Edukhabar
शुक्रबार, ०२ कार्तिक २०८१
खबर/फिचर

४९ मिनेटको बिचमा भएको थियो सांसद र शिक्षाका कर्मचारी बिच ‘घुसको चलखेल’

फारम भरेको ६ घण्टामै समकक्षता प्राप्त गरेका सांसद महतोले के का लागि दिए घुस ?

सोमबार, ०७ साउन २०८१

भक्तपुर - सानोठिमी स्थित पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिदाँ घुस खुवाउनु परेको अभिव्यक्ति दिएका जनता समाजवादी पार्टीका सांसद विरेन्द्र महतोको आवेदन दिएकै दिन समक्षकता प्रमाणपत्र लिएको फेला परेको छ । विदेश अध्ययन गर्न जानु अघि एनओसी लिने प्रकृयाका लागि महतोका छोराले बिहीबार समकक्षताको आवेदन दिएका थिए । उनका छोराले लिंकन स्कुल अध्ययन गरेका कारण समकक्षताको प्रमाणपत्र लिन आवश्यक परेको हो । 

पाठ्यक्रम विकास केन्द्रको सफ्टवेयरको रेकर्ड अनुसार महतोले लिंकन स्कुलको १० र १२ कक्षाको सर्टिफिकेट एकै दिन ‘भेरिफाई’ गरेर समकक्षता लिएको पाइएको छ ।

अनलाइन प्लाटफर्म मार्फत महतोको छोराले माग गरे अनुसार आवश्यक काजगपत्र अपलोड गरेको केन्द्रले जनाएको छ । महतोको छोराले अनलाइन फारम  भरे पछि भेरिफाइ हुनको लागि नतिजा अनलाइनमा देखिनु पर्ने हुन्छ । १० कक्षाको विवरण नभए पछि उक्त जानकारी केन्द्रको सिष्टमले बिहीबार दिउँसो १२ बजेर ७ मिनेटमा मोबाइलमा म्यासेज पठाएको देखिएको छ । महतोले सबै विवरण अनलाइन प्लाटफर्ममा राखेपछि केन्द्रले २ बजेर २७ मिनेटमा फारम भेरिफाइ गरेको थियो । त्यही फारम ३ बजेर २० मिनेटमा केन्द्रले स्विकृत गरेको थियो । 

त्यस्तै १२ कक्षाको पनि समकक्षताको लागि दिएको आवेदनमा महतोको छोराको नागरिकताको दुबै पाना नभए पछि विवरण राख्न २ बजेर २४ मिनेटमा उसै गरी मोबाइलमा म्यासेज गएको देखिन्छ । २ बजेर ३१ मिनेटमा माग भएको विवरण अपलोड भएको थियो । विवरण हालेको एक मिनेटमै भेरिफाइ भएको छ । त्यस पछि ३ बजेर २१ मिनेटमा समकक्षताको निवेदन एप्रुभ भएको छ । 

‘ढिलासुस्ती कतै पनि भएको देखिँदैन’ केन्द्रका एक कर्मचारीले भने, ‘विवरण हालेको एक मिनेटमा एप्रुभ भएको छ । अनि जुन दिन आवेदन दिएको हो त्यही दिन १० र १२ कक्षाको समकक्षता पाएको छ भने कसरी काम नभएको भन्न मिल्छ ?’ 

'समकक्षताको पैसा उठाउन विद्यालय पिच्छे बिचौलिया हुँदा रहेछन, मैले पनि विद्यालयका प्रधानाध्यापकलाई फोन गरेपछि एउटा मान्छेलाई भेट्न भनियो । उसलाई पैसा दिए पछि काम बन्यो ।' - सांसद महतो

- कर्मचारीसंग सल्लाह गर्दै अनलाइनमा माग गरेकोे विवरण हाल्न म्यासेज गएको सात मिनेट भित्रै महतोले गरे अपलोड, विवरण भेरिफाइ भएको ४९ मिनेटमा फारम एप्रुभ, यही बिचमा घुसको चलखेल भएको थियो । 

अनलाइनमा राखेको सम्पूर्ण विवरण भेरिफाइ भएपछि एप्रुभ हुन ४९ मिनेट लागेको छ । 

‘यही बिचको समयलाई काम नभएको भनेर सांसदले भने जस्तो पैसा दिएको हो कि भनेर अनुमान गर्न सकिन्छ’ ती कर्मचारीले भने,‘आवश्यक पर्ने डकुमेण्ट एकै पटक हालेर पुरा विवरण पनि छैन । माग गर्दै हाल्दै गरेको देखिन्छ ।’ 

सांसद महतोले भने छोरालाई मात्रै पठाउँदा काम नभए पछि आफै सानोठिमी गएर पाँच हजार घुस दिए पछि मात्रै काम भएको बताएका छन् । बिहीबार भएको उक्त कामका बारेमा सांसद महोतोले 'हिजोको घटना' भन्दै आइतबारको बैठकमा बताएका थिए । 

समकक्षता शाखाले छोराको विवरण हाले पनि नदिए पछि विद्यालयको प्रधानाध्यापकलाई जानकारी गराएको उनले बताए । 

‘विद्यालयको प्रधानाध्यपकले एक जनाको नम्बर दिए पछि ती व्यक्तिलाई पाँच हजार दिए लगत्तै काम भयो’ उनले भने, ‘हरेक विद्यालयको आ–आफ्नै विचौलिया हुँदा रहेछन् । उसलाई पैसा नदिए सम्म काम हुँदो रहेनछ । डकुमेण्ट नपुगेको त नाटक मात्रै गर्दा रहेछन् ।’

सांसदको उक्त अभिव्यक्ति सार्वजनिक भए पछि केन्द्रले समकक्षता शाखाका एक कर्मचारीलाई सोमबार जिम्मेवारीबाट हटाएको छ ।

पढ्नुहोस् : सांसदले 'घुस दिएको' शाखाका कर्मचारी हटाइयो !

 

सोमबार बेलुका ५ः३० बजे अपडेट - यसै बिच उक्त घटना छानबिन गर्न शिक्षा मन्त्रालयले सोमबार एक समिति गठन गरेको छ । 

पढ्नुहोस् : शिक्षाको 'घुस काण्ड' छानबिन गर्न समिति गठन

प्रतिक्रिया