काठमाडौं - शिक्षा मन्त्री विद्या भट्टराईले शिक्षामा अनगिन्ती समस्या भएको बताउँदै ती समस्याको समाधान कहाँबाट गर्ने ? भन्दै समाजशास्त्रीहरूलाई सोधेकी छन् । नेपालको उच्च शिक्षामा दलीय प्रभाव र हस्तक्षेप, शैक्षिक क्यालेण्डरको पालना, नीतिको अभाव रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि आफू सुधारको विन्दुको खोजीमा रहेको उनले बताएकी छन् ।
नेपाल समाजशास्त्र सङ्घले आयोजना गरेको विचार गोष्ठीको मञ्च समाजशास्त्री प्रा.डा. गणेशमान गुरूङ, प्रा.डा. जयराज अवस्थी, प्रा.डा. गिरिधरी शर्मा पौडेल लगातका विद्वत वर्ग र विभिन्न क्याम्पसका अध्यापक, शिक्षक, विद्यार्थीले भरिएको थियो । सोही मञ्चमा शिक्षा मन्त्री भट्टराईले 'विश्वविद्यालयलाई राजनीतिमुक्त गराए अर्कै समस्या समेत देखिने इंगित गर्दै तत्काल राजनीति मुक्त विश्वविद्यालयको कल्पना गर्न नसकिने' दावी गरिन् ।
उनले नेपालीमा रहेका विश्वविद्यालय बीच समन्वयको अभाव र एक विश्वविद्यालयले अर्को विश्वविद्यालयबीच खेदो खन्ने कामहरू मात्र हुँदा शैक्षिक गुणस्तरमा प्रश्न उठेको सन्दर्भ जोडिन् ।
शिक्षा क्षेत्र सुधारका लागि आफू शिक्षा मन्त्री भएको चर्चा गरेकी उनले विश्वविद्यालयलाई अनुसन्धानको केन्द्र बनाउने बताइन् । त्यसका लागि समाजशास्त्रीहरूलाई अनुसन्धान प्रस्ताव लिएर मन्त्रालयमा आउँदा अवरोध नहुने उनले जनाइन् ।
आफ्नो भनाइ राखेर बाहिरिएकी उनलाई समाजशास्त्रका अध्यापक र विद्यार्थीले विभिन्न प्रश्न राखेका थिए । नेपालमा उच्च शिक्षाको अवस्था, अवसर र चुनौती विषयमा सङ्घले आयोजना गरेको उक्त विचार गोष्ठीमा कार्यपत्र प्रस्तुत र छलफल गरिएको थियो ।
कार्यपत्र प्रस्तोता प्रा. डा. गिरिधरी शर्माले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप पूर्ण रूपमा निषेध गर्नुपर्ने, शिक्षामा बजेट वृद्धि गर्नुपर्ने र शिक्षालाई उद्यमशीलतासँग जोड्नुपर्नेमा जोड दिए ।
प्रा.डा. जयराज अवस्थीले विश्वविद्यालयमा अनुसन्धान कम राजनीति बढी हुँदा त्यसको असर देखिएको बताए । उनले मन्त्री भट्टराईको जवाफ दिँदै सुरूवात शिक्षकबाट गर्नुपर्नेमा जोड दिए । उनले भने, मन्त्रीज्यूले पनि आफैबाट सुरू गर्ने हो, शिक्षकले पनि आफैबाट सुरू गर्ने हो ।
आफू भाइस चान्सलरको पदबाट राजिनामा दिएर विशुद्ध शिक्षण पेशामा लागेको उल्लेख गर्दै विश्वविद्यालय शिक्षामा बढ्दो निजीकरण अर्को समस्याको विषय बनेको बताए ।
आयोजक सङ्घका अध्यक्ष गणेशमान गुरूङले शिक्षा सुधारका लागि शिक्षालाई राजनीतिमुक्त बनाउन अनुरोध गर्दै भने, 'नेता नसुध्रि देश बन्दैन, शिक्षा मन्त्री नसुध्रि देश बन्दैन, यसैले सुध्रिनु जरुरी छ ।'
प्रतिक्रिया