Edukhabar
आइतबार, ३० भदौ २०८१
गतिविधि

कार्यरत शिक्षकलाई एक वर्षे प्रोफेसनल डिग्री कोर्स

अनलाइनबाटै कक्षा लिन मिल्ने भएकोले यो कार्यक्रम प्रभावकारी मानिन्छ ।

आइतबार, ०२ भदौ २०८१

काठमाडौँ–शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक विद्यालयमा कार्यरत शिक्षकलाई प्रोफेसनल डिग्री कोर्समा अनुदान दिने कार्यक्रम यस वर्ष पनि निरन्तरता दिने भएको छ । 

खुला विश्वविद्यालयसँगको सहकार्यमा मन्त्रालयले कार्यरत शिक्षकलाई एक वर्षे बि.एड. कार्यक्रमलाई  कार्यविधि बनाएर व्यवस्थित गर्ने योजना अघि सारेको छ । 

सरकारको अनुदानमा माध्यमिक तहमा पढाइरहेका शिक्षकले प्रोफेसनल डिग्री कोर्सको अवसर पाइरहेका छन् । शिक्षा संकाय नपढेका प्राविधिक धारका, गणित, विज्ञान विषय लगायतका शिक्षकलाई लक्षित गरेर यो कार्यक्रम सरकारको अनुदानमा खुला विश्वविद्यालयमा एक वर्षे वि.एड कक्षा सञ्चालन भइरहेको छ । अनलाइनबाटै कक्षा लिन मिल्ने भएकोले यो कार्यक्रम प्रभावकारी मानिन्छ । 

मन्त्रालयले माध्यमिक तहका शिक्षकका लागि खुला विश्वविद्यालय सहकार्यमा एक वर्षे बि.एड (प्रोफेसनल डिग्री कोर्स) सञ्चालन गर्न ६० लाख अनुदान दिने योजना राखेको छ । यो बजेटबाट शिक्षा संकाय नपढेका शिक्षकले कार्यरत स्थानबाटै अनलाइनमा एक वर्षे बि.एड. गराउन लागेको हो । यो कार्यक्रम विश्वविद्यालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्र बिच सम्झौता भएर सञ्चालन हुँदै आइरहेको छ । तर, यसलाई व्यवस्थित गर्न छटटै कार्यविधि छैन । यसपालि कार्यविधि बनाएर व्यवस्थित गर्न लागेको केन्द्रका महानिर्देशक दिपक शर्माले बताए । ‘यो कार्यरत शिक्षकको लागि तालिम नै हो,’उनले भने,‘यसलाई हामीले थप व्यवस्थित बनाउन खोजेका छौ ।’ 

कार्यविधिको आधारमा एक वर्षे बि.एड.मा सहभागी हुने शिक्षक छनोट गर्ने योजना बनाएको केन्द्रले जनाएको छ । 

केन्द्रले अघिल्लो पनि विश्वविद्यालयसँग सम्झौता गरेर यो कार्यक्रम सञ्चालन गरेको थियो । तर, विश्वविद्यालयले सम्झौता अनुसार बजेट पाउन सकेको छैन । यसपालि गत वर्षको समेत रकम दिने गरी बजेट व्यवस्थापन गरेको केन्द्रले जनाएको छ । 

 

प्रतिक्रिया