Edukhabar
आइतबार, ३० भदौ २०८१
अन्तर्वार्ता

देशकै जेठो विश्वविद्यालय भन्दा पनि जेठो एक क्याम्पस ! [प्रमुखसँगको  भिडियो कुराकानी]

गौरवपूर्ण विगत बोकेको यही क्याम्पसमा पढेर देशको राजनीतिक, प्रशासनिक र सामाजिक क्षेत्रमा ख्याती प्राप्त विद्यार्थीको संख्या ठूलो छ ।

सोमबार, २१ साउन २०८१

पाल्पा - देशकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय स्थापना हुनु अघि नै खुलेको क्याम्पसमा प्रमुख हुन पाउनुलाई टङ्क भट्टराई गौरवको क्षण ठान्छन् । त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन, पाल्पामा २०७७ असार २४ गते प्रमुखको कार्यभार सम्हालेका टङ्क सरको कार्यकाल गत असार २४ गते सकियो । तर पनि अर्को व्यवस्था नभए सम्मका लागि विश्वविद्यालयले उनलाई नै जिम्मेवारी तोकिदिएको छ । अर्थात्, कार्यकाल सकिए पनि फेरी जिम्मेवारी सम्हालेका टङ्क सरको गौरवान्वित भाव निरन्तर जारी छ । 

२०४९ चैत ९ गते सुर्खेत क्याम्पस, शिक्षामा सहायक प्राध्यापकका रुपमा नियुक्त भएर विश्वविद्यालय सेवा प्रवेश गरेका टङ्क सर ०५३ सालमा उप प्राध्यापकका रुपमा स्थायी भए । ०५६ कात्तिकमा सरुवा भए देखि उनको सेवा निरन्तर यहीँ छ । कहिले नेपाली विभागको विभागीय प्रमुख त कहिले क्याम्पस व्यवस्थापन समितिको सदस्यका रुपमा क्याम्पसको शैक्षिक भौतिक विकासमा उनको सकृयता जारी छ । यही सकृयताले हुन सक्छ क्याम्पस प्रमुखको चार बर्षे अवधि सकिए पनि उनले फुर्सद पाएका छैनन् ।  

tanka_bhhatarai

२०१६ सालमा स्थापना भएको त्रिविका ६२ वटा आँगिक क्याम्पस मध्ये २०११ सालमा स्थापना भएको यो क्याम्पस पनि एक हो । भारतको पटना विश्वविद्यालयबाट सम्बन्धन लिएर शुरु भएको यो क्याम्पसले गत असार २५ गते ७० औं बार्षिकोत्सव मनायो ।  

tribhuvan_campus_final

गौरवपूर्ण विगत भएको यो क्याम्पसमा पढेर देशको राजनीतिक, प्रशासनिक र सामाजिक क्षेत्रमा ख्याती प्राप्त विद्यार्थीको संख्या ठूलो छ । संयोग यस्तो छ कि यतिखेर विश्वविद्यालयका उपकुलपति रहेका प्रा.डा. केशरजंग बराल कुनै बेला यही क्याम्पसका विद्यार्थी थिए । सांसदहरु चन्द्र भण्डारी, ठाकुर गैह्रे, पूर्व मन्त्री एवं नेता घनश्याम भुषाल, पूर्व मन्त्री एवं प्रशासक स्व.डा. माधव घिमिरे, अर्थ प्रशासक डा. रामेश्वर खनाल... यो संख्या सयौं पुग्छ । अर्थात्  त्रिभुवन बहुमुखी क्याम्पस, तानसेनका उत्पादन देशका हरेक क्षेत्रमा कृयाशिल छन् । 

शुरुमा एक शैक्षिक सत्रमा ४२ सय सम्म विद्यार्थी पढाएको यो क्याम्पसमा अहिले दुई हजार छ सय ३१ विद्यार्थी छन् । एक सय दुई शिक्षक दरबन्दी रहेकोमा अहिले जम्मा ५६ जना छन्, बाँकी मध्ये १८ जना आँशिक र अन्यत्र समेत पढाउने १९ जना शिक्षकहरुलाई विषय विज्ञ भनेर पठनपाठनमा संलग्न गराईएको छ । ७६ दरबन्दी रहेको क्याम्पसको प्रशासन १८ जना स्थायी र १२ जना ज्यालादारी कर्मचारीले धानिरहेका छन् । 

मानविकी, शिक्षा, विज्ञान र व्यवस्थापन संकायमा पठन पाठन भए पनि दिन दिनै विद्यार्थी संख्या घटिरहेको छ । व्यवस्थापनको वीवीएमा ६६ जनाको कोटा भए पनि अहिले दोश्रो समेमेष्टरमा ४७ जना मात्रै छन् । कक्षा १२ को नतिजा भर्खरै आएकोले यो बर्ष पहिलो समेष्टरमा विद्यार्थी बढ्ने टङ्क सरको अपेक्षा छ ।  

tribhuvan_campus_1final

क्याम्पसको संख्या वृद्धि हुनु, जन्मदर क्रमशः घट्नु र भएका विद्यार्थी पनि मुख्य शहर केन्द्रित बसाईसराईको तिब्र क्रमको प्रभाव विद्यार्थी संख्यामा परेको टङ्क सरको निश्कर्ष छ । शैक्षिक विकास र विस्तारमा क्याम्पसको कृयाशीलता र सकृयता निरन्तर रहने उनको प्रतिवद्धता छ । 

प्रतिक्रिया