‘पापा ५०० रुपैयाँ दिनुहोस् न !’
छोरीले पैसा माग्दै थिइन् ।
मैले प्रति पश्न गरेँ ‘किन चाहियो छोरी ?’
उनको उत्तर थियो ‘टिचर्स डे मनाउन ।’
मैले भने ‘टिचर्स डे होइन छोरी गुरु पूर्णिमा हो ।’
मेरो कुरामा छोरीको खासै चासो थिएन । गुरु पूर्णिमा र शिक्षक दिवस एउटै हो त ? फरक छ त के फरक छ ? छोरीको कुराले मलाई घोत्लिन वाध्य बनायो ।
Oxford Dictionary अनुसार गुरु र शिक्षक यी दुई शब्दको अर्थ फरक फरक छ । गुरुको अर्थ Hindu or Sikh religious teacher or leader र a person who is an expert on a particular subject भनी उल्लेख गरिएको छ भने teacher को अर्थ a person whose job is teaching भनी दिईएको छ । त्यस्तै शाब्दिक अर्थ हेर्दा पनि यी दुई शब्दका बिचमा भिन्नता देखिन्छ । गु को अर्थ अंधकार रु को अर्थ प्रकाश हुन्छ । जस अनुसार अंधकारलाई हटाएर उज्यालो तिर डोर्याउने अर्थात ज्ञानको मार्गमा हिँडाउने व्यक्तिलाई गुरु भनिन्छ । teach को अर्थ to show, to point out, to demonstrate or to instruct हुन्छ । जस अनुसार Teacher अर्थात शिक्षकको अर्थ विद्यार्थीलाई ज्ञान प्रदान एवम् सिप, क्षमता तथा दक्षता विकासमा सहयोग गर्ने व्यक्ति जनाउँछ । यसरी हेर्दा गुरुको अर्थ व्यापक देखिन्छ भने शिक्षकको अर्थ अलि साँघुरो देखिन्छ । शिक्षक शब्द औपचारिक शिक्षा प्रणाली सँग जोडिएको छ भने गुरु शब्द औपचारिक शिक्षाको दायरा भन्दा फराकिलो छ । सनातन संकारमा गुरुलाई उच्च आदर र श्रध्दाका साथ हेर्ने गरिन्छ । गुरुलाई भगवान ब्रह्मा, विष्णु र शंकर (गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वर) को स्थान दिईएको छ ।
गुरु पूर्णिमा असार शुक्ल पूर्णिमाका दिन मनाइन्छ जसलाई व्यास जयन्तीका रुपमा पनि मनाइने प्रचलन छ । तर, शिक्षक दिवस बिभिन्न देशमा फरक फरक मितिमा मनाउने गरिन्छ । UNESCO द्वारा मनाइने विश्व शिक्षक दिवस October 5 मा मनाउने गरिन्छ । ऐतिहासिक सन्दर्भ, सामाजिक महत्व एवम् मनाउने तरिकाका हिसावले पनि गुरु पूर्णिमा र शिक्षक दिवसमा भिन्नता देखिन्छ । यस आलेखमा यी दुई बिचमा ५ आधारमा भिन्नता देखाउने जमर्को गरिएको छ ।
क. ऐतिहासिक सन्दर्भ
गुरु पूर्णिमाको आफ्नै लामो इतिहास छ । औपचारिक शिक्षाको सुरुवात भन्दा पहिले देखि गुरुको सम्मानमा यो दिवस मनाउन सुरु गरिएको देखिन्छ । हाम्रो सनातन संकारमा बृहष्पति र शुक्राचार्यलाई महान् गुरुका रुपमा सम्मान र पुजा गरिन्छ । यस दिनलाई व्यास जयन्तीका साथै गौतम बुध्दले आफ्नो ज्ञानको पहिलो उपदेश दिएको दिनको सम्मानमा धर्मचक्र प्रवर्तन दिवसका रुपमा पनि मनाउने गरिन्छ । पौराणिक मान्यता अनुसार भगवान शिवले यसै दिनबाट सप्तऋषिलाई योग सिकाउन सुरु गरेको मानिन्छ ।
औपचारिक शिक्षा प्रणालीको विकास पछि मात्र शिक्षक दिवस मनाउन सुरु गरिएको पाइन्छ । उनाइसौं र बिसौं शदाब्दीमा शिक्षक दिवस मनाउन बिभिन्न देशमा सुरु गरिएको भेटिन्छ । बिभिन्न देशले फरक फरक मितिमा यो दिवस मनाउदै आइरहेका छन् । यो दिवस अर्जेण्टिनामा 11 September, भारतमा 5 September, चीनमा 10 September र व्रिटेनमा19 June मा मनाउने गरिन्छ ।
भारतले सन १९६२ देखि शिक्षाविद् एवम् भारतका दोस्रो राष्ट्रपति डाक्टर सर्वपल्ली राधाकृष्णनको सम्मानमा उनको जन्मदिन 5 September मा शिक्षा दिवस मनाउन थाल्यो । चीनले सन १९८५ देखि शिक्षा दिवस मनाउन सुरु गर्यो । UNESCO ले सन् १९६६ देखि विश्व शिक्षक दिवस मनाउन सुरु गर्यो र हाल धेरै देशहरुले सोही दिनमा शिक्षक दिवस मनाउँदै आइरहेका पनि छन् ।
ख. धार्मिक सन्दर्भ
गुरु पूर्णिमा पूर्वीय दर्शन र संस्कृतिसंग जोडिएको छ । हिन्दु, बौद्ध, जैन र सिख धर्ममा यस दिनलाई उच्च सम्मानका साथ मनाइने गरिन्छ । हिन्दु धर्ममा महाभारतका रचयता, चार वेद र १८ पुराणका सर्जक गुरु व्यासलाई अष्ट चिरञ्जिवी मध्येका एक चिरञ्जीवी मानिन्छ । व्यासलाई गुरुको पनि गुरु मानिन्छ । सन्त कवीरका गुरु रामानन्द थिए र उनले आफ्नो गुरुलाई सँधै उच्च सम्मान गर्दथे । स्वामी विवेकानन्दका गुरु रामकृष्ण परमहंस थिए । गुरु पूर्णिमाका दिन स्वामी विवेकानन्दले आफ्ना गुरु रामकृष्ण परमहंसको आदर्शलाई पालना गर्न सबैलाई प्रेरित गरेका थिए । बुद्धले यसै दिन पहिलो उपदेश दिएका थिए । जैन धर्ममा यस दिनमा भगवान महावीर र उनका शिष्यहरुको योगदानको सम्झना गरिन्छ । सिख धर्ममा यस दिनमा सिख समुदायले आफ्ना गुरुहरुको शिक्षा र आदर्शलाई सम्झेर उनीहरु प्रति उच्च सम्मान प्रकट गर्दछन् ।
शिक्षा दिवसको धर्मसंग कुनै सम्बन्ध छैन । शिक्षामा योगदान दिएका व्यक्तिहरुको सम्मानमा शिक्षा दिवस मनाउने गरिएको छ । शिक्षण पेसालाई सम्मानित बनाउनका साथै शिक्षकहरुको पेशागत सुरक्षा, दक्षता र मर्यादा अभिवृध्दिका लागि यो दिवस मनाउने प्रचलन रहेको देखिन्छ ।
ग. मनाउने तरिका
गुरु पुर्णिमा र शिक्षक दिवस मनाउने तरिका पनि फरक फरक छ । गुरु पूर्णिमामा गुरुको पुजा गरी आशिर्वाद लिने गरिन्छ । गुरुको पाउ ढोगेर वा छोएर आशिर्वाद लिने प्रचलन छ । गुरुको आश्रमहरुमा शिष्यहरुको जमघट हुने गर्दछ । गुरुको सम्मान एवम् सम्झनामा भजन कृतन गरिन्छ । गुरुलाई बिभिन्न दक्षिणा चढाइन्छ । शैक्षिक संस्थाहरु, आध्यात्मिक शिक्षा दिने संस्थाहरु र गुरु आश्रमहरुमा बिभिन्न आध्यात्मिक प्रवचन एवम् ध्यानका कार्यक्रमहरु गरिन्छ । गुरुको सम्झनामा बिभिन्न सामाजिक सेवाका कार्यक्रमहरु पनि सञ्चालन गर्ने प्रचलन छ ।
शिक्षक दिवस प्राय विद्यालय र क्याम्पसहरुमा बिभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइन्छ । विद्यार्थीले आफ्ना शिक्षकहरुलाई बिभिन्न उपहार प्रदान गर्दछन् । शिक्षकको सम्मानमा बिभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रदर्शन गर्दछन् । शिक्षा र शिक्षकको महत्व सम्बन्धी गोष्ठी र कार्यशालाहरु सञ्चालन गरिन्छन् । शिक्षकको पेशागत विकास र शिक्षण पेशालाई मर्यादित बनाउने सम्बन्धमा बहस र छलफल गरिन्छ ।
घ. सामाजिक महत्व
शिक्षक दिवसको तुलनामा गुरु पूर्णिमको सामाजिक महत्व बढी देखिन्छ । गुरु पूर्णिमालाई एउटा पर्वको रुपमा मनाउने गरिन्छ । बालबालिका देखि जेष्ठ नागरिक सबै उमेर समुहका मानिसहरुले आफ्नो गुरुको पुजा गर्ने आशिर्वाद लिने गर्दछन् । सबै उमेरका व्यक्तिहरु गुरु आश्रमहरुको दर्शन गर्ने र कार्यक्रमहरुमा सहभागिता जनाउने गर्छन् ।
शिक्षक दिवसमा औपचारिक शिक्षामा संलग्न व्यक्तिहरु मात्र सहभागी रहन्छन् । समाजका सबै व्यक्तिहरुलाई यसको खासै चासो रहँदैन । विशेषगरी विद्यालय र क्याम्पसमा कार्यरत शिक्षकहरु र त्यहाँ अध्ययनरत विद्यार्थी शिक्षक दिवसमा सहभागिता जनाउने गर्छन् । शिक्षा क्षेत्रमा कार्यरत अन्य व्यक्तिहरु र शिक्षाविद्को पनि सहभागिता रहन्छ ।
ङ. भूमिका
शिक्षकको दाँजोमा गुरुको भूमिका धेरै ठुलो देखिन्छ । यसको दायरा औपचारिक शिक्षा भन्दा धेरै व्यापक छ । गुरु शिष्यको सम्बन्ध गहिरो र जीवन पर्यन्त रहन्छ । गुरुलाई जीवनको मार्गदर्शकका रुपमा उच्च सम्मान गरिन्छ । गुरुको भूमिका शैक्षिक भन्दा नैतिक एवम् आध्यात्मिक मार्दर्शकका रुपमा बढि रहन्छ । यसकारण साधु, सन्त, ऋषिमुनीलाई पनि गुरुको स्थानमा राखिन्छ । त्यस्तै योग, आधात्म, संगीत र अन्य कलाहरु सिकाउने व्यक्तिहरुलाई पनि गुरुको दर्जामा राखिएको पाइन्छ ।
शिक्षकको भूमिका एक कुशल व्यावसायिक व्यक्तिको रुपमा रहन्छ । शिक्षकलाई एक शैक्षिक मार्गदर्शकका रुपमा लिइन्छ । बालबालिकाको सुनौलो भविष्य निर्माण गर्नमा शिक्षकको महत्वपूर्ण भूमिका रहन्छ । एउटा सक्षम नागरिक तयार पार्नमा शिक्षकको अहम् योगदान रहेको हुन्छ । शिक्षकले खेल्ने भूमिका निश्चित ऐन, नियम एवम् आचार संहिताले बाँधिएको हुन्छ ।
निचोड
गुरु पूर्णिमा र शिक्षक दिवसको आ–आफ्नै महत्व छ । दुबै दिवसहरु गुरु र शिक्षकको सम्मानमा नै मनाइन्छन् । तर पनि यी दुबै एउटै होइनन् । यी दुईमा ऐतिहासिक सन्दर्भ, सामाजिक मान्यता, मनाउने तरिका आदिका हिसाबले धेरै भिन्नता छ । गुरु पूर्णिमा आध्यात्मिक एवम् साँस्कृतिक पक्षसंग गहिरो सम्बन्ध राख्दछ भने शिक्षक दिवसले शिक्षण पेसा एवम् शिक्षकको महत्व संग सम्बन्ध राख्दछ ।
सिंह, शिक्षा विकास तथा समन्वय इकाइ, ललितपुरका प्रमुख हुन् ।
प्रतिक्रिया