Edukhabar
मंगलबार, ०१ असोज २०८१
गतिविधि

कोटा दुई हजार एक सय, १६ हजारले दिए प्रवेश परीक्षा

प्रवेश परीक्षाको नतिजा १० दिन भित्र आउने परीक्षा नियन्त्रण कार्यालयको भनाई ।

आइतबार, २० साउन २०८१

काठमाडौं - कक्षा १० को अन्तिम परीक्षा (एसईई) पछि नर्सिङ विषय अध्ययन गर्न चाहने विद्यार्थीको चाप उस्तै देखिएको छ । दुई हजार एक सय ६० सीटको लागि १६ हजारले प्रतिष्पर्धा गर्दैछन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् सीटीइभीटीका सदस्य सचिव महेश भट्टराईले अरु विषयमा भन्दा नर्सिङमा विद्यार्थीको चाप बढी रहेको बताए । 

यसपालि ४० हजार विद्यार्थीले प्राविधिक विषय अध्ययन गर्न प्रवेश परीक्षा दिएका छन् । परीक्षा दिनेमा स्वास्थ्य तर्फको २६ हजार छ सय ४८ जना रहेका छन् । नर्सिङमा सबैभन्दा बढीले आवेदन दिएका हुन् । सीटीइभीटीले यो शैक्षिक सत्रको लागि शनिबार लिएको प्रवेश परीक्षाको  स्वास्थ्य तर्फ नर्सिङ, एचए र फार्मेसीमा विद्यार्थीको चाप भए पनि अरु विषयमा न्यून रहेको सदस्य सचिव भट्टराइले बताए ।

‘स्वास्थ्य बाहेकको अरु कार्यक्रमको अवस्था नाजुक छ । स्वास्थ्यको पनि नर्सिङ, फार्मेसी र एचए मात्रै राम्रो छ’ उनले भने । 

प्रवेश परीक्षाको नतिजा १० दिन भित्र आउने परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गोविन्दकुमार श्रेष्ठले बताए । 

‘हाम्रो नियममा १० दिन भित्र नतिजा निकाल्नु पर्ने प्रावधान छ । दुई चार दिन तल माथि हुन सक्छ’ उनले भने । 

नर्सिङ, एचए र फार्मेसीको नतिजा सानोठिमीबाटै हुने भए पनि अन्य विषयको कलेजबाटै हुने उनले बताए । देशभरी ५४ वटा नर्सिङ कलेजमा पीसीएल नर्सिङको पढाई हुन्छ । एक सय १७ वटा संस्थाले नर्सिङ कक्षा चलाउन अनुमति पाएको भए पनि आफ्नै अस्पताल नभएका र एक सय शैयाको अस्पताल नभएको कारण ६३ वटा नर्सिङ अनुमति पाएका संस्थालाई भर्नामा रोक लगाएको छ । यी संस्थाले संसदीय समितिलाई प्रभावमा पारेर यसपालि देखि पढाउन पाउने गरी दवाव दिने प्रयास गरे पनि मापदण्ड पुरा गरेकालाई मात्रै दिने सहमती भएको छ । संसदीय समितिलाई प्रयोग गर्ने निजी शैक्षिक संस्थाको प्रयास पनि असफल भएको छ । 

प्रतिक्रिया