Edukhabar
मंगलबार, ०१ असोज २०८१
गतिविधि

बंगलादेशमा पढेका विद्यार्थीलाई नेपालमा इन्टर्नसिप

शिक्षा मन्त्रालय, स्वास्थ्य, परराष्ट्र मन्त्रालय र मेडिकल काउन्सिलसँग समन्वय गरेर निर्णय लिने

बुधबार, २३ साउन २०८१

काठमाडौँ–बंगलादेशमा एमबिबिएस र स्वास्थ्यका अन्य विषय अध्ययन गरेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिप गराउन सरकारले छलफल अघि बढाएको छ । 

बंगलादेशमा पढाई पुरा गरिसकेका २० जना भन्दा बढी विद्यार्थीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई मंगलबार भेटेर स्वदेशमा इन्टर्न गर्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए । विद्यार्थीको अनुरोध अनुसार स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय र मेडिकल काउन्सिलसँग समन्वय गरेर निर्णय लिने मन्त्री भट्टराईले बताइन । ‘यो निर्णय शिक्षा मन्त्रालयले मात्रै गर्न नसक्ने भएकोले अरू मन्त्रालयसँग छलफल गरेर तीन दिन भित्र यो काम सकाउँछौ,’उनले भनिन् । बंगलादेशमा इन्टर्न गरिरहेका विद्यार्थीको संख्या एकिन गरेर नेपालमा गराउन पहल गरिने उनले बताइन ।

बंगलादेशमा रहेका विद्यार्थी सरकारको दूतावासको सम्पर्कमै रहेको उनले बताइन । बंगलादेशमा अप्ठ्यारोमा रहेका नेपाली विद्यार्थीको साथमा सरकार रहेको उनले बताइन । ‘अहिलेसम्म सबै सुरक्षित छन,’उनले भनिन् । 

बंगलादेशमा सरकार विरोधी आन्दोलन चर्किए पछि द्वन्द्व भएको छ । प्रधानमन्त्री शेख हसिनाको सत्ता ढलेपछि संसद् विघटन गरिएको छ । हसिना देश छोडेर भागेकी छन् । उनी अहिले भारतमा छिन् ।

बंगलादेशमा नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन हुने भएको छ । पछिल्ला प्रदर्शन नियन्त्रण गर्न सुरक्षाकर्मीले करिब १० हजार विद्यार्थी र विपक्षी दलका समर्थकहरूलाई पक्राउ गरेका थिए । प्रधानमन्त्रीले देश छाडेपछि सेनाको सञ्चार निर्देशनालय इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स अन्तवाहिनी जनसंयोगले मंगलबारदेखि सम्पूर्ण शैक्षिक संस्थाहरू खोल्न निर्देशन दिइएको थियो । ढाकामा केही विद्यालयहरू खुलेको समाचारहरूमा उल्लेख छ । 

जुलाई १६ देखि विद्यार्थीहरूले आन्दोलन चर्काएपछि जुलाई १७ देखि बंगलादेशको शिक्षा मन्त्रालयले अनिश्चितकालका लागि शैक्षिक संस्थाहरू बन्द गर्न निदर्शेन दिएको थियो । 

 

प्रतिक्रिया