Edukhabar
मंगलबार, ०१ असोज २०८१
गतिविधि

शिक्षाको घुस काण्ड : सांसदका स्वकीय भन्छन्–‘खाजा खर्च दिएको हो, घुस होइन’

काम सकिए पछि मैले दाईलाई भने ‘काम सकियो । काम गर्न ५ हजार दिएँ ।’ यत्ति भनेपछि दाईले ह्या ! भन्दै फोन राख्नु भयो । यही कुरालाई उहाँले घुस दिएर काम लिएको संसदबाट बोल्नु भएछ ।

आइतबार, २७ साउन २०८१

काठमाडौं - शिक्षाको निकायमा काम गराउँदा घुस खुवाउन परेको दावी गर्ने सांसदको भनाई झुटो भएको छानबिन समितिको निष्कर्श सार्वजनिक भए पछि उनका स्वकीयले पनि सोही निष्कर्षसँग मिल्दो भनाई सार्वजनिक गरेका छन् । जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले आफ्नो छोराको समकक्षता लिदाँ घुस  खुवाए पछि मात्रै काम बनेको भन्दै संसदको रोष्टमबाटै बोलेका थिए । 

पढ्नुहोस् : पूर्व मन्त्री महतोले भने,‘शिक्षाको काम गर्न ५ हजार घुस दिएँ’

घुस नखुवाई काम नहुने भन्दै वहालवाला सांसदले रोष्टमबाटै दिएको अभिव्यक्ति पछि शिक्षा क्षेत्र तरंगित भएको थियो । उक्त शाखामा काम गर्ने कर्मचारीको सरुवा नै गरिएको थियो । 

पढ्नुहोस् : सांसदले 'घुस दिएको' शाखाका कर्मचारी हटाइयो !

त्यस पछि शिक्षा मन्त्रालयले घटनाको छानविन गर्न समिति नै गठन गरेको थियो ।

पढ्नुहोस् : शिक्षाको 'घुस काण्ड' छानबिन गर्न समिति गठन

यस अघि सांसद महतोले गृहमन्त्री रमेश लेखकलाई भने सहयोगी मार्फत घुस रकम बुझाएको बताएका थिए । संसदमा बोल्दा र गृहमन्त्रीसँग फरक फरक अभिव्यक्ति दिएका थिए । 

पढ्नुहोस् : शिक्षाको 'घुस काण्ड' : घुस खुवाएको दाबी गर्ने सांसदको फरक फरक भनाई

उक्त समितिले घुस दिएको आरोप झुटो भएको निष्कर्ष निकालेको बारेमा एडुखबरले समाचार प्रकाशन गरेको थियो । 

पढ्नुहोस् : सांसदले घुस दिएको आरोप गलत, सहयोग गरेको सेवाग्राहीलाई नै बिचौलियाको बिल्ला

उक्त खबर प्रकाशन भएको भोली पल्ट आईतबार सांसद महतोका स्वकीय रुपेश साहसँग एडुखबरले कुराकानी गरेको छ । उनको भनाईको मुख्य अँश जस्ताको त्यस्तै : 

भतिज (सांसद वीरेन्द्र महतोका छोरा) बेलायतमा उच्च शिक्षा अध्ययन गर्न जाने तयारीमा थिए । सर्टिफिकेट अप्लाई गर्न दुई दिन मात्रै बाँकी थियो । हामीलाई तत्काल भतिजको सर्टिफिकेटको समकक्षता गर्नु पर्ने हतारो थियो । साउन ३ गते बुधबार पाठ्यक्रम विकास केन्द्रमा समकक्षताको लागि फारम भर्यौ। तर, भर्न नआएकोले हामी साउन ४ गते बिहीबार भक्तपुर सानोठिमी स्थित समकक्षता शाखामा गयौँ । 

भतिजले लिंकन स्कुलबाट १० र १२ पढेका थिए । हामी शाखामा बिहान साढे १० देखि ११ बजेतिर पुगेका थियौँ । कार्यालयका एक जना दाई (कर्मचारी) ले अनलाइन फारम भर्न नमिलेकोले फेरी मिलाएर फारम भर्न भन्नु भयो । फारम भर्न नजानेर हामी आत्तिएका थियौँ । त्यति मात्रै होइन स्कुलको रिजल्ट अनलाइन पनि देखाएको थिएन । स्कुलको सरलाई फोन गर्यौँ । केही गर्दा पनि काम भएको थिएन । 

सानो ठिमीको पानी ट्याङ्की छेउ (राष्ट्रिय परीक्षा बोर्ड परिसर) मा बसेर हामीले ल्यापटपमा काम गरिरहेका थियौँ तर, काम भएको थिएन । त्यति नै बेला दाइ (सांसद महतो) पनि आउनु भयो । उहाँले नआत्ती काम गर्नु भनेर फर्किनु भयो । हामीलाई भेटेर फर्कनु भयो । 

हामी आत्तिएको देखेर छेउमै भएको एक जनाले के भएको हो ? हेर्नु भयो । उहाँले सरासर काम गरिदिनु भयो । पैसा तिर्न इसेवाबाट मात्रै मिल्ने रहेछ । त्यो पनि भयो । त्यहीँ बसेर उहाँले १२ कक्षाको फारम पनि भरिदिनु भयो । दुई घण्टा भित्र १० कक्षा र १२ कक्षा दुबैको काम सकियो । 

उहाँलाई खाजा खान जाउँ भन्यौ तर, वरीपरी खाजा खाने ठाउँ थिएन । हामीलाई उहाँलाई खान भनेर पाँच हजार दियौँ । तर, उहाँले लिन मान्नु भएन । धेरै पटक आग्रह गरेपछि मात्रै उहाँले हामीले दिएको पैसा लिनु भयो । उहाँ को हो ? चिन्दैनौँ । यदि बिचौलिया नै हो भने हामीसँग पैसा माग्नु पथ्र्यो । हामीले दिदाँ पनि लिन मान्नु भएन । त्यसैले सहयोगी हुनुहुदोँ रहेछ भन्ने हामीले बुझ्यौँ । 

अनलाइन फारम भरेर पैसा समेत बुझाएर हामी खाजा खान गयौँ । खाजा खाँदा खाँदै अनलाइन फारम एप्रुभ भएको म्यासेज आयो । 

काम सकिए पछि मैले दाइलाई भने ‘दाइ काम सकियो । काम गर्न ५ हजार दिएँ ।’ 

यत्ति भनेपछि दाइले ह्या ! भन्दै फोन राख्नु भयो । 

मैले पनि दोहोर्याएर फोन गरिन । भोलीपल्ट ५ गते गाउँ जानु थियो । गाउँ गए । आइतबार त दाइले घुस दिएको भनेर संसद्मा बोल्नु भएछ । खासमा मैले जे भने दाइले घुस खुवाएर काम गरेको भन्ने बुझ्नु भएछ । खासमा घुस खुवाएको थिएन । हामीले कुनै कर्मचारीलाई पैसा नदिई काम लिएका थियौँ । दुई घण्टा भन्दा बढी समय हामीलाई सहयोग गरेर एकै दिनमा काम सकिएकोले खुसी भएर खाजा खान दिएका थियौँ । 

दाइ र हामी बीच कुराकानी हुन नपाउँदा बुझाई फरक परेको थियो । दाइले संसदमा घुस खुवाएको भनेर बोल्नु भएपछि मलाई पनि खल्लो लाग्यो । दाइलाई वास्तविक कुरा सुनाएँ । दाइले जे भन्नु भयो मैले बुझाउन नसक्दा भएको हो । मैले घुस होइन, सहयोग गरे बापत दिएको भन्नु पथ्र्यो । त्यो भएन । 

प्रतिक्रिया