Edukhabar
आइतबार, ०९ मंसिर २०८१
गतिविधि

एसईईको पुरक परीक्षामा दुई लाख नौ हजार विद्यार्थी सहभागी हुँदै

‘नतिजा चित्त नबुझेर पुनर्योगको आवेदन हालेका विद्यार्थीको काम नै सकिएको छैन, नतिजा निकाल्ने जनशक्ति अपुग छ, नेताले गर्ने निर्णयले गर्दा पुनः दोस्रो पटक एसईई लिनु पर्ने वाध्यता थपिएको छ ।’

मंगलबार, २२ साउन २०८१

भक्तपुर – कक्षा १० को अन्तिम परीक्षामा ननग्रेडेड भएर पुरक परीक्षाका लागि आवेदन दिने विद्यार्थीको संख्या दुई लाख नौ हजार सात सय ४० रहेको छ । नियमित परीक्षाको नतिजामा एनजी आएका र त्यतिखेर अनुपस्थित भएका विद्यार्थीले पुरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । आवेदन दिएका विद्यार्थीको तथ्याङ्क अद्यावधिक भइरहेकोले यकिन विवरणलाई अन्तिम रुप दिन बाँकी नै रहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । 

यस अघि दुई विषय सम्म एनजी आएका विद्यार्थीले पुरक परीक्षा दिन पाउने भए पनि यस पटक सातै विषयमा एनजी आउने विद्यार्थीले पनि परीक्षा दिन पाउने व्यवस्था गरिए पछि उक्त संख्या धेरै भएको हो ।

पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले एसईईको नतिजामा अस्वीकृत (ननग्रेडिङ र एनजी) ल्याएका सबै दुई लाख ४२ हजार तीन सय १३ जना विद्यार्थीले ग्रेडवृद्धि (मौका/पुरक) परीक्षामा सहभागी हुन पाउने निर्णय गरेकी थिइन् । नेताहरुले चर्चाको लागि गरेको निर्णयले नियमित परीक्षा सञ्चालन गरे सरह बुधबार देखि एसईईको मौका परीक्षा सञ्चालन हुनेछ । नियममा दुई विषय लागेका विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाउने भए पछि मन्त्री श्रेष्ठले सबैले परीक्षा दिने गरी निर्देशिका नै संशोधन गरेकी थिईन् । 

‘नतिजा चित्त नबुझेर पुनर्योगको आवेदन हालेका विद्यार्थीको काम नै सकिएको छैन, नतिजा निकाल्ने जनशक्ति अपुग छ’ बोर्डका एक कर्मचारीले भने,‘नेताले गर्ने निर्णयले गर्दा पुनः दोस्रो पटक एसईई लिनु पर्ने वाध्यता थपिएको छ ।’ 

बुधबारबाट शुरु हुने परीक्षामा पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार अंग्रेजीमा एक लाख एक हजार तीन सय ८३ जनाले एनजी ल्याएका छन् भने सात हजार नौ सय ७५ जना अनुपस्थित थिए । एनजी आउनेमा सबै भन्दा बढी अनिवार्य गणितमा छन् । बोर्डका अनुसार एक लाख ७७ हजार नौ सय ८५ जनाको गणितमा एनजी आएको छ । विज्ञानमा एक लाख २६ हजार रहेका छन् । 
कार्यालयले प्रश्नपत्र छपाई गरेर पठाइसकेको पौडेलले बताए । कक्षा १२ को भने इमेल मार्फत प्रश्नपत्र पठाइएको थियो । 

परीक्षा बिहान ११ बजेदेखि सुरु भएर दुई बजेसम्म सञ्चालन हुनेछ । 

प्रतिक्रिया