Edukhabar
आइतबार, ३० भदौ २०८१
खबर/फिचर

सुरक्षा माग्दै शिक्षा मन्त्रीको हारगुहार, धम्क्याउने व्यक्ति गृह मन्त्रीसँगै !

विश्वविद्यालयका पदाधिकारीलाई धम्क्याउने कांग्रेस महाधिवेशन प्रतिनिधि योगेन्द्र रावलले गृह मन्त्रीसंगै उभिएको फोटो फेसबुकमा हालेका छन् । यस अघि प्रेम चलाउने माथिको आक्रमणमा संलग्न भएको भन्दै अलदालतले कैद र जरिवाना हुने आदेश गरे पनि बालकृष्ण खाँण गृहमन्त्री भएको बेला रावलको मुद्धा फिर्ता भएको थियो ।

बुधबार, ०५ भदौ २०८१

काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बुधबार बिहानै सामाजिक सञ्जालमा लेखिन् ‘त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृह मन्त्रीसँग जोडदार माग गर्दछु ।’

क्याबिनेट मन्त्रीले नै गृह मन्त्रीसँग सामाजिक सञ्जाल मार्फत सुरक्षा माग्नु पर्ने अवस्थाले विश्वविद्यालयमा गुण्डाराज मौलाएको प्रष्ट देखिएको छ । विद्यार्थी नेताहरुले विश्वविद्यालयका पदाधिकारी एवं प्राध्यापकहरुलाई धम्की दिएको कुरालाई सामाजिक सञ्जालबाटै गृहमन्त्रीसँग सुरक्षा माग गरेर मन्त्री भट्टराईले विश्वविद्यालय भित्रको गुण्डाराज छताछुल्ला पारेकी छन् । गृहमन्त्री रमेश  लेखकले विश्वविद्यालयका पदाधिकारीलाई धम्क्याउने व्यक्तिलाई संरक्षण गरेकै कारण शिक्षा मन्त्रीको यो अभिव्यक्ति सामाजिक सञ्जालमा आएको हुन सक्ने अनुमान गरिएको छ  । 

एउटै क्याबिनेटमा रहेका गृह मन्त्रीसँग समन्वय नगरी सामाजिक सञ्जालबाटै सुरक्षा माग गरेको भन्दै सामाजिक सञ्जालमा मन्त्री भट्टराईको आलोचना समेत भईरहेको छ । तर, शिक्षा मन्त्री भट्टराईले सामाजिक सञ्जालबाटै गृह मन्त्रीसंग सुरक्षा माग गरेको विषय आवेशमा नभई बारम्बर समन्वय गर्दा पनि सल्टाउन नसकेपछि लेख्नु परेको प्रष्ट्याएकी छिन् ।

अघिल्लो पोष्टलाई स्पष्ट पार्न भट्टराईले बुधबार बिहान अर्को पोष्टमा लेखेकी  छिन,‘यहाँहरुले मलाइ आवश्यक सुझाव दिनु भएकोमा आभारी छु । मैले सार्वजनिक अपिल गर्नु पर्ने भएर नै गरेको हो कुनै आवेगमा आएर लेखेको होइन । मैले ५ दिन देखि लगातार सम्पर्क र समन्वय गरेको कुरा समेत जानकारी गराउन चाहन्छु ।’ 

विश्वविद्यालयका पदाधिकारीलाई धम्क्याउने कांग्रेस महाधिवेशन प्रतिनिधि योगेन्द्र रावलले मंगलबार फेसबुकमा गृह मन्त्रीसंगै रहेको फोटो हालेका छन् । 

विवाद के हो ? 

समाजशास्त्रको विभागीय प्रमुख नियुक्तिको विषयलाई लिएर विश्वविद्यालयमा असुरक्षा बढेको हो । विभागीय प्रमुख युवराज लुइँटेलको कार्यकाल सकिए पछि अर्को विभागीय प्रमुख नियुक्ति गर्नु पर्ने थियो । विभागले बरिष्ठताको आधारमा पासाङ शेर्पा र दोस्रो बरियतामा रहेका टिकाराम गौतमलाई सिफारिस गरेको थियो ।  मानविकी तथा सामाजिक शास्त्र संकायकी डिन कुसुम शाक्यले कार्यविधि मिचेर बरिष्ठता भन्दा पनि दोस्रो बरियतामा रहेका गौतमलाई विभागीय प्रमुख बनाउन उपकुलपति कार्यालयमा सिफारिस गरेपछि विवाद झन् बढेको हो । आफ्नो पदावधि सकिन लाग्दा तत्कालिन उपकुलपति तीर्थ खनियाँले गौतमलाई तीन महिनाको लागि विभागीय प्रमुख बनाएका थिए । 

जब धर्मकान्त बास्कोटाले विश्वविद्यालय सम्हाले त्यस पछि ज्येष्ठताको आधारमा लुइटेललाई विभागीय प्रमुख बनाए । बाँस्कोटाको निर्णयको विरोधमा पनि तालबन्दी भएको थियो । तालबन्दीको बिरोध गर्दा उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने तिनै योगेन्द्र रावल समूह थियो । उनै रावल समूह अहिले गौतमलाई समाजशास्त्रको विभागीय प्रमुख बनाउनु पर्ने भन्दै पदाधिकारीलाई धम्की दिएको स्रोतले जनाएको छ । 

समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्ति विवादमा पदाधिकारीहरूलाई नै धम्की दिएपछि असुरक्षाका कारण उपकुलपति, रेक्टर र रजिष्ट्रार विश्वविदालय आउन सकेका छैनन् । उपकुलपति केशरजंग बराल डेंगी संक्रमण भएकाले गत सातादेखि नै बिदामा छन् भने 

रेक्टर खड्ग केसी र रजिष्ट्रार केदार रिजाल शुक्रबारदेखि नै कार्यालय आएका छैनन् । 

Screenshot_20240821-111328विश्वविद्यालयले शुक्रबार शिक्षा मन्त्रीलाई पत्राचार गर्दै विश्वविद्यालयले आवश्यक सुरक्षाको प्रबन्ध मिलाइदिन समेत आग्रह गरेको थियो । पत्रमा भनिएको छ, ‘गृह मन्त्रालय मार्फत उपकुलपति, शिक्षाध्यक्ष (रेक्टर), रजिष्ट्रारको निजी आवास र केन्द्रीय कार्यालय परिसरको सुरक्षार्थ आवश्यक प्रबन्धका लागि अनुरोध छ ।’

यस अघि सुरक्षा घेरामा लिइएको थियो अन्तरवार्ता 

रावल समूहकै कारण विश्वविद्यालय सेवा आयोगले लिएको प्राध्यापक बढुवाको अन्तरवर्ता समेत रोकिएको थियो । गौतमलाई प्राध्यपाक बनाउने र लुइटेललाई रोक्न उनीहरु लागि परेका थिए । तर, तत्कालिन शिक्षा मन्त्री सुमना श्रेष्ठले प्रहरी राखेर अन्तरवार्ता गराएकी थिइन । यति सम्म कि उपत्यका बाहिर रहेका लुइटेललाई एयरपोर्टबाटै स्कटिङ गरेर अन्तरवार्ता स्थलमा लानु परेको थियो । अन्तरवार्तामा रावल समूहले रुचाएको गौतम सहभागी नै भएनन् । 

को हुन रावल ? 

बाजुराका रावलले आफ्नो फेसबुक प्रोफाईलमा आफु कांग्रेस महाधिवेशन प्रतिनिधि भनेर लेखेका छन् । त्यस्तै  

फेसबुकमा उनले मंगलबार गृहमन्त्री रमेश लेखकसंगको फोटो हाल्दै लेखेका छन् ‘अझै हामी श्रावण–भाद्रको झरिमा छौँ, त्रिविको प्राङ्गणमा भ्यागुतोहरु ट्वार–ट्वार गर्नु अनौठौ होईन सबैको जय होस् ।’ 

फोटोमा गृहमन्त्री लेखकको वरीपरी उनी सहित अरु पनि छन् । रमेश लेखक गृहमन्त्री हुनासाथ बधाई दिन पुगेको फोटो पनि उनले सामाजिक सञ्जालमा हालेका छन् । यसबाट उनले गृह प्रशासन आफ्नो निकट रहेको शन्देश दिन चाहको देखिन्छ । 

rawal

रावल उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने दुई मुख्य आरोपी मध्ये एक हुन् । त्रिवि परिसरमा २० असोज २०७७ मा सामाज शास्त्रका उपप्राध्यापक चलाउने माथि मोटरसाइकलमा आएका समूहले रडले हानेर गम्भीर घाइते बनाएको थियो । प्रहरीले रावल र हरी आचार्यलाई उनीहरुकै योजनामा घटना भएको भन्दै मुलकी अपराध संहिताको दफा १८३ को ज्यान मार्ने उद्योग गरेको कसूरमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना गराउन माग दावी गरेको थियो । 

नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौं र नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयले ०७८ माघ ५ मा गृह मन्त्रालयमा मुद्दा फिर्ताको निवेदन समेत दिएको थियो । 

जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाले चलाउने माथि आक्रमण गर्ने रावल र आचार्यलाई दुई वर्ष कैद, २८ लाख १७ हजार ५ सय ५३ रुपैंया उपचार खर्च र जनही २० हजार जरिवाना हुने आदेश गरेको छ । तर, बालकृष्ण खाँण गृहमन्त्री भएको बेला यो मुद्धा फिर्ता भएको थियो । सर्वोच्च अदालतले मुद्धा फिर्ताको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । 

रावलले भने समाज शास्त्रको विभागीय प्रमुख नियुक्तिको विषयलाई लिएर दुई जना प्रहरी निरिक्षक सहित एक पटक बैठक बसे पनि धम्की दिने र असुरक्षाको अवस्था सिर्जना गर्ने काम आफुले नगरेको बताए । 
‘प्रेम चलाउनेलाई हतियार बनाएर मलाई फेरी फसाउन खोजिएको हो’ उनले भने,‘उच्च अदालतमा चाँडै हुने बहसलाई प्रभाव पार्न यसलाई गोटी बनाउन खोजिएको हो ।’ 

विभागीय प्रमुख नियुक्तिमा आफुले कसैलाई धम्की नदिएको उनले बताए । विश्वविद्यालयले गौतमलाई विभागीय प्रमुख हुनबाट रोक्न त्रिचन्द्रबाट शेर्पालाई ल्याएको उनको आरोप छ ।

‘नियत ठिक नभएको हामीले प्रश्न उठाएको चाँहि हो,’ उनले भने ।

प्रतिक्रिया