Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

विद्यालय शिक्षा विधेयक माथि पुनः छलफल

नयाँ शिक्षा मन्त्री भएको तेस्रो दिनमै विधेयक माथि छलफल हुनु संयोग मात्रै भएको समिति सभापतिको भनाई ।

मंगलबार, ०१ साउन २०८१

काठमाडौं - प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले बुधबारदेखि विद्यालय शिक्षा विधेयकको छलफल पुनः सुरु गर्ने भएको छ । 

अन्य विधेयकहरु माथि छलफल सकेर उपसमितिमा पठाए पछि यो विधेयकको पालो आएको र छलफल सुरु गर्न लागेको समिति सभापति अम्मरबहादुर थापाले बताए । ०८० भदौ २७ मा संसदमा दर्ता भएको विधेयक माथि १५७ सांसदहरुले संशोधन हालेका छन् । प्रतिनिधि सभाले विधेयक माथि दफावार छलफल गरेर टुङ्ग्याउन समितिमा पठाएको थियो । समितिले सरोकारवालासंग एक चरणको छलफल गरिसकेको छ । त्यस्तै संशोधन हालेका मध्ये १८ जना संशोधनकर्तासंग पनि छलफल गरिसकेको छ । बुधबारको बैठकमा १५ जना संशोधन कर्तालाई बोलाएको समितिले जनाएको छ । 

‘५० जना संशोधनकर्तालाई सम्पर्क गर्दा १५ जना मात्रै बैठकमा आउन तयार भएका छन्’ समिति स्रोतले भन्यो । 

विद्यालय शिक्षा विधेयक माथि पछिल्लो पाँच महिनादेखि छलफल हुनै सकेको थिएन । सुमना श्रेष्ठ शिक्षा मन्त्री भएको बेलामा यो विधेयक माथि एक पटक पनि छलफल हुन सकेन । विद्या भट्टराई शिक्षा मन्त्री भएको तेस्रो दिनमै विधेयक माथि छलफल हुनु संयोग मात्रै भएको सभापति थापाले बताए । 

‘यस अघि यो विधेयक छलफलको पालो नै थिएन । अरु विधेयकमा छलफल चलिरहेको थियो,’उनले भने,‘अहिले अरु विधेयकमा उपसमितिले काम गरिरहेको बेला समितिमा छलफल गर्ने कुरा भएन । त्यसैले विद्यालय शिक्षा विधेयक माथि छलफल गर्न लागेका हौँ ।’ 

अब यही विधेयक माथि नियमित छलफल हुने उनले बताए । यो विधेयकमा निजी विद्यालय गुठीमा हुने कि कम्पनीमै रहने ? शिक्षक संघको हुने कि स्थानीय तहको हुने, विद्यालय कर्मचारी, इसीडी, कक्षा ११ र १२ पढाउने शिक्षकको व्यवस्थापन कसरी गर्ने ? भन्ने विषय विवादित छ ।  

प्रतिक्रिया