्ना क्षमता भन्दा न्यून संख्या

स्वास्थ्य तर्फ एचए, अप्थाल्मिक, मिडवाइफ्री, नर्सिङ, फार्मेसीमा मात्रै कोटा भन्दा बढी विद्यार्थीले पढ्न रुची देखाएका छन् भने इञ्जिनियरिङ र कृषि तर्फ विद्यार्थीको रुची न्यून छ ।

विहीबार, ०६ भदौ २०८१

काठमाडौं - प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी)बाट सम्बन्धन लिएको एक कलेजमा एग्रिकल्चर इञ्जिनियरिङको भर्ना क्षमता ४८ जनाको छ । तर, दुई जना विद्यार्थीले मात्रै प्रवेश परीक्षा दिएका छन् । कलेजमा ४६ जनाको कोटा खाली छ । त्यस्तै रेफ्रिजेनेरशन एण्ड एसीको पढाई हुने अर्को कलेजमा पनि ४८ जना विद्यार्थीको कोटा छ । त्यहाँ पनि सात जना मात्रै विद्यार्थीले पढ्न रुची देखाएका छन् । 

सीटीइभीटीबाट सम्बन्धन लिने कलेज धेरै भए पनि विद्यार्थी नभएको अर्को विषय हो – आर्किटेक इञ्जिनियरिङ । यो विषयमा चार सय ५६ जनाले पढ्न सकिने गरी कलेजलाई सम्बन्धन दिइएको छ । तर, यसपालीको शैक्षिक सत्रमा २० जनाले मात्रै रुची देखाएर प्रवेश परीक्षा दिए । सीटीभीटीले लिएको प्रवेश परीक्षामा १३ जना छात्र र सात जना छात्राले परीक्षा दिएका थिए । सीटीभीटीका अनुसार आर्किटेक इञ्जिनिरिङमा देशभर चार सय ३६ सीट खाली छ । सीटीभीटीको सबैभन्दा बढी भर्ना क्षमता भएको विषय हो–सिभिल इञ्जिनियरिङ । १० हजार तीन सय ६२ जना विद्यार्थी भर्ना क्षमता हुने गरी संस्था सञ्चालनमा छन् । तर, यसपाली भर्ना क्षमताको १९ प्रतिशत अर्थात् एक हजार नौ सय ६७ जनाले मात्रै प्रवेश परीक्षा दिएका थिए ।  

इञ्जिनियरिङमा जस्तै कृषिका विषय पढ्न पनि विद्यार्थीको रुची कम छ । एग्रिकल्चर एनिमल र प्लाण्ट साइन्स पढ्ने विद्यार्थी विगतको भन्दा झन् कम भएको सीटीइभीटीले जनाएको छ । एनिमल साइन्सको देशभर छ हजार ८० भर्ना क्षमता छ तर, यसपाली पाँच सय ९६ जनाले मात्रै पढ्ने इच्छा देखाएर प्रवेश परीक्षा दिए । पाँच हजार चार सय ८४ जनाको कोटा खाली छ । 

एनिमल साइन्सको हालत पनि यस्तै छ । तीन हजार छ सय भर्ना क्षमता भएको एनिमल साइन्समा सात सय ८६ जनाले मात्रै पढ्न रुची देखाएका छन् ।

सीटीइभीटीका अनुसार नर्सिङ, मिडवाइफी, फार्मेसीमा मात्रै भर्ना क्षमता भन्दा बढी विद्यार्थीको चाप देखिएको छ । नर्सिङमा दुई हजार एक सय ६० भर्ना क्षमता रहेकोमा १६ हजार तीन सय २१ जनाले नर्सिङ पढ्न चाहेर प्रवेश परीक्षा दिएका थिए । नर्सिङ पढ्न चाहने चार सय ४५ छात्र छन् । 

त्यस्तै फार्मेसीमा  तीन हजार दुई सय ४० भर्ना क्षमता रहेकोमा तीन हजार नौ सय १८ ले प्रवेश परीक्षा दिएका थिए । स्वास्थ्य तर्फकै अप्थाल्मिक पढ्न चाहने पनि भर्ना क्षमता भन्दा बढी नै छन् । एचएमा पनि भर्ना क्षमता भन्दा बढी विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए । ५ हजार तीन सय ८२ विद्यार्थीको भर्ना क्षमता भएकोमा ६ हजार ६ सय ६५ जनाले परीक्षा दिएका थिए । 

सीटीइभीटीका सदस्य सचिव महेश भट्टराईले स्वास्थ्य बाहेक अन्य विषयमा विद्यार्थीको रुची न्यून रहेको बताए ।

‘स्वास्थ्यमा बाहेक अरु विषयमा विद्यार्थी चार्म देखिएन’ उनले भने । 

कक्षा १० सकेपछि विद्यार्थीले दुई वटा क्षेत्र रोज्न पाउँछन् । एउटा सीटीइभीटीको प्राविधिक धार र अर्को ११ र १२ को साधारण धार । साधारण तर्फको पढाई दुई वर्षमा सकिन्छ भने सीटीइभीटीको डिप्लोमा कोर्ष पुरा गर्न तीन वर्ष लाग्छ । साधारण भन्दा प्राविधिमा लाग्ने खर्च दोब्बर भन्दा बढी हुन्छ । सीटीइभीटी अन्तर्गतको शिक्षण संस्थामा ४९ हजार आठ सय २० जनाको भर्ना क्षमता रहेको छ । स्वास्थ्य तर्फको पाँच विषयमा सात सय गुनासम्म विद्यार्थी प्रवेश परीक्षा दिदाँ पनि भर्ना क्षमताको ८० प्रतिशत मात्रै विद्यार्थीले प्राविधिक विषय पढ्न रुची देखाएका छन् । 

प्रतिक्रिया