Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

एसएलसीको ग्रेडिङ नौ तहमा 

विहीबार, २४ मंसिर २०७२

काठमाडौ, २४ मंसिर । सरकारले यसै बर्षबाट एसएलसी परीक्षार्थीको परीक्षाफल अक्षरांक प्रणाली (लेटर गे्रडिङ) मा प्रकाशित गर्ने निर्णय गरेको छ।  शिक्षा मन्त्रालयको बुधबार बसेको बैठकले २०७२ सालबाट नै देशभर एसएलसी परीक्षार्थीको परीक्षाफल लेटर ग्रेडिङ प्रणालीमा प्रकाशित गर्ने निर्णय गरेको शिक्षामन्त्रीका प्रेस सल्लाहकार प्रकाश खतिवडाले बताए । 

मन्त्रालयले ग्रेडिङ प्रणाली कार्यान्वयन गर्न पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशकको संयोजकत्वमा लेटर गे्रडिङ कार्यविधि निर्माण समिती गठन गरेको थियो ।  समितीले तयार पारेको कार्यविधि केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले बुधबार मन्त्रीसमक्ष पेस गरेका थिए । 

खतिवडाका अनुसार अब एसएलसीमा सहभागी विद्यार्थीले स्तर अनुसार नौ तहका प्रमाणपत्र पाउने छन् । विद्यार्थीमा एसएलसीप्रति नकारात्मक प्रभाव हटाउन र विद्यार्थीको वास्तविक क्षमता मुल्यांकन गर्न ग्रेडिङ प्रणाली लागु गरिएको हो । 

अब एसएलसीको प्रमाणपत्रमा नौ तहमा ए प्लस देखि ई अक्षरमा ग्रेडिङ हुनेछ । ९० देखि १०० अंक ल्याउनेलाई ए प्लस, ८० देखि ८९ अंक ल्याउनेलाई ए, ७० देखि ७९ ल्याउनेलाई बि प्लस, ६० देखि ६९ ल्याउनेलाई बि, ५० देखि ५९ अंक ल्याउनेलाई सी प्लस, ४० देखि ४९ सि, ३० देखि ३९ ल्याउनेलाई डी र १ देखि २९ अंक ल्याउनेलाई ई उल्लेख गरिनेछ । 

यसैगरी शुन्य अंक प्राप्त गर्ने, अमर्यादित काम गर्ने र परिक्षामा अनुपस्थित हुनेलाई नन ग्रेडिङ उल्लेख गर्नेछ ।

(आजको नागरिक दैनिकमा रुबि रौनियारले समाचार लेखेकी छन्।) 

प्रतिक्रिया