Edukhabar
आइतबार, २३ भदौ २०८१
गतिविधि

पूर्व मन्त्री महतोले भने,‘शिक्षाको काम गर्न ५ हजार घुस दिएँ’

‘म भूपू मन्त्री मैले हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा  ५ हजार घुस दिएर आएको छु । पत्याउनु हुन्छ ? कसले पत्याउनु हुन्छ ’

आइतबार, ०६ साउन २०८१

काठमाडौँ - जनता समाजवादीका सांसद एवं पूर्व वन मन्त्री वीरेन्द्र महतोले पाँच हजार घुस दिएर शिक्षाको काम लिएको बताएका छन् । 

प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग गरेको बैठकमा बोल्दै महतोले सानोठिमी स्थित पाठ्यक्रम विकास केन्द्रबाट छोराको समकक्षता लिन पाँच हजार घुस दिनु परेको उनले बताए ।

‘ म भूपू मन्त्री मैले हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा  ५ हजार घुस दिएर आएको छु । पत्याउनु हुन्छ ? कसले पत्याउनु हुन्छ ’ उनले भने,‘मेरो छोराको सर्टिफिकेट इक्युभ्यालेण्ट गर्नु थियो । गर्दिएन । यो मिलेन त्यो मिलेन भन्यो । सबै कागज मिलेको थियो । म आफै गएँ ।’

एघार बजे पठाए पनि तीन बजेसम्म पनि काम नभए पछि आफै गएको उनले बताए । शाखाका अधिकृतलाई सबै मिलेको कागज देखाउँदा पनि मिलेको छैन भनेर समकक्षता नपाएको उनले बैठकमा जानकारी गराए ।

‘एक महिनामा अरू विद्यार्थीले गरेर लगिसक्यो  तिमीले किन गर्दैनौ भनेर मैले भने  । हैन यो मिलेको छैन भन्यो । चिया खाने समय हो भनेर गयो,’उनले भने‘ चार बजेसम्म पनि आएनन् । बिचौलियालाई मैले ५ हजार रुपैयाँ दिएँ । म बसिरहेँ  । ५ मिनेटमा काम गराइदियो ।’

सुशासनको कुरा गरे पनि पैसा नदिएसम्म कामै नहुने उनले बताए ।

‘सुशासन र भ्रष्टाचारको रोक्ने कुरा गर्छौ । कहाँबाट रोक्ने तलबाट कि माथिबाट ?’ उनले भने,‘सबैतिर बिचौलिया लागिपरेको छ ।’ 

निजामती कर्मचारीलाई परिवार चलाउने तलबको व्यवस्था नगरेसम्म यस्तो विकृति नरोकिने उनले बताए । 

 

प्रतिक्रिया