Edukhabar
आइतबार, ०९ मंसिर २०८१
गतिविधि

विद्यार्थी, शिक्षक र कर्मचारी सम्मान

शिक्षकलाई राजनीतिबाट कहिले पनि मुक्त गर्न नहुनेमा जोड

शनिबार, १९ साउन २०८१

भक्तपुर - संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) ले विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ । इसान भक्तपुरले एसईई २०८० मा  विद्यालयगत उत्कृष्ट विद्यार्थी, १५ वर्षभन्दा बढी निरन्तर सेवारत विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा शिक्षक एवम् कर्मचारी सम्मान गरेको हो ।

उनीहरूलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सम्मान गरेका थिए । सम्मान अघि उनले शिक्षकले शिक्षासँगै सामाजिक र राजनीतिक गतिविधि अघि बढाउँदा समाज रूपान्तरणका लागि ठूलो सहयोग पुग्ने बताए ।

कार्यक्रममा उनले देशको शिक्षा नीति नै विद्यार्थीलाई दास बनाउने र पाठ्यपुस्तक झुटको ठेली जस्तै भएकाले त्यसमा सुधार नगरी शिक्षामा सुधार नहुने बताए ।  

'अमेरिकी साम्राज्यवादले गरेको अत्याचार लुकाएको पाठहरू पाठ्यपुस्तकमा समावेश गरि देशका विद्यार्थीलाई सङ्घर्ष गर्न सट्टा दास बनाउने काम गरेको छ' उनले भने 'यसमा आलोचनात्मक चेत नराखेका शिक्षकले विद्यार्थीलाई पनि दास बनाइरहेका छन् ।'

शिक्षकलाई राजनीतिबाट कहिले पनि मुक्त गर्न नहुनेमा जोड दिएका उनले राजनीति विना परिवर्तन असम्भव भएको बताए । शिक्षकले विश्वका गौरवशाली गाथाबारे अध्ययन गराउनुपर्ने चर्चा गर्दै ती गाथाबारे अध्ययन नगराए विद्यार्थीमा सङ्घर्षको भावना नहुने जनाए ।

उनले देश नै शिक्षकको हातमा हुने भएकाले शिक्षक इमानदार, अनुशासित र पेशाप्रति बफादार बन्नुपर्ने बताए । उनले हाल रहेको पूँजीवादी व्यवस्था विरूद्व शिक्षक विद्यार्थीमा सङ्घर्षको भावना विकास गराउन अनुरोध गरे ।

शिक्षकले विद्यार्थीलाई देश बचाउने, देश बनाउने राजनीति र संस्कार सिकाउनु पर्छ, उनले भने । 

शिक्षक अरू पेशाकर्मीभन्दा बढी अनुशासित हुनुपर्नेमा जोड दिँदै उनले शिक्षकमा अध्ययनको भावना हुनुपर्ने समेत बताए ।

वागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईँले निजी शिक्षा र शिक्षक प्रति सरकार उदासीन रहेको बताउँदै सरकारको मात्र मुख ताकेर बस्नु अनुकूल नहुने जनाए । प्रदेश सदस्य गोसाईँले क्षमतावान् शिक्षकको अभाव झेल्नुपरेको उल्लेख गर्दे शिक्षकलाई कमाउन नसक्ने वर्गका रूपमा चित्रण गर्दा शिक्षक अभाव देखिएको बताए ।

कार्यक्रममा इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापा श्रेष्ठले शिक्षा सुधारका लागि एक पक्षको मात्र नभई शिक्षासँग सम्बन्धित सबै पक्षको योगदान रहने उल्लेख गर्दै ती पक्षलाई उत्साहित गर्नका लागि सम्मान गरिएको बताए । उनले निजी विद्यालयले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानलाई राज्यले बेवास्ता गर्न नहुने जनाए । उनले राज्यले शिक्षाको अपनत्व नलिएसम्म देशमा निजी विद्यालयको आवश्यकता रहिरहने बताए । 

इसानका सल्लाहकार सरोजराज गोसाईँले शिक्षकलाई उत्साहित गर्नका लागि विभिन्न तालिम, गोष्ठीका साथ पुस्तक अध्ययन र अनुसन्धान अनिवार्य भएकोमा जोड दिए । उनले शिक्षकले किन पढ्ने, कसरी पढाउने, कसलाई पढाउने भन्ने प्रश्नको घेरामा शिक्षकले आफूलाई तौलनु पर्ने उल्लेख गर्दै अहिलेका साहित्यले नै समाजलाई विषाक्त बनाइरहेकोले त्यस तर्फ सचेत हुनुपर्ने बताए । 

इसानका केन्द्रीय उपाध्यक्ष उकेश कवांले शिक्षाको अवस्था डामाडोल हुनुमा शिक्षकको मात्र नभई शिक्षा मन्त्रालयको नीति गलत रहेको उल्लेख गरे । गलत राजनीतिक नीतिका कारण अधिकांश विद्यार्थीले देश छोडेको र शैक्षिक गुणस्तर खस्किएको उनको भनाइ छ । 

कार्यक्रममा इसान भक्तपुरका अध्यक्ष कृष्णराम त्वायनाबासुले २२ विद्यार्थी, शिक्षक र कर्मचारी गरि कूल ५८ जनालाई सम्मान गरिएको जानकारी दिए ।

प्रतिक्रिया