Edukhabar
आइतबार, २३ भदौ २०८१
गतिविधि

शिक्षकको ट्रेड युनियन खारेज गर्न प्रस्ताव

आन्दोलन गरेरै स्थायी भएका शिक्षककै कारण राज्यको शिक्षा फेल भएको आरोप

विहीबार, ०३ साउन २०८१

काठमाडौं - स्वतन्त्र सांसद अमरेशकुमार सिंहले शिक्षकहरु आवद्ध ट्रेड युनियन खारेज गर्नु पर्ने प्रस्ताव गरेका छन् । विद्यालय शिक्षा विधेयक माथि जारी छलफलका क्रममा बिहीबार बोल्दै उनले उक्त प्रस्ताव गरेका हुन् । 

'शिक्षाको गुणस्तर सुधार गर्ने हो भने शिक्षकको ट्रेड युनियन खारेज गर्नु पर्छ' उनले भने । 

 

पछिल्लो समय राजनीतिक दल आवद्ध शिक्षकलाई दल त्याग गर्न शिक्षा मन्त्रालयले गरेको निर्देशन प्रति पक्ष विपक्षमा तर्कहरु सार्वजनिक भईरहेका बेला सांसद सिंहले ट्रेड युनियन समेत खारेज गर्नु पर्ने तर्क अघि सारेका हुन् । 

यस्तै आन्दोलन गरेरै स्थायी भएका शिक्षककै कारण राज्यको शिक्षा फेल भएको उनले आरोप लगाएका छन् । राजनीतिमा लागेका शिक्षक र उनीहरुको भनसुनका कारण विद्यालय शिक्षा कमजोर भएको उनको तर्क छ । 

‘आन्दोलन गरेर र सडकमा सुतेकै आधारमा शिक्षकलाई स्थायी बनाएकै कारण एसईईमा ५२ प्रतिशत फेल भएको हो’ उनले भने, ‘यो विद्यार्थी फेल भएको होइन । राज्य फेल भएको हो ।’ 

शिक्षालाई समाप्त गर्ने काममा जनप्रतिनिधिको पनि उत्तिकै भूमिका रहेको उनले बताए । नेताको छोराछोरी लिंकन, ब्रिटिस, युलेन्स स्कुलमा पढ्ने सर्वसाधरणको छोरा छोरी मात्रै सामुदायिकमा पढाउने गरेको उनले बताए । शिक्षक योग्य भन्दा पनि व्यवस्थापन समितिको मिलोमतोमा नक्कली सर्टिफिकेट लिएका व्यक्ति पनि नियुक्ति हुने गरेको उनको आरोप छ । 

शिक्षकहरु आन्दोलन गर्ने र जुस खुवाएर स्थायी गर्ने परिपाटीले मुलुकको शिक्षा कमजोर भएको उनले बताए । 

‘यस्तो व्यवस्था नेपालमा मात्रै हुन्छ आन्दोनन गरेर मात्रै स्थायी गछौँ’ उनले भने, ‘जहाँ जुस खान दिएर स्थायी गराइरहेको छ ।’

दलहरुले राजनीति गर्न शिक्षकलाई प्रयोग भएको उनको जिकिर छ । 

‘जनता विदेश गएका छन् । अनि शिक्षकलाई राजनीति गर्न प्रयोग गरेका छौँ’ उनले भने, ‘ट्रेड युनियनले देश बनाउँछ ? उनीहरुले ने देशको साशन प्रशासन बिग्रिएको छ ।’ 

शिक्षकहरु योग्य नभएकै कारण एप्पल र क्यारोट लेख्न समेत नआउने उनले बताए । 

‘काँही नबिकेका व्यक्तिहरु झोले शिक्षक भएका छन’ उनले भने,‘उ आफैलाई पढ्न आउदैन भने उसले के पढाउँछ ?’

यो पनि पढ्नुहोस् 

सांसद भन्छन् : 'निजी विद्यालयलाई १० वर्ष भित्र गुठिमा लैजाउँ'    
 

प्रतिक्रिया