Edukhabar
आइतबार, ०९ मंसिर २०८१
गतिविधि

मेगा किचन पहिलो चरणमा सात स्थानीय तहमा

एडुखबरले गरेको अध्ययनले भने मेगा किचन भन्दा स्थानीय खाद्य पदार्थ विद्यालयमै पकाएर बालबालिकालाई खुवाउने तरिका प्रभावकारी हुने देखाएको छ ।

शुक्रबार, ३२ साउन २०८१

काठमाडौं - कक्षा पाँच सम्मका विद्यार्थीलाई उपलब्ध गराउने दिवा खाजालाई व्यवस्थित गर्न सरकारले यसवर्ष सातै प्रदेशको कम्तीमा एउटा÷एउटा स्थानीय तहमा मेगा किचनको अवधारणा लागू गर्ने भएको छ । दिवा खाजा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन भन्दै सरकारले चालु बर्षको बजेट मार्फत् मेगा किचनको अवधारणा अघि सारेको हो । 

स्थानीय तह भित्रका सबै विद्यालयका विद्यार्थीलाई एकै ठाउँमा एउटै खाजा बनाएर खुवाउने तरिकालाई मेगा किचनको नाम दिइएको छ । उक्त अवधारणा कार्यान्वयन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विस्तृत योजना बनाएर कार्यान्वयनको ढाँचा समेत बनाइसकेको छ । प्रारम्भिक बाल शिक्षा देखि कक्षा पाँच सम्मको दिवा खाजाका लागि आठ अर्ब ३९ करोड बजेट विनियोजन गरिएको छ । मेगा किचनको लागि ८९ करोड बजेट विनियोजन गरिएको छ । मेगा किचनको अवधारणा कार्यान्वयन गर्न कार्यविधि बनाएर लागू गर्ने तयारी गरिएको छ । सरोकारवालाको सहभागितामा कार्यविधिको मस्यौदा तयार गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले दोस्रो चौमासिक भित्र कार्यविधि तयार गर्ने लक्ष्य लिएको छ । 

कार्यविधि बनाउन १५ लाख बजेट विनियोजन गरिएको छ । मेगा किचन कार्यान्वयनको लागि मापदण्ड बनाएर कार्यान्वयन गर्न १० लाख बजेट विनयोजन गरिएको छ । मापदण्डमा मेगा किचन मार्फत दिवा खाजा कार्यक्रम सञ्चालनको प्रक्रिया समेटिने मन्त्रालयको योजनामा उल्लेख छ । सरकारले यसवर्ष स्थानीय उत्पादनमा आधारित दिवा खाजा व्यवस्थापन गर्ने लक्ष्य लिएको छ । यसको लािग संघीय तहका मन्त्रालयको सहकार्यमा स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजाको कार्यविधि बनाउने बारेमा विद्या भट्टराई मन्त्री भएपछि पहिलो निर्णय गरेकी छन् । कार्यविधि बनाउन १० लाख रुपैयाँ बजेट छुट्याइएको छ । 

मेगा किचन भन्दा स्थानीय खाद्य स्कुलमै पकाएर खुवाउदा प्रभावकारी हुने 

दिवा खाजाको बारेमा एडुखबरले विद्यालयमा गरेको एक संक्षिप्त अध्ययनमा स्थानीय खाद्य पदार्थ विद्यालयमा पकाएर खाएमा दिवा खाजा व्यवस्थित हुने निश्कर्ष निस्केको छ । उक्त अध्ययनमा सहभागि दुई सय १४ जना शिक्षक मध्ये ७७ प्रतिशतले स्थानीय खाद्य पदार्थ विद्यालयमा पकाएर खाने व्यवस्था गरेमा दिवा खाजा व्यवस्थित हुने बताएका छन् । त्यस्तै सरकारले अघि सारेको पालिका भित्र सामुहिक (मेगा किचन) ठिक भन्ने १४ प्रतिशत मात्रै छन् । एउटा वडा भित्रका विद्यार्थीलाई एउटै खाजा खवाउने विकल्पमा ८ प्रतिशत मत आएको छ । 

सरकारले यस बर्ष कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु र डोल्पामा प्रति विद्यार्थी १५ रुपैयाँका दरले दिदैँ आएको दिवा खाजाका लागि पाँच रुपैयाँ थप गरेको छ । 

एडुखबरले गरेको उक्त अध्ययनले दिवा खाजाका लागि प्रति व्यक्ति १५ रुपैयाँ अपुग भएको देखाएको छ ।

day meal_02

दिवा खाजालाई व्यवस्थित बनाउने हो भने प्रति व्यक्ति कम्तीमा ३० रुपैयाँ आवश्यक पर्ने अध्ययनले देखाएको छ ।

day meal_03

अध्ययनमा सहभागि दुई सय २१ विद्यार्थी मध्ये ८७ प्रतिशतले अपुग भएको जनाएका छन् । १३ प्रतिशतले मात्रै पर्याप्त भएको जवाफ दिएका छन् । 

सरकारले उपलब्ध गराएको दिवा खाजाको रकम अपुग भएपछि केही विद्यालयहरुले आफ्नै आन्तरिक स्रोतबाट विद्यार्थीलाई खाजाको व्यवस्था गर्दै आएका छन् । यी मध्ये केही विद्यालयले पालिकाबाट थप सहयोग लिएर, केहीले अभिभावकबाट सहयोग लिएर दिवा खाजा व्यवस्थापन गर्दै आइरहेका छन् । 

प्रतिक्रिया