Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

एक पटक आयोग पास हुँदैमा सधैँ शिक्षक हुने व्यवस्था गलत

हरेक पाँच बर्षमा शिक्षकको परीक्षा लिने र फेल भए निकाल्ने व्यवस्था राख्न सुझाव, सांसदको प्रश्न लगातार तीन बर्ष सम्म राम्रो रिजल्ट नदिने शिक्षक माथि के गर्ने हो ?

बुधबार, ०९ साउन २०८१

काठमाडौं - एक पटक शिक्षक सेवा आयोगको परीक्षा पास गरे पछि सँधै शिक्षक हुने व्यवस्था बदल्न संसदीय समितिमा प्रस्ताव आएको छ । शिक्षकलाई सेवामा राख्ने नराख्ने विषय विद्यार्थीको नतिजाका आधारमा तय गर्नु पर्ने सांसदको तर्क छ । 

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बुधबार भएको विद्यालय शिक्षा विधेयक माथिको छलफलमा भाग लिदैं एमाले सांसद सूर्यप्रसाद ढकालले उक्त तर्क गरेका हुन् । शिक्षक सेवा आयोगको परीक्षा पास भएका शिक्षक सधैँ रहन पाउने व्यवस्था गलत भएको भन्दै उनले बिरोध जनाएका छन् । 

‘एउटा विषय पढाएका शिक्षकले लगातार तीन बर्ष सम्म राम्रो रिजल्ट निकाल्दैन भने त्यो शिक्षकको बारेमा हामीले के गर्छौ ?’ प्रश्न गर्दै उनले भने ‘लगातार पढाईरहेको छ तर तीन बर्ष सम्म रिजल्ट जिरो छ, फेरी पनि उ शिक्षक भएर विद्यालय गईराखेकै छ, त्यस कारण लगातार तीन बर्ष पढाउँदा पनि शिक्षकले आफ्नो विषयमा राम्रो रिजल्ट निकाल्न सक्दैन भने त्यस माथि के गर्ने हो ? यो विषय पनि विधेयकमा समेटिनु पर्छ ।’ 

एक पटक पास हुँदैमा आजिवन शिक्षक हुने परिपाटि  सच्याउनु पर्ने उल्लेख गर्दै उनले शिक्षक प्राध्यापकहरुको परीक्षा पाँच पाँच बर्षमा लिनु पर्ने बताए । शिक्षकले पढाईरहेको विषयमा पाँच पाँच बर्षमा लिने परीक्षामा शिक्षक पास हुँदैन भने निकाल्नु पर्ने उनको सुझाव छ । 

'मैले शिक्षकलाई अपमान गर्न खोजेको हैन म सबै भन्दा बढि सम्मान शिक्षकलाई गर्छु, मैले मेरो संशोधनमा पनि शिक्षकलाई मर्यादामा कानूनी र व्यवहारिक रुपमा माथिल्लो तहमा राख्नु पर्छ भनेको छु' उनले भने 'तर एउटा शिक्षक चौविसै घण्टा दारु खान्छ, तर पनि उ शिक्षक हो एउटा शिक्षकले विद्यार्थीको भविष्य बिगार्न त पाए न नी !'

शिक्षक प्राध्यापकहरुको परीक्षा पाँच पाँच बर्षमा लिने र एक पटक आयोग पास गरे पछि आजिवन शिक्षक हुने प्रथा व्यवस्थापन गर्न नसक्ने हो भने शैक्षिक अवस्था सुधार गर्न नसकिने उनले दावी गरे । 

विगत पाँच महिना देखि रोकिएको विद्यालय शिक्षा विधेयक माथिको छलफल गत साताबाट शुरु भएको छ । छलफलमा समितिले संशोधन दर्ता गराएका सांसदहरुसँग क्रमशः छलफल गर्दै आएको छ । 

प्रतिक्रिया